बाल्यकालमा,
साथीहरुसँग मिलिजुली पिङ खेली रमाइन्थ्यो
र पो दशैं आए जस्तो हुन्थ्यो
अरुबेला पैसाको कौडी हुन्थेन
दशैंमा टन्न कमाइन्थ्यो,
र पो दशैं आए जस्तो हुन्थ्यो !
शुक्रबारे हाट, मानिसहरुको हुल
अनि मेरा लागि एकजोर नयाँ लुगा !
किन्नेबित्तिकै लगाएर ऐना अगाडि पुगेर
आफ्नो रुप देखि मुस्कुराउथेँ म,
ओठमा हासो थियो, मनमा उमङ्ग थियो
तर हातमा क्यामेरा थिएन !
आज फोटो खिच्ने साधन छ
तर ओठमा हासो छैन मनमा उमङ्ग छैन !
मेरा बुढा हजुरबुबा काम्दै,
“नानी त ठुली भइस् अब” भन्नुहुन्छ, म भक्कानिन्छु
म ठुली भएकोले बा बुढा हुनुभए झै लाग्छ,
आशीर्वादपछि पैसा थमाइदिने हातहरू बुढा भए,
मेरा बा जस्तै बूढो भएझै लाग्छ मलाई यो दशै !
पहिले जस्तै,
यसपाली पनि दशै आयो
मालश्री धुन गाउँघरमा गुञ्जिदैछन,
हलक्क हुर्किएको जमरा,
आकाशलाई हुत्याउँदै मच्चिरहेको पीङ,
सुनसान गाउँको बाटोमा अचानक
घर फर्किरहेका मानिसहरूका ताँती,
हृदयजस्तो एकान्त आँगनको
मखमली, सयपत्री फूल र
बजारको सपिङ सेण्टरको भीड पछिल्तिरबाट
निस्किसकेको छ दशैँ ।
बालापनमा,
रातो माटो र कमेरो माटोले घर रङ्याउनेहरु,
मसिले क्यालेण्डरका पाना रङ्ग्याउनेहरु,
नयाँ नानाहरुले गाउँघर रङ्ग्याउनेहरु,
आज, खुसी रङ्ग्याउन भौतारिरहञ्छन,
त्यसैले होला सायद,
विधवाको ऐना सरी खल्लो
गरीबको मझेरी झै चिसो, दशै !
तर साथी,
आऊ न एकछिन बात मारौँ,
पहिलेजस्तै,
तिम्रो नाना मलाई देखाऊ, मेरो तिमीलाई देखाउछु,
तिमी पिङ्ग खेल्नु म हल्लाउछु !
तिमी पिठो छिङ्किनु,
म ढिकी चलाउछु !
तिम्रो दक्षिणाको पैसा कति भयो?
तिमी तिम्रो भन्नू, म आफ्नो सुनाउछु !
यसपाली हामी “ठुला”ले जस्तै दशै नमनाऊ ल?
प्रतिक कार्की
तुलसी-६धनुषा
