सिद्धार्थको वाल्यकाल
आजभन्दा २६०० वर्ष अगाडि हिमालय मुनिको फाँटलाई जम्बुद्वीप भनिन्थ्यो । त्यहाँ अनेक साना ठूला अधिराज्यहरु तथा गणराज्यहरु थिए । ती अधिराज्यहरुमा राजाहरु तथा गणराज्यहरुमा गणपतिहरु शासन गर्दथे ।
त्यहाँ हिमालय नजिकै राप्ती नदीको किनारमा शाक्य जातिको कपिलवस्तु भन्ने राज्य थियो । यसको राजधानी कपिलवस्तु नगर थियो । गौतम थर भएको शुद्धोदन यहाँको राजा हुनुहुन्थ्यो । महामायादेवी राजा शुद्धोदनकी महारानी थिइन् ।
राजा शुद्धोदन तथा महारानी महामायादेवीको विवाहित जीवनको धेरैदिनपछि मात्र महामायादेवी गर्भवती भइन्। सुत्केरी हुने दिन नजिक आउँदा राजासित उनले माइती देवदह नगर जानका लागि अनुमति मागिन् । राजाले खुसीसाथ अनुमति दिई महारानी सवारी हुने बाटोघाटो पनि सजाउन लगाउनुभयो ।
कपिलवस्तु र देवदह नगरका बीचमा लुम्बिनी भन्ने बगैंचा थियो । यहाँको शालवृक्षको घारीमा दुबै देशका मानिसहरु डुल्न आउँथे । यहाँका रुख विरुवाहरुमा टम्म फूल फुलेका थिए । भमराहरु फूलका रस लिइरहेका थिए । चराचुरुंगीहरु मधुर स्वर गुञ्जाइरहेका थिए ।
महरानी महामायादेवी लुम्बिनी बगैंचामा शुक्रवार बैशख पूर्णिमाको दिन पुग्नुभएको थियो । महारानीले त्यहाँको शीतल छायाँमा केहीछिन डुल्न चाहिन् । तसर्थ लावालस्करलाई आज्ञा दिई त्यहाँ डुलिरहनुभयो । धेरै बेर नबित्दै त्यहाँ महामायादेवीले एउटा शाल वृक्षमुनि एउटा पुत्ररत्न जन्माउनुभयो ।
यसरी महामायादेवीले लुम्बिनीमा पुत्ररत्न जन्माउनुहुँदा सुसारेहरु तथा लावालस्करहरले साह्रै होशियारकिा साथ वहाँको देखभाल गरे । अनि कपिलवस्तु नगरमा नै फर्काएर ल्याए । आफ्नो पुत्रको मुख हेर्न पाएकोले राजा शुद्धोदन साह्रै खुसी हुनुभयो । अनि उहाँले महामायादेवीको विशेषरुपले हेरविचार गर्न लगाउनुभयो ।
कपिलवस्तु नगरको छेउमै रहेको पहाडमा धेरै ऋषिहरु बस्दथे । त्यसमा कालदेवल भन्ने बूढो ऋषिलाई राजा शुद्धोदन तथा कपिलवस्तुवासीहरु खूब मान्दथे । वहाँ राजा शुद्धोदनका पुत्र जन्मेको थाहा पाउनुभई कुमारलाई हेर्न कपिलवस्तुको राजदरबारमा आउनुभयो ।
राजा शुद्धोलनले आफ्नो राजकुमारलाई ऋषिबाट आशीर्वाद दिलाउन चाहनुभयो । तसर्थ राजकुमारलाई ल्याउन लगाई ढोगाउन खोज्नुहुँदा ऋषिले राजकुमार अति पुण्यवान् भएको लक्षण देख्नुभयो । अनि ऋषि साह्रै खुसी भएर हाँस्नुभयो तर फेरि अलिअलि गर्दै मुख निन्याउरो पार्नुभई आफ्ना आँखाबाट आँसु बगाउन थाल्नुभयो ।
राजा शुद्धोदनलाई यो देखेर आश्चर्य लाग्यो । ऋषिले भन्नुभयो “यो राजकुमारमा महपुरुषको लक्षण छ । अति पुण्यवान् हुनुहुन्छ । पछि ठूलो ज्ञान पाई शास्ता हुनुहुनेछ । तर के गरुँ ? म अभागी छु । म अहिले नै बूढो भइसकेकोले वहाँको उपदेश सुन्न पउनेछैन । यसकारणले म हाँसेको र रोएको हूँ ।” यती भनी ऋषि आफैले राजकुमारलाई दण्डवत् गर्नुभयो । अनि राजा शुद्धोदनले पनि राजकुमारलाई दण्डवत् गर्नुभयो ।
ती विद्वानहरुले पनि राजकुमारमा शुभ लक्षणहरु देखे । सबैले भविष्यवाणी गरे “यदि यो राजकुमार राज्यमा बस्नुभएमा पछि महान् सम्राट हुनुहुनेछ । तर दरबार छाडी प्रब्राजित हुनुभएमा विश्वभरमा शास्ता हुनुहुनेछ ।” तर ती भध्ये कौडिन्य नामको एक ब्राह्मण विद्वानले ठोकुवा गरेर, “सिद्धार्थ कुमार ठुलो भएपछि सम्पुर्ण राज्य छोडी प्रब्रजित हुनुहुनेछ , संसारभरका महानतम शास्ता नै हुनुहुनेछ ।” भनी भने ।
सिद्धार्थको गृहस्थ
सिद्धार्थ ठुलो भएपछि महान सम्राट हुनुहुने कुराले राजा शुद्धोदन तथा भारदारहरुका साथै दुनियाँ पनि खुसी भए । तर राजा शुद्धोदन भने राजकुमारले राजपात छोडेर संसारभरका शास्ता हुने कुराले चिन्तित हुनुभयो । किनभने वहाँ चाहनुहुन्थ्यो “राजकुमार गृहस्थमा बसुन् । छोराछारी पाउन् । जसले गर्दा दरबार आवाद हुनेछ । राजसिँहासनका उत्तराधिकारी पनि हुनेछ ।
नामाकरण भएको दुईदिनपछि सिद्धार्थकी आमा महामायादेवीको देहान्त भयो । महारानीको देहान्त भएकोमा सबैले शोक गरे । शुद्धोदन राजाले सबभन्दा बढी शोक गर्नुभयो । किनभने महामायादेवी अति उच्चकुलिन थिइन् । स्त्रीहरु मध्येमा सर्वाधिक गुणवती थिइन् ।
महामायादेवीको देहान्तपछि राजा शुद्धोदनले सिद्धार्थ कुमारको पालनपोषण गर्ने जिम्मा राजकुमारकी सानीआमा हुनुभएकी महाप्रजापति गौतमीलाई दिनुभयो । महाप्रजापति गौतमीले राजकुमार सिद्धार्थलाई आफ्नै छोराजस्तै पालनपोषण गर्नुभयो । सिद्धार्थले आफ्नी आमाको मुख हेर्न पाउनुभएको थिएन ।
यसरी सानीआमा महाप्रजापति गौतमीको लालनपालनद्वारा राजकुमार सिद्धार्थ क्रमशः हुर्कनुभयो । वहाँको शरीर हृष्टपुष्ट भयो । वहाँको मुहार देख्ने सबैजनालाई राम्रो लाग्दथ्यो । वहाँ आठ वर्षका हुँदा राजा शुद्धोदनले अनेक विद्यामा पारङ्गत गुरुहरु दरबारमा लगाई राजकुमारलाई पढ्ने लेख्ने तथा गणित इत्यादि सिकाउन लगाउनुभयो ।
अनेक विद्याहरुमा निपुण गुरुहरुको निर्देशनमा बसेर सिद्धार्थ राजकुमार धेरै विद्यामा छिट्टै पारङ्गत हुनुभयो । यसले गुरुहरुसहित सबैजना आश्चर्यचकीत भए । कुनै पनि विषय सिक्न वहाँलाई गाह्रो पर्दैनथ्यो । एकचोटि मात्र सिक्ने कुरो पनि याद राख्न सक्नुहुन्थ्यो । वहाँ विद्या पढ्नुमा साह्रै चलाख हुनुहुन्थ्यो । पढेको बिर्सनुहुन्नथ्यो ।
त्यसबेला मानिसहरुलाई चाहिने सबैथोक खेतीबाट नै पाइन्थ्यो । किसानहरुले नै समाजलाई चाहिने सबैथोक उब्जाउँथे । खेतीलाई धेरै ठुलो काम मान्दथे । त्यसो हुनाले त्यस जमानामा वर्षेनी खेतीको एउटा उत्सव नै हुन्थ्यो । जसमा राजा आफै आफ्ना कर्मचारीहरुसहित खेतमा आई हलो जोत्दथे ।
कपिलवस्तुमा ग्रीष्मऋतु वितेर वर्षाऋतु सुरु भयो । यो ऋतु धान रोपिने ऋतु हो । राजा शुद्धोदन रज्जनंगल मङ्गल अर्थात रोपाईंको चाड मनाउन आफ्ना कर्मचरीहरुका साथ नगरबाट निस्कनुभयो । कपिलवस्तुवासीहरु पनि सबका सब कृषि चाड हेर्न पछिपछि लागे । राजा आफ्ना कलिलो राजकुमार सिद्धार्थसमेत लिन लगाई खेतमा जानुभयो ।
सबभन्दा अगाडि राजा शुद्धोदनले सुनले मोडिएको हलो लिई उत्सव आरम्भ गर्नुभयो । त्यसपछि खेत जोत्न थाल्नुभयो । अनि राजकर्मचारीहरुले र महाजनहरुले चाँदीले मोडिएको हलो लिई खेत जोत्न थाले । अनि अरु साधारण कृषकहरुले एकएक जोडा गोरु नारिएको हलोद्वारा खेत जोते । जोतिसकेपछि रोपाईंको लागि सबैले माटो बाउसे गर्न लागे ।
दिउँसो राजकुमार सिद्धार्थलाई चटक्कै बिर्सेर राजकर्मचारीहरु सबै भोज खानमा मस्त भए । त्यहीबेला राजकुमार एक्लै शान्तपुर्वक बस्नुभयो । वहाँले बाक्लो हाँगो भएको एउटा जम्बु वृक्षमुनि ध्यान गर्नुभयो । सर्वप्रथम वहाँले के विचार गर्नुभयो भने, “यहाँ राजपिता, कर्मचारीहरु तथा महाजनहरु रोपाईंको उत्सब मनाउँदै सबैजना रमाई भोज खान लागेका छन् ।
तर ती नारिएका गोरुहरुलाई भने कुनै आनन्द थिएन । तिनीहरुले नारिएर सारै थाक्नेगरी कडा माटो फुटाउनु पथ्र्यो । तिनीहरुले फेरेको सासले नै देखाउँदथ्यो कि तिनीहरुको जीवन कदापि आनन्ददायक थिएन । मानिसहरुले यसरी रमाइलो मानी भोज खाने दिनमा पनि ती निरीह पशुहरुले झन् कडा मेहनत गर्नुपर्छ । कठैबरी यसले आफ्नो मालिकले चाहेको बमोजिम काम गरेन भने अझ बेस्सरी कुटाई पनि खानुपर्दछ ।”
राजकुमार सिद्धार्थले विभिन्न प्राणीहरुका अरु गतिविधिहरु पनि देख्नुभयो । आफ्नै वरपर वहाँले देख्नुभयो, एउटा छेपारो एउटा साँघुरो प्वालबाट हतरपतर निस्केर ससाना कीरा, फट्याङ्ग्राहरु र आफ्ना काममा व्यस्त कमिलाहरुलाई आफ्नो जिभ्रोले तानेर खानथाल्यो । फेरि एकैछिनमा एउटा सर्प घस्रेर आई त्यो छेपारोलाई निल्यो । यो देखेर राजकुमार वाल्लपरी हेरिरहनुभएको बेलामा अचानक आकाशबाट उडेर आएको एक बाजले त्यो सर्पलाई पनि सखाप पा¥यो ।
राजकुमार सिद्धार्थ झन् गहिरो विचारमा डुब्नुभयो । वहाँले मनमनै सोध्नुभयो, “जब यो संसारमा यस्तो रीति रहेछ भने हामीले देख्ने राम्रा कुराहरुको पछाडि के नराम्रा कुराहरु लुकेका छैनन् र ?” वहाँलाई अनुभव भयो, ‘म आनन्दसँग बस्न पाएता पनि संसारलाई महान् दुःखले दबाईराखेको छ ।’ वहाँ अझै सानो बालख हुनुभएता पनि यस्तोयस्तो विचारको सागरमा डुबिरहँदा बाहिरि कुराको केही अत्तोपत्तो नभएको मानसिक अवस्थामा पुग्नुभयो । अर्थात् एकचित् भई मनका कल्पना हटिई ध्यानको प्रथम अवस्थामा पुग्नुभयो ।
रोपाईं तथा भोज सकिएपछि मात्र सिद्धार्थ कुमारको हेरविचार गर्ने सुसारेहरुलाई याद आयो । हत्तरपत्तर फर्केर आउँदा तिनीहरुले राजकुमारलाई मूर्तिझैँ निश्चल ध्यानमग्न भई बसेको देखे । अनि तिनीहरुले वहाँलाई ध्यनबाट व्युँताई विन्ति विसाए , “अब दरबार फर्कने बेला भइसक्यो ।” त्यहाँबाट फर्कँदा पनि बाटोभरि राजकुमार सिद्धार्थको मनमा सम्पुर्ण प्राणीहरुप्रति दयाले भरिएको कल्पना आइरहेको थियो । “प्राणीहरु आफ्नो जीवनलाई असाध्यै माया गर्छन् । तिनीहरु बाँच्नको लागि सारै दुःख सहेर बस्दछन् ।”
यस्तो कुरा थाहापाई राजा शुद्धोदनको मनमा खलबली मच्यो । “मेरो पुत्र अब अध्यात्मिक कुरामा विचारमग्न हुनथाल्यो । यदि यस्तो विचारलाई नछोडाएमा सिद्धार्थ राज्य र दरबार छोडेर जानेछ ।” राजपितालाई पीर प¥यो । राज्यको उत्तराधिकारी पुत्र दरबारमा नबस्लान् भन्ने । तसर्थ राजपिताले राजकुमारको मन दरबारिया सुखसयलमा नै लगाई राख्नको लागि चाहिने हरेक उपाय गर्ने अठोट गर्नुभयो । सर्वप्रथम राजाले राजकुमारका लागि ३ वटा महलहरु बनाउन लगाउनुभयो ।
एकमहल असल जातका काठबाट बनाइएको थियो । त्यसको भित्र सुगन्धित काठका फल्याकहरु बिछ्याइएका थिए । भित्रको हावापानी शीत ऋतुको लागि लायक हुने गरी न्यानो पारिएको थियो । अर्को महल गर्मी ऋतुको लागि अनुकूल बनाइएको थियो । यसभित्र भुइँमा चिल्ला तथा चम्किला सिँगमरमर विछ्याइका थिए । यसले भित्रको हावापानी शीतल हुन्थ्यो । तेस्रो महल असल खालका ईंटाहरुबाट बनाइएको थियो । वर्षाऋतुमा भारी वर्षालाई खप्न सक्ने गरी हरियो झिँगटीले छाइएको थियो । यी तीनै महलहरुका वरिपरि रमाइलो बगैँचा थियो । बगैँचामा पोखरीहरु थिए । ती पोखरीहरुमा सबै किसिमका रङ्गिविरङ्गी कमलका फुलहरु उमारिएका थिए ।
समय वित्दै गयो । राजकुमार सिद्धार्थ वाल्यवस्था पार गरी युवा अवस्थामा पुग्नुभयो । राजपिताले प्रबन्ध गरिदिएका अनेक रमाइला कुराहरुले पनि राजकुमारलाई गहिरो विचारमा डुब्नबाट रोक्न सकिएन । राजाले यो कुरा चाल पाउनुभयो । राजाले कुमारको चित्तलाई आनन्द र मस्तिमा बाँध्नको लागि गरेका आफ्ना सबै जुक्ति असफल भएको थाहा पाए ।
अनि राजाले आफ्ना राजकर्मचारीहरुलाई भेला गराई सोध्नुभयो, “ऋषिले भविष्यवाणी गरेझैँ कुमार राज्य छोडीकन उपदेशक जगतशास्ता बन्न जानबाट रोक्ने अरु कुनै उपाय छ र ?” राजकर्मचारीहरुले विन्ति गरे, “राजकुमारको मनमा गृहत्याग गर्ने विचार आउन नदिई दरबार मै भुलाइराख्नलाई एउटी राम्री कन्यासँग विवाह गरिदिनुपर्छ ।”
राजालाई राजकर्मचारीहरुको त्यो सुझाव उचित लाग्यो । “आआफ्नो सौन्दर्यमुताविक सिद्धार्थबाट लिन आउन देशका भएभरका अनि सुन्दरी कन्या केटीहरु जम्मा होउन् ।” भनी इस्तिहार जारी भयो । भेलाको दिनमा सिद्धार्थले कुन कन्या केटीलाई सबभन्दा बढी मनपराउँदो रहेछ भन्ने चियो लिन लगाउन राजाले केही कर्मचरीहरुलाई खटाइदिनुभयो ।
आखिर प्रदर्शनीको दिन पनि आइपुगयो । देशका सुन्दरी कन्या केटीहरु शृङ्गार गरी सजिसजाउ भई मनमोहक ढङ्गले सिद्धार्थको अगाडि आइन् । ती हरेक सुन्दरीले सिद्धार्थबाट कुनै न कुनै उपहार पाइन् । तर तिनीहरु राजकुमार सिद्धार्थबाट उपहार पाउने सौभाग्य पाएर पनि धेरै रमाएनन् । तिनीहरु फर्केर आफ्ना सखीहरुकहाँ पुगेपछि मात्र सजिलो भएको अनुभव गरिन् । केटीहरुलाई यस्तो हुनु स्वाभाविक नै हो ।
राजकुमार सिद्धार्थ अरु युवकहरुजस्ता हुनुहुन्न्थ्यो । वहाँले ती केटीहरुको सौन्दर्यलाई ध्यान दिएर हेर्नुभएन । वहाँको हात उपहार प्रदान गर्नमा लागिरहेको भएता पनि मनले भने अर्कैै महान् विचार गरिरहनुभएको थियो । केटीहरु आपसमा कुरा गर्न थाले, “राजकुमार त अरु मानिसजस्तो हुनुहुन्न । देवताजस्तो हुनुहुन्छ ।”
केटीहरु आउने क्रम सिद्धिन लाग्दा त्यहाँ राखिएका उपहारहरु पनि सकियो । तर पनि राजकुमार सिद्धार्थ चूपचाप बसिरहनुभयो । वहाँको मन भने अर्कैतिर लागेको देखिन्थ्यो । सुन्दरीहरुप्रति वहाँको वास्ता नै थिएन । यत्तिकैमा एउटी केटी अबेर भएकोले हतारहतार गरी आइपुगिन् ।
त्यो केटी आइपुग्दा सिद्धार्थ कुमार अलिकति झस्कनुभएको जस्तो देखियो । यो कुरा त्यहाँ पहरा दिइबसेकाहरुले पनि सुइँको पाए । त्यो भने आफु केटी नै भएता पनि अरु केटीझैँ लाज नमानी सोझै राजकुमार सिद्धार्थको मुखतिर ताकेर मुसुक्क हाँसेर, “उपहार त सबै सकियो । तर यो एउटा भए पनि लिएर आऊ ।” भनी सुनको अति राम्रो सिक्री आफ्नो गर्दनबाट उतारेर आफ्नै हातले उक्त केटीको गलामा पहिराइदिनुभयो ।
राजआज्ञा अनुसार चीसो लिइबसेकाहरुले राजकुमारको सबै व्यवहारवारे आपसमा छलफल गरे । सोधपूछ गरिहेर्दा थाहा पाइयो कि उक्त केटी राजा सुप्रबुद्धकी छोरी यशोधरा रहेछिन् । अनि सबै राजकर्मचारीहरु तुरुन्तै फर्केर राजा श्ुद्धोदनले सुप्रबुद्धकहाँ केटी माग्न आफ्ना ठुलाठुला ओहदाका राजकर्मचरीहरु पठाउनुभयो ।
हिमालयनिरका यी अति वीर शाक्यहरुको एउटा चलन थियो । विवाह गर्न चाहेको कुनै पनि युवकले आफ्नो खूबी देखाउनु पथ्र्यो । जस्तै ः अस्वारोहण, तीरन्दाजी तर तरबार जुधाउनु आदि । यस्ता कुराहरुमा आफु चलाक एवम् योग्य भएको कुरा जनसमूहलाई देखाउनुपर्दथ्यो । सिद्धार्थ कुमारले पनि देखाउनुहुने भयो । त्यसो हुनाले शाक्य राज्यका सबै बलिया र चलाक युवकहरुलाई कपिलवस्तुको परीक्षा मैदानमा भेला गराए ।
भेला भएका सबैजना युवकहरु अश्वारोहण, तीरन्दाजी तथा तरबार चलाउने विद्यामा सिपालु र चनाखा थिए । ती सबैजनाले आआफ्ना सीप देखाए । अमात्य तथा जनताको त्यो ठुलो भेलाका बीच सिद्धार्थले पनि आफ्नो सीप देखाउनुभयो । तीरन्दाजी सीप प्रदर्शनीमा वहाँले सबभन्दा सिपालु आफ्नो काकाको छोरा देवदत्तले भन्दा पनि टाढासम्म हान्नुभयो ।
तरबार चलाउने विषयमा त राजकुमार सिद्धार्थले आफ्नो नरम हातले पनि यत्ति जोरसित हान्नुभयो कि एकै चोटमा रुख त मुलाझैँ छिनिएर पनि तटस्थ रह्यो । हेर्नेहरु दङ्गदास रहे । रुख छिनियो । तर ढलेको थिएन । हावाको झोक्काले रुख विस्तारै भुइँमा ढल्दा मानिसहरु के देख्दथे भने, काटिएको यत्ति सफा छ मानौँ घिऊ काटेको झैँ देखिन्थ्यो । यसपटकको खड्ग प्रहारमा आफ्नी सानीआमाका पुत्र राजकुमार नन्दलाई जितेर वहाँ पहिला हुनुभयो । त्यहाँ भेला भएका दर्शकवर्गले त खड्ग प्रहारमा नन्द कुमारलाई कसैले पनि जित्न सक्दैन भनी ठानेका थिए ।
त्यसपछि अश्वरोहण कला देखाउने पालो आयो । राजकुमार सिद्धार्थले अलि छिटो दौडने कण्ठक भन्ने घोडा चढेर सजिलै अरु प्रतियोगीहरुलाई पछाडि पार्नुभयो । कोहीकोहीले भने, “यसरी राजकुमारले सजिलै जित्नुभएको वहाँको घोडाको कारणले हुनुपर्दछ । यदि कण्ठकजस्तो शीघ्र धावक घोडा चढ्न पाएको भए हामीले पनि पक्कै जित्ने थियौँ । अब अघिपछि कहिल्यै नचढिएको कालो घोडा ल्याई, कसले यसलाई चढ्न सक्छ ? अथवा यसको पिठ्युँमा को धेरै वेरसम्म बस्नसक्छ ? भनी जाँची हेरौँ ।”
युवकहरु प्रत्येकले त्यो कालो घोडाको लगाम समाती त्यसको पिठ्युँमा चढ्न यथाशक्य कोसिस गरे । तर त्यो नसाधिएको घोडाले झट्का दिई उफ्रेर चढ्न खोज्नेलाई तल भुइँमा पछारिदिन्थ्यो । क्रमशः अर्जुन राजकुमारको पालो आयो । उनी देशका सर्वोत्तम अश्वारोही मानिन्थे । उनले भने थोरै मात्र मेहनतले त्यो घोडा चढेर घोडालाई मैदानको चारैतिर दगुर्न लगामद्वारा इसारा दिए ।
तर एकैछिनमा यस्तो होला भनी कसैले पनि कल्पना गरेको थिएन । त्यो नसाधिएको कालो घोडाले आफ्नो टाउको तथा गर्दन झट्ट मास्तिर हुत्याई पछाडिका खुट्टाहरुका बलमा उफ्रेर राजकुमार अर्जुनलाई पिठ्युँबाट भुइँमा पछारिदियो । यस्तो हुने घटनाप्रति चनाखो भई बसेका उद्धार टोलीले झट्ट आएर उद्धार नगरेको भए त्यो घोडालाई पिट्दै काबुमा नलिएको भए त्यसले त्यो राजकुमारको ज्यानसमेत लिने थियो ।
सम्झौताबमोजिम त्यो नसाधिएको जङ्गली घोडाले हङ्गामा मच्चाएको लगत्तैपछि सिद्धार्थको पालो पर्दथ्र्यो । सबैजनाले आशङ्का गरे, “यसमा सिद्धार्थको ज्यान जानेछ ।” किनभने देशका सर्वोत्तम अश्वरोही ठानिएका राजकुमार अर्जुन नै झण्डै मरेको । तर राजकुमार सिद्धार्थ कत्ति पनि डराउनुभएन । वहाँ विस्तारै सेता घोडा भएतिर जानुभयो । अनि एउटा हात त्यसको गर्दनमा र अर्को हातले नाकनिर सुम्सुम्याउँदै केही मीठोमीठो बोली बोलेर घोडाको पिठ्युँमा धाप दिनुभयो ।
यसपालि त्यो घोडा ठिङ्ग उभिदिएकोले सबैजना आश्चर्यचकीत भए । घोडा सिद्धार्थलाई आफ्नो पिठ्युँमा चढाई इसाराबमोजिम राम्ररी हिँड्यो । यसप्रकार त्यो घोडालाई कुनै ठोकपिट नगरिकन नै फुर्तिसाथ सजिलैसित चढेको यो नै पहिलोचोटि हो । किनभने त्यसले अहिले सिद्धार्थबाट पाएझैँ पहिले कसैबाट माया पाएको थिएन ।
अन्ततः सबैले स्वीकारे, सिद्धार्थ देशका सर्वश्रेष्ठ अश्वारोही हुनुहुन्छ । वहाँ अति सुन्दरी यशोधरादेवीका पिता राजा सुप्रवुद्ध यो देखेर दङ्ग भए । उनले राजकुमार सिद्धार्थप्रति सन्तुष्ट भई आफ्नो सुपुत्री यशोधरादेवी विवाह गरिदिन स्वीकार गरे ।
शुभविवाह समारोहमा भेला भएको ठुलो जनसमूहले राजकुमार सिद्धार्थको जयजयकार गरे । राजकुमार सिद्धार्थको विवाह यशोधरादेवीसँग धुमधाम गरी भयो । विवाहपछि वहाँहरु नवनिर्मित सुन्दर महलमा बस्नुभयो । यो महल राजपिताले आफ्नो राजकुमार तथा राजवधुलाई रमाइलो तथा आनन्दपुर्वक बसाउन युवाहरुको मनपर्ने सम्पुर्ण सुखसुविधाले पुर्ण गरी बनाइ दिनुभएको थियो । अब राजा शुद्धोदन यस्तो विचार गरी खुसी हुनुभयो, “अब त मेरो राजकुमार मलाई तथा राजसिँहासन त्यागेर सन्न्यासी बन्न जानेछैन ।”
राजकुमार सिद्धार्थको मनमा दरबार छोडी सन्न्यासी बन्न जाने विचार आउन नदिन तथा दरबारको सुख भोगबाहेक अरु कुरामा मन जान नदिन राजा शुद्धोदनले धेरै कोसिस गर्नुभयो । शोक सन्ताप उत्पन्न गराउने किसिमका कुनै कुरा देख्न दिइएन । त्यस्ता कुरासम्म पनि सुनाइएन । राजकुमारका वरिपरि बस्ने सबैजनालाई रातदिन खुसीको तथा आनन्द र मोजमज्जाको कुरा मात्र गराइयो । हँसिलो मुख मात्र देखाउँथ्यो । नाचगान गर्दा पनि कहिल्यै गलेको थाकेको देखाइएन ।
राजा शुद्धोदनले राजकुमार सिद्धार्थको त्यो महलको चारैतिर बगैँचा बनाई पर्खालले घेर्न लगाउनुभयो । त्यसको भित्र सुखी तथा अनन्दित भाव प्रदर्शन हुने हँसिलो चेहराको युवाजन मात्र जान पाउँथे । महलभित्र यदि कोही विरामी भए त्यसलाई तुरुन्त वाहिर ल्याइन्थ्यो । निको नहुञ्जेलसम्म भित्र जान दिइन्दैनथ्यो । राजकुमारलाई कुनै पनि हालतमा बाहिर जान नदिन पहरेदारहरुलाई कडा आज्ञा दिइएको थियो ।
सिद्धार्थको गृहत्याग
राजा शुद्धोदनले सिद्धार्थलाई धेरैधेरै आनन्द र भोगविलासको प्रबन्ध गरिदिएका थिए । तर दुःखका अनुभवबाट जति टाढा राखेता पनि सिद्धार्थ खुसी हुन सक्नुभएन । बहाँ आफ्नो दरबारिया संसारभन्दा बाहिरि दुनियाँ हेर्न चाहनुहुन्थ्यो । वहाँ हेर्न चाहनुहुन्थ्यो, अरुहरुको जीवन कस्तो हुँदो हो । त्यसो हुनाले वहाँले बारम्बार आफ्ना बुबा शुद्धोदनलाई बाहिरि दुनियाँ हेर्न नपाएको गुनासो पोख्नुभयो ।
राजा शुद्धोदनले आफ्नो राजकुमारको नगर घुम्ने चाहनालाई रोक्न सक्नुभएन । अनि वहाँले “फलानो दिनमा सिद्धार्थ राजकुमारले नगर भ्रमण गर्नुहुनेछ । सबैले बाटोघाटो सफसुग्घर गर । घरआँगनमा रङ्गरोगन लगाऊ तथा लिपपोत गर । फुल तथा ध्वजापताकाहरुले सजाऊ । नगरलाई झकिझकाउ पार । कसैले बाटोमा बसेर कुनै कामधाम नगर्नू । अन्धो, कुप्रो, घाइते, बूढाबूढी तथा रोगीहरुलाई कुनैपनि हालतमा बाटोमा आउन नदिनू । यस्ताहरु दैलो थुनेर घरैमा बसिरहनू ।” भनेर घोषणा गर्न लगाउनुभयो ।
यसरी सबैथोक मिलाइसकेपछि राजकुमार सिद्धार्थलाई नगर भ्रमणको अनुमति दिइयो । अनि वहाँ राजकीय रथमा बसी नगर भ्रमणमा निस्किनुभयो । वहाँले बाटामा भेटिएका सबै कुराहरुलाई नियालेर हेर्नुभयो । त्यहाँ खुसी तथा हँसिलाहरुमात्र स्वागतार्थ उभिएको देख्नुभयो । नागरिकहरु वहाँलाई आफ्ना बीचमा आउनुभएको देखेर औधी खुसी भए । सबैजनाले वहाँको जयजयकार गरे । कसैले वहाँको बाटोमा लावा र फुलहरु छरे ।
त्यसैबखत अचानक एकजना बूढो मानिस लँगडाउँदै घरबाट बाहिर आइपुग्यो । उसको कपाल फुलेको थियो । जीउमा झुत्रोमुत्रो लगाएको थियो । मुहार कोत्रिएको तथा चाउरी परेको थियो । आँखा अति कमजोर तथा आँसु र चिप्राले लत्पतिएको थियो । मुखमा दाात एकओटा पनि थिएन । ऊ आफ्नो कुप्रिएको जीउ थाम्न दुबै हातले एउटा लौरो टेक्दै आएको थियो । ऊ मुश्किलले आफ्नो जीउलाई थामेर कराउँदै थियो, “हे दयालुजन ! मलाई खाना देऊ । म खान नपाई मर्न आँटेँ ।”
बाटोमा यस्तो बूढो मानिस देखेर सबैजना रिसाए । तर सिद्धार्थ कुमारले देख्नेगरी रिस गर्न पनि मिलेन । राजकुमारले नगर भ्रमणमा यस्तो कुनै मानिसलाई नदेखुन् भन्ने राजाको योजना भताभुङ्ग भयो । त्यो बूढो मगन्तेलाई प्रहरीहरुले तुरुन्त बाटोबाट हटाई एउटा घरमा हुलाइदिने कोसिस गरे । तर सकेनन् । राजकुमार सिद्धार्थले पहिले नै त्यो बूढो मानिसलाई देखिसक्नुभएको थियो ।
यस्तो बूढो मानिसलाई देखेर सिद्धार्थलाई अति दुःख लाग्यो । वहाँलाई यो के को दृश्य हो ? भन्ने लाग्यो । अनि आफ्नो प्रिय सारथी छन्दकसँग सोध्नुभयो, “हे छन्दक ! त्यो के हो ? मानिस त पक्कै होइन होला ? यदि मानिस नै हो भने त्यो किन यत्तिविघ्न कुप्रियको ? अरुको जस्तो उसको कम्मर किन सोझो नभएको ? किन त्यसरी थररर कामेको ? कपाल पनि हाम्रो जस्तो नभएर गजबले फुलेको छ ? उसको आँखामा के भएको ? मलाई भन न छन्दक ! यसको मतलब के हो ?”
छन्दकले विन्ति ग¥यो, “राजकुमार यस्तोलाई बूढो भनिन्छ । ऊ जन्मजात त्यस्तो भएको होइन । ऊ पनि पहिले जवान छँदा उसको शरीर हृष्टपुष्ट तथा बलियो थियो । उसको कपाल कालो तथा आँखा तेजिलो थियो । तर जतिजति समय वित्यो, त्यतित्यति उसको शरीर यति दुर्वल हुँदै गयो । यसमा हजुरले चिन्ता नगर्नुहोला । बूढाबूढी भएपछि सबैजनालाई यस्तै हुन्छ ।”
“छन्दक ! तिमीले के भन्न खोजेको हँ ?” सिद्धार्थले विश्मयपुर्वक सोध्नुभयो, “के सबैजनालाई यस्तै हुने छ र ?”
छन्दकले दृढतापुर्वक जवाफ दियो, “यो लोकमा भएका सबै प्राणीहरु धेरैदिन बाँचेपछि यो मानिसजस्तै हुन्छन् । यस्तो हुनबाट कोही मुक्त हुन सक्दैन ।”
सिद्धार्थले फेरि सोध्नुभयो, “सबैलाई यस्तै हुन्छ र ? छन्दक ! तिमी, म, मेरा मुमाबुबा, मेरी पत्नी र हामी सबैजना ऊजस्तो नै हुनुपर्ने छ र ?”
छन्दकले जवाफ दियो, “यस्तै हो हजुर, “यस्तो हुनबाट कोहीपनि बच्न सक्दैन । यो वृद्धत्त्व हो ।”
राजकुमार सिद्धार्थलाई अब नगर घुम्ने इच्छा रहेन । वहाँले छन्दकलाई रथ तुरुन्त दरबार फर्काउन अह्राउनुभयो । वहाँ आफुले देखेको भयावह समस्याबारे एकान्तमा बसेर बिचार गर्नुभयो, “अहिले म राजसिँहासनको उत्तराधिकारी छु । तर म तथा मेरा प्रियजनहरु पनि एकदिन यस्तै दुःखद हालतमा पुग्नेछन् । यसबाट बच्ने उपाय छैन । जोकोही होस् , जहाँ होस् , कसैलाई छोड्दैन । चाहे धनी होस् , चाहे गरिव होस् , चाहे प्रतापशाली होस् , चाहे दीनहीन होस् । सबैको त्यही गति हुनेछ ।
राजकुमार सिद्धार्थलाई रातमा निद्रा लागेन । आफु तथा आफ्नी पत्नी बूढाबूढी हुनेछन् भन्ने कल्पना गरिरहनुहँुदा मनमा जिज्ञासा उठ्यो, “यस्तो भयानक दुःखबाट मुक्तिको तरिका पत्ता लगाउन किन कोही व्यक्ति कोसिस गर्दैन ? अरु सबैथोक गर्न छोडेर सारा मन, वचन र कर्मले यही एउटै विषयमा मात्र लागिपरेमा लोकका सबै प्राणीहरुका लागि उपकार हुने उपाय मैले भेट्टाउन सकिन्नँ र ?”
राजा शुद्धोदनलाई बाटोमा घटेको घटनाको बारेमा बेलिविस्तार बताइयो । राजाले ठुलो अफसोस गर्नुभयो । अनि अझ धेरै मनलुभाउने र मोजमज्जाका साधनहरु राजकुमारलाई प्रबन्ध गरिदिनुभयो । तर पनि केही काम लागेन । युवक सिद्धार्थले ती कुराहरुमा कुनै चाख लिनुभएन । बरु वहाँले सर्बसाधारण जनताका दैनिक क्रियाकलाप हेर्न नगर भ्रमण गर्न जान चाहनुभयो ।
“सिद्धार्थकुमार फेरि नागर भ्रमणमा जानुहुँदा सामान्य जनताका जीवन देख्नुहुनेछ । जसले सेठका कुलमा अथवा राजारजौटाहरुका कुलमा जन्मने शौभाग्य पाएका छैनन् , तिनीहरुले धेरै मेहेनतका साथ पसिना बगाई कृषि आदि कार्य गर्नुपर्छ । यस्ता कुराहरु सिद्धार्थले देख्नुहुनेछ । अनि कालदेवल ऋषिको भविष्यवाणी सत्य ठहरिन आउला ।” भन्ने कुराको शुद्धोदन राजालाई डर थियो । तर पुत्र स्नेहको कारणले गर्दा अस्विकार गर्नु पनि उचित ठान्नुभएन तसर्थ राजकुमारले फेरि एकचोटि नगर घुम्नजाने मौका पाउनुभयो ।
अघिझैँ रथमा नबसी सिद्धार्थ यसपाली हिँडेर नै भ्रमणमा जानुभयो । वहाँले अरु भद्रभलादमीहरुकाजस्ता लुगाहरु लगाइ राख्नुभएको थियो । छन्दक एकजना मात्र साथमा थियो । उसले पनि पहिलेपहिलेको भन्दा भिन्नै प्रकारको पोशाक लगाएको थियो । त्यसो हुनाले वहाँले नगरलाई स्वाभाविक रुपमा देख्नुभयो । नागरिकहरु विभिन्न मेहनतसाध्य काम गर्दै थिए । जस्तैः नकर्मीहरु फलाम पोली फाली, हँसिया तथा पाङ्ग्रा आदि बनाउँदै थिए ।
धनीहरुको वस्तीको सडकको दुबै छेउमा हीरामोति तथा सुनका गहना पसलहरु थिए । जौहरीहरु विभिन्न गहनाहरु बनाउँदै बेच्दै थिए । कुनैकुनै बाटोमा धोबी र छिपाहरुका पसलहरु थिए । तिनीहरु रङ्गीविरङ्गी सुन्दरसुन्दर कपडाहरुलाई घाममा सुकाउँदै थिए । एक छेउमा मिठाईका पसलहरु थिए । ग्राहकहरु मिठाई किन्दै खाँदै थिए । सबैजना खूब मेहनत गरी जाँगरपुर्वक आआफ्ना काममा लागेका थिए । यी कुराहरु देखेर सिद्धार्थको मनलाई आनन्द लाग्यो ।
यसप्रकार अभिरुचिपुर्ण कुराहरु हेर्दै जाँदाजाँदै तुरुन्त नै राजकुमारलाई दुःख भयो । किनभने वहाँले पछाडिबाट कोही रोई कराई गुहार मागिरहेकोजस्तो पीडाको आवाज सुन्नुभयो । एकजना मानिस रहस्यमय ढङ्गले धुलोमा लत्पतिएर भुइँमा छट्पटाइरहेको देख्नुभयो । मुख तथा जीउभरि राताराता खटिराले भरिएर फोहोर देखिन्थ्यो । आँखाहरु पीडाले फिरफिराउँथ्यो । उठ्नको लागि दाँत किटी जीउ थाम्न कोसिस गरेता पनि हरेक पटक भुईंमा नै ढल्दथ्यो ।
सिद्धार्थ दया र करुणाका साथ तुरुन्त त्यो मानिसको नजिक पुग्नुभयो । वहाँले उसलाई थामेर उठाउनुभयो । उसको शिरलाई आफ्नो घुँडामा थामी केहीछिन सुस्ताउन दिइसकेपछि वहाँले सोध्नुभयो, “कहाँनिर दुखेको छ ? किन उठ्न नसकेको हो ?” त्यो रोगीले बोल्न खोज्यो । तर बोली फुटेन । आवाज आउनेगरी बोल्न उसको सासले पुगेन । अनि राजकुमारले सोध्नुभयो, “हे छन्दक ! यो मानिस किन यस्तो भएको ? उसको सास कस्तो भएको हो ? उसले किन मेरो प्रश्नको जवाफ दिन नसकेको हो ?
छन्दकले आएर विन्ति गर्यो, “हजुर यसलाई नछुनुहोला । यो विरामी हो । यसको शरीरभित्र भयानक रोग चर्को भएर सास तान्न पनि गाह्रो भएको छ । उसको रगत विषले भरिएको हुन्छ । पछि उसको सास रोकिनेछ ।
अनि सिद्धार्थले सोध्नुभयो, “के अरु मानिसहरुलाई पनि यस्तो हुने गर्छ र ? म पनि यस्तो हुनेछु र ?”
“यदि त्यो विरामीसँग यसरी नजिकिएर लसपस हुनुभयो भने हजुरलाई पनि त्यो रोग सर्नसक्छ । त्यसो हुनाले यसलाई छोड्नुहोला । यसलाई समाती नराख्नुहोला ।” छन्दकले भन्यो ।
“ए छन्दक ! यो रोगबाहेक अरु अरु पनि डरलाग्दा कुरा छन् के ?”
“हजुर धेरै छन् । सबैलाई यस्तै दुःखले च्यापेको हुन्छ ।”
“के त कसैले पनि निवारण गर्न सक्दैन र ? यस्तो रोगहरुप्रति मानिसहरु विजय पाउन सक्दैनन् र ?”
“यस्तो हुनु स्वाभाविक हो हजुर । कसैलाई थाहा हुँदैन । कुन दिन कसलाई कुन रोग लाग्ने हो ? किनभने रोग भनेको त जो कसैलाई जुन बेला पनि हुन सक्ने हो ।”
“सबैलाई नै हुन्छ र ? मालिकहरुलाई पनि, मलाई पनि हुन्छ र ?”
“यस्तै हो हजुर ! रोगले कसैलाई पनि बाँकी राख्दैन ।”
“यदि त्यस्तो हो भने लोकमा हरेक प्राणी सधैँ भयभीत भइरहनुपर्ने हुन्छ । किनभने कसैलाई थाहा छैन कि आफु आज राति सुतेर भोलि उठ्दा यो मानिसझैँ विरामी परिसकेको हुने हो कि ! के यो साँचो कुरा हो ?”
“हो हजुर ! को कहिले र कुन किसिमको रोगी हुन्छ ? भनेर थाहा पाउने कोही पनि छैन । अनि असह्य कष्ट सहेर मर्छ ।”
“मर्छ रे ! यो के भनेको ? मर्नु भनेको के हो ?”
अनि छन्दकले औँल्याउँदै सिद्धार्थलाई भन्यो, “उता हेर्नुहोस् ता हजुर !”
राजकुमार सिद्धार्थले के देख्नुभयो भने एउटा समूह रुँदै गइरहेको थियो । त्यसका अगाडि ४ जना मानिसहरुले घारोमा एउटा लास लगिरहेको थियो । त्यसको मुहार दुब्लो थियो । डरलाग्दो तालले मुख बाएको थियो । बोक्नेहरुले जसरी चलाए पनि उचालेता पनि चूपचाप बसेको थियो । वहाँले विचार गर्नुभयो, “यसरी सबैजना किन रुनुपरेको होला ? तथा त्यो लेटेको मानिसले आफुलाई बोक्नेहरुलाई ‘अलि समालेर होशियारीसाथ लैजाऊ’ सम्म पनि किन नभनेको होला ?”
सिद्धार्थको मनमा झन् आश्चर्य लाग्यो, जब तिनीहरुले केही टाढा गइसकेपछि त्याने लासलाई चितामा राखी आगो सल्काइदियो । त्यो लास आगोले खाँदा पनि चूपचाप बसिरहेछ । सिद्धार्थले काँपेको स्वरमा छन्दकसँग सोध्नुभयो ।, “यो के हो छन्दक ? अरुहरुले बालिदिँदा पनि त्यो मानिस चूपचाप किन लेटिरहेको होला ?”
“हजुर त्यो मरेको मानिस हो । हुन त उसँग हातखुट्टा छन् । तर पनि ऊ केही गर्न सक्दैन । आँखा तथा कान छन् । तर केही काम लाग्दैन । उसले गर्मी जाडो आदि केही चाल पाउँदैन । उसको सारा सम्बेदनशीलता भनेको नै खत्तम भइसक्यो । किनकी ऊ मरिसक्यो ।”
मरिसक्यो रे ? ए छन्दक ! यो मर्नु भनेको मतलब के हो ? म पनि मर्नुपर्छ र ?
मेरा पिता र पत्नी यशोधरा तथा अरु मैले चिनेजानेका सबैजना यो घारोमा लेटाइएकोजस्तो नै मर्नुपर्छ र ?”
“हो हजुर ! सम्पुर्ण प्राणीहरु एकदिन मर्नैपर्छ । यसबाट बच्ने कुनै उपाय छैन । मरण आउनबाट कसैले रोक्न सक्दैन ।”
राजकुमारलाई अचम्म लाग्यो । वहाँको मुखबाट बोली निस्केन । वहाँलाई लाग्यो, “यो अजेय मृत्युले सम्पुर्ण प्राणीलाई दबाइराखेको बडो भयानक छ ।
सिद्धार्थ चूपचाप दरबारमा फर्कनुभई आफुले देखेका तथा अनुभव गरेका कुराहरु बारे चिन्तन गर्नुभयो, ‘यो त निकै भयानक कुरा हो । सबैजना कुनै न कुनै दिन मर्नैपर्छ । तर यसबाट मुक्त हुने कुनै न कुनै बाटो अवश्यै हुनुपर्छ । मेरा आफ्नै लागि, मेरा मातापिताका लागि, घरकी यशोधराका लागि, अझ बाँकी सम्पुर्ण प्राणीहरुका लागि । यस्तो अप्रिय कुराको भयवाट बच्ने उपाय मैले अवश्य नै पत्ता लगाउनु पर्छ ।”
अर्कोचोटि राजकुमार सिद्धार्थ घोडा चढीकन उद्यानमा चहारी रहनुभएको बेलामा एकजना प्रव्रजितलाई देख्नुभयो । उसले पहेँलो गेरुवा वस्त्र लगाएको थियो । राजकुमारले नियालेर त्यो प्रव्रजितलाई हेर्नुभयो । प्रव्रजितको मनमा शान्ति सुखले भरिएर शीत्तल भएको आभास वहाँले पाउनुभयो । वहाँले छन्दकसँग यो प्रव्रजित व्यक्तिको व्यवहार तथा आजीविका बारे सोध्नुभयो ।
छन्दकले विन्ति ग¥यो, “लोकका दुःखदर्द हटाउने उपाय खोज्नका लागि घरवार छोडेका यस्ता व्यक्तिलाई गृहत्यागी भनिन्छ ।” यो सुनेर राजकुरमार सिद्धार्थको मन साह्रै प्रमुदित भयो ।
त्यो दिन वहाँ त्यस उद्यानको एक छेउमा दिनभरि आनन्द तथा सुखपुर्वक विताउनुभयो । वहाँको मनमा गृहत्याग गर्ने विचार आइरह्यो । त्यसैबेला एकजना आएर विन्ति चढायो, “हजुरकी अर्धाङ्गिनी यशोधरादेवीले सुन्दर र स्वस्थ्य छोरा जन्माइन् ।” तर राजकुमार सिद्धार्थले यो खबरबाट कुनै खुसी मान्नुभएन । बरु वहाँ बरबराउनुभयो, “मलाई पासो बन्ने राहु उत्पन्न भयो ।” वहाँले यस्तो बोल्नुभएकोले सो भरखर जन्मेको राजकुमारलाई ‘राहुल’ भनी नामाकरण गरियो । जसको अर्थ हो ‘बन्धन’ ।
राहुल कुमार जन्मे पनि सिद्धार्थ पुत्रस्नेहमा नपरेको कुरो दरबारका सबैजनाले स्पष्ट देखे । सिद्धार्थको व्यवहार झन् बदल्न थाल्यो । वहाँ झन् विचारमग्न हुनुभयो । यसले गर्दा राजा शुद्धोदनलाई साह्रै पीर पर्यो । राजकुमारलाई खुसी तथा प्रसन्न पार्नका लागि नाचगान गर्न सबभन्दा सिपालु एवम् अति सुन्दरी तरुणीहरु दरबारमा लगाइदिनुभयो । ती कन्या केटीहरुले यथाशक्य आकर्षक ढङ्गले नाचगान गरिकन राजकुमारलाई खुसी पार्न खोजे ।
सुरुसुरुमा राजकुमारले आफ्ना पितालाई वेखुस हुन नदिन त्यो नाचगान हेर्नु र सुन्नुभयो । तर वहाँले त्यसमा धेरैबेर ध्यान दिन सक्नुभएन । वहाँको मन निरन्तर अर्कै कुराहरुमा रुमल्लिरहेको थियो । वहाँले एउटै कुरालाई मात्र विचारयोग्य ठान्नुभयो । त्यो हो ‘आफुलाई तथा अरुहरुलाई बूढा हुनु, रोगी हुनु , मर्नुबाट कसरी मुक्त गर्ने ?” सिद्धार्थको ध्यान तान्न नसकेर नाचगान गर्नेहरुले नाचगान बन्द गरे । तिनीहरु त्यहीँ सुतिहाले ।
एकछिनपछि राजकुमार सिद्धार्थ निद्राबाट विउँझनुभयो । वहाँले सु्तिरहेका नटनटी र गायकगायिकाहरुलाई देख्नुभयो । तिनीहरु थाकेर निदाएका थिए । तिनीहरुले आफ्नो मर्यादाको पनि होश गर्न सकेका थिएनन् । कोही नाक बजाई घरघराउँदै थियो । कोहीले मुख बाएका थिए । कोही आफ्ना गरगहना तथा लुगामा पर्नेगरी मुखबाट ¥याल चुहाई निदाइरहेका थिए । कोही रिसाएको पिशाचझैँ दाह्रा किट्दै थिए । कसैकसैका जीउबाट लुगा पनि खुस्केको थियो । यो घीनलाग्दो दृश्य देखेर राजकुमारलाई आश्चर्य लाग्यो, “अघिअघि म यस्ता आइमाईहरुमा कसरी सन्तुष्ट हुनसकेको हुँला ?”
“पहिले मनपर्दा र सुन्दरी ठानिने यी आइमईहरुका आकारप्रकार अहिले छिः कस्तो ! घिनलाग्दो छ ।” यस्तो अस्तव्यस्त दृश्य देखेर राजकुमार सिद्धार्थको मनमुटुमा जन्मदेखि आएको वैराग्य जाग्यो । अनि वहाँले यी सारा झमेलाहरुलाई फाली यथार्थ सुख प्राप्त हुने कुरोको खोजीमा जाने निर्णय गर्नुभयो । अनि राजकुमार सिद्धार्थ कसैले पनि चाल नपाउने गरी चूपचाप उठी विस्तारै कोठाबाट बाहिर निस्कनुभयो । छन्दकलाई आफ्नो मनपर्ने सेतो कन्ठक घोडा तयार गरील्याउन अह्राउनुभयो ।
सिद्धार्थले विचार गर्नुभयो, ‘राजदरबार छोडेर जानुअघि यशोधरा र पुत्र राहुललाई हेर्न जानुप¥यो ।’ अनि तिनीहरु सुतेको कोठामा जानुभयो । त्यहाँ यशोधरादेवी पुत्रलाई अङ्कमाल गरी निदाइरहेकी थिइन् । वहाँको मनमा आयो, ‘यदि मैले राहुललाई लिएँ भने यशोधरादेवी विउँझिनेछिन् । यस्तो भएमा मेरो गृहत्यागमा बाधा पर्नेछ । तसर्थ म तुरुन्तै जानुप¥यो । बरु ज्ञान पाएपछि आएर भेट्नेछु ।’ अनि त्यही मध्यरातमा कसैले चाल नपाउनेगरी राजकुमार सिद्धार्थ राजदरबारबाट निस्कनुभयो ।
सिद्धार्थ बुझक्कड कण्ठक घोडाको पिठ्युँमा बसेर नगरद्वारको बाहिर पुग्नुभयो । कसैले नबिथोल्ने गरी छन्दक पनि सँगै गयो । अलि पर पुगेपछि राजकुमार सिद्धार्थले घोडालाई एकचोटि पछाडि फर्काई जुनको प्रकाशमा अन्तिम पटक कपिलवस्तु नगरलाई हेर्नुभयो । तर वहाँको मनले भने हरतरहले गृहत्याग गरी जानमा नै भलो ठान्नुभयो ।
राजकुमार सिद्धार्थ कण्ठक घोडा चढेर मिर्मिरे उज्यालो हुँदा अनोमा नदिपारि पुग्नुभयो । त्यहाँ वहाँले घोडाबाट ओर्लेर नदीको वालुवा किनारमा उभिनुभयो । अनि आफ्ना लगाएका वस्त्रआभुषणहरु सबै उतारेर छन्दकलाई दिनुभई अह्राउनुभयो, “यी वस्त्रआभुषणहरु र कण्ठक घोडा लिएर तिमी कपिलवस्तु नगर फर्क । मेरो विषयमा मातापितालाई खबर गर ।” यसरी शाक्यवंशीय राजकुमार सिद्धार्थले प्राणी मात्रको रोग, शोक र पीडामाथि विजय पाउने बाटो पत्तालगाउन २९ वर्षको उमेरमा मातापिता तथा राज्य श्रीसम्पत्ति सबै त्यागेर प्रव्रजित हुनुनभयो ।
सिद्धार्थको वुद्धत्त्वप्राप्ति
छाक पुग्नेगरी भिक्षा पाइसकेपछि भिक्षु सिद्धार्थ भोजन गर्नको लागि राजगृह नगरबाट निस्की पाण्डव पर्वतमा जानुभयो । त्यसबेला नगरवासीहरुमा सिद्धार्थको बारेमा यस्तो हल्लाखल्ला मच्यो, “वहाँको स्वभाव सर्वसाधारण प्रव्रजितको भन्दा भिन्न छ । उहाँ सौन्दर्यमा अनुपम र उच्च स्वभावले युक्त हुनुहुन्छ ।” त्यहाँका राजा विम्बिसारले यो कुरा सुनेर एकजना राजपुरुषबाट पत्ता लगाउनुभयो, “सिद्धार्थ कपिलवस्तुका राजसिँहासनका हकदार हुनुहुन्छ । तर ज्ञानको खोजीको लागि भिक्षु हुनुभएको हो ।”
राजा बिम्बिसार सिद्धार्थलाई भेट्न पाण्डव पर्वतमा जानुभयो । अनि भिक्षु सिद्धार्थलाई वहाँले आफ्नो राजकाजमा बस्नका लागि आग्रह गर्नुभयो । तर वहाँले मञ्जुर गर्नुनभएकोले प्रव्रजित नै भएर पनि दरबारमा बस्न आग्रह गर्नुभयो । ज्ञानको खोजीका लागि सुविधा हुनेगरी भिक्षान्न तथा अन्य कुराहरु चढाउने प्रस्ताव पनि राख्नुभयो । तर वहाँले स्विकार्नु भएन । अनि बिम्बिसार राजाले अनुरोध गर्नुभयो, “त्यसो भए यहाँले ज्ञान पाइसक्नुभएपछि सर्वप्रथम राजगृह नगरमा आई म राजा तथा मेरा प्रजालाई दर्शन दिनुहोस् ।” यो कुरा वहाँले स्विकार गर्नुभयो ।
भोलिपल्ट भिक्षु सिद्धार्थ राजगृह नगरबाट निस्कनुभई विभिन्न मतका सन्न्यासीहरु बस्ने डाँडातिर लाग्नुभयो । बाटोमा वहाँले सहरतिर लगिँदै गरिएका घोडावाख्राहरुको ठुलो वथान देख्नुभयो । त्यसमा एउटा कलिलो पाठोको खुट्टामा घाउ लागेर रगत निस्केको थियो । त्यो पाठो खोच्याउँदै वथानलाई पछ्याउँदै थियो । माउभेडी अत्यन्त दया र पीडापुर्वक आफ्नो त्यो सानो पाठोलाई छिनछिनमा फर्केर हेर्दै गइरहेको थियो । यो देखेर सिद्धार्थको मन करुणाले भरियो ।
भिक्षु सिद्धार्थ त्यो सानो पाठोलाई बोकी मल्दै भेडाको बथानलाई पछ्याउनुभयो । वहाँले गोठालाहरुसँग सोध्नुभयो, “दिनभरि घाँस चराएर साँझ गोठमा लैजानुको सट्टा यस्तो मध्यान्ह समयमा यो वथानलाई यसरी कहाँ लग्दैछौ ?”
गोठालाहरुले विन्ति गरे, “राजाको हुकुम मुताविक हामीले भेडा तथा वाख्रा एकएक सय गरी दिनहुँ नगरमा पु¥याउनुपर्छ । यसबाट राजा ठुलो पुजा गर्नुहु्न्छ ।”
अनि वहाँले, “तिमीहरुसँग म पनि आउनेछु ।” भन्नुभई त्यो पाठोलाई बोकेर नै बथानको पछिपछि लाग्नुभयो ।
हरेक क्षण मृत्युको नजिक गइरहेका ती पशुहरुको वथानका साथ भिक्षु सिद्धार्थ राजगृह नगर पुग्नुभयो । वहाँ त्यो ठुलो पुजा गर्न लागेको त्यो ठाउँ राजप्राङ्गणमा नै जानुभयो । राजा त्यहाँ विभिन्न देवीदेवताहरुको स्तुति पाठ गरिरहेका व्राह्मणहरुका साथ बसिरहनुभएको थियो । यज्ञकुण्डमा आगो पनि बालिसकिएको थियो । व्राह्मण पुरोहितहरु ती भर्खर ल्याइ पु¥याइएका पशुहरुलाई बाँधी यूपमा राखी काट्न तयार थिए । सर्वप्रथम प्रधान पुरोहितले बलीलाई काट्न खुकुरी उठाउँदा भिक्षु सिद्धार्थले तुरुन्त अगाडि सरेर उसलाई रोक्नुभयो ।
भिक्षु सिद्धार्थले बडो प्रिय तथा शिष्ट ढङ्गले राजा बिम्बिसारलाई भन्नुभयो, “महाराज ! पुरोहितलाई विचरो प्राणीको ज्यान लिन नदिनुहोस् ।” सभासद्लाई अत्यधिक प्रभावित हुनेगरी सम्झाउँदै भन्नुभयो, “भेला भएका सबैलाई थाहा भएकै कुरो हो । जीवन कति आश्चर्यजनक छ । यसलाई नाश भने जो कसैले पनि गर्न सकिन्छ । तर सद्य पार्न भने सकिन्नँ ।” वहाँले अझ भन्नुभयो, “मानिसहरुजस्तै नै हरेक प्राणीहरु आफ्नो जीवनलाई माया गर्छन् । मरण देखी सबैजना डराउँछन् । आफैजस्ता प्राणीहरुको जीवन मानिसहरु किन बलपुर्वक लुट्छन् ?”
भिक्षु सिद्धार्थले अगाडि भन्नुभयो, “यदि मानिसले दया, करुणा पाउन चाहन्छ भने पहिले ऊ आफै दयावान् र करुणावान् हुनुपर्दछ । यदि उसले हिँसा गर्यो भने बदलाको रुपमा उसको पनि प्राण हरण हुने कुरो संसारकै नियम हो ।” वहाँले ठोकेर भन्नुभयो, “यदि हामी सुख चाहन्छौँ भने अरु प्राणीहरुलाई दुःख दिनु हुँदैन । चाहे त्यो सानोभन्दा सानो नै किन नहोस् । जुन व्यक्तिले दुःख दर्दको बिउ रोपेको छ, त्यसलाई उस्तै प्रकारको फल आउने कुरोमा पनि शङ्का मान्नु पर्दैैन ।”
भिक्षु सिद्धार्थले त्यो पुजा यज्ञमा भेला भएका राजासहित सन्न्यासी, व्राह्मण, पुरोहित र नागरिकहरुलाई नरम तथा करुणाले भरिएको मनले तर जोडदारपुर्वक सम्झाउनुभयो । अनि राजा बिम्बिसारले फेरि एकचोटि भिक्षु सिद्धार्थलाई आफ्नो राज्यमा बसी जनतालाई दया करुणाको उपदेश दिएर बस्नुहुन प्रार्थना गर्नुभयो । भिक्षु सिद्धार्थले राजालाई सद्भावनाको लागि धन्यवाद दिनुभयो । चाहेको ज्ञान पाई नसकेकोले त्यहाँ बस्ने कुरो भने अस्विकार गरी भ्रमणमा जानको लागि राजासित विदा लिनुभयो ।
यसपटक भिक्षु सिद्धार्थ राजगृह नगरबाट निस्कनुभई त्यसबेलाका नाना सिद्धान्तवादी अनेक आचार्यहरु मध्येमा प्रसिद्ध कालाम गोत्रका आलार तपस्वीकहाँ जानुभयो । वहाँले त्यहाँ सम्पुर्ण सिद्धान्त तथा साधनाहरुमा गुरुसमान योग्यता हासिल गर्नुभयो । वहाँ शिष्यमा हुनुपर्ने सम्पुर्ण गुणहरुले युक्त हुनुभएकोले आचार्यका अति प्रियपात्र हुनुभयो ।
एकदिन आचार्य आलार कालाम तपस्वीले सिद्धार्थलाई भन्नुभयो, “अब मैले जाने जत्ति नै सबै कुरा तपाईंले पनि जान्नुभयो, बुझ्नुभयो । यो सिद्धान्तलाई तपाईंले पनि सिकाउन सक्नुहुन्छ । हामी दुईजनाका बीचमा ज्ञानका बारे कुनै फरक रहेन । म तथा तपाईं मिलेर शिष्यहरुलाई सिकाऔँ ।”
अनि भिक्षु सिद्धार्थले सोध्नुभयो, “के अब गुरुसँग मलाई सिकाउने केही कुरो बाँकी रहेन र ? के तपाईं मलाई रोग, मृत्यु, आदिमाथि विजय पाउने तरिका वताउन सक्नुहुन्न ?”
आलार तपस्वीले सक्दिन भनी जवाफ दिनुभयो । किनभने वहाँले आफुसँग भएका सबै ज्ञान त सिकाइ नै सक्नुभएको थियो ।
आलार कालाम तपस्वीबाट भिक्षु सिद्धार्थले चित्त शान्त गरी इहलोक तथा परलोकमा रहेका कुनै कुराको चाल नपाइने अवस्थाको ध्यान सिकिसक्नुभएको थियो । वहाँको मन त्यसमा लागि पनि सकेको थियो । तर त्यो ज्ञान, जन्म, जरा, व्याधि र मरण आदि जीवनका समस्याको पुर्णसमाधान दिन समर्थ थिएन, जुन वहाँले खोजी गर्दै हुनुहुन्थ्यो । त्यसो हुनाले वहाँ आलार कालाम तपस्वीको त्यो आश्रमबाट विदा लिएर विभिन्न ठाउँहरुमा भ्रमण गर्दै झन् माथिल्लो ज्ञमनको खोजीमा लाग्नुभयो ।
जाँदाजाँदा भिक्षु सिद्धार्थले दर्शनाचार्य उद्दक रामपुत्रको बारेमा सुचना पाउनुभयो । उद्दक रामपुत्र चित्तको बारेमा उच्चञानी हुनुहुन्थ्यो । त्यसैले सिद्धार्थले उनका शिष्यत्त्वमा बसी पुरा उत्साह एवम् मेहनतपुर्वक अध्ययन तथा अभ्यास गर्नुभयो । सिद्धार्थले यहाँ पनि गुरुसमान योग्यता हासिल गर्नुभयो । वहाँको ज्ञान तथा योग्यता देखी गुरु उद्दक रामपुत्र सन्तुष्ट हुनुभयो । अन्तमा वहाँले पनि भिक्षु सिद्धार्थलाई त्यही आश्रममै शिष्यहरुलाई सिकाइ बस्नुहुन आग्रह गर्नुभयो ।
भिक्षु सिद्धार्थ उद्दक तपस्वीबाट प्राप्त ज्ञानबाट पनि सन्तुष्ट हुनुभएन । यो ज्ञान आलार कालामको भन्दा उच्च थियो । यसले चित्तलाई शान्त पार्दा बाहिरि अनुभव मात्र नहुने होइन, “आफु जीवित छ कि छैन ।” भन्ने कुरोको अनुभवसमेत नभएको अवस्थामा पुगिन्छ । तर यति भइसक्दा पनि वहाँले चाहनुभएको जीवनका समस्या सुल्झाउने ज्ञान पाउनुभएन । त्यसो हुनाले वहाँ त्यहाँबाट पनि विदावारि लिएर हिँड्नुभयो । यसपटक वहाँले निर्णय गर्नुभयो, ‘अब विभिन्न गुरुहरुलाई छोडेर आफ्नै बुद्धि र विचारले तथा आफ्नो मेहनतले नै ज्ञानको खोजी गर्नेछु ।’
त्यसबेलाका धार्मिक जनतामा एउटा यस्तो विश्वास थियो, ‘घरवार त्यागेर सन्न्यास भएकाहरु निराहार बसेर तथा अरु विभिन्न तरिकाहरुद्वारा आफ्नो शरीरलाई दुःख दिएमा आफुहरु देवलोकमा अमर भई सुख भोग्न पाइन्छ ।!
उनीहरु सोच्दथे, ‘यो लोकमा जति दुःख भोगिन्छ त्यति नै परलोकमा बढी सुख भोग्न पाइन्छ ।’ त्यसो हुनाले धर्ममा लाग्नेहरु विभिन्न तरिकाद्वारा शरीरलाई दुःख दिई कठोर तपस्या गर्दथे ।
यस्ता व्रतधारीहरुमध्ये कोहीकोही आफ्नो आहारको मात्रा क्रमशः घटाउँदै पुरा निराहार बस्ने अभ्यास गर्दथे । शरीर दुब्ला भई हाड छालामात्र बाँकी हुन्थे । कोहीकोही एउटामात्र खुट्टाको भरमा उभिइ रहन्थे । कोहीकोही सधैँ हात माथि उठाइ राख्दथे । कोहीकोही रुखमा झुण्डिएर बस्दथे । कोहीकोही कहिल्यै हात नखोलिकन मुठी पारी राख्थे । कोहीकोही हत्केला नै छिचोल्ने गरी नङ् बढाएर राख्दथे । कोहीकोही फलामका काँडाहरु माथि सुत्दथे ।
भिक्षु सिद्धार्थले पनि तिनीहरले जस्तै विभिन्न तरिकाबाट शरीरलाई दुःख दिन लाग्नुभयो । वहाँले विचार गर्नुभयो, ‘यदि शरीरलाई दुःख दिई तपस्या गरेको अवस्थामा पक्कै पनि ज्ञान पाउन सकिन्छ होला ।’ उरुवेलमा वहाँले एउटा शान्त र समथर तथा जङ्गलसहितको ठाउँ देख्नुभयो । त्यहाँ खूब शीत्तल र सङ्लो पानी भएको नदी कलकल स्वर गर्दै बग्दथ्यो । स्नानादि गर्नका लागि घाट एवम् भिक्षाटनको लागि गाउँ पनि नजिक थियो । वहाँले त्यहीँ बसेर अति उच्चस्तरको तपस्या गर्ने निधो गर्नुभयो । अब मानिसहरु वहाँलाई वोधिसत्त्व भन्न थाले । यसको अर्थ वोधिको खोजीमा लागेको व्यक्ति हो ।
त्यसबेला पाँछ जना व्यक्तिहरु प्रव्रजित भएर वोधिसत्त्वसँग बस्न आए । उनीहरुका नाम कौडिन्य, भद्दिय, वप्प, महानाम र अस्सजि थिए । उनीहरु कौडिन्य एकजना बाहेक सिद्धार्थलाई नामाकरण गर्ने विद्वान व्राह्मणहरुका पुत्रहरु हुन् । उनीहरु आफ्ना पिताहरु दिवङ्गत भइसकेको हुनाले उनीहरुका सट्टामा प्रव्रचित भएका हुन् । कौडिन्य एकजना सिद्धार्थको नामाकरण गर्ने बेलाका व्राह्मण थिए । उनीहरुलाई पञ्चभद्रवर्गीय भनिन्थ्यो । सिद्धार्थलाई तपस्यारत् बेलामा यी पञ्चभद्रवर्गीयहरु मिलेर सेवा गरे । उनीहरु सिद्धार्थले धेरै कठोर तथा महान् त्यागतपस्या गरेर पाएको ज्ञान सुन्ने आशा गरी बसेका थिए ।
सिद्धार्थले अनेक तरहले कठोर तपस्या गर्नुभयो । वहाँले क्रमशः आहार खान कम गर्नुभयो । हुदाहुँदा पुजा अनसन नै बस्नुभयो । वहाँको शरीर अति दुब्लायो । हाड छाला मात्र बाँकी रह्यो । तर पनि हतोत्साही हुनुभएन । वहाँले आफ्नो तपस्या जारी नै राख्नुभयो । वहाँ धेरैदिनसम्म निराहार बस्नुभएकोले शरीर कमजोर भई बेहोश भई भुइँमा लड्नुभयो । यो घटना अचानक एकजना भेडागोठालोले देख्यो । उसलाई लाग्यो, ‘वहाँ निराहार रहनुभएकोले मरिसक्नुभयो होला ।’ किनभने त्यहाँ वरिपरि आउनेजाने सबैले वहाँको कठिन तपस्यालाई देखेका थिए, जुन कि उसले पनि देखेको थियो ।
त्यसो हुनाले त्यो भेडागोठालोले हत्तरपत्तर एउटा लैनो भेडी बोधिसत्त्वको नजिक ल्याई दूध दुहेर वोधिसत्तव सिद्धार्थलाई खुवायो । जसले गर्दा वोधिसत्त्व सिद्धार्थ होशमा आउनुभयो । केही क्षणपछि वहाँ बस्न पनि सक्नुभयो । अनि मात्र वहाँलाई केही सञ्चो अनुभव भयो । वहाँले विचार गरी हेर्नुभयो, ‘म किन बेहोश भए हुँला ? फेरि कसरी होशमा आएको हुँला ?’ अन्त्यमा वहाँले निर्णय गर्नुभयो कि यो बालकले मलाई दूध नखुवाएको भए आफु ज्ञान पाउन अगाडि नै मर्नसक्थ्यो ।
त्यो बालक भेडागोठालो वोधिसत्त्वलाई निहुरेर अभिवादन गरी दगुरेर आफ्नो भेडाहरुको बथानमा फक्र्यो । आफुले गरेको कामले उसलाई अपार आनन्द लाग्यो । उसले त्यो महान् वोधिसत्त्व तपस्वीलाई दूध चढाएर जीवन बचाएको थियो ।
त्यसैदिन सुर्यास्तको बेलामा केही गवैया आइमाईहरु गीत गाउँदै नगरमा जाादै थिए । त्यो गीतको आशय यस्तो थियो :
“बीणाको तार खुकुलो भएमा स्वर आउँदैन ।
धेरै कस्सियो भने पनि तार नै चुँडिन्छ ।
मधुर स्वर निकाल्न चाहनेले वीणाको तारलाई
ठीक्कसँग कस्नुपर्छ ।
अनिमात्र मधुर स्वर निस्कन्छ ।”
यो गीत सुनेर वोधिसत्त्वको मनमा विचार उठ्यो, ‘मैले जीवनरुपी तारलाई अति कस्सिने गरी तनकाएको रहेछु । त्यसैले शरीरलाई अत्यन्त कष्ट भयो । आफुले खोजेको सत्यधर्म नपाउँदै झण्डै जीवनको नै अन्त्य हुन आँटेको थियो । शरीरलाई कष्ट दिई यसरी घोर तपस्या गर्नु त सत्य धर्मको खोजीको लागि उचित मार्ग रहेनछ ।’
वहाँले निर्णय गर्नुभयो, ‘शरीरलाई कष्ट दिन छोडेर सत्यधर्म खोज्नको लागि चित्तलाई उच्चस्तरमा पु¥याउन कोसिस गर्नेछु । तसर्थ वहाँ हरेक दिन विहान भिक्षाटनमा जानुभयो । पाइएको अन्नपान सेवन पनि गर्नुभयो ।
विस्तारै भिक्षु सिद्धार्थ पहिलेजस्तै नै बलिष्ठ हुनुभयो । वहाँ निर्मल तथा स्वच्छ भई पहिले राजदरबारमा बस्दा जस्तै नै फुर्तिलो र छाँटिलो देखिनुभयो । अब वहाँलाई एउटा कुरा के स्पष्ट भयो भने शरीरलाई दुःख दिएर ज्ञान पाउन खोज्नु बालुवाको डोरी बाट्नखोज्नु जस्तै नै हो । तर पञ्चभद्रवर्गीयहरुले यसरी बुझेनन् । शरीरलाई कष्ट दिनु एउटा मात्र उपाय हो भन्ने विश्वास छोड्न सकेनन् । त्यसो हुनाले वोधिसत्त्वले शरीरलाई पोस्नुहुँदा तिनीहरुले ठाने कि वहाँ अब लोभी हुनुभयो । तसर्थ उनीहरु वोधिसत्त्वलाई छोडेर इसिपतन मिगदाय वनमा बस्न गए ।
त्यसबेला सुजाता भन्ने एकजना महिला थिइन् । तिनले वरवृक्षलाई भाकल गरेकी थिइन् , “पहिलो गर्भमा नै छोरा पाऊँ” भनेर । तिनले चिताए जसरी नै त्यो भाकल पुरा भएकोले त्यो वरवृक्षलाई खीर चढाउन ल्याइन् । वोधिसत्त्वलाई त्यो वृक्षमुनि बसेको देखी तिनले देवता ठानी खीरले पुजा गरिन् । तिनले यसो पनि भनिन् , “जसरी मेरो इच्छा पुरा भयो, त्यसरी नै हजुरको इच्छा पनि पुरा होस् ।” वोधिसत्त्व सिद्धार्थले त्यो तन र मन दुबैको पोषक खीर स्विकार गरी स्मृतिपुर्वक भोजन गर्नुभयो ।
वोधिसत्त्व त्यो दिन नेरञ्जना नदीमा स्नान गरिसकेपछि त्यसको नजिक रहेको शाल वृक्षको घना जङ्गलमा बस्नुभयो । त्यसपछि वहाँले साँझपख सम्बोधि पाउन कोसिस गर्नको लागि उचितस्थान रोज्नुभयो । बटुवाहरुको आवतजावत बन्द भएपछि त्यो शाल वृक्षको जङ्गलबाट निस्कनुभयो । बीचबाटोमा सोत्थिय भन्ने व्राह्मण घँसियाले चढाएको घाँस विछ्याई वहाँ एउटा पिपलको रुखमुनि पुर्वाभिमुख गरी बस्नुभयो ।
त्यहाँ सिद्धार्थले मनमा अधिष्ठान गर्नुभयो, ‘मेरो शरीरको रगत सुकेर गएता पनि, मासु खत्तम भई गएता पनि, छाला नसा तथा हाडहरु मात्र बँचेता पनि, आफुले खोजेको ज्ञान नपाएसम्म अर्थात सारा प्राणीहरुलाई जन्ममरण हुनबाट मुक्त गर्ने विधि पत्ता नलागुञ्जेलसम्म यो आसनबाट उठ्दिन ।’
त्यसपछि भिक्षु सिद्धार्थले हाफ्नो चित्तलाई चाहिने विषयमा मात्र लगाई राख्नका लागि तयार पार्नुभयो । सांसारिक विषय वासनाप्रति रहेको आशक्तिलाई मनमा ठाउँ दिनुभएन । बरु वहाँले विचार गर्नुभयो, ‘दुःखहरु कसरी उत्पन्न हुन्छन् ? यी दुःखहरुबाट कसरी मुक्त हुन सकिन्छ ?’ तर वहाँ भरखर पैँतिस वर्षका युवक हुुनुभएकोले मनमा मोजमज्जाहरुको पनि कल्पना आउँथ्यो । आफु दरबार छँदा गरिएका मनोरञ्जक तथा रमाइला कुराहरुको सम्झना मनमा बराबर आइरहन्थ्यो ।
यी मायामय कल्पनाहरुले सिद्धार्थको मनलाई सांसारिक जीवनमा लोभ उठाइदिन्थ्यो । दरबार फर्केर अघिजस्तै नै आरामकासाथ मनोरञ्जन गरी बस्ने इच्छा जागेर आउँथ्यो । तर वहाँको सत्यधर्म प्रतिको अधिष्ठान बलियो रहेकोले आफ्ना सारा मानसिक बल लगाई त्यस्ता कल्पनाहरुलाई जित्ने कोसिस गर्नुभयो । अन्ततः वहाँ सम्पुर्ण खराब विचारहरुलाई नाश गर्न सफल हुनुभयो । अनि हावा शान्त भएपछि पोखरीको पानी स्वच्छ निर्मल भएझैँ वहाँको मन शान्त तथा स्वच्छ भयो ।
एकाग्र शान्त र समाधिस्थ भिक्षु सिद्धार्थले मनमनै जीवनका सम्पुर्ण गतिविधिलाई नियाल्नुभयो । यसले वहाँ जन्मजन्मान्तरका कुरा सम्झन सक्ने हुनुभयो । यस्तो ज्ञानलाई ‘पुव्वे निवासानुस्सति ञााण’ भनिन्छ । आफ्नो प्रबल ज्ञानबाट अझ विचार गर्नुुहुँदा वहाँले ‘कुन प्रकारका प्राणीहरु जन्मेर मर्छन् , तथा आफ्नो कर्म अनुसार पुनर्जन्म हुन्छन् ।’ भन्ने कुरा थाहा पाउनु भयो । वहाँले देवताहरुको जस्तै अबोध रुपले देख्नसक्ने ‘दीव्य चक्षु’ ज्ञानद्वारा देख्नुभयो, ‘आआफ्ना कर्मको कारणले केही प्राणीहरु असल, सुखी तथा केही दुःखी भई जन्मन्छन् ।’
अन्तमा वहाँले ‘मनुष्यसहित अन्य प्राणीहरु जन्ममरणको भुमरीमा पर्नाको मूल कारण मोह तथा मायामय सुखप्रतिको आशक्ति नै हो । यस्तो दुःखको जालबाट मुक्त हुने इच्छा छ भने हामीले सम्पुर्ण तृष्णा निरोध गर्नुपर्छ ।’ भन्ने कुरा आश्रवक्षय ञानबाट स्पष्ट थाहा पाउनुभयो । वहाँ तृष्णा क्लेशबाट विमुक्त हुनुभयो । वहाँले ‘दुःखहरु कसरी उत्पन्न तथा निरोध हुन्छन् ।’ भन्ने समेत ज्ञान पाउनुभयो । यसप्रकार बैशख पुर्णिमाको जुनेली रातमा सम्यक सम्बोधि ज्ञान लाभ गर्नुभई पैैँतिस वर्षका भिक्षु सिद्धार्थ वुद्ध हुनुभयो । सम्यक वुद्ध हुनुभयो ।
वुद्धको धर्मप्रचार
सम्यक वुद्धलाई आफ्नो मनोवाञ्छित ज्ञान पाएकोमा बडो सन्तोष लाग्यो । तसर्थ वहाँ बोधिमण्डपमै आनन्द मग्न भई बस्नुभयो । यो आनन्द क्लेशसँग युद्ध गर्दाको अनेक असह्य दुःखहरुबाट मुक्त हुनाले पाइएको हो । यहाँबाट वहाँ एक नजिकको वटवृक्षमुनि बस्न जानुभयो । त्यहाँ एकजना व्राह्मण आइपुगे । उनले शिष्टाचारपुर्वक सञ्चो सुविस्ता सोधिसकेपछि फेरि सोधे, “भो गौतम ! यथार्थमा कस्तोलाई व्राह्मण भनिन्छ ? कसलाई घरानियाँ भनी भन्नुपर्छ ?”
भगवान वुद्धलाई भो भगवान ! अथवा भो शास्ता ! भनेर पुकार्नुको सट्टा सो व्राह्मणले गौरवहीन ढङ्गले नाम गोत्रद्वारा सम्बोधन गरेको भए पनि वहाँ रिसाउनुभएन । सोधेको कुराको सोझै जवाफ दिनुभयो । यो जवाफ त्रिपिटकमा श्लोकवद्ध पाइन्छ । त्यसको भावार्थ यस्तो छ, “सबै पाप बगाइ सकेकोलाई व्राह्मण भनिन्छ । त्यस्तै अहङ्कार त्याग्ने, संयमी, मलरहित, ज्ञानी तथा व्रह्मचारीलाई घरानियाँ भनिन्छ । तर त्यस्ताले सांसारिकहरुले झैँ व्यवहार गर्दैन ।” अनि त्यो व्राह्मण “श्रमण गौतम हाम्रा मनका कुरा जान्दछन् । श्रमण गौतम हाम्रा मनका कुरा जान्दछन् ।” भनी भट्भटाउनुभयो ।
केही दिनपछि भगवान वुद्ध अजपाल वृक्षमुनि बस्नुहँदा दुईजना व्यापारीहरु त्यतातिर आइपुगे । उनीहरुले वहाँलाई शान्त तथा सन्तुष्ट भई बस्नुभएको देखे । अनि उनीहरुले गौरव तथा श्रद्धापुर्वक वहाँलाई सत्तु र मह दान दिए । उनीहरु वहाँका सुन्दर लक्षणहरु एवम् अर्तिबाट अति प्रभावित भए । उनीहरुले आफुलाई अनुयायीको रुपमा स्वीकार गर्न वुद्धसँग अनुरोध गरे । तिनीहरु वुद्ध र धर्मको शरण गए । यसै कारणले ती तपुस्स र भल्लिक दुई व्यापारी दाजुभाइहरु सम्यक सम्वुद्धका प्रथम गृहस्थ श्रावकहरु भए ।
त्यहाँ इच्छाअनुसार बस्नुभएपछि वुद्धले भावि कार्यहरुको सम्बन्धमा विचार गर्नुभयो ।
प्रथमतः कल्पना गर्नुभयो, ‘मैले पाएको ज्ञान अति गम्भीर छ । यी स्वार्थी जनताले बुझ्न गाह्रै पर्छ ।’ तर पछि वहाँले आफ्नो महाकरुणा तथा प्रज्ञाद्वारा देख्नुभयो, ‘क्लेश तथा स्वार्थीभाव थोरै मात्र हुने मुमुक्षुहरुले धर्मलाई बुझ्नेछन् । जस्तै कमल फुलहरुमा सुर्यको किरणसम्म पाएपछि पानीभन्दा माथि उम्रेर फुल फुल्नेछन् । तसर्थ मैले यो उत्तम ज्ञानलाई आफैँमा मात्र राखिछोड्नु ठीक छैन । धर्मप्रचार गर्नु आवश्यक छ ।’
अनि वुद्धले चिन्तन गर्नुभयो, ‘प्रथमतः कसलाई उपदेश दिनु बेश होला ? कसले यो धर्मलाई बुझाउला ? आलार तपस्वी जेहेन्दार, चलाक र थोरै मात्र क्लेश भएका हुन् । अरुलाई भन्दा उनलाई पहिले निगाह राख्नु असल होला ।’ वहाँले उनी दिवङ्गत भइसकेको कुरो थाहा पाउनुभयो । त्यसपछि उद्दक रामपुत्र तपस्वीलाई सम्झी हेर्दा थाहा पाउनुभयो, ‘उनी पनि दिवङ्गत भइसके ।’ अन्त्यमा भगवान वुद्धले पञ्च भद्रवर्गीयहरुलाई सम्झनुभयो । उनीहरु ऋषिपतन मृगदाय वनमा बसेका थिए । त्यसो हुनाले वुद्धले उतैतिर पाइला चाल्नुभयो ।
वुद्ध क्रमशः चरिका गर्दै ऋषिपतन मृगदाउ वनमा पुग्नुभयो । पञ्च भद्रवर्गीयहरुले वहाँलाई टाढैबाट देखेर आपसमा सल्लाह गरे, “लौ साथी हो ! भिक्षु सिद्धार्थ यतैतिर आउँदैछन् । उनी लोभीलालची हुन् । तपस्या भङ्ग भएका हुन् । आरामसँग बस्न पल्केका हुन् । हामी उनलाई स्वागत अभिवादन गर्न जानेछैनौँ । पात्र चीवर पनि लिन जानेछैनौ । उनी यहाँ आएमा एउटा आसन मात्र दिनेछौँ । चाहेमा बस्लान् । नचाहे उभिएर नै बसुन् । यस्तो तपबाट भ्रष्टलाई को स्वागत गर्न जाला र ?”
तर अन्त्यमा वुद्ध नजिक आइपुग्नुहँुदा पञ्च भद्रवर्गीयहरु पहिले सल्लाह गरे जस्तो गरिरहन सकेनन् । उनीहरुलाई लाग्यो, ‘वुद्धमा केही अपुर्व विशेषता, शोभा तथा उच्चभाव छ । महानताको लक्षण झल्किन्छ । त्यसो हुनाले उनीहरुको मनमा आफैँलाई विर्सनेगरी उत्सुकता जाग्यो ।’ आपसका प्रतिज्ञा पनि विर्से । कोही वहाँलाई स्वागत गर्न हत्तरपत्तर अगाडि बढे । कोहीले अभिवादन गरी वहाँबाट पात्रचीवर प्राप्त मागेर बोकिल्याए । कोहीले वुद्धलाई योग्य हुनेगरी आसन तयार गरे । त्यस्तै कोहीले पानी ल्याई वहाँको पाउ धोइदिए ।
भगवान वुद्ध आउनुभई तयार पारिएको आसनमा बस्नुभयो । अनि भन्नुभयो, “भिक्षुहरु हो ! मैले अमृतधर्म पाइसकेको छु । त्यो तिमीहरुलाई बताउनेछु । म तिमीहरुलाई बाटो देखाउनेछु । यदि त्यसलाई तिमीहरुले सुन्यौ, मन लगायौ र भने अनुसार आचरण गर्यौ भने धेरै समय नवित्दै आफैले बुझ्नेछौ । अर्को जन्ममा भनी पर्खेर बस्नुपर्दैन । यही जन्ममा फल पाउनेछौ । मैले बोलेको वचनको सत्यता अहिले तुरुन्तै देख्नेछौ । त्यस्तै जन्ममरणको दुःखबाट मुक्त अवस्थामा पुग्नेछौ ।
भगवान वुद्धले यस्तो भन्नुहँुदा पञ्च भद्रवर्गीयहरुले मानेनन् । किनभने पहिले ज्ञान पाउनका लागि वहाँले घोर तपस्या गर्नुभएको तिनीहरुले देखेका थिए । तर पछि छोड्नु्भयो । अब आएर ‘अमृत धर्म पाएको छु ।’ भन्नुहुन्छ । त्यसो हुनाले ती पञ्च भद्रवर्गीयहरुले स्विकार नगरेका हुन् । यस विषयमा वुद्धसँग उनीहरुले खूब सवालजवाफ गरे । वुद्धले भन्नुभयो, “ठीकसँग सुन । के मैले पहिले यस्तो कुरो तिमीहरुलाई भनेको छुँ र ? जन्ममरणबाट मुक्त हुने ज्ञान पाएँ भनी भनेको छुँ र ?” अनि मात्र तिनीहरुले वुद्धको उपदेश सुन्नमा मन लगाए ।
अनि शास्ता (वुद्ध)ले पञ्च भद्रवर्गीय भिक्षुहरुलाई सबभन्दा पहिले ‘धम्मचक्क पवतन सुत्त’को उपदेश दिनुभयो । सर्वप्रतम कौडिन्यको धर्मप्रति श्रद्धा जाग्यो । उनले विन्ति गरेपछि वुद्धले उपसम्पदा (पुर्ण भिक्षुत्त्व) प्रदान गर्नुभयो । वुद्ध त्यहाँ दुइजना भिक्षु भिक्षाटन जानुहुँदा दुईजनालाई धर्मोपदेश दिनुहुन्थ्यो । उनीहरु वुद्धका ‘अनत्त लक्खण सुत्त’ को उपदेश सुनेर सबैजना अर्हन्त भए । क्लेश नभएका भए । वहाँहरु वुद्धका प्रथम ५ शिष्यहरु हुनुभयो ।
भगवान वुद्ध ऋषिपतनमै हुनुहुुँदा वाराणसी सहरमा एकजना यज्ञ नामको युवक बस्दथे । उनी अनेक विलासिताका साधनहरुले घेराई बस्ने गरे पनि गृहस्थीम उनको मन लाग्दैनथ्यो । एकदिन उनी घरबाट निस्की वुद्धकहाँ आइपुगे । उनी वुद्धको उपदेश सुनेर प्रव्रजित भए । पिता हुनेले खोज्दै आई वुद्धसँग आफ्नो पुत्र यशको बारेमा सोधे । वुद्धका धर्मदेशना सुनेर उनी पनि आफ्नो पुत्र भिक्षु भएकोमा सन्तुष्ट भए ।
आफु त्रिरत्नका उपासक भएको कुरो वुद्धलाई विन्ति चढाएर वुद्ध प्रमुख सबै भिक्षुहरुलाई भोलिको भोजनको निमन्त्रणा दिई सो सेठ फर्के । पछि यशका ४ जना घनिष्ट मित्रहरु पनि वुद्धशासनमा भिक्षु बन्न आए । यस्तै अझ यशका ५० जना साथीहरु पनि वुद्धशासनमा भिक्षु बन्न आए । यी सबैजना उच्च घरानियाहरु थिए । वुद्धका नीतिनिर्देशन अन्तर्गत रही यिनीहरु धेरै समय नवित्दै अर्हत फल लाभी भए ।
भगवान वुद्धका शासनमा प्रव्रजित भई अर्हत भएकाहरु चाँडै नै ६० जना पुगे । अनि वुद्धले भन्नुभयो, “भिक्षुहरु हो ! म दैवीय तथा मानुषिक सम्पुर्ण वन्धनबाट मुक्त भएँ । त्यस्तै तिमीहरु पनि मुक्त छौ । असङ्ख्य मानिसहरुलाई हित तथा सुख पु¥याउने कुराको प्रचार गर्न जाऊ । दुइजना एउटै बाटोबाट नजाऊ । आदि, मध्य र अन्त्यमा उपकारक धर्मको प्रचार गर । परिशुद्ध तथा परिपुर्ण जीवन विताउने तरिका बताऊ । यो लोकमा थोरै मात्र क्लेश हुनेहरु पनि छन् । उनीहरुले नै धर्मका कुरा सुनेर बुझ्नेछन् । धर्म प्रचारका लागि म आफै पनि उरुवेला सेनानिगमा जाँदैछु ।”
उरुवेलामा त्यसबेला एकहजार जटिल सन्न्यासीहरु बस्दथे । उनीहरुका नेतृत्त्व काश्यप गोत्रका ३ दाजुभाइहरुले गर्दथे । वुद्धले उनीहरुका विश्वासहरु छोडाउनु भई आफुले पाएको नयाँ ज्ञानका कुरा बुझाइदिनुभयो । यसले उनीहरु साह्रै खुसी भएर वुद्धका शिष्य बने । उनीहरुका एकहजार शिष्य सन्न्यासीहरु पनि वुद्धका शिष्य भए । नाइके तथा अनुयायीहरु सबैजना अर्हत भए ।
तदनन्तर भगवान वुद्ध पहिले राजा विम्विसारलाई वचन दिई राख्नुभएको पुरा गर्न राजगृह नगरमा जानुभयो । वहाँ आफ्ना शिष्यमण्डलीका साथ त्यहाँ यष्ठिवन अर्थात् ताल रुखको घारीमा बस्नुभयो । वहाँले त्यहाँ पनि करुणापुर्वक धर्मदेशना गर्नुभयो । अन्तमा राजा विम्बिसार आफै पनि आई धर्मदेशना सुन्नुभयो । धर्म बुझेपछि राजा प्रमुख ठुलो जनसमूहले आफुहरु वुद्धका अनुयायी भएको घोषणा गरे ।
अनि विम्बिसार राजाले भगवान वुद्धलाई विन्ति गर्नुभयो, “भन्ते ! म युवराज छँदा राज्याभिषेक पाउने बाहेक सम्यक सम्वुद्ध हुनुभएका आर्य पुद्गलको दर्शन गर्न र वहाँको धर्मदेशना पनि सुन्न पाऊँ भन्ने इच्छा थियो । अब मेरा सबै इच्छा पुर्ण भइसकेका छन् । तसर्थ म वुद्धधर्म र संघका शरणमा पर्छु ।” अनि भोलिपल्टै राजाले आफ्नो वेलुवन(वाँसको घारी) वुद्ध प्रमुख भिक्षु संघ बस्नको लागि प्रदान गर्नुभयो । यही वेलुवन वुद्धधर्मको पहिलो विहार मानिन्छ । भगवान वुद्ध तथा भिक्षुसंघ त्यहीँ नै बस्नुभयो ।
एकदिन विहानै भगवान वुद्ध भिक्षाटनका लागि वेलुवन विहारबाट निस्की राजगृह नगरतिर जानुभएको थियो । वहाँले घाटमा एकजना युवकलाई देख्नुभयो । ऊ भर्खर नदीमा डुबुलकी लगाई नुहाई उक्लेको थियो । उसको सारा जीउ पानीले भिजेको थियो । अनि उसले ६ वटै दिशातिर हेरेर निहुरीनिहुरी प्रणाम गर्यो । ६ वटा दिशा भनेको पुर्व, पश्चिम, उत्तर, दक्षिण, माथि र तल हुन् । त्यसपछि उसले हरेक दिशामा अक्षता छर्यो ।
भगवान वुद्धले उनीसँग “किन यसरी प्रणाम गरेको हो ?” भनी सोध्नुभयो ।
त्यो युवकले जवाफ दियो, “भो भगवान ! मेरा पिताले मरणासन्न कालमा मलाई ‘नाना दिशा नमस्कार गर्नू तथा माथिका देवतादेखि तलका पिशाचसम्मलाई पनि खुसी राखी तिनबाट हुने भयबाट बच्नुपर्छ ।’ भनेर गएका थिए । पिताको त्यो वचनलाई मानेर दिशा नमस्कार गरिरहेको हुँ ।”
अनि भगवानले भन्नुभयो, “तिमीले आफ्ना पिताको अन्तिम वचनलाई शिरोपर गरिआएको असल कुरो हो । तर तिमीले गरेको ढङ्ग तिम्रो पिताको आशयमुताविक भएन ।”
भगवान बुद्धले भन्नुभयो, “तिम्रो पिताले पुवै दिशा नमस्कार गर्नुपर्छ भनेको मतलब तिमीलाई जन्माई हुर्काउने मातापिताको आदरसम्मान तथा सेवा गर भनेको हो । दक्षिण दिशालाई नमस्कार गर भन्नुको अर्थ तिमीलाई ज्ञानगुणका कुरा सिकाउने गुरु आचार्यहरुलाई मान गर भनेको हो । पश्चिम दिशालाई नमस्कार गर भन्नुको अर्थ सन्तान तथा पत्नीको पालनपोषण गर भनेको हो । उत्तर दिशा नमस्कार गर्नुको मतलब इष्टमित्र तथा आफन्तहरुप्रति असल व्यवहार गर भनेको हो । माथिल्लो दिशा नमस्कार गर्नु भनेको मतलब भिक्षु गुरु आदिलाई दानदक्षिणा र पुजा मान गर भनेको हो । तलतिरको दिशा नमस्कार गर्नुको मतलब नोकरचाकर आदि आफ्ना मातहतमा रहेका व्यक्तिहरुको सुखसुविधाको ख्याल गर्नु हो । साथै पृथ्वीमा रहेका सानाभन्दा साना प्राणीहरुका बाँच्नु तथा आजीविकाको अधिकारलाई स्विकार गर भनेको हो । तिम्रा पिताले यस्तो आशय लिई विभिन्न दिशा नमस्कार गर भनी गएका हुन् । विभिन्न दिशाबाट आउने भय अन्तरायबाट रक्षा गर भनेको मतलव यी सबै कुराको राम्ररी पालन गरी आफ्नो निन्दा हुनबाट बचिइरहु भनेको हो ।”
त्यसपछि भगवान वुद्धले उनलाई अनेक कुराहरु सिकाउनुभयो । जस्तै हिँसा, चोरी, व्यभिचार, झुटो बोल्नु, मद्यपान आदिबाट अलग्ग भई मेहनती हुनु , सम्पत्तिको सदुपयोग गर्नु , आफु एक्लैले मात्र मोजमस्ती नगर्नु , त्यस्तै आम्दानीभन्दा बढी खर्च नगर्नु । आम्दानी भएकोलाई ४ भाग गरी दैनिक खर्च, काम धन्दा, दान धर्म तथा भयविपत्तिका बेलामा खर्च चलाउन एकएक भाग राख्नुपर्छ आदि ।
यी उपदेशहरु सुनेर सो सिगाल नामक युवक भगवान वुद्धको शरणमा गयो । यी सबै उपदेशहरु सिगालोवाद सुत्तमा वयान गरिएको छ ।
भगवान वुद्ध राजगृहमा बस्नुभएको थियो । त्यसबेला त्यसको नजिकै सञ्जय नामक एकजना परिव्रजक पनि बस्दथे । यिनका २०० शिष्यहरु थिए । ती मध्ये उपतिस्स तथा कोलित नामक दुईजना अति वुद्धिमान शिष्यहरु आचार्यको ज्ञानबाट सन्तुष्ट नभई माथिल्लो तथा गम्भीर अमृत धर्मको खोजी गरी हिँडेका थिए । यी दुईजनाका बीच घनिष्ट मित्रता थियो । यिनीहरुले आपसमा प्रतिज्ञा गरेका थिए ‘जसले पहिले अमृत धर्म पाउला, उसले आफ्नो साथीलाई तुरुन्त बताउनुपर्छ ।’
एकदिन विहान उपतिस्सले राजगृहमा भिक्षाटन गरिरहनुभएका अस्सजित भिक्षुलाई देखे । अनि उनी सो भिक्षुको सोमतिलो, सुकिलो, शान्त तथा नरम व्यवहार देखी प्रभावित भए । उक्त भिक्षु बस्दा, उभिँदा, हिँड्दा तथा भिक्षा ग्रहण गर्दाको ढङ्ग बडो आकर्षक थियो । जति नजिक गयो उति नै आश्चर्य लाग्यो । किनभने उक्त प्रव्रजितको मुहार सुख र सन्तोषले भरिएको, संयमले भरिएको थियो । उपतिस्स मनमनै कल्पना गर्न थाले, ‘यिनी प्रव्रजित पक्कै पनि ज्ञानी हुनुपर्छ । कमसेकम ज्ञानीका चेला त अवश्य होलान् । यिनका आचार्यको उपदेश के होला ? मैले पत्ता लगाउनुपर्यो ।’
उपतिस्सले सोचे, ‘यसरी भिक्षाटनमा लागेको बेलामा सोध्न उचित छैन ।’ तसर्थ अलि पर पर रही उनलाई पछ्याउँदै गई मौका पाएपछि उपतिस्सले अगाडि बढेर वहाँसँग परिचय गरे । अनि सोधे, “भन्ते ! हजुरका शारीरिक कृयाकलापहरु शान्त छन् । मुहार चम्किलो छ । म साँच्चिकै थाहा पाउन चाहन्छु् , हजुरका गुरु को हुनुहुन्छ ? हजुर कसका उपदेशबाट प्रभावित भई घरवार तथा आफन्तहरु छोडेर यो नियममा बस्नुभएको हो ? हजुरका गुरुको नाम के हो ? वहाँको शिक्षा कस्तो हो ?”
अस्सजित भिक्षुले प्रसन्न मुद्रा लिएर जवाफ दिनुभयो, “हे सज्जन ! मेरा गुरु राजपाट छोडेर सम्बोधि पाउनुभएका शाक्यवंशीय महाश्रमण हुनुहुन्छ । म वहाँको अनुगमन गरी घरवार छोडी भिक्षु भएको हुँ । वहाँ तथागत सम्यक सम्बुद्ध हुनुहुन्छ । म वहाँकै शिक्षा तथा अर्तिवुद्धि अनुरुप आचरण गर्दछु ।”
उपतिस्सले सोचे, ‘कहिलेकाहीँ यस्तै प्रव्रजितबाट नै अमृतधर्म थाहापाउन सकिन्छ ।’ तसर्थ तुरुन्तै सोधिहाले, “ भो आदरणीयज्यु ! वहाँले वताउनुभएको शिक्षा कस्तो हो ? हजुरका गुरु के सिकाउनुहुन्छ ? म यसबारे थाहापाउन निकै उत्सुक छु ।”
अस्सजित भिक्षुले सोमतिलोपुर्वक जवाफ दिनुभयो, “मैले भर्खर मात्र दीक्षा लिएको छु । मैले भगवान वुद्धका शिक्षा र ज्ञान हासिल गर्न थालेको तथा धर्मविनयमा बसेको धेरै दिन भएको छैन । त्यसो हुनाले वहाँका शिक्षा वारेमा म तपाईंलाई विस्तृतरुपमा व्याख्या गर्न सक्दिनँ ।”
अनि उपतिस्सले भने, “धेरै सुनेर के हुन्छ र ? मुख्य कुरो संक्षिप्त भए पनि बताउनुहोस् ।”
अनि उक्त भिक्षुले यसरी बताउनुभयो, “जुन वस्तु उत्पन्न भएका हुन् , तथागतले ती सबैका हेतु बताउनुहुन्छ । त्यस्तै त्यसको निरोध पनि बताउनुहुन्छ । उहाँ महाश्रमणको सिद्धान्त यही हो ।”
उपतिस्सलाई यो सुनिरहेको अवस्थामा नै धर्मको स्पष्ट ज्ञान भयो । वहाँको मनमा निश्चय भयो, ‘उत्पन्न भएका सबै कुरा नाशवान हुन् ।’ अनि उपतिस्सले भने, “यदि यो तथ्य कुरो हजुरले आफ्ना गुरुबाट सुन्नुभएको भए वहाँ पक्कै पनि मृत्युबाट मुक्त अवस्था पाइसकेका हुनुपर्दछ । जुन मानव जातिमा पहिले कहिल्यै देखिएका छैनन् ।”
यति भनिसकेपछि अस्सजित भिक्षुलाई धन्यवाद ज्ञापन गरे । भगवान वुद्ध विहार गरिरहनुभएको स्थान सोधेर आफुले पाएको ज्ञान आफ्ना साथी कोलितलाई बताउन वहाँसँग विदावारि भई हिँडे ।
अब उपतिस्सका मुहार धर्मकथा वताउने अस्सजित भिक्षुको जस्तै नै चम्किलो तथा सन्तुष्ट भयो । उपतिस्स आइरहेको कोलितले टाढैबाट देखे । उनले साथीको मुहार देखेर नै अनुमान लगाए , उनमा केही ठुलो परिवर्तन आएको छ ।
त्यसो हुनाले सोधे, “हे मित्र ! किन तपाईंका मुहार निर्मल तथा तेजिलो छ ? तपाईंले अमृतधर्म पाउनुभयो कि के हो ?”
उपतिस्सले जवाफ दिए ,“हो ! मैले अमृतधर्म पाएको छु ।”
कोलितले विष्मयका साथ हत्तरपत्तर सोधे, “के अमृतधर्म पायौ रे ?”
अनि उपतिस्सले आफ्ना प्रिय मित्र कोलितलाई त्यो अज्ञात भिक्षुले बताएको कुरा सुनाए ।
कोलितले पनि धर्मलाई तुरुन्तै बुझे । अमृतधर्म भनेको कुनै वस्तुको रुपमा रहेको छैन । रुप, शव्द, गन्ध, रस, स्पर्श तथा अनेक विचार तथा कल्पनाहरुमा पनि छैन । यो अमृतधर्म सृष्टि भएको होइन । त्यसो हुनाले नाश पनि हुँदैन । अन्तमा थी दुबैजना साथीहरु सोझै भगवानकहाँ गएर भिक्षु बनाइदिनुहुन प्रार्थना गरे । पछि दुबै जना अह्रत् भए । धेरै ज्ञान र वुद्धि भएका हुनाले भगवान वुद्धले पछि ती दुबैजनालाई अग्रश्रावक बनाउनुभयो ।
भगवान वुद्ध राजगृह नगरमा बस्नुहुँदा माघ पुर्णिमाका दिन वेलुवानारममा श्रावकहरुको एउटा ठुलो सभा भयो । यो सभामा १२५० जना अह्रत् भिक्षुहरु सामेल भएका थिए । वहाँहरु नानादिशामा धर्मप्रचारार्थ जानुभई आआफ्ना कार्यप्रगति सुनाउन आउनुभएका थिए । यसको लागि कुनै पुर्वयोजना थिएन । यस्तो अचानक हुने भेला दुर्लभ हुन्छ । यसले भगवान वुद्धसहित अर्हन्त भिक्षुहरुलाई अति सन्तुष्टि मिलेको थियो ।
भगवान वुद्धले यो सभा श्रावकहरुलाई उपदेश दिन तथा नियमआचरणमा लगाउनका लागि उचित ठान्नुभयो । त्यसैले वहाँले धर्मको कुरो संक्षिप्तमा उपदेश दिनुभयो, जुनमा मूल ३ कुराहरु छन् । ती हुनः कुनै पाप नगर्नु , असल कर्म गर्नु , चित्तलाई क्लेशहरुबाट मुक्त तथा शुद्ध राख्नु ।” यो भेलाका मुख्य ४ विशेषताहरु छन् :
१. भेला भएका सबै भिक्षुहरु अर्हत् हुनुहुन्थ्यो ।
२. वहाँहरु सबैजना ‘एही भिक्खु’ अर्थात भगवान वुद्धबाट सोझै भिक्षुत्त्व पाउनुभएका थिए ।
३. वहाँहरु कुनै पुर्वयोजाविना भगवान वुद्धको दर्शन गर्न एकै समयमा आइपुग्नुभएका थिए ।
४. भगवान वुद्धले दिनुभएको यो उपदेशलाई ‘ओवाद पातिमोक्ख’ भनिन्छ । यसको मतलब त्यो दिनको मूल उपदेश भनिएको हो । त्यसो हुनाले आजसम्म पनि माघपुर्णिमालाई विभिन्न विधि र पुजाआजाकासाथ आयोजना गरी मनाइन्छ ।
वुद्धको कपिलवस्तु आगमन
“भगवान वुद्धले समवोधि लाभ गर्नु भइसकेर अहिले राजगृह नगरमा बस्नुभएको छ ।” भन्ने खबर सुनेर राजा शुद्धोदनले कालूदायी भन्ने कर्मचारीलाई भगवान वुद्धकहाँ पठाउनुभयो । कालूदायी भगवान वुद्धका पहिलेका मनपर्ने साथी हो । कालूदायीले राजा शुद्धोदनले आफु मर्नअगावै पुत्रको मुख हेर्ने इच्छा गरेको कुरा भगवान वुद्धलाई विन्ति गरे । भगवान वुद्धले राजपिताको इच्छा पुरा गर्न कपिलवस्तु जान स्विकार गर्नुभयो । उचित समय भएपछि भगवान वुद्ध चारिका गर्दै कपिलवस्तुतिर लाग्नुभयो ।
केहीदिनपछि भगवान वुद्ध आफ्ना श्रावकहरुसँग कपिलवस्तु पुग्नुभयो । त्यहाँ वहाँ निरोगधाम भन्ने वगैँचामा बस्नुभयो । राजा शुद्धोदनले वहाँ तथा भिक्षु संघका लागि प्रबन्ध गरिदिएको यो स्थान नगर बाहिर पर्दछ । भोलिपल्ट विहान वहाँ भिक्षुसंघका साथ अघि, पछि र अन्त झैँ कपिलवस्तुको नगरको सडकमा पनि लहरै भिक्षा माग्न जानुभयो । यसलाई देखेर कुनै व्यक्तिले राजा शुद्धोदनलाई जाहेर गर्यो । राजाको पुत्र भएर पनि भगवान वुद्धले दुनियाँसँग भिक्षा माग्नुभएकोले राजा शुद्धोदनलाई चित्त बुझेन ।
अनि राजा शुद्धोदन तुरुन्त रथ हाँक्न लगाई वुद्धसँग भेट्न जानुभयो । वहाँले वुद्धलाई हातमा भिक्षापात्र लिई भिक्षुसंघका साथ भिक्षुसंघका साथ भिक्षा माग्दै हिँड्नुभएको देख्नुभयो । भगवान वुद्धका पात्र पक्वान्नले भरिएको थियो । जनताहरुले भारी सम्मानका साथ भिक्षा दान दिइरहेका थिए । तर पनि राजालाई यो कुरा चित्त बुझेन । किनभने वहाँलाई लाग्यो, ‘राजखानदानका भएर वुद्धले यसरी घरघर भिक्षा मागीखान सुहाउँदैन । यसबाट आफ्नो राजखानदानको इज्जत रहेन ।
राजा शुद्धोदन भगवान वुद्धको नजिक जानुभयो । अनि अप्रसन्नता देखाएर भन्नुभयो, “पुत्र ! यही हो र मैले असल खबर पाएको ? यसरी मागीखानलाई दरबार छोडी गएको हो ? तिमी राजाका पुत्र हौ । तिमी यो राज्यका उत्तराधिकारी हौ । तिमीले आफ्नै जनतासँग भिक्षा मागेर हाम्रो इज्जत लुटायौ । यसरी मगन्तेले झैँ माग्दै हिँडेको कुरो हाम्रो खानदानमा कहिले पनि भएको थिएन ।”
भगवान वुद्धले अप्रसन्नता देखाएका आफ्ना पिता राजा शुद्धोदनलाई भन्नुभयो, “महाराज ! मैले साँच्च्क्किै मेरो परम्परा अनुरुप नै गरेको हुँ ।”
राजाले तुरुन्त भन्नुभयो, “मलाई याद भए अनुसार हाम्रो राजवंशका कसैले पनि यसरी भिक्षा मागीखाएको छैन ।”
अनि भगवान वुद्धले शान्तपुर्वक भन्नुभयो, “भो महाराज ! यो कुरो पनि ठीक छ । तर यहाँ मैले लौकिक कुल गोत्रको कुरा गरेको होइन । अब त तथागत सम्यक सम्बवुद्धहरुका परम्पराका भइसकेको छ ।”
तथागत भन्नुको मतलब वुद्ध नै भनिएको हो । तथागतले परम्परा अनुरुप गर्नुभएको भनेको मतलब पहिलेका वुद्धहरुले गर्नुभएको जस्तै भनेको हो । जनतालाई दया राखी यसरी भिक्षाटन गर्ने काम पहिलेकै सबै भगवान वुद्धहरुबाट गरिएको थियो । यो वहाँहरुका लागि योग्य तथा उचित थियो । अहिले तथागतले पनि त्यस्तै गर्नुभएको हो । अनि पछि शुद्धोदन राजालाई भगवान वुद्धले धर्मका कुरा पनि सुनाउनुभयो । अनि मात्र शुद्धोदन राजाको चित्त बुझ्यो । त्यसपछि राजाले भगवान वुद्धबाट पिण्डपात्र मागीलिई भगवान वुद्ध प्रमुख भिक्षुसंघलाई दरबारमा भिक्षा ग्रहण गर्न निमन्त्रणा गर्नुभयो ।
सम्यक सम्वुद्ध कपिलवस्तुस्थित राजा शुद्धोदनको दरबारमा जानुभयो । राजाले चढाएको स्वादिष्ट भोजन गरिसक्नुभएपछि भगवान वुद्धले धर्मदेशना गर्नुभयो । आफुले वोधिवृक्षमुनि पाएको दुःखबाट मुक्तिका ज्ञानको उपदेशद्वारा सबैजनालाई सन्तुष्ट पार्नुभयो । भेला भएका भगवान वुद्धका ज्ञाति वन्धुहरुले आआफुले सुनेको धर्मका कुराहरुलाई जीवनमा उतार्ने प्रण गरी सबैजना त्रिरत्नका शरणमा गए ।
यशोधरादेवी पति वियोगबाट धेरै मर्माहत भएकी हुनाले भगवान वुद्धको दर्शन गर्न आउन सकिनन् । अरुहरुले जस्तै धर्मदेशना सुन्न पनि आउन सकिनन् । वुद्ध भगवान आफै राजा शुद्धोदनका अनुरोध अनुसार यशोधरादेवीलाई दया राखी दर्शन दिन जानुभयो । राजाले भगवान वुद्धका समक्ष यशोधरादेवीका असल गुणहरुको वखान गर्नुभयो । भगवान वुद्धको दर्शन तथा धर्मदेशना सुन्न पाएर तिनी प्रफुल्लित भइन् । जीवनभर धर्मको आचरण गर्ने पनि निर्णय गरिन् ।
अर्कोदिन भगवान वुद्धले आफ्नी सानीआमाका तरफका भाइ नन्दलाई भिक्षु बनाइदिनुभयो । राहुल कुमारलाई पनि वुद्ध शासनमै प्रथम हुने गरी श्रमनेर बनाइदिनुभयो । यसबाहेक अझ कपिलवस्तुका अरुअरु यु्वक कुमारहरु पनि भगवान वुद्धकहाँ प्रव्रजित हुन आए । भगवान वुद्ध कपिलवस्तुबाट हिँडिसक्नुहँुदा पनि ६ जना युवकहरु वहाँलाई पछ्याउँदै भिक्षु बन्न आए । उनीहरु हुन् ः भद्दिय, अनुरुद्ध, भग्ग, किम्बिल, आनन्द र देवदत्त ।
भगवान वुद्ध यी कपिलवस्तुका भिक्षुहरुलाई सँगै लिई फेरि एकचोटि कपिलवस्तुमा आउनुभयो । यसपटक राजा शुद्धोदन साह्रै विरामी पर्नुभएकोले दर्शन दिन आउनुभएको थियो । पुत्रको दर्शन गर्न पाएकोले राजाको रोग केही हलुको भयो । सबैजनाले राजा निको हुने आशा गरेका थिए । तर उमेर ढलिसकेकोले रोगलाई जित्न सकिएन । दुईतीनदिनपछि राजा शुद्धोदन झन् चर्को भयो । अन्ततः सबैलाई दुःखमा पारी राजा स्वर्गे हुनुभयो ।
आफ्नो पति स्वर्गे भएपछि सिद्धार्थलाई दूध खुवाइकन हुर्काउने सानीआमा महाप्रजापति गौतमीलाई पनि दरबारमा बस्न मन लागेन । उनी आफ्ना पतिको मृत्युले अति दुःखिता भइन् । अनि धार्मिक जीवन विताउने इच्छा भएकोले आफ्ना सहचारिणीहरुका साथ दरबारबाट निस्केर भगवान वुद्धकहाँ गइन् ।
महाप्रजापति गौतमीले भगवान वुद्धसँग “महिलाहरुलाई पनि पुरुषहरुले जस्तै नै भगवान वुद्धबाट नीति निर्देशन पाई उपदेश सुनी बस्न पाऊँ ।” भनी प्रार्थना गरिन् ।
भगवान वुद्धले यसलाई ३ पटकसम्म अस्विकार गर्नुभयो । भगवान वुद्धले ‘यस्तो इच्छा नगर’ भनी प्रतिशाोध गर्नुभयो । यसले गर्दा प्रजापति गौतमी तथा सँगै आएका महिलाहरु साह्रै दुःख मानी रोए ।
राजा शुद्धोदनको अन्तिम संसकार सक्किएपछि भगवान वुद्ध कपिलवस्तुबाट हिँड्नुभयो । चारिका गर्दै क्रमशः बैशालीमा पुग्नुभई त्यहाँको महावनमा वस्नुभयो । महाप्रजापति गौतमी पनि केश मुण्डन गरी गेरुवावस्त्र पहिरी सखीहरुका साथ हिँडेर धेरैदिन विताई भगवान वुद्ध बस्नुभएको ठाउँ महावनमा आइपु्गिन् ।
लामोबाटो हिँड्नाले महाप्रजापनि गौतमीसहित ती महिलाहरुका खुट्टा सुन्निएका थिए । जीउभरि धुलो जमेको थियो । उमेरले बूढी भइसकेकी महाप्रजापति गौतमी भगवान वुद्धको विहारको ढोकनिर सुँक्कसँुक्क रोई उभिइरहिन् । भिक्षु आनन्दले वहाँलाई देखेर किन यसरी दुःख मानी उभिईबसेकी भनेर सोध्नुभयो ।
अनि गौतमीले जवाफ दिइन् , “भन्ते आनन्द ! भगवान वुद्ध महिलाहरुलाई भिक्षुणी बन्ने अनुमति दिनुहुन्न । मलाई भने अरुथोक गर्ने पटक्कै मन छैन । भिक्षुणी नै हुन चाहन्छु । अनि किन नरुने त ?”
भिक्षु आनन्दले भन्नुभयो, “ हे गौतमी ! यदि कुरो यस्तो हो भने एकछिन यहीँ पर्ख । मैले भगवान वुद्धसँग यसबारे विन्ति चढाउनेछु ।”
भिक्षु आनन्द यसरी आश्वासन दिएर जानुभयो । अनि आनन्द भगवान वुद्धकहाँ पुगेर महिलाहरुलाई भिक्षुणी बनाउन अनुरोध गर्नुभयो ।
त्यसैबेला भगवान वुद्धले आनन्दलाई यसो भन्नुभयो, “ आनन्द ! यस्तो इच्छा नगर । स्त्रीहरुलाई भिक्षुणी बनाउनको लागि तिमी मलाई जोड नगर ।”
तर आनन्दले आफ्नो कोसिस छोड्नुभएन । बारम्बार अनुरोध गरिरहनुभयो । तेस्रो पटकसम्म पनि भगवान वुद्धले अस्विकार गर्नुभयो । अनि भिक्षु आनन्दले सोच्नुभयो, ‘मैले यस तरिकाले भन्दा भगवान वुद्धले अस्विकार गर्नुभयो । यदि मैले अरु कुनै तरिकाले भनेको खण्डमा स्विकार पनि गर्नसक्नुहुन्छ कि ।’ अनि आनन्दले पुनः भगवान वुद्धसँग सोध्नुभयो, “भो भगवान शास्ता ! यदि स्त्रीहरुले घरवार छोडी प्रव्रजित भई वुद्धको धर्मविनय अनुसार शुद्ध रुपले आचरण गरेमा के तिनीहरुले दुःखबाट मुक्त रहेको निर्वाणगामी चारै मार्गफल पाउन सक्दैनन् र ?”
भगवान वुद्धले जवाफ दिनुभयो, “आनन्द ! यसो गर्न सक्दछन् ।”
भिक्षु आनन्दले फेरि आग्रह गर्नुभयो, “भगवान शास्ता ! यदि यस्तो हो भने स्त्रीहरुलाई भिक्षुणी हुने अनुमति दिनुहोस् । महाप्रजापति गौतमीले शास्तालाई धेरै गुण लाएको छ । उनी सिद्धार्थ जीवन बेलाकी सानीआमा तथा धर्ममाता हुन् । उनले आमाको सट्टामा बसी दूध खुवाएकी हुन् । माता महामायादेवी स्वर्गे भएदेखि नै पालनपोषण गर्न तथा शिक्षादीक्षा दिने हुन् । भो शास्ता ! यसकारण महाप्रजापति गौतमीप्रति दया राख्नुहोस् । घरवार छोडी आउने स्त्रीहरुलाई वुद्धको धर्मविनयमा प्रव्रजित भई व्रह्मचर्य पालन गर्ने अनुमति दिनुहोस् ।”
भगवान वुद्धले भन्नुभयो, “आनन्द ! त्यसो भए ठीक छ । यदि महाप्रजापति गौतमीले ८ नियमहरु शुद्धरुपले जीवनभर पालन गर्न स्विकार गरेमा त्यसैबाट गौतमीको उपसम्पदा होस् ।”
अनि आनन्दले ती ८ नियमहरु भगवान वुद्धबाट राम्ररी सुनेर कण्ठ पार्नुभयो ।
(यो अध्यायको अन्तिममा ८ नियम छ ।)
अनि भिक्षु आनन्दले फर्केर आई गौतमीलाई ती सबै कुरा बताउनुभयो । गौतमीले खुसी तथा सन्तुष्टी भई भनिन्, “भन्ते आनन्द ! मलाई यो कुरा खुसीसाथ मञ्जुर छ । जस्तै कुनै नुहाइधुवाइ गरिसकेर सिँगार्न चाहने युवक अथवा युवतीलाई कसैले अति राम्रो तथा सुगन्धयुक्त फुलमाला दिएमा त्यसलाई जसरी प्रसन्नतापुर्वक समालेर लिई शिरमा सिँगार्ने गर्दछ , त्यसरी नै म पनि यी ८ वटा नियमहरुलाई शिरोपर गर्दछु । जीवनभरि म यसलाई होशियारीपुर्वक पालन गर्नेछु ।”
भिक्षु आनन्दले फर्केर आई भगवान वुद्धलाई सबै कुरा विन्ति गर्नुभयो । अनि भगवान वुद्धले भन्नुभयो, “आनन्द ! स्त्रीहरु रहेको धर्मविनय धेरै दिनसम्म टिक्दैन । जस्तैः स्त्रीहरु धेरै भएको तर पुरुषहरु नभएको घर चोर आदिहरुको सामना गर्न सक्दैन । त्यस्तै स्त्रीहरु भित्रिएको धर्मविनय धेरै दिनसम्म खप्दैन ।”
५५वर्ष उमेरका हुनुहुँदा भिक्षु आनन्दले भगवान वुद्धको नजिक बसी सेवा गर्ने उपस्थाक पद पाउनुभएको थियो । वहाँ भगवान वुद्धप्रति विशेष श्रद्धाभक्ति तथा गौरव राख्ने हुनुहुन्छ । वहाँ भगवान वुद्धका काकाका छोरा तथा भाइ हुनुहुन्थ्यो । वहाँसँगै अर्को एक जना पनि प्रव्रजित भएको थियो । तर उसको स्वभाव भने वहाँको तुलनामा उल्टो थियो । ऊ भगवान वुद्धप्रति इष्र्यालु तथा प्रतियोगी थियो । उसले भगवान वुद्धका संघमा फुट ल्याएको थियो । उसको नाम देवदत्त हो ।
देवदत्त भिक्षुमा “शाक्य वंशीय राजकुलको हुँ ।” भन्ने अहङ्कार र घमण्ड थियो । भिक्षु सारिपुत्र र मौद्गल्यायनलाई भिक्षुहरुले भगवान वुद्धका अग्रश्रावकहरु भनी खूब मान्दथे । त्यसो हुनाले भिक्षु देवदत्त असन्तुष्ट भयो तथा संघबाट बेमेल भई निस्केर विम्बिसार राजाका पुत्र अजातशत्रुसँग मितेरी लाउन राजगृह पुग्यो । युवराजको उनीप्रति अनुराग बढ्यो । हुँदाहुँदा युवराजले उसलाई राजगृह नजिक एउटा राम्रो विहार बनाइदिए । देवदत्तको लागि विशेष रुपले सेवा टहल गर्नेहरु पनि राखिदिए ।
एकपल्ट फेरि भगवान वुद्ध राजगृह जानुभयो । मौका छोपी देवदत्तले भगवान वुद्धसँग आफुलाई संघका नाइके बनाइदिनुहुन अनुरोध गर्यो । वुद्धले सोझै अस्विकार गर्दै भन्नुभयो, “यसो गर्दा उचित फल पाइने छैन ।” तर देवदत्त आफ्नो विचारमा अडिग रह्यो । भगवान वुद्धलाई यसको लागि ढिपी नै गरिरह्यो ।
भगवान वुद्धले यस कुरामा सहमति नदिनु भए पनि राजकुमार अजातशत्रुले भने पुर्ण सहयोग गरे । राजकुमारका पिता राजा विम्बिसार भने देवदत्तको विचारसँग सहमत थिएनन् । उनी भगवान वुद्धका पक्का अनुयायी थिए ।
देवदत्तले अजातशत्रुलाई आफुप्रति पुर्ण अन्धश्रद्धालु बनाउन अनेक तरिकाहरुको खोजी गर्दैरह्यो । आफुले चाहेका समपुर्ण काममा उसले मद्दत पायो । देवदत्तले देख्यो अब राजकुमार आफ्नो मुठीमा छ । आफुप्रति वफादार छ । उसले राजकुमारलाई उचाली राजपितालाई पदच्युत गराई कैद गरायो । अजातशत्रुले देवदत्तलाई ठुलो हैसियत तथा सम्मान दिए । उसले आफ्ना पितालाई कारागारमा निराहार राखे । जसबाट राजाको मृत्यु भयो ।
अब भने भिक्षु देवदत्तले आफ्नो महत्त्वाकाँक्षा पुरा हुने आशा देख्नथाल्यो । देशमा नयाँ राजा छन् । हरतरहले मद्दत गर्छन् । साह्रै विश्वासिला छन् । त्यसो हुनाले देवदत्तले वाण हान्न जानेहरुलाई धेरै पैसा दिई भगवान वुद्धलाई मार्न पठायो । तर भगवान वुद्धकहाँ पुग्दा वहाँको शान्त, दान्त, सुन्दर तथा संयमित स्वरुप आदि वुद्धका लक्षण देखेर तिनीहरुले वुद्धलाई वाण हान्ने आँट गर्न सकेनन् । उल्टै भगवान वुद्धलाई शिर निहुराई ढोगेर देवदत्तको पोल खोलिदिए । तिनीहरुले वुद्धसँग क्षमा मागे । भगवान वुद्धको उपदेश सुनी ती सबैजना त्रिशरणमा गए ।
अर्कालाई लगाएर देवदत्तले भगवान वुद्धको प्राण लिन सकेन । त्यसैले ऊ आफैले वुद्धलाई मार्ने विचार गर्यो । एकदिन ऊ भगवान वुद्ध ओहोरदोहोर गर्ने बाटो रहेको गृद्धकूट पर्वतमाथि लुकिरह्यो । भगवान वुद्ध त्यहाँबाट गइरहनुभएको बेलामा उसले वुद्धलाई मार्न एउटा ठुलो ढुङ्गा खसाल्यो । तर त्यो ढुङ्गा सोझै नझरेर एउटा चट्टानमा ठक्कर खाई सासाना टुक्रा भयो । एउटा धारिलो टुक्राले मात्र भगवान वुद्धको पाउमा लाग्यो । जसले गर्दा खुट्टाको औँलामा घाउ भई रगत निस्क्यो । तर गम्भीर रुपले घायल भने हुनुभएन । त्यो घाउलाई सिपालु वैद्य कुमारभृत्यले ओखती लगाई निको पारिदियो ।
देवदत्त भगवान वुद्धलाई मार्ने यी कूयोजनाहरु असफल भएपछि अर्को तरिका खोज्दै हिँड्यो । यसपाली उसले भगवान वुद्ध राजगृह नगरमा भिक्षाटन जानुहँदा वुद्धको ज्यान लेओस् भनी एउटा बहुलाएको हात्ती बाटोमा छोडिदियो । तर त्यो हात्तीले पनि भगवान वुद्धलाई केही गरेन । भगवान वुद्धको महाकरुणाको तेजबाट सो हात्ती शान्त तथा दान्त हुनगयो । यसप्रकार जे गर्दा पनि भगवान वुद्धको ज्यान लिन असफल भएकोले देवदत्तले यो विचार नै छोडिदियो । तर उसले त्यसको सट्टा संघमा फुट ल्याउने संघभेद गर्ने विचार गर्यो ।
अनि एकदिन देवदत्त वुद्धभन्दा शुद्ध तथा आचारनिष्ठ भनी लोकलाई देखाउन भगवान वुद्धकहाँ भेट्न गयो । उसले त्यहाँ विन्ति गर्यो, “भगवान वुद्धले भिक्षुहरुका लागि कडा नियमहरु बनाउनुहोस् जस्तै ः भिक्षुहरु खुल्ला ठाउँमा मात्र वास बसुन् । घरभित्र नबसुन् ।” आदि । अन्तमा उसले प्रार्थना गर्यो कि भिक्षुहरुले कुनै पनि प्रकारका अभक्ष नखाउन् । यस्ता नियमहरु बनाउनुस् । यस्ता नियम उल्लङ्घन गर्ने भिक्षुलाई संघबाट निकाल्ने भनी वुद्धबाट आज्ञा होस् ।
भगवान वुद्धले देवदत्तको अनुरोधलाई अस्विकार गर्नुभयो । वहाँले भन्नुभयो, “कोही भिक्षु खुल्ला ठाउँमा बस्न चाहेमा बस्न सक्छ । विहारमा बस्न चाहेमा विहारमा नै बसुन् ।”
अरु कुराहरुका बारेमा पनि त्यही अनुरुप भन्नुभयो । अर्थात् यदि भिक्षु भिक्षाटनबाट पाएको खाना चाहेमा, फालिएको कपडाको मात्र चीवर लगाउन चाहेमा, अथवा अभक्ष नखाई बस्न चाहेमा त्यसो गरे हुन्छ । तर नगरेता पनि केही आपत्ति छैन । अन्तमा वहाँले देवदत्तलाई चेतावनी दिँदै भन्नुभयो, “संघमा फुट ल्याउने खालका नियम नीति चलाउन नखोज । नत्र भने तिमीलाई नै नराम्रो हुनेछ ।”
देवदत्तले भगवान वुद्धको चेतावनीलाई वास्ता गरेन । झन् रिसाएर सभाबाट निस्केर गयो । आफु खूब नियमशील पालन गर्ने भन्ने भान पारी केही नयाँ र अबुझ भिक्षुहरुलाई आफुसँगै लग्यो । आफु त्यसको नाइके बन्यो ।
भगवान वुद्धले यसका बारेमा भन्नुभयो, “हे सारिपुत्र ! ती नबुझ्ने भिक्षुहरुलाई बुझाउनुपर्छ । ती भिषुहरुको रक्षा गर्नुपर्छ ।” अनि सारिपुत्र देवदत्त बसेको ठाउँमा जानुभयो । त्यसबेला ऊ निदाएको थियो । त्यसो हुनाले सारिपुत्रले भगवान वुद्धको विचार यथार्थ रुपमा स्पष्ट सुनाउनुभई ती भिक्षुहरुको मन फर्काई तिनीहरुलाई भगवान वुद्धकहाँ ल्याउनुभयो ।
देवदत्त निद्राबाट विउँझँदा आश्रम सुनसान देख्यो । किन यस्तो भयो भनी हेर्दा भिक्षुहरु एक जना पनि बाँकी नरहेको चाल पायो । पछि सारिपुत्रले भिक्षुहरुलाई सँगै लगेको कुरो थाहापायो । अनि ऊ साह्रै रिसायो । उसको मन र शरीर कमजोर भइसकेको थियो । तसर्थ ऊ टाढासम्म हिँडेर जान सक्दैनथ्यो । त्यसो हुनाले ऊ आफ्ना सेवकहरु लगाई डोलीमा बसी भगवान वुद्धकहाँ गयो ।
देवदत्त आइरहेको वारेमा भिक्षुहरुले भगवान वुद्धलाई विन्ति गरे, “देवदत्त रिसाहा हो । उसले भगवान वुद्धलाई कष्ट दिनसक्छ । भगवान शास्ता लुक्नुहोस् ।”
तर भगवान वुद्ध अलिकति पनि हडबडाउनु भएन र भन्नुभयो, “देवदत्तले मलाई केही विगार गर्न सक्दैन ।”
आखिरमा भगवान वुद्धको वचन सत्य ठहरियो । खबर आयो, “देवदत्त सुस्ताई बस्दा त्यहीँ म¥यो ।”
त्यसबेलादेखि भिक्षुसंघमा वुद्धका जीवनभर कहिल्यै कुनै अशान्ति मच्चेन ।
८ गुरु धर्म
(८ वटा ठुला नियमहरु)
* स्त्री प्रव्रजित भएर जति समय भइसकेकी भए पनि आजै मात्र प्रव्रजित भएका भिक्षुलाई पनि मान मर्यादा राख्नुपर्छ ।
* भिक्षु नबसेको ठाउँमा भिक्षुणी आफखुसी बस्न पाउँदैन ।
* हरेक आधा महिनामा भिक्षुसंघले जिम्मा दिइएका भिक्षुबाट उपदेश सुन्नुपर्दछ ।
* पवारणा(आफ्नो दोष व्यक्त) गर्नु पर्दछ । भिक्षु तथा भिक्षुणी दुबै पक्षमा दोष प्रकट गर्नुपर्दछ ।
* यदि आपत्ती छ भने स्विकार गर्नुपर्दछ । यस्तो अवस्थामा भिक्षु भिक्षुणी दुबै पक्ष सो आपत्तिबाट मुक्त हुनुपर्दछ ।
* भिक्षुणी हुनु अगावै कमसेकम २ वर्षसम्म व्रतनियम पुरा गरी परीक्षार्थ शिक्षमाना भई बस्नु पर्दछ ।
* भिक्षुलाई गालीगलौज गर्न पाइँदैन ।
* भिक्षुणीले भिक्षुलाई सिकाउने गर्नुहुन्न । बरु भिक्षुबाट भिक्षुणीले सिक्नुपर्दछ ।
वुद्धको महापरिनिर्वाण
सम्यक सम्वुद्धले पैँतालीस वर्षसम्म धेरै जनताहरुलाई उपदेश दिनुभयो । वहाँले तत्कालीन जम्बुद्वीपका ठुलासाना राज्य, नगर र गाउँहरुमा कुनै यान वा वाहनविना खुट्टाकै भरमा आवतजावत गर्नुभयो । दाताहरुले बनाई चढाएका आरामहरुमा वर्षा ऋतुमात्र विताउनुहुन्थ्यो । यस्ता आरामहरु मध्ये राजगृह नगरमा राजा विम्बिसारले बनाई चढाएको वेलुवनाराम र श्रावस्ती नगर नजिक अनाथपिण्डिक सेठले बनाई चढाएको जेतवनाराम प्रमुख हुन् । यी ठाउँहरुमा बस्नुहँुदा भगवान वुद्धले गर्नुहुने दैनिक क्रियाकलाप तल लेखिए अनुसार छन् :===
भगवान वुद्ध विहान उज्यालो हुनुअगावै विछ्यौनाबाट उठ्नुहुन्थ्यो । स्नानकार्य सक्केपछि समाधिष्ट भई प्राणीहरुको धर्म बुझ्ने उपनिश्रय(सम्भावना) हेर्नुहुन्थ्यो । अनि उपनिश्रय भएकालाई वहाँ दयापुर्वक उद्धार गर्न जानुहुन्थ्यो । पुरा उज्यालो भइसकेपछि वहाँ चीवर पारुपन(चारैतिर छोप्नु) गरी हातमा पात्र लिई विहार नजिकको गाउँ वस्तीमा भिक्षाटन गर्नुहुन्थ्यो । वहाँ हिँड्नुहँदा सधैँ बाटोमा मात्र हेर्नुहुन्थ्यो । श्रद्धालुहरुले भिक्षापात्रमा चढाउन ल्याएको खानेकुरालाई स्विकार गर्नुहुन्थ्यो । भिक्षाटनमा वहाँ कहिलेकाहीँ एक्लो जानुहुन्थ्यो भने धेरैजसो भिक्षुसंघका साथनै जानुहुन्थ्यो ।
कहिलेकाहीँ कोहीकोही दाताले भगवान वुद्धलाई निमन्त्रणा गरी आफ्नो घरमा लगी भिक्षा दान गर्थे । यस्तो बेलामा भगवान वुद्ध सबभन्दा माथिल्लो आसनमा बस्नुहुन्थ्यो । अनि दाताले पात्रमा हाली चढाएको खानेकुरो भोजन गर्नुहुन्थ्यो । भोजन सिध्याई चुठिसकेपछि वहाँ त्यहाँ भेला भएका सबैजनालाई उपदेश दिनुहुन्थ्यो । जस्तैः खराब भनेको के हो ? सोमत भनेको के हो ? के कस्तो कर्म गर्नलाई इहलोक तथा परलोकमा सुख वा दुःख हुन्छ आदि । वहाँ असल कुराहरुमा हिँड्न जनतालाई प्रेरणा दिनुहुन्थ्यो । साहसिलो बनाउनुहुन्थ्यो । यसपछि वहाँ आफ्नो वासस्थान विहारमा फर्कनुहुन्थ्यो ।
भोजनोपरान्त भगवान वुद्ध आफ्नो कोठाभित्र अथवा कुनै रुखमुनि एकान्तमा बसी ध्यान गर्नुहुन्थ्यो । भिक्षुहरु पनि यस्तै गर्थे । भिक्षुहरु दिउँसो धर्मशालामा बसी धर्मका कुरा कण्ठ र छलफल गर्थे । भगवान वुद्ध साँझतिर धर्मशालामा भिक्षुहरु भेला गराई धर्मदेशना गर्नुहुन्थ्यो । कसैलाई केही नबुझेको भए अथवा शङ्का भएमा त्यसको बारे वहाँले बुझाइदिनुहुन्थ्यो । त्यस्तै वहाँ भिक्षुभिक्षुणीहरुलाई र उपासकउपासिकाहरुलाई धर्मका कुरा जान्न र सिक्नमा उत्साहित गर्नुहुन्थ्यो । धर्मको आचरणको सुफल बताई त्यसमा लाग्न प्रेरणा दिनुहुन्थ्यो । धर्मको सुफल देखाइदिनुहुन्थ्यो ।
भगवान वुद्धका धर्मदेशना सक्किएपछि श्रोताहरु फर्कन्थे । अनि विशेषरुपले सिक्न चाहने भिक्षुहरुमात्र बसी भगवान वुद्धसँग सोध्दथे । आआफुले गरेका उन्नति भगवान वुद्ध समक्ष बताउँथे । कोही ध्यान विषयक कुरा सोधी कण्ठष्ट गसिकेपछि अभ्यासको लागि एकान्त ठाउँमा जान्थे । कहिलेकाहीँ भगवान वुद्धले नै विचार गरेर सुन्नेको रुचि, तह तथा सामथ्र्य अनुरुपको धर्मदेशना गर्नुहुन्थ्यो । यसो गर्नुहुने भएकोले वहाँको उपदेश धेरैजसोले बुझ्दथे ।
गर्मीयाममा भए भगवान वुद्ध इच्छा अनुसार कुनै एक ठाउँमा आराम गर्नुहुन्थ्यो । यही समयमा स्थानीय अथवा नजिकका जनाताहरु साँझपख भगवान वुद्धको दर्शन गर्न आउँथे । भगवान वुद्धलाई दान पनि दिन्थे । कोही धर्म मात्र सुन्न आउ्रँथे । भगवान वुद्ध पनि धनी, गरिव, बच्चा, बूढा, स्त्री वा पुरुष भनेर कुनै किसिमको पक्षपात नगरिकन धर्मदेशना गर्नुहुन्थ्यो । श्रोताहरु सबैजनालाई लाग्दथ्यो वहाँले त्यो कुरा आफैलाई वताइरहनुभएको हो । प्रायशः उनीहरु वुद्धसहित धर्म र संघका शरणमा पर्दथे ।
सबै श्रोताहरु फर्केर गइसकेपछि भगवान वुद्ध स्नान गर्नुहुन्थ्यो । यो काम वहाँ इनार, पोखरी वा अरु पानीका मुहानहरुमध्ये कुनै एक ठाउँमा गर्नुहुन्थ्यो । त्यसपछि साँझपख वहाँ ध्यानमा बस्नुहुन्थ्यो । यसपछि टाढाबाट दर्शन गर्न आएका भिक्षुहरुका लागि दर्शन गर्ने पालो हुन्थ्यो । वहाँ उनीहरुलाई दर्शनभेट दिनुभई कुशलवार्ता सक्नुभएपछि उनीहरुसँग धर्म विषयमा छलफल पनि गर्नुहुन्थ्यो । कहिलेकाहीँ अति गम्भीर कुराहरुको पनि चर्चा हुन्थ्यो । यदि आगन्तुक भिक्षुले बताउन नसकेको खण्डमा वहाँ आफैले त्यसको व्याख्या गरी सुनाउनुहुन्थ्यो । उनीहरु धर्मलाई बुझ्नेगरी सुन्न पाएकोमा सन्तुष्ट तथा प्रफुल्लित भई फर्कन्थे ।
दिनभरि व्यस्त रहनाले थाक्नुभएपछि भगवान वुद्ध उठेर विस्तारै स्मृतिपुर्वक हिँडडुल गर्नुहुन्थ्यो । यसरी हिँडडुल गर्नेलाई चँक्रमण भनिन्छ । शरीरको थकान मेटिएपछि वहाँ फेरि एकचोटि भिक्षुहरुलाई सिकाउनुहुन्थ्यो । मध्यरातमा त्यहाँका राजा आदि ठुलावडा मानिसहरु वहाँसँग धर्म छलफल गर्न आउँथे । प्रश्नहरु सोध्दथे । वहाँको सन्तोषजनक उत्तरहरु सुनेर उनीहरु हर्षित भई समय हेरी फर्केर जान्थे ।
रातमा भगवान वुद्ध सिहँस्यया आकारमा पल्टेर निदाउनुहुन्थ्यो । सिँहस्यया भनेको दायाँ कोल्टो परेर दुबै खुट्टा सँगै तन्काई बायाँ हात जीउमाथि सोझे राखी अर्को हात शिरनिर मोडेर पल्टनुलाई भनिन्छ । वहाँ उठ्ने समयको ख्याल गरी निदाउनुहुन्थ्यो । वहाँ अरुणोदय हुन २ घण्टाजति अगावै निद्राबाट विउँझनुहुन्थ्यो । त्यसपछि वहाँ फेरि धर्मदेशना बुझाउने तरिका तथा व्यक्तिबारे चिन्तन गर्नुहुन्थ्यो । वहाँले यसप्रकार गर्नुहुने क्रियालाई वुद्धकृत्य भनिन्छ ।
भगवान वुद्ध ४५ वर्षसम्म यस्तै प्रकारले धर्मप्रचार गर्दै ठाउँठाउँमा घुम्नुभयो । यात्राका समयमा बाहेक वहाँ धर्मप्रचार तथा शिक्षादीक्षा दिने काममा समय विताउनुहुन्थ्यो । वहाँ धर्मका कुरा मात्र सिकाउनुहुन्नथ्यो, किन्तु साँसारिक जीवन सरल र शुद्ध रुपमा विताउने तरिकाबारे पनि परिस्थिति र व्यक्तिमुताविक आफ्नो तीक्ष्ण तथा महान प्रज्ञाद्वारा स्पष्ट बताइदिनुहुन्थ्यो । कसैलाई केही फरक पार्नुहुन्नथ्यो ।
जिज्ञासा लिएर सोध्न आउनेहरुदेखि झण्झट मान्ने अथवा भेट्न नचाहने भन्ने स्वभाव भगवान वुद्धमा थिएन । वहाँ आफुकहाँ आएका हरेक किसिमका मानिसलाई अर्तिउपदेश दिन सधैँ तयार रहनुहुन्थ्यो । कोहीकोही वहाँसँग आफ्नो कुरामा जित्नलाई मात्र सोध्न आउनेहरु पनि हुन्थे । त्यस्तालाई पनि वहाँ मैत्रीपुर्वक उपदेश दिनुहुन्थ्यो । तिनीहरु वहाँका प्रज्ञाबाट पराजित हुन्थे । वहाँका हेतुवादका कुरा सुनी तिनीहरु वहाँका शिष्य भएको घोषणा गर्दथे ।
भगवान वुद्ध ४५औँ वर्षमा धर्मप्रचारार्थ चारिका गर्नजानुहुँदा ८० वर्ष उमेरका भइसक्नुभएको थियो । वहाँले देख्नुभयो, अब धर्मप्रचारार्थ चारिका गर्ने समय खत्तम हु्न आँट्यो । किनभने अब वहाँका शारीरिक वलले साथ दिन छोड्न थालेको थियो । वहाँको मन यद्यपि पहिले जस्तै नै दृढ रहेको भएता पनि वहाँलाई लाग्यो, अब आफ्नो जीवन धेरै दिनसम्म रहनेछैन । वहाँले आफु हुर्केको ठाउँ उत्तरको हिमालयतिर गई परिनिर्वाण हुने इच्छा गर्नुभयो । यसकारण धेरै भिक्षु शिक्ष्यहरुका साथै भिक्षु आनन्दलाई लिई वहाँ राजगृह नगरबाट निस्कनुभयो ।
भगवान वुद्ध पातलीपुत्र नगरमा पुग्नुभयो । जुन ठाउँलाई अहिले पटना सहर भनिन्छ । त्यसपछि वहाँ वैशाली नगरमा पुगनुहँुदा अमबपाली गणिकाले त्यहाँका राजकुमारहरुसँग प्रतियोगिता गरी चढाएको आँपको घारीमा बस्नुभयो । वेलुवग्राममा पुग्नुहुँदा वहाँले भिक्षुहरुलाई आआफुलाई पायकपर्ने स्थानहरुमा वर्षावास बस्न आज्ञा दिनुभयो । वहाँ आफै त्यो ग्राममै उपस्थापक आनन्दका साथ वर्षावास बस्नुभयो ।
भगवान वुद्ध वेलुग्राममा बस्नुहुँदा शिकिस्त विरामी पर्नुभएको थियो । एकदिन केही सञ्चो भएपछि वहाँ विहारको छायाँमा बसिरहनुभएको बेलामा आनन्दले विन्ति गर्नुभयो, “भो शास्ता ! यहाँ पहिलेजस्तै नै स्वस्थ्य हुनुभएको देख्न पाएकोमा मलाई अत्यन्तै आनन्द लाग्यो । केही अघि यहाँलाई चर्को व्यथा हुँदा मेरो चित्त अस्थिर भई वेहोश हुन आँटेको थियो । मलाई लाग्छ , भिक्षुसंघलाई नीतिनिर्देशन तथा उपदेश दिइनसकुञ्जेलसम्म शास्ता परिनिर्वाण हुनुहुने छैन ।”
भगवान वुद्धले भन्नुभयो, “हे आनन्द ! भिक्षुसंघले मबाट के आशा गर्दछ ? मैले सम्पुर्ण धर्मविनय वताइ नै सकेको छु । निर्वाण प्राप्तिका लागि भिक्षुसंघले जान्नुपर्ने सबैथोक मैले नै वताइसकेको छु । हे आनद्य ! अब म बूढो तथा कमजोर भइसकेको छु । मेरो अन्तिम समय आइसकेको छ । म ८०वर्षको भइसकेँ । तिमीहरु आफैमा भर पर । आफ्नै शरण लेऊ । अरु कसैको भर नपर । धर्मको आधार लेऊ । धर्मलाई प्रमुख स्थान देऊ ।”
अन्त्यमा वहाँले जोड दिएर भन्नुभयो, “आनन्द ! जो भिक्षु शिक्षाकामी छ , ऊ नै संघको सर्वोत्तम व्यक्ति हो ।”
भोलिपल्ट विहान भगवान वुद्ध वैशालीमा भिक्षाटन जानसक्नुभयो । भिक्षाटनबाट फर्केर भोजन गरिसकेपछि दिवाविहारका लागि आनन्दलाई आसन लिन लगाई पावाल चेतियामा जानुभयो । त्यहाँ इच्छा अनुसार बसिरहनुभएको बेलामा स्मृति तथा सम्प्रजन्यलाई काबूमा राखी यस्तो विचार गरी वहाँले आयुसँस्कार त्याग गर्नुभयो ।
“अब अर्को ३ महिनापछि तथागत परिनिर्वाण हुनेछ ।” आनन्द अगाडि आउँदा वहाँले यो कुरा सुनाउनुभयो ।
आनन्द भिक्षुले विन्ति गर्नुभयो, “भो शास्ता ! अझ सत्त्वप्राणीहरुलाई दुःखबाट मुक्त गर्न धेरै दिनसम्म बाँच्नुहोस् ।”
अनि वुद्धले आज्ञा गर्नुभयो, “आनन्द ! तथागतले जे बोल्नुभयो, त्याग गर्नुभयो र मिल्काउनुभयो त्यो वचन कहिल्यै पनि फिर्ता लिनुहुन्न । आनन्द ! तिमी वितिसकेको कुराको लागि शोक नगर । हेर आनन्द ! म महावन जङ्गलमा जानेछु । तिमी गई बैशाली नगरमा भएभरका भिक्षुहरुलाई त्यहाँ भेला हुने सुचना देऊ ।”
भगवान वुद्धले महावनमा भेला हुन आएका भिक्षुहरुलाई लोकजनको हितको लागि, सुखको लागि र दयाको लागि अर्तिउपदेश दिनुभयो । वहाँले सम्पुर्ण तथा परिशुद्ध व्रह्मचर्य शुद्धरुपले आचरण गर्न चाहने व्यक्तिलाई धर्मको बाटोमा उचित रुपले हिँड्नको लागि चाहिने महत्त्वपुर्ण कुरा बोल्नुभयो र भन्नुभयो, “लोकको सबै कुराहरु परिवर्तनशील छन् । आफ्नो अभिविृद्धिको लागि कोसिस गर्दैजाऊ । चित्तलाई शुद्ध राख । अनि सम्पुर्ण दुःखबाट मुक्त हुनेछौ ।”
भगवान वुद्ध भिक्षु आनन्दलाई साथमा लिई बैशालीमा पुग्नुहुँदा भन्नुभयो, “ हे आनन्द ! तथागतको यो अन्तिम वैशाली दर्शन हुनेछ । हे आनन्द ! भन्दग्राम जाऔँ ।”
भन्दग्राममा वहाँले धेरै मानिसहरुलाई धर्मदेशनाद्वारा उपकार गरिसक्नुभएपछि वहाँ त्यहाँबाट हिँड्नुभयो । भिक्षुसंघका साथ वहाँ क्रमशः हस्तिग्राम, आमग्राम र जबमुग्राम हुँदै भोग नगर पुग्नुभयो । त्यहाँ वहाँले भिक्षुसंघलाई विनयका ४ महाप्रदेशका कुरा सिकाउनुभयो । यसैलाई भिक्षुसंघको नियमको निर्णयगर्दा आधार मानिन्छ । त्यसपछि वहाँ श्रावकहरुका साथ पावामा पुग्नुभई चुन्द कर्मारपुत्रको आम्रवनमा बस्नुभयो ।
भगवान वुद्धले त्यहाँ चुन्द कर्मारपुत्र तथा उनका परिवारलाई धर्मदेशना सुनाउनुभई गहिरो श्रद्धालु बनाउनुभयो । चुन्द कर्मारपुत्रले भगवान वुद्ध प्रमुख भिक्षुसंघलाई भोलिपल्टको भोजनको लागि निमन्त्रणा गरे । उनको भोजनदानमा सूकर मद्दव भनिने एकथरिको च्याउ पनि थियो । सो भोजन खाइसक्नुभएपछि वहाँलाई रोग फेरि चर्को भएर आयो । वहाँलाई असह्य वेदना भयो । मुस्किलले वहाँ कुशीनगर जानुभयो ।
भगवान वुद्ध बीच बाटोमा एउटा रुखमुनि सुस्ताउनुभयो । त्यहाँ आलार कालामका चेला पुक्कुस नामको मल्लपुत्रले वहाँलाई देखे । उनी वहाँको शान्तिमय जीवनको बारेमा उपदेश सुनेर प्रशन्न भए । उनले आफु आजीवन भगवान वुद्धको तथा धर्म र संघको शरणमा आएको कुराको पनि घोषणा गरे । उनले वहाँलाई २ वटा चीवरहरु चढाएकोमा १वटा आफुले लिई अर्को आनन्दलाई दिलाउनुभयो । त्यसपछि वहाँ ककुधा नदीकिनारमा एकछिन सुस्ताउनु भइसकेपछि कुशीनगर जानुभयो । यो मल्ल राजाहरुको सयर गर्न आउने स्थान हो ।
भगवान वुद्ध कुशीनगर पुग्नुहुँदा साह्रै थाक्नुभयो । अब आफु अगाडि बढ्न सक्दिन भन्ने लाग्यो । अनि आनन्दलाई भन्नुभयो, “हे आनन्द ! यी २ शालवृक्षमुनि मेरो लागि विछ्यौना विछ्याऊ । म साह्रै थाकेको छु ।”
भिक्षु आनन्दले भगवान वुद्धको संघाटी चौब¥याई विछ्याइदिनुभयो । उत्तरतिर शिर पारी त्यस आसनमा भगवान वुद्ध पल्टनुभयो । तर वहाँ निदाउनुभएको थिएन । रोगले साह्रै च्यापेकोले आराम गर्नुभएको थियो । वहाँको मन भने शान्त र दृढ नै थियो ।
अब आनन्दलाई लाग्यो कि भगवान वुद्ध पक्कै पनि परिनिर्वाण हुने भयो । त्यो हुनाले वहाँलाई ठुलो शोक भयो । अनि एक ठाउँमा लुकेर विरह गरी रोइरहनुभयो, “म अरु भिक्षुहरुसरह हुनसकेको छैन । मैले अझै धेरै सिक्न बाँकी छ । म अझसम्म अर्हन्त भएसकेको छुइन । मलाई करुणा कृपा राख्नुहुने शास्ताले मलाई छाडेर जान लाग्नुभयो । म एक्लो हुनेभएँ ।”
भगवान वुद्धले आँखा खोल्नुहुँदा आनन्दलाई त्यहाँ नदेख्नुभई नजिक बसेका भिक्षुहरुसँग सोध्नुभयो, “भिक्षु आनन्द कता गए ?”
ती भिक्षुहरुले जवाफ दिए , “उनी एक कुनामा गई रोइरहेका छन् ।”
भगवान वुद्धले भन्नुभयो, “आनन्दलाई बोलाएर ल्याऊ ।”
आनन्द आइपुग्नुहुँदा वहाँले उनीसँग करुणापुर्वक कुरा गर्नुभयो ।
भगवान वुद्धले आनन्दको प्रशंसा गर्दै भन्नुभयो, “भिक्षुहरु हो ! अतितका वुद्धहरुका पनि उपस्थाकहरु थिए । अनागतमा आउने वुद्धहरुका पनि उपस्थाकहरु हुनेछन् । तर अहिलेका मेरा उपस्थाक आनन्दभन्दा श्रेष्ठ हुनेछैनन् । ऊ सर्वश्रेष्ठ उपस्थाक हो । उसको वुद्धि कुशल तथा तीक्ष्ण छ । ऊ उचित समयलाई जान्दछ । पाहुनाहरुलाई मीठो वचनद्वारा खुसी तथा प्रशन्न हुनेगरी व्यवहार गर्दछ । उसको सोमतिलो व्यवहारद्वारा सबैजना सन्तुष्ट छन् । उसका कुरा सबैजनाले ध्यान दिएर सुन्दछन् । यस्तो छ , वुद्धको उपस्थाक आनन्द !”
त्यसपछि आनन्द भिक्षुले भगवान वुद्धलाई निवेदन गर्नुभयो, “भो भगवान शास्ता ! यो जङ्गलको बीचमा रहेको सानो नगरको क्षेत्रमा परिनिर्वाण नहुनुहोस् । यसो गर्न सुहाउँदैन । अरुअरु ठुलाठुला नगरहरु जस्तैः श्रावस्ती र वैशली आदि छन् । त्यहाँ शास्ताका धेरै अनुयायीहरु छन् । उनीहरुले तथागतको शवलाई भव्य सम्ममान गरी व्यवस्था गर्नेछन् ।
भगवान शास्ता ! त्यहाँ परिनिर्वाण हुनुभए वेस हुनेथियो ।”
भगवान वुद्धले आनन्दलाई भन्नुभयो, “त्यसो नभन आनन्द ! त्यसो नभन ! यसलाई जङ्गलको बीचमा रहेको सानो क्षुद्र नगर भनी नभन । धेरै समय पहिले यो सर्वोत्तम नगर थियो । यो चक्रवर्ती राजाको राजधानी थियो । हे आनन्द ! बरु तिमी गएर कुशीनगरका राजाहरुलाई सुचना देऊ ।”
“आजको अन्तिम याममा यो स्थानमा तथागत परिनिर्वाण हुनुहुनेछ । परिनिर्वाण हुनु अगावै उनीहरुले तथागतको दर्शन गर्न पाउन् ।”
अनि भिक्षु आनन्द केही भिक्षुहरुका साथ गई वहाँको आज्ञा मल्ल राजाहरुलाई जानकारी दिनुभयो ।
भगवा वुद्ध परिनिर्वाण हुने खबर सुनेर मल्ल राजाहरु दुःखी तथा शोकाकुलित भई, “भगवान वुद्ध छिट्टै परिनिर्वाण हुनुहुने भयो । लोकलाई प्रकाश दिने वत्ती छिट्टै निभ्दैछ । भगवान वुद्धले हामीलाई छोडेर जानुहुँदैछ ।” भनी विरह गर्दै भगवान वुद्धकहाँ आए । त्यस्तै कुशीनगरवासी अरु स्त्रीपुरुष तथा बालबालिकाहरुसमेत रुँदै कराउँ्रदै विरह गर्दै भगवान वुद्धको अन्तिम दर्शन गर्न आए । तिनीहरुले टोलीटोली भई भगवान वुद्धको दर्शन गरे । हरेक टोलीका नेताले भगवान वुद्धसँग विदावारिका केही कुरा पनि गरे ।
त्यसबेला कुशीनगरमा एकजना सुभद्द नामक परिव्राजक थिए । उनले भगवान वुद्ध परिनिर्वाण हुनुहुने कुरा थाहापाएर केही कुरा सोध्ने इच्छाले भगवानको दर्शन गर्न जान चाह्यो । किनभने उनी विश्वास गर्थे कि आफ्नो प्रश्नको जवाफ वुद्धले मात्र दिनसक्नुहुनेछ । त्यसो हुनाले उनी शालवनमा आए र भिक्षु आनन्दसँग भेट गरे । अनि उनले भगवान परिनिर्वाण हुनुअगावै आफ्नो प्रश्नहरु सोध्ने मौका दिन आनन्दसित अनुरोध गरे ।
भिक्षु आनन्दले सुभद्रलाई यसरी जवाफ दिनुभयो, “भयो सुभद्र ! भयो ! भगवान वुद्ध साह्रै थाक्नुभएको छ । यस्तो बेलामा प्रश्नहरु सोधेर वहाँलाई बढ्ता दुःख नदेऊ ।”
तर सुभद्र परिव्राजक अति हतारोमा थिए । आनन्दले भन्नुभएको कुरा उनले मानेनन् । उनले भगवान वुद्धको दर्शन गराउन बारम्बार अनुरोध गरिरहे । भिक्षु आनन्दले पनि बारम्बार मनाही गरि नै रहनुभयो ।
अनन्दको तर्क थियो, “वहाँ अहिले साह्रै शिकिस्त हुनुहुन्छ । कुनैपनि प्रकारका व्यक्तिबाट अब वहाँलाई दुःख दिनु ठीक छैन ।”
भगवान वुद्धले यी दुईजना बीच भइरहेको कुराकानी सुन्नुभयो अनि वहाँले सुभद्रलाई नरोक्न आनन्दलाई आज्ञा गर्नुभयो ।
भगवान वुद्धले आनन्दलाई भन्नुभयो, “ हे आनन्द ! तिमी सुभद्रलाई मकहाँ आउनबाट नरोक । उसको इच्छानुसार मकहाँ आउन देऊ । उसले मसँग ज्ञानका कुरा सुनेर जीवन सार्थक पार्नेछ । ऊ मलाई दुःख दिन आएको होइन । ऊ मेधावी तथा कुरो छिट्टै बुझ्नसक्ने हो ।”
अनिमात्र आनन्दले सुभद्रलाई भगवान वुद्धकहाँ जान दिनुभयो ।
भगवान वुद्धले सुभद्रको प्रश्न सुनिसकेपछि धर्मदेशना गर्नुभयो । जसले गर्दा उसको मनमा रहेको संशय हट्यो । समस्या सुल्झ्यो । उनले वुद्धको धर्मविनयमा भिक्षु बनाइदिन अनुरोध गरे । भगवान वुद्धले सुभद्रलाई भिक्षु बनाइदिन आननदलाई लगाउनुभयो । यसरी मृगदाय वनमा धर्म उपदेश सुन्ने कौडिन्य भगवान वुद्धका प्रथम शिष्य हुनुभएको थियो , त्यसरी नै यिनी भिक्षु सुभद्र अन्तिम शिष्य हुनुभयो । भिक्षु सुभद्र धर्मविनयमा मेहनत तथा कोसिस गरेर थोरै समयमा नै अर्हन्त हुनुभयो ।
त्यसपछि भगवान वुद्धले भिक्षुहरुलाई धर्मविनयसमबन्धी कुनै शङ्का भएमा सोध्ने अन्तिम मौका दिनुभयो । तर त्यसबेला वुद्धधर्म र संघउपर शङ्का भएका कोही एक जना पनि निस्केन । अनि वहाँले अझ एकचोटि अन्तिम रुपमा भिक्षुसंघलाई आज्ञा हुनुभयो, “ भिक्षुहरु हो ! तिमीहरुलाई यो मेरो अन्तिम वचन हो । सबै संस्कार नाशवान हुन् । नाश भएर जानु स्वभाविक हो । तिमीहरुले आप्रमादी भई मुक्ति प्राप्त गर ।”
त्यसपछि भगवान वुद्ध क्रमशः समापत्तिमा समाधिस्थ हुनुभयो । त्यसबाट उठ्नुभयो ।
अनि चतुर्थ ध्यानमा पुगेर त्यहाँबाट निर्वाण धातुमा स्कन्ध निरोध हुनुभयो । वहाँ अब यस लोकमा अथवा अरु लोकमा कतै पनि फेरि उत्पन्न हुनुहुनेछैन । ८० वर्षको उमेरमा वैशाख पुर्णिमाको रातको अन्तिम याममा सम्यक सम्वुद्ध महापरिनिर्वाण हुनुभयो ।
यसप्रकार एशियाका ज्योति शाक्यमुनि वुद्धका जीवनगाथा समाप्त भयो । तर धर्मले अर्थात वहाँले सिकाइ जानुभएका उपदेश र मुक्तिको मार्गबाट अझै करोडौँ जनताहरुलाई आशा तथा मुक्ति प्रदान गरिरहेको छ ।
नोट : यो वुद्ध जीवनी निःशुल्क वितरणका लागि हो । बिक्रीका लागि होइन ।
भावानुवाद भिक्षु विपस्सी धम्मा रामो
वात् बवरनिवेस विहार, बैङ्कक १०२०० थाइल्याण्ड
यस वुद्ध जीवनी पुस्तकका लागि लेखक वुद्धदास भिक्खु
२०७७ जेठ १५ विहीवार
इन्टरनेटका लागि युनिकोडमा
बिजु सुवेदी विजय,
कलेश्वरद्वारा
