मेरो छ मित्रहो आज एक नम्रनिवेदन
होम सुवेदी
भ्रम हुन्छन् सबैलाई भएमा भिन्न लेखन
म बडो नम्रता साथ गर्न लागेँ निवेदन ।।
अन्योलग्रस्त हिज्जेको रूप देखेर वास्तव
वर्णविन्यास सम्बन्धी केही लेख्नु पर्यो अब ।।
वाक्यका पदमा आई पछाडि जोडिने हुँदा
अनुसर्ग भयो नाम शब्दका पछि आउँदा ।।
वाक्य शब्द मिली बन्छन् वाक्यमा हुन्छ कारक
विभक्ति सबले खेल्छन् बडो सुन्दर नाटक ।।
एकाकार कतै हुन्छन् थुपुक्क बस्तछन् कतै
विभक्ति जतिको काम भिन्न हुन्छ कतै कतै ।।
यिनैबाट हुने गर्छ वाक्य कारकपद्धति
यिनैका साथ झल्कन्छ वाक्यमा पदसङ्गति ।।
जहाँ कारकले गर्छ वाक्य वाक्य नियन्त्रण
त्यसै कारकमा हुन्छ वाक्यको अनुशासन ।।
अदृश्य रूपमा बस्छन् गर्दै वाक्य नियन्त्रण
त्यस्तो कारकमा बन्छन् विभक्ति मूर्त कारण ।।
प्रतिनिधित्व कर्ताको कहिले गर्न थाल्दछन्
कहिले कर्मको गर्दै तिनले धर्म पाल्दछन् ।।
तृतीया अथवा षष्टी पञ्चमी या त सप्तमी
वाक्य बुच्चो हुने गर्छ भएमा यिनको कमी ।।
विभक्ति हुन् कि वा शब्द भनेर गोड्नु पर्दछ
त्यसैले शब्दका साथ विभक्ति जोड्नुपर्दछ ।।
अन्य शब्दहरू केही विभक्ति तुल्य देखिए
यसै कारणले गर्दा अलग्गै शब्द लेखिए ।।
पदवर्गतिरै जान्छन् नजोडी लेखिएपछि
अनुसर्ग तिनै बन्छन् जोडेर लेखिएपछि ।।
नजोडी लेखिए अन्य अर्थ बोकेर आउँछन्
अनुसर्ग हुनासाथै शब्दका पछि धाउँछन् ।।
जसका धेर छन् शाखा हो भाषा उच्च संस्कृत
नेपाली ध्वनि यो हाम्रो त्यसैबाट छ निःसृत ।।
उनैको धर्म संस्कार उनैका पद छन् बढी
आमाको खुनमा हुन्छ आमाकै रूपको छवि ।।
यसैले उनकै धर्म हामी पालन गर्दछौं
आमाको मान सम्मान नगरे पछि पर्दछौं ।।
राम्रै लेखनमा नित्य हुन्छन् सन्देहका धुरी
निःशन्देह हुने लेख्य कहाँ पाइन्छ यो घरी ।।
यही हो मातृभाषाको शुद्ध लेखनको कसी
भनी विज्ञहरूबाट मनग्गे पोखियो मसी ।।
“तेरो लेखन हो तुच्छ मेरो छ उच्च लेखन”
नपालौँ मित्र यो तर्क नहानौँ भ्रमको घन ।।
फुट्नाले को भयो उच्च नगरौँ आत्मवञ्चन
के उल्टो तर्क गर्नाले बन्लान् पूज्य अकिञ्चन ।।
बाहिरी चक्षुले हेरे मान्छे पथ्थर भन्दछन्
भित्रका चक्षुले हेरे आस्थामा देव बन्दछन् ।।
त्यसैले यो भयो शुद्ध अर्को चाहिँ अशुद्ध भो
भन्दै थाप्लो ठटाएर भाषामा अति युद्ध भो ।।
“मेरो लेखन हो शुद्ध तेरो लेखन हो झुटो”
भनेर जनता माझ नछरौं भ्रमको ढुटो ।।
निकै टाढा छ गन्तव्य भो छाडौं नफिरौं पछि
फिर्ने काम वृथा हुन्छ माझसम्म पुगेपछि ।।
सिद्धान्त हुन्छ निर्माण वस्तुको गुणबोधले
वस्तुबोध विना बन्ने सिद्धान्त उहिल्यै ढले ।।
पहिले बोलियो वाणी सिद्धान्त पछि खोलियो
को भन्छ पहिलो वाणी अशुद्ध पहिले थियो ।।
पश्चगामी हुने काम आफैंमा हुन्छ घातक
के उँधो मुख पारेर जल पाउँछ चातक ।।
पुर्खाले जे गरे काम यदि त्यो त्रुटि हो भने
जन्माए बाबु आमाले त्यो सबै के भयो त्रुटि ।।
पछाडि नफिरौं फेरि नखनौं अब खाडल
स्थिर यो पोखरीमाझ नपरोस् मलको ढल ।।
जोडमा तोडमा भिड्छन् व्यर्थैमा जोडतोडले
छन् धेरै जोडमा लाभ धेरै छन् हानि तोडले ।।
जोडिँदा अर्थ छन् भिन्न नजोड्दा भिन्न अर्थ छन्
पुर्खाको योग्यता जाँच्ने अबका तर्क व्यर्थ छन् ।।
पुर्खाले जे दिए त्यो नै हाम्रा लागि छ वैभव
भ्रमको धान रोप्नेका नलागौं पछि भो अब ।।
किमार्थ दोष देखिन्न जोडेर लेखियो भने
उल्टै पो अर्थमा भेद देखिन्छ तोडियो भने ।।
जोड्दा अर्थ हुने भिन्न तोडमा भिन्न अर्थ छ
तोडमा नगरौं जोड अब त्यो तर्क व्यर्थ छ ।।
देखिएलान् कतै गल्ती पल्टाए इतिहासमा
मुखले छैन भन्दैमा जाडो हुन्न र माघमा ।।
कता के कसले जोड्यो त्यो छाडौं जे भयो भयो
करोडौं जनको बानी अब जोड्नतिरै गयो ।।
बनेको जे छ त्यो भन्दा लागौं निर्माणमा अब
बिब्ल्याँटो मार्ग रोजेर कहाँ पाइन्छ वैभव ।।
नगरौं तोड्नमा धन्दा आजैबाट घरी घरी
पृथ्वीले देश जोडेको तोड्ने काम भए सरि ।।
पुर्खाको जे छ निर्माण भाँच्नमा किन चम्कनु
अगाडि बढ्न छाडेर पछाडि किन लम्कनु ।।
पहिराइदिए माला दुष्ट सज्जन बन्छ र
भएको जे छ निर्माण तोड्दैमा अब बन्छ र ।।
मानें लौ ध्वंशमै युक्ति गरेछौँ रे निरन्तर
दुरुस्तै पार्छु भन्दैमा धरारा फेरि बन्छ र ।।
बनाए अघि पुर्खाले श्रमस्वेद छरी छरी
सम्मान तिनमा छैन हाम्रो सोच कठैबरी।
तोड्ने छुट्ट्याउने भाँच्ने कामले शैल छुन्छ र
करोडौं जनको आस्था भाँचेर अब हुन्छ र ।।
भत्किएको कुरा हेर्दै भन्नु के हाय हे हरि
अहिले साँधमा हाम्रो शत्रु भित्र पसे सरि ।।
जोडिएको कुरा भाँच्न यत्न गर्छौँ मरी मरी
बाख्राको खोरमा मानौँ होला बाघ पसे सरि ।।
एकता हो महाशक्ति आत्मविश्वासको बल
जहाँ त्यो एकता हुन्न त्यहाँ भो वैरीको छल ।।
हिजोका दिनमा काम अस्तिको जे भयो भयो
हज्जारौं जनको आस्था भत्काई को ठुलो भयो ।।
हज्जारौं जनको आस्था फोरेर एक हुन्छ र
आरा लाएर काटेको धुलोले रुख बन्छ र ।।
ध्वंश भो ध्वंश भो धेर नगरौं अब ताण्डव
धमिलो जलमा छाया नहेरौं भो पुग्यो अब ।।
तसर्थ हात जोडेर बिन्ती यो अब गर्दछु
अहिले लेख्न छाडेर सरक्कै पछि सर्दछु। ।
ताजा गरिएको
जय होस्
