Skip to content


खेलकुदले मानिसलाई स्वस्थ र तन्दुरुस्त राख्छ तर त्यसकै परिणाम स्वरूप जीवनको उत्तरार्द्धसम्म पनि स्वस्थ र तन्दुरुस्त भएको देख्दा छक्क लाग्छ । सानैदेखि राजनीतिमा लाग्दा कहिले ब्याड्मिन्टन त कहिले कुन खेलको सहारा लिएर पनि राजनीतिमा संलग्न भएँ । तर, फुटबलमा भने म राजनीतिक उद्देश्यभन्दा पनि खेल भावनाले उत्प्रेरति भएर लागेको हो । त्यसमा लागेर म खुबै रमाएँ पनि । सौहार्द्रता र मित्रताको अभूतपूर्व संगम हुँदोरहेछ खेल क्षेत्र । त्यसैले पनि मलाई खेलबाट टाढा जान दिएन ।
महावीर क्लब-११ का तर्फबाट करबि छ वर्ष खेलेँ । त्यसबखत एनआरटी र हाम्रो टिम साह्रै चर्चामा थिए । विजयकुमार (राधेश्याम)को नेतृत्वमा रहेको त्यसबखतको हाम्रो टिममा ‘फस्र्टक्लास प्लेयर’का रूपमा नरशमशेरले नाम कमाएका थिए । उनी ‘सेन्टर फर्वाड’मा राम्रो मानिन्थे । तर, अलराउन्डरकै रूपमा खेल्थे । म भने गोलकिपर थिएँ ।
राजनीतिमा नरशमशेर बदनाम थिए । जब उनले विसं १९९७ मा आफैँले गंगालाललाई गोली दागे, उनको सर्वत्र विरोध भयो । पछि उनले सोही कुरा आफ्नो पुस्तकमा पनि उल्लेख गरेका छन् । त्यस्तै विरोध जुलुसहरू दबाउने र ‘ठेगान’ लगाउने कलामा उनी माहिर मानिन्थे । तर, उनले पनि पछि खेल क्षेत्रमा लागेर आफूमाथि लागेको कालो धब्बा मेटाउन भरमग्दुर प्रयास गरे । त्यसमा उनी पूर्णतः सफल भएनन्, आंशिक सफलता भने अवश्य पाए । उनीप्रतिको जुन आक्रोश र वितृष्णा थियो, खेल क्षेत्रमा लागेर कम गराए ।
नरशमशेरका धेरै खराब पक्षहरू थिए । तर, उनका सकारात्मक पाटाहरूलाई पनि भुल्नु हुँदैन । नेपालको खेल क्षेत्र अहिले जुन अवस्थामा छ, त्यसको श्रेय उनैलाई जान्छ । २००४ सालदेखि नै फुटबलमा नकआउट चरणको खेल सुरु भएको हो । उनैले त्यसको सुरुवात गराएका हुन् । लिग चरण त त्यसपछि मात्र सुरु भएको हो । नेपालमा महावीर-११, एनआरटी, ठमेल-११ जस्ता सुरुदेखि नै चर्चित टिमहरूको पंक्तिमा पर्थे । ०१० सालतिरबाट मात्र म पनि महावीर क्लबका तर्फबाट खेल्न थालेको हुँ ।
एउटा घटना सम्झन्छु, ०११ सालतिर हुनुपर्छ । बडो धुमधामसँग खेलिरहेका थियौँ । हाम्रो जित पनि करीब करीब निश्चित थियो । तर, एक्कासि गोलकिपर बसेको बेला मेरो हातमा समस्या देखा पर्‍यो । देब्रे हातको कुइनोमा चोट लाग्यो । नरशमशेरले आएर भने, “तिमीलाई गाह्रो भयो, अर्को खेलाडीलाई राखेर भए पनि खेल त अगाडि बढाउनैपर्‍यो ।” हातमा चोट लागे पनि मेरो जोसमा कमी आएको थिएन । मैले आफू खेल्न सक्ने बताएँ । पछि हामीले सानदार ढंगले ठूलै गोलअन्तरमा विजय हासिल गर्‍यौँ । अहिलेको टुँडिखेलमा त्यो खेल भएको थियो । पछि राजा त्रिभुवन आएर हाम्रो टिमलाई स्याबासी पनि दिनुभयो ।
अन्य खेलभन्दा फुटबल त्यसै पनि रोमाञ्चक मानिन्छ । त्यसबखत पनि अधिकांश नेपालीहरू फुटबल भनेपछि रमाउँथे । अहिले भारत र पाकिस्तानबीचको खेल हुँदा मानिसहरू जसरी ‘एक्साइटेड’ हुन्छन्, त्यसबखत महावीर र एनआरटीका बीचमा खेल हुँदा त्यस्तै अवस्था थियो । राजपरविारको समेत उपस्थिति हुन्थ्यो । काठमाडौँ त सर्लक्कै उल्टिएर आउँथ्यो । एक किसिमको ठूलै तमासा देख्न पाइन्थ्यो ।
हामीले त्यसबखत महावीर-११ का तर्फबाट दुई-तीनवटा लिग र नकआउट चरणका खेलमा फाइनलमा एनआरटीलाई पराजित गरेका थियौँ । र, वाहवाही पनि पायौँ । त्यो सम्झँदा अहिले पनि दंग पर्छु । त्यस्तै टिम भावना, उमंग र उत्साह हुने हो भने अन्य क्षेत्रमा पनि धेरै गर्न सकिन्छ जस्तो लाग्छ ।
काठमाडौँ खेल मण्डलका नाममा खुलेको क्लबबाट त्यसबखत राजा त्रिभुवनका माहिला र कान्छा छोरा हिमालय र वसुन्धराहरू खेल्थे । त्यो क्लब भर्खर भर्खर उदाएको थियो । हाम्रातर्फबाट शेषराज जोशी, तारकशमशेर थापा, अमृतमान श्रेष्ठ, रमेशविक्रम शाह, नातिबाबुजस्ता खेलाडीहरू अग्रपंक्तिमा हुन्थे भने एनआरटीका तर्फबाट होराप्रसाद जोशी, कृष्णचरण श्रेष्ठ, आदित्य जोशी आदि ।
डिल्लीबजार क्षेत्रका कारण पनि हाम्रो टिम त्यसबखत चर्चामा थियो । हरेक राम्रा र सकारात्मक कार्यमा डिल्लीबजारको नाम अगाडि थियो । महाकवि लक्ष्मीप्रसाद देवकोटादेखि टंकप्रसाद आचार्य, चूणाप्रसादजस्ता नामका कारण पनि डिल्लीबजार चर्चामा थियो । त्यसका अतिरिक्त हाम्रो फुटबल टिमका कारण पनि डिल्लीबजार चर्चामै रह्यो । हाम्रो टिमले पनि त्यसबखतको डिल्लीबजारको साख गिराएन, उँचो नै पार्‍यो ।
सम्बन्ध सुधार र भाइचारा अभिवृद्धिका निम्ति खेल क्षेत्र महत्त्वपूर्ण माध्यम हो । नरशमशेरजस्ता राजनीतिमा बदनाम व्यक्ति पनि खेल क्षेत्रकै कारण चर्चामा आए । अचम्म लाग्छ, राजनीतिमा त्यति कठोर व्यक्ति खेलमैदानमा भने ज्यादै नै सुमधुर र सहिष्णु थिए । सौहार्द्र र मैत्रीपूर्ण वातावरण निर्माणमा उनको योगदान कसैको भन्दा कम हुँदैनथ्यो ।
कहिलेकाहीँ फुर्सदमा बसिरहेका बेला मनमा कुरा खेलिरहन्छन् । राजनीति र खेलमा किन यति भिन्नता छ ? उत्तर पाउँदिनँ । तर, राजनीति र खेलमा एउटा कुराचाहिँ समान पाउँछु, विरोधीहरूलाई कसरी लडाउने भन्ने ।
अहिले जे प्राप्त भएको छ, त्यो हाम्रै कारणले हो भन्ने नेताहरूको दम्भका कारण देश बिग्रिएको हो । फुटबल खेलमा जसरी एकता र एकाग्रताका साथ सबै लाग्ने हो भने देशको प्रगति असम्भव छैन । कमसे कम नेताहरू देशप्रति इमानदार भए हामी पुरानो पुस्ता सधैँ रोइकराइ गर्नुपर्ने थिएन । त्यसैले, हाम्रा नेताहरू आपसमा लडेर होइन, एकता प्रदर्शन गरेर देशविरोधी शक्तिलाई परास्त गर्न सफल भए भने आउने पुस्ता अवश्य पनि राजनीति खराब चीज हो भन्ने भ्रमबाट मुक्त हुने थियो ।

नेपाल साप्ताहिक ३४१

Leave a Reply

Your email address will not be published. Required fields are marked *