जून पोखिएको धुलाम्मे बाटोमा
मन पोखियो
सोचें-
किन वर्षौं देखि यो जूनको प्रतिच्छाया
धुलै धुलोमा खस्न विवश छ ?
किन
यो समय लेखिरहन्छ –
धुलोको कविता ?
किन अल्झिरहन्छन् –
तिमीसम्म आइपुग्ने यो बाटोमा
बग्रेल्ती असमयका हरफहरु?
किन
आदिम सपनाहरुको धुलो
फुङ्ग उडाएर
जनताको गीत गाउँछ
र
जनताकै पिरहरुको होली खेल्छ यो –
कुरुप समय?
म सोचिरहेछु
किन प्राप्तिका आभाहरू
आँगनभरि झलमल्ल पोखिन सक्तैनन्?
किन
समृद्ध सुमधुर समयको
श्वरमा सुनिन्दैन समय?
किन
कालीगण्डकीको अमृतधारा
भाँचिइरहेछ
माटोबाट?
किन
लालुपाते फूलको तरेली
खोसिइरहेछ
बाटोबाट ?
आमा रामपुर !
किन तिम्रो खुशीको
धरहराबाट खसीरहेछ-
ताल पोखरा।
