Skip to content


उनको सामीप्यताले उब्जाएका
मनका अनेकौ अन्तर सङ्घर्षहरुलाई
थुञ्चेभरि भारी बोकाएर
घनघस्याको उकालो चढाए पनि
कहिल्यै नथाक्ने ऊ एउटा बटुवा

न थाक्ने छन् उसका आशा अनि अभिलाषाहरू

एकाग्रतालाई भङ्ग गराउने उनका चञ्चल आवाजहरुले
कोइलीको सुमधुर आवाजलाई पनि बिर्स्याइदिन्छ
अनि मुनाल को त्यो मनोरम नृत्यमा
सांसारिक दुख बिर्सी यात्री मन्त्र मुग्ध हुन्छ
सुस्केरामा बयेली खेल्न पल्केका पाखाहरूलाई
थकानको मेसो पुग्न हम्मे हम्मे पर्दो हो र त
मनै फुरुङ्ग पार्ने कौतुहलताले
मनका सिपाहीसँग लड्न विवश हुन्छ ऊ

स्वर्णिम सपनामा वालापन लुकाएर
मुसुक्क लजाउनु कस्तो बाध्यता उसको ?

आफू अगाडिको सुन्दर दिव्य मूर्ति देख्दा
आमाले बालापनमा सुनाएका मधुमालतीको कथा
भौतारिन्छ्न यता उता चारैतिर
मालती घोडा अनि राक्षस …………
एकछिनको शून्यताले कानमा टिङ्ग घन्टी हान्छ
चरा चुरुङगीको च्यार्र चुर्र सुन्ने अहोभाग्य नमिले पनि
यो अनकण्टार मरुभूमिमा बिग्रेको एएर कण्डिसनको
थोत्रिएर पोच्चिएको आवाजले कहिले बिचलित भएन ऊ
आकाशले सूर्यलाई निले पनि
पूर्णेको चन्द्रमा बनेर निस्कने उनीमा
हजारौ लुटुपुटु गर्नेको लर्को लाग्दो हो
उनको कपालमा टल्केको गोल्डेन मेहेन्दी सङ्गै
उनका मिठास कुरामा पारिलो घाम पनि मिल्दो हो
त्यसैले त उनको आभासले संसार बिर्सन बाध्य हुन्छ ऊ
मौनताको प्रक्षेपणले चन्द्रमा नाघ्दा पनि
एक छिनको आगमनले धरातल नछोड्ने बाचा गरी
अप्सरालाई मात खुवाउदै नाचिदिन्छ
मानौ त्यो सहरमा कहिल्यै लोडसेडिङ् भएकै छैन
याद सम्झना अनि प्रतिक्षाको कडा मेहेनतले
सारा जगतको प्रकाशलाई चुनौती दिदो छ आफ्नै रफ्तारमा
तैपनि सिद्धान्तलाई निस्तेज पार्दै आफ्नो भाग्य आफै लेख्ने
उसको कत्रो महान विचार
भगवान ….भन्दा अरुलाई के को पत्तो ?
आवेगलाई छाडी विचारलाई शक्तिमा बदल्न
आरोह अवरोहलाई हातेमालो र अङकमाल गर्दै
आत्मसंयम बनी दौडिरहेको
यो ब्राह्मण को ऊ एउटा यस्तो यात्री
जो पृथ्वीको अनुपम रोशनी खोजिरहेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *