यति खेर
म गोरखा जाने बसभित्र छु।
यो बस पार्कको प्रस्थान बिन्दुमा
मेरो मातृबसको हर्न बज्छ,
अनि
म सम्झन्छु –
धुन तुरुरुँ, धुन तुरुरुँ शैलीमा बजिरहने
लाटो दमाईंको नरसिंहा ।
दरौन्दी नदी झैं बग्न थाल्छ-उत्सवमय अनुहारहरुको साझा यात्रा
अनि यै बस भित्र म भेट्टाउँछु – वर्षौं देखि
हराइरहेको आफ्नो अनुहार,
र मेरो अनुहार भित्र हराइरहेको निचेष्ट निष्प्राण जिन्दगी।
मेरा अनिन्दा आँखाहरुबाट बगिरहन्छ-
ख्याली बजाउँदा बाजाउँदै बसेको चोखो माया,
अनि म निदाउँछु-
जसरी घलेक भित्र निदाउँछ- सुदूर सुमधुर लाहुरेको सम्झना।
मेरै हृदयको ओट लाएर अडिन्छ- असजिला उकाला हरुमा,
मनास्लु डिलक्स- गोरखा जाने बस।
