
चुरोटका स्वादसँगै रमाएँ
सम्भावनास्रोत सहस्र पाएँ
तिनै उघाएँ र यता फिजाएँ
लुनीसँगै सिर्जन गीत गाएँ ।।
चुरोटको साथ थियो धरामा
ममा भिज्यो स्वाद जरा जरामा
मैले त्यसैमा नवगीत गाएँ
र सिर्जना भित्र यसै हराएँ ।।
तथापि झन् भोक थिएन शान्त
चुरोटले झन् अझ भो अशान्त
म जान लागेँ अब भो नछेक
आखीर श्रीकृष्ण रहेछ एक ।।
संसारको रीत बुझिन्न मित्र
रहेछ यो एक बडो विचित्र
देखेर संसार भयो उदेक
आखीर श्रीकृष्ण रहेछ एक ।।
लेखेँ हजारौँ सृजना रमाई
विवेकका सुन्दर गीत गाई
के पाइयो खै र हुँदा विवेक
आखीर श्रीकृष्ण रहेछ एक ।।
सत्सिर्जना जीवन हो भनेर
भाषाहरूका कनिका गनेर
रहे समस्या मनमै अनेक
आखीर श्रीकृष्ण रहेछ एक ।।
होम सुवेदी
(उनैको हरफ भएकोले आखीर दीर्घ)
