Skip to content


म मौन थिए, समय मौन गतिशील थियो
भाग्य अदृश्य थियो
भविष्यको गर्भ अनभिज्ञ ।
तिमी आउनु थियो, आयौ मेरो जीवनमा
मौन समयले मलाई संकेत नै दिएन
अहँ! अलिकति पनि ।
तिम्रो आगमनले
मुर्झाएका सपना ब्यूँझायो
मायाका अङ्कुरणहरू जुरमुराए
मिठो साथको गाथा रचायो
मनमा अनेक खुल्दुली मच्चायो
तिब्र भेटघाट को रहर जगायो ।

रातो सारीमा सजिएको तिम्रो तस्वीर
गुलाबी ओठ, मृग नयन
पोटिला गाला, मुलायम केश
सुकोमल वदन, धपक्क बलेकी परी।
तिम्रो फेसबुक तस्बिरले मनै लोभी बनायो
मनमा कौतुहलताको बाढी चलायो
मनमनै सजाउन थाले अनेक सपना
माया को गन्तव्यमा सहयात्री बनाउने रहर।
खै के यस्तै यस्तै मनमा मायाका तरङ्ग हरुमा
तरङ्गित हुँदै ..
पल, सेकेन्ड, मिनेट, घन्टा दिन रात अनि महिना
वर्ष बिते उङ्को माया, समिप्यता र विश्वासले
अनि हाम्रा मिठो सम्बन्धका संवादहरूले ।

घर परिवार, प्रेम, जीवन भोगाइ
हाम्रा लक्ष्य /उदेश्य
कहिले शिक्षकसँगको उनको प्रेम,
कहिले सत्तरी बर्से बाजे र तरुनीको प्रेम कहानी,
त कहिले भोजपुरदेखि धनकुटा हुँदै इलामसम्मको उनको प्रेम यात्रा
अलग अलग हाम्रा बालापनका स्मृति
कहिले मेरा कथा कहिले उनका कथा
कहिले सकिएनन् हाम्रा संम्वाद,
कयौं रात बिते, भालेको चर्को स्वरले
बिहानी संकेत गर्दा पनि सम्वाद निरन्तर..।
आहा !!! हाम्रा जीवनका सुन्दर यादहरू
जीवनका स्वर्णिम खुसीहरू सायद यिनै थिए ।
सिक्काको अर्को पाटो भनेझैं
हाम्रो सम्बन्ध को अर्को पट्टि
माया को हाम्रो यात्रा कहाँ सजिलो थियो र
दुई ढुङ्गा बीच को हाम्रो सम्बन्ध
सजिएर बसेको अलग अलग संसार
चुनौती नै चुनौतीले भरिएको विशाल पर्खाल
न कसैलाई देखाउन सकिने न बुझाउन सकिने
न सम्बन्ध तोडफोड गरी फेरि गाँस्न सकिने
न छोड्न सकिने नसँगै साथमा जोड्न सकिने

भाग्य अदृश्य थियो भविष्य अनबिग्य
त्यसैले तिमी र म, हामी बन्न सकिन म
सँगै साथै एकै भएर बाँच्न सकिन म
एक-अर्कालाई दु:खमा मलम लगाउन सकिन म
एक अर्काको सरथी बन्न सकिन म
खुशी सधैसँगै साट्न सकिन म
मात्र यो देखावटी संसारको नजरमा ।
तर,
म र मेरो मन तिम्रो लागि सदासर्बदा
विश्वास, चङ्गालाई धागोको जस्तै
माया, निश्चल झरनाको पानी जस्तै
स्नेह, गहिरो सागर जस्तै
श्रध्दा, तिमीलाई विशाल आकाश जस्तै
सम्बन्ध, क्षितिजको गन्तव्य जस्तै।
अनन्त अनन्त सदा सदाको लागि।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *