बलिन्द्र आँशुका धारा बगाएर अबिरल रोइरहेको छ आकाश । कोरोनाको महामारीको कारण मान्छेको चहलपहल शून्य छ । चराचर जगत नै आ-आफ्नो वासस्थानमा खुम्चिन बाध्य भएका छन् । बेपार व्यवसाय गर्नेहरू मलिन अनुहार लगाएर ग्राहकको पर्खाइमा शून्य सडक चियाइरहेका छन् । जोरबिजोर प्रणाली लागू गरिएकोले निजी सवारी साधन फाट्टफुट्ट गुडिरहेका छन् ।
निरीहाको बेला बेलामा दुखिरहने पेट आज पनि अरू दिनभन्दा अलि बढी दुखेर औषधी सेवन गर्नु पर्ने नै भो । पेटको दुखाइ कम त भयो औषधीले तर उसले दिनभर थकानको अनुभव गरिरहेकी थिई । आज लगातारको वर्षाको कारण दिक्दार लाग्दो रह्यो दिन । कार्यालयमा साधारण कर्मचारी निरीहालाई दिनभर अफिसमा सफा गर्ने, खाजा चिया बनाउने र खातापाता वरपर गर्दैमा फुर्सद हुन्न । दिनभर चार तलामा तल र माथि गर्दै खुत्रुक्क हुन्छे थाकेर । कार्यालय बन्द हुने बेलामा आरिबाट घोप्टिए जस्तो पानी खनियो । घर जान अबेर भएकोले ऊ बाटो लागि । घरमा पुग्ने बित्तिकै उसको लोग्नेसँग भनाभन सुरू भयो । सधैं झै उसको लोग्नेले उसलाई माइतीको नाम लिएर नानाथरी गाली गर्न थाल्र्यो । हुनत उसलाई माइतीघरबाट कुनै किसिमको समर्थन पनि भएको छैन ।
निरीहाको भाइबुहारीले उसलाई समर्थन त परको कुरा सम्पर्क समेत गर्दैनन् । टाढिएका छन् उसका भाइबुहारी । यसरी टाढिएको देख्दा बेचैन छे बिचरी । तर लोग्ने भने सधैं माइतीले उक्सायो यसलाई भनेर गाली मात्र गर्ने । बुढी आमासँग ऊ आफैले फोन गरेर सञ्चो बिसञ्चो सोध्ने गर्छे बेला बेलामा तर निरीहाको लोग्ने भने उसको मुटु निमोठिरहन्छ उसलाई माइतीको अपहेलना गर्दै । जन्माइ हुर्काइ आफू कमाइ गरेर खान सक्ने अवस्था पुर्याएर फरक जात र संस्कारकै भएपनि छोरीले रोजेकै केटासँग विवाह गरिदिने निरीहाका सोझा आमा बुबाप्रतिको उसको लोग्नेले हेरेक पटकको भेटमा गरेको रूखो व्यवहार अनि माइतीतर्फका हरेकलाई गर्ने अस्लिल गाली सुन्दासुन्दै ऊ आजित भएकी छ ।
जब दुईजना बीचमा खटपट सुरु हुन थाल्छ तब माइतीको खेदो खन्न थालिहाल्छ उसको लोग्ने । निरीहालाई भने असह्य हुन्छ । उसको रगतको नाता छ माइतीसँग । माइतीले बिहे गरेर गएकी चेलीलाई पराया ठाने पनि चेलीलाई भने माइती घर सधैं प्यारो हुन्छ त्यसैले ऊ माइतीको अपमान सहन सक्दिन । हुन त ऊ लोग्नेको पनि कसैले अपमान गरेको सुन्न कहिल्यै सक्दिन । आफूलाईभन्दा बढी लोग्नेलाई सबैले आदर गरिदिए हुन्थ्यो भन्ने सोच्छे । त्यसैले त महिलालाई कसैले कसैको अपहेलना गरेको मन पर्दैन । भनाभन हुँदा आज उसको लोग्नेले उसलाई बेश्या होस् तँ भन्दै तथानाम गाली गर्यो ।
कति सजिलै भन्यो उसले यो बेश्या शब्द तर निरीहालाई उसको त्यो गालीले अत्यन्त मर्माहत बनायो जसले गर्दा उसले खान लागेको खाना निल्न पनि सकिन । भान्साको काम सकेर ऊ सुत्ने कोठामा गई । ओछ्यानमा पल्टिदै रातभरि रोएरै रात बित्यो उसको । निरीहालाई बिहे गरेर ल्याएको चौध वर्ष भयो । वर्ष दिनसम्म त ठीकै व्यवहार भयो नत्र कुनै दिन पनि उसको लोग्ने नचिढिएको प्राय कमै हुन्छ । केही न केही कुरामा निहुँ खोजेर दिक्क बनाउने गर्छ उसको लोग्नेले । बिहान उज्यालो भएदेखि राति अबेरसम्म पनि काममा खटेर लखतरान हुँदा पनि कहिल्यै खुशी नहुने । काम गर्न त स्वास्नीमान्छेले नैत हो नि त भन्ने मानसिकता बोकेको उसको लोग्नेलाई निरीहाले सञ्चो भएनभन्दा बहाना मात्र ठान्छ जहिल्यै पनि । मानौ उसकी स्वास्नी कहिल्यै खिया नलाग्ने फलामले बनेकी छे र ऊ आफूमात्र कोमल शरीर हो जसका हरेक अंगमा सानै कुराले पनि दख्खल पुर्याउन पुग्छ । चित्त दुख्छ त केवल उसको मात्र दुख्छ अनि रीस पनि उसलाई मात्र उठ्न पाउनु पर्छ ।
दिउँसो देखि दर्किएको झरी रातभरि पनि त्यतिकै छ । चकमन्न नीर खन्याए जस्तो सुनसान कालो रातमा एकोहोरो दर्किएको झरीको मीठो आवाजले पनि उसलाई आज कुनै मिठासपन अनुभव गराउन सकेन बरु एकतमासले एक्लो महसुस गरायो । घोक्राइ मुन्टाइ गरेर पाखुरा नीलै हुँदा पनि त्यति साह्रै चित्त दुखेको थिएन निरीहालाई जति आज बेश्या शब्द प्रयोग गरेर गाली गर्दा दुखेको छ । उसको चिरा परेको मुटुमा नूनचुकको काम गर्यो त्यो शब्दले ।
हुन त आफ्नी श्रीमतीले अन्य पुरुषसँग बोलचाल गरेको कुनै पनि श्रीमानलाई मन पर्दैन तर अफिसमा काम गर्ने भएपछि नबोलेर उपाय पनि हुन्न । उसको लोग्नेको निरीहालाई हेर्ने नजर पनि आम लोग्ने मान्छेकोभन्दा फरक के हुन्थ्यो । कोहीसँग पनि बोल्दैनबोली सरासर आफ्नो घरको काम मात्र गरेर बस्ने अनि अन्याय परेको पनि कुनै पर्वाह नगरी बस्ने श्रीमती भएमात्र आफूलाई भाग्यमानी पुरुष ठान्ने गर्छ । पुरुषप्रधान हाम्रो समाजका हरेक लोग्ने मान्छेहरूले यही मानसिकता राखेका हुन्छन् भन्ने थाहा छ निरीहालाई त्यसैले उसले अफिसको काम छोडेर घरमै बस्ने विचार पनि नगरेकी होइन तर ऊ केही काम नगरी बस्न सक्ने र अत्याचार सहने खालकी महिला होइन त्यसैले त लोग्ने स्वास्नीको बीच भनाभन परिरहन्छ ।
उसकी लोग्नेको सोचाइभन्दा बिलकुल फरक सोचाइ छ निरीहाको । लोग्नेले उसलाई आफूलाई छोडेर अन्य कुनै पनि पुरुषलाई श्रीमान् बनाउली भन्ने सोच छ तर निरीहा भने कुनैपनि परपुरुषसँगको सम्बन्ध कल्पनासम्म गर्दिन । समाजमा घटिरहेका महिला हिंसाका घटना सुन्दा, देख्दा र भोग्दा भोग्दै ऊ लोग्ने शब्दप्रति नै ऊ दिक्क भैसकेकी छ । उसलाई लाग्छ प्रेमको नाटक गरेर कुनै पनि महिलालाई शोषणको जालोमा उदिन्ने काम गरिन्छ भने कतै विवाह गरेर निःशुल्करूपमा जीवनभर दासी भित्र्याउन खोजिन्छ । खान र लाउन दिएको भरमा भरपुर दमन गरिन्छ महिलाको ।
दिनभर काममा जोतिँदा पनि सानातिना कुरामा निहुँ खोजेर शारीरिक अपाङ्ग हुनेसम्मको धुलाई खाएका महिला पनि देखेकी छ उसले । कति महिलालाई कुनै अप्रिय घटना भएर श्रीमान् बित्यो भने अलच्छिनी भनेर लोग्ने टोकी भनेर कतिलाई मानसिक यातना त कतिलाई हत्या समेत गर्ने गरेको पनि देखेकी छ उसले । कोही स्वार्थ पुरा गर्न नसक्ने भन्दै तेजाब आक्रमण गरेर जीवनभर कुरूप बनेका त कोही जिउदै जलाइएका घटना देखेर बिचलित बनेकी छे ऊ । कति आफ्नै घर भित्रै बलात्कार भएर मानसिक सन्तुलन गुमाउन बाध्य भएका कलिला बालिकाको सत्य कथा पढेकी छ । सबै यस्तैयस्तै कुराहरूले उसमा लोग्ने मान्छे प्रति नै घृणाको झाङ नै फैलिएको छ त्यसैले कुनै लोग्ने मान्छेसँग पनि विश्वास गर्ने आधार देख्दिन । ऊ कुनै परपुरुषसँग यस्तै कारणले गर्दा कहिल्यै नजिक हुन चाहँदिन । सबैसँग हाँसेर बोलिदिदैमा उसलाई गलत सोच्ने उसको लोग्नेले कहिल्यै आफ्नी श्रीमतीलाई चिन्न नसक्दा ऊ दुखी छे ।
ऊ आजित भएर पनि लोग्ने त्याग्न सकिरहेकी छैन कारण एउटै छ उसको मातृत्व । अनेक लान्छना सहन बाध्य छे । संसारमा सबैभन्दा बढी माया आफ्नो सन्तानको हुन्छ हरेक आमालाई । यो हरेक नारीको गुण हो । ऊ पनि त्यही भित्र पर्छे । बरू रगतको आँसु पिउन तयार छे निरीहा तर सन्तान त्यागेर हिडदिन । जब उसको सन्तानले पनि उसको अभावको कुनै पर्वाह गर्दैन त्यतिबेला खुशीसाथ उसले लोग्नेको घर त्यागेर बस्ने छे जति बेलासम्म ऊ वृद्ध महिला हुनेछे र कसैले पनि उसलाई बेश्या शब्द प्रयोग गरेर गाली गरिरहेको सुन्नु पर्ने छैन । समाजमा एउटी उमेरकी महिला जब लोग्ने बाहेक एक्लै बस्न बाध्य हुन्छे उसलाई समाजले चरित्रहीन महिलाको कहिल्यै नमेटिने ट्याटु खोपाइदिन्छ । जति नै इमान्दार महिला भएपनि गिद्धे नजर लगाउनेहरू छ्यापछ्यापति हुन्छन् जवानदेखि वृद्धसम्म ।
त्यसैले निरीहाले आफूजस्ता कयौ महिला दिदीबहिनी लोग्नेबाट अपहेलित भएर आफूजस्तै निरीह जीवन बाँचेको टुलुटुलु हेरिरहन बाध्य छे ।
२०७७ असार २६
टीका खरेल सुवेदी
