Skip to content


…..र त त्यो त्यसै आकाशमा मडारिंदै थियो
घनिभुत अन्धकारमय
अनि त्यो अत्याश लाग्दो
उचालेका पाइलाहरू त्यसै रोकिदैथिए
किन ? अनुत्तरित मौन विचार
मछौटेको जाल झै फनफनी घुमिरहेका
हारजीत अनि उत्सवका चित्कारहरू
बोधीसत्व बुद्धत्त्व को आंशिक परीक्षामा
हिटलर तेस्को गार्ड बसिरहेका
रङ्गिन बादलहरुबाट झरेका
पारदर्शी पर्दाहरू
यौवनको मदिरामा मदहोस भएका
भय र त्रासदीले सगर डढेर
जङ्गलका ब्वाँसाहरू उन्मुक्तिको बिगुल फुकिरहेका
उफ्फ ! भयो सुमार्गीका नविनम किरणहरू
तिमीहरुलाई कुनै अधिकार छैन
सास फेर्न पनि यहा
तिम्रो महत्त्वको सत्यबोध गर्न
नजान्ने नरुचाउने उराठिला भाकाको सिंहनादले
देखेर उदाङ्गो भयभीत ताण्डव नृत्यलाई
सम्बोधन र स्मृतिका पञ्चाग्नी ओछ्याएर
स्वागत गर्न तेति सजिलो पक्कै रहेन
र त त्यो त्यसै आकाशमा मडारिदै थियो
कालो अजङ्गको
यमराज को वाहान जस्तै
अदभूत लौकिक अनि श्रापित
ॐ कार विजयामण्ड्लिको शङ्खनाथमा गुञ्जिएका
अति सु शोज्जित लज्जा र शर्मले स्नानारत
हे भौगोलिक नाते दुरिमा इन्द्रप्रस्थ हारिरहेका युधिष्ठिरहरू
श्रीखण्डको भस्ममा लेपासिएर कामुक नृत्यमा रमाउने
सुमार्ग र कुमार्गको ज्ञान कतिसम्म हुदो हो तिमीमा
असत्यको वृक्ष रोपि अमृत देखाउन खोज्दै
तिमी त बलिराजाभन्दा दानी पो भैसकेछौ
तिम्रा हनुमन्त्ते कालमा आएका बिकराल परिवर्तन
राष्ट्रियताको सास्टाङ्ग दण्डवत अनि
गुगलमै हराउन लागेको हाम्रो भूगोल
बस स्वधिनता त आगन्तुक शब्द भैसक्यो
एकतामा मौलाएको उन्मत्त विभेदिकरणले
कथित त्यो दक्षिणी गोलार्धलाई कसरी निल्दैछ
जसरी पुजारीले अग्निकुण्डमा चरु होम गर्दछ्न
कठै बरा ती चरुहरू,
बहादुरिताको नाममा अफै हुनु पर्छ स्वाहा
……र त त्यो बनमारा देशमा मौलाउदैथियो
राष्ट्रियता बेच्नेको हिम्मत अँझै बौलाउदै थियो
जस्तै अस्ट धातु बिनाको अङ्गुठी अनि
कुनै ताल्मेल बिनाको राज्यको नीति
न फेद न टुप्पोको मिलावट देख्दै नक्कली
फिक्का कालो गाढा चुक घोप्ट्याए जस्तै
अनि नतमस्तक मौनताका हाम्रा पाइलाहरू
तराईका हरिया फाटमा क्याक्टसका खेती
अभुतपूर्व नुतन साम्राज्यको बिकेन्द्रीकरण
वा ताली पिटी पिटी जयजयकार गर्न मन लाग्छ मलाई
तिम्रो अहमताको तिम्रो स्वार्थको अनि
तिम्रो कुटनैतिक चतुरताको
भो अब त छैन कुनै आशा र भरोसा
नैराश्यताको उद्भवलाई ब्यापारीकरण गरी
शब्दहरुको हत्या गरेर मैले तिम्रा पाउ पखाल्न सकिन
उल्टै शङ्का लाग्छ तिम्रा बफादारी प्रति
अनि
चिन्ता लाग्दछ तिम्रा कार्यशैलीको उदण्डता प्रति
बरु भरोशा छ आफ्नै निराशा प्रति
कुनै दिन उदाउने चन्द्रमाको प्रकाशले
छिचोल्दै घनिभुत कुहिरीमण्डललाई
पार्नेछ तहस नहस
त्यो प्रचण्ड प्रलयाग्नी धुवाएर
अनि मात्रै पग्लिनेछ्न सल्लाका खोटाहरू
बल्नेछन उज्याला दियालाहरू
सल्काउनेछ्न सारा जगत
अनि मात्रै उदाउनेछ हाम्रालागि चन्द्र र सूर्य
त्यसैले त आज फेरि टोलाएर हेरे आकाशमा
मेरा निराशाहरू मण्डलाकार भै विलिन हुँदै थिए
…….विलिन हुँदै थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *