Skip to content

लीलाध्वज थापाः एक शब्दचित्र


२०३१ सालको कुरा । थिएँ म मदनपुरस्कार पुस्तकालय, जगदम्बा टाइप फाउन्ड्री र मदनपुरस्कार गुठीको सेरोफेरोमा ।

जगदम्बा प्रेसमा काम गर्नु पर्ने । प्रूप पढ्थेँ । दिउसो एक बजे ठिक्क चिया खाने छुट्टी हुन्थ्यो । त्यही बेला पारेर लीलाध्वज थापा आउनु हुन्थ्यो । उहाँ जगेडाको कर्मचारी । के कारणले जगेडामा पर्नु भो भन्नु हुन्नथ्यो । हरिहरभवनमा हाजिर गरेर नित्य आउनु हुन्थ्यो चिया खाने बेला पारेर । मेरै टेबुलको अर्को कुर्सीमा बस्नु हुन्थ्यो । हाम्रा कुरा चल्थे ।

उहाँले भर्खर मोटर साइकल किन्नुभएको थियो । २७७२ नम्बर थियो । सायद बा अ नै हैला । साथै द्वितीय पत्नीका साथ विवाह गर्नुभएको थियो । पहिली पत्नीका साथको कुरा के थियो भन्नु हुन्नथ्यो । चासो पनि भएन ।

नयाँ पत्नी सारै धार्मिक हुनुहुन्छ भम्ने उहाँको भनाइ थियो । होला । हामीले देखेनौँ । घरको कुरा पर्यो ।

गफ चल्थे हामीबीच । म, कपिल घिमिरे, माधव – तीन जना अविवाहित केटाहरू हुन्थ्यौँ श्रोता । कुराहरू उहाँका बढी शृङ्गारिक नै हुने । उहाँका कुरामा कहिलेकाहीँ अलिक श्लीलताको पर्दा च्यातिन्थ्यो र नाघ्थ्यो पनि । धरहराको बारेमा । सिँहदरबारका बारेमा । चन्द्रसमसेरका बारेमा । केकेकेकेका बारेमा अनि आफ्नै बारेमा ।

एक दिन उहाँकी पत्नीको धार्मिक कुरा आयो ।

बिहान नित्य चण्डी पाठ गर्नु हुन्थ्यो अरे उहाँकी नवपत्नी । चण्डीमा कवच स्तोत्र छ सुरुमा । त्यो उहाँलाई कण्ठै थियो अरे । पढ्दा बडो उच्च स्वरमा पढ्ने भक्तिभावले पढ्ने र शुद्ध पनि उच्चारण गर्ने कुरा पनि गर्नु हुन्थ्यो ।

कवच स्तोत्रमा
कपोलौ कालिका रक्षेद् कर्णमूले तु शाङ्करी
नासिकायां सुगन्धा च उत्तरोष्ठे चचर्चिका ।
अधरे चामृता कला……

यसरी पाठ गर्दै जाँदा उहाँ जब यो ठाउँमा पुग्नु हुन्थ्यो अनि कसैले नसुन्ने गरी पढ्नु हुन्थ्यो अरे । यता उता हेर्नु हुन्थ्यो अरे र अघिसम्म ठुलो आवाजमा पाठ गरिरहेकोमा यो “नासिकायां सुगन्धा च उत्तरोष्ठे चचर्चिका” चाहिँ बिस्तारै कसैले नसुन्ने गरी बोल्नु हुन्थ्यो अरे । होला अब उहाँको कुरा पर्यो ।

यति भएपछि हामी खलललल हाँस्थ्यौँ उहाँ आनन्दित हुनु हुन्थ्यो र अर्को यस्तै शृङ्गारिक कथा जोड्न थाल्नुहुन्थ्यो ।

उहाँका काला जुत्ता टलक्क हुन्थे सधैँ । जुत्तामा धुलो लाग्यो भने गोजीवाट रुमाल झिकेर पुछ्ने । दौरा सुरुवालमाथिको त्यो कालो कोट, कोटको माथिल्लो भागमा निकालेको रुमालको चोसो र यदाकदा कोटको देब्रेतिर जडिने सानो कुनै जातको फूल अहिले पनि म झलझली सम्झिरहेको छु । उहाँका भन्नु नहुने शृङ्गारिक गफ त कति कति ।

यहाँ भन्न सकिनेलाई मात्र पेस गरेँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *