व्यञ्जनवर्णहरूमाः
क् ख् ग् घ् ङ् च् छ् ज् झ् ञ् ट् ठ् ड् ढ् त् थ् द् ध् न् प् फ् ब् भ् म् य् र् ल् व् श् ष् स् ह् क्ष् त्र् ज्ञ्
यहाँ लेखिएका सबै व्यञ्जन वर्णहरूलाई हलन्त गर्नुको कारण स्वररहित गर्नु हो । यिनै व्यञ्जन वर्णमध्ये कतिपय वर्णहरूमा उच्चारण तथा लेखमा टढ्कारो समस्या छ । म अब यिनको अजन्त रूपमा रहेर चर्चा गर्छु ।
ङ लेखेर अङ बोलेको सुनिन्छ । जो अक्षरशः गलत हो । घ र ध का अनुहार उस्तै देखिने हुँदा भ्रम हुन सक्छ ।
ञ जुन ध्वनिका लागि बनेको थियो त्यो ध्वनि हाम्रो जिब्रोले उच्चारण गर्दैन । यो ञ लेखिन्छ तर यँ बोलिन्छ ।
ण लेखिन्छ धेरैबाट अण उच्चारण भएको सुनिन्छ । सही मानेमा यसको उच्चारण भएको छैन ।
व लेखिन्छ तर बोलिन्छ कतै ब कतै उ र अ को अति शीघ्र उच्चारण हुँदाको अवस्थाको रूप उअ ।
श ष लेखिन्छन् तर यी दुबैका लागि स मात्र बोलिन्छ ।
क् र ष् को संयुक्त वर्ण हो क्ष । क्ष लेखेर छ्य बोलिन्छ ।
ज् र ञ् को संयुक्त रूप हो ज्ञ । तर ज्ञ लेखेर ग्यँ बोलिन्छ ।
त् र् अ जोडिएको हो त्र । अलग हैन यो ।
अब माथिका वर्णहरुमध्ये ञ ण व श ष क्ष ज्ञ हरु नेपाली भाषामा सही रुपमा उच्चाण हुन छाडेका छन् भनेर बुझ्नु पर्छ । यसै आधारमा यी वर्णहरु बोलीमा नभएकोले लेख्य र त्यो पनि तत्सम वा संस्कृत भाषाका शब्दहरुमा मात्र लेखिने गरिएको छ । साँचो अर्थमा यँ स छ्य ग्यँ बाट नै यिनको काम चल्न सक्छ । ण वर्ण त नेपाली भाषाका कुनै पनि शब्दमा छैन । वीणा प्राण प्राणायम प्रेरणा आदि जहाँ जहाँ ण आउँछ सब संस्कृनतका शब्द मात्र हुन् । अथवा यसो भनेर बुझे पनि भो जहाँ जहाँ ण हुन्छ त्यो संस्कृत शब्द हो रहेछ भनेर थाहा पाए भयो ।
यसरी स्वर र व्यञ्जन वर्णहरुका लेख्यचिन्ह सही रूपमा नचिनेको र उच्चारण पनि नजानेकहरुको पत्रपत्रिका वा मेडियामा बाहुल्यता छ । अत्याधिक त राजेन्द्र बानियाँले पनि भनेको सुनियो ऋषि धमलाको त के कुरा भो र । रेडियो नेपाल नेपाल टेलिभिजनका कुरा छाडौँ । आजका शिक्षकहरूले सही रुपमा नचिनेको र आफूले पनि जे चिनेबुझेको छ त्यही पढाएको हुँदा माथिल्लो तहसम्म नै ऐन भन्नु पर्नेमा एन भन्नेहरु पुगे । अर्घाखाँची भन्नु पर्नेमा वा घिमिरे भन्नु पर्नेमा अर्धाखाँची वा धिमिरे भन्नेहरू पुगे । बिहानदेखि रेडियो टेलिभिजनहरु सुन्नुहोस् हजार पटक विध्युत विध्यालय ध्वन्ध्वकाल सिछ्यक विध्यार्थी भनेको सुन्नु हाम्रो नियति नै भइसकेको छ ।
खास गरी ह्रस्व र दीर्घको उच्चारण भेद भएको हुँदा
क ह्रस्व र दीर्घमा निरन्तर समस्या पर्छ ।
ख ये र ए मा उच्चारण भेद नभएकोले यहाँ समस्या छ ।
ग क्ष र छ्य वा छे को उच्चारण एकै जस्तो भएकोले समस्या छ ।
घ श ष स मा दीर्घकालीन समस्या छ ।
ङ यँ र ञ यी दुई उही सुनिन्छन् । यहाँ पनि समस्या छ ।
च ए र ऐ मा एकलख नहुनु र एकलख मात्र हुनुले समस्या बनाएको छ ।
पाणिनि व्याकरणका सूत्रहरूले देखाए पनि नेपाली पदहरूमा पाणिनिको नियमअनुशरण नगर्ने भन्ने सहमति अनुसार झन्डा गुन्डा पन्डा ठन्डी डन्डी आदि आदि आदि नेपाली र आगन्तुक शब्दमा पाणिनिका सूत्रलाई लागु नगरी उच्चारण गरेअनुसार नै लेख्ने भन्ने निर्णयलाई आत्मसात् गर्नु उपयुक्त लाग्दछ ।
अझ पनि झण्डा अशबण्डा आदिमा ण् लेख्ने बानी कतिपय आदरणीय अग्रजहरुमा छँदैछ । यो के भने टठडढ भन्दा पहिलेतिरको दन्तस्थानी वर्ण न् पाणिनिको व्याकरणले मूर्धास्थानी ण् मा परिणत हुन्छ भन्ने नियम र सूत्र छ । यही सूत्रका आधारमा यो झण्डा बचेको हो । संस्कृतको शब्द थियो भने यसमा कुनै सम्झौतै हुन्न । तर नेपाली शब्द हो यसैले यी स्थानका ण् लाई न् गरौँ भन्नु गलत देखिन्न ।
झण्डा डण्डा अण्डा लण्ठ बण्डा च्याण्टे प्याण्ट लेण्डुप पुण्टे टेण्ट लण्ठु जस्ता अनन्त शब्दमा पनि त ण् नै लेख्नु पर्ने भो नि । यसो गर्नु मनासिब होला र । यसैले यो बाटो नेपाली र विदेशी भाषाबाट आएका शब्दमा नअपनाऊँ भन्नुलाई अखडो थापेको देख्तिनँ म । यदि त्यसै हो भने त रेन्ट ब्यान्ड पाउन्ड साउन्ड क्यान्ट आदि आदि अनेक शब्दहरूलाई नेपालीमा लेखिनु पर्दा आधा ण् नै दिनु पर्ने भो नि । २०४० सालदेखिकै त्रिविको लेखन निर्देशिका रहेकोले सो अनुसार नै गरिनु पर्ने कुरामा ठुलो भाँजो देख्दिनँ म । ण् लाई मात्र किन यदि ण् लिइरहने हो भने तलको स्थानमा ञ् किन नहुने । तवर्गको न् च वर्गको पाँचौ वर्णमा परिणत हुने संस्कृतको नियम छ । जस्तै पञ्च मञ्च मुञ्च रङ्गमञ्च प्रपञ्च रञ्जन । यो उदाहरण र यस्तै ठाउँ देखेर नेपाली पदहरुलाई पनि ञ् गर्नु हो भने त काञ्छो सञ्चै माञ्छे भाञ्जा कञ्चन आदि अनन्त पदहरुमा ञ् को खाँचो पर्ने भो नि । एकातिर ञ वर्ण नै नेपालीमा यँ भएर आएको छ भनिएपछि अब यसो गर्न मिल्ने कुरै भएन । अनुहार मिले भन्दैमा संस्कृतका नियम विदेशी भाषाका शब्दमा पनि लगाउन त झन् मिल्ने कुरा भएन । ट वर्यका वर्ण भन्दा अघिको स् ष् हुने परम्परा छ उता संस्कृतमा । तुष्ट पुष्ट कृष्ण विष्णु सृष्टि दृष्टि । के यो नियम उता छ भन्दैमा पोष्ट रोष्ट टोष्ट घोष्ट पाष्ट माष्टर आदि लेखिरहनु त अझ पनि । यो संस्कृत पदहरुको नियम संस्कृतकै पदहरुमा मात्र लागु गर्ने भन्नु गलत भयो र बडो विनयकापूर्वक म सोधिरहेको छु । यसबारे अहिले यति । बाँकी कुरा धेरै छन् । यसपछि अलमल हुने वर्णहरुतिर विचार गरिनेछ ।
होम सुवेदी
