सपना भएर आउनु
सम्पूर्ण सम्भावना भएर आउनु
नयाँ वर्ष तिमी
जीवनको रातो रङले
आँखा भरिभरि
हिमालको सिउँदो सजाएर आउनु ।
गाउँमा अँध्यारोझैँ
रोग फैलिरहेको छ
बेलैमा विचार नपुगे
गाउँ रित्तिन के बेर! गाउँ सिद्धिन के बेर!
प्रतीक्षाको यो निर्मम घडीमा
पूणिर्माको जूनको टीकाजस्तै
औषधि भएर आउनु ।
बस्तीमा बनमाराझैँ
अनिकालमा बनमाराझैँ
अनिकाल मौलाइरहेको छ
पसिना नपोखे
बस्ती डढ्न के बेर! बस्ती उड्न के बेर!
पौरखको मूल ब्यूँझाएर
खेतमा सुन झरेको धानको बालाजस्तै
सहकाल भएर आउनु ।
सहरमा बेरोजगारी जङ्गलझैँ बढिरहेको छ
माटो भने पनि
देशको बाटो भने पनि
यिनै तरुणहरू हुन्
सिमाना र सपना जोगाउने
गीतहरू गाउन सक्ने
सभ्यता गुञ्जने निर्माण र
समूह उठ्ने रोजगार भएर आउनु ।
एउटा कुरा त भन्नै छुटेछ
ज्यादै दुःखी छिन् आमा
दुःखको व्याकरणको तलाउमा
सन्तानको सपना डुब्ला कि भनेर
नीद विथोलिएको छ चिन्ताले
मीठो नीद र सपना भएर आउनु
अबेर होला है..
समयलाई अँध्यारोले निल्ला है..
नयाँ वर्ष तिमी
नयाँ हुनुको गर्भको महिमा गाएरै आउनु
आँखा भरिभरि
हिमालको सिउँदो सजाएर
नहार्ने दिन जन्माएर आउनु ।
-पोखरा
