तँ दिएर तपाइँ खोज्ने
रोग दिएर ढोग खोज्ने
लात दिएर हात खोज्ने
रस चुसेर जस खोज्ने
शङ्का दिएर विश्वास खोज्ने
अन्धा आवेगहरुमा
यौटाको बदला अर्कासित लिने
झिनो चलाखीका चलाख
कस्ता कस्ता नकच्चरा
राक्षसी हाँसो हाँसिरहेछन्
उल्टो बुद्धिका मुर्खट्टाहरु ।
घाँटी अँठ्याइदिएर हाँस् भन्ने
खुट्टा काटिदिएर नाच् भन्ने
मुखमा बुजो कोचेर बोल् भन्ने
आँखामा पट्टी बाँधेर हेर् भन्ने
बाटो छेकेर अघि जा भन्ने
एक्लै पारेर अनकन्टार ठाउँ अँध्यारोमा
गोद्नुसम्म गोद्ने
दुनियाँको अगाडि माया देखाउँन खोज्ने
मुसारमुसुर पारेर
चुप्प चुप्प म्वाइ खालान् जस्तो
कस्ता कस्ता मर्मकाटा
मुटु खाइरहेछन् सपनामा पनि
उल्टो बुद्धिका मुर्कट्टाहरु ।
