Skip to content


खुँडे जुन आकाशमा विस्तारै देखियो।

मैले साह्रै कर गरेपछि त्यस साँझ उसले भन्यो—’घटनाको पीडा मैले अनुभव गरेको छु। सुन्नेले मात्रै अनुमान गरिदिन सक्छ। उसले यसलाई कुनै चलचित्रको कथा ठानिदिन सक्छ। यो घटना सम्झेपछि मलाई रक्तचाप बढ्लाजस्तो हुन्छ। पृथ्वी हल्लिएजस्तो हावाका लप्काहरु एकैचोटी तातो मुस्लो बनेर आएजस्तो हुन्छ। आज म मेरो मुखबाट अन्तिम पटक यस विषयमा भन्दैछु। सत्य राम राम यसपछि म कसैलाई पनि यस विषयमा चिम्टी पनि बताउने छैन।’

मध्ययम स्तरको शहरीया रेष्टुरेन्टमा ऊसाग मेरो यो तेश्रो भेट थियो। रेष्टुरेन्टको माथिल्लो तलामा हामी थियौँ। टेबुलमा केही नेपकिन पेपर थियो। अँग्रेजीमा लेखिएको मेनु हामीलाई हेरिरहेको थियो। र सँगै नुन र चिनीका छुट्टा छुट्टै डब्बा थिए।

ऊ एकछिन रोकियो। मैले वेटरलाई बोलाएँ। थप एक बोतल ल्याउन भनेँ। काँचको सानो कदको गिलास, चीसो पानीकोबोतल र हृवीस्कीको ठूलो बोत्तल हाम्रो अघि केही क्षण नविराइ हाजिर भयो।

ऊ अझै चुपचाप थियो।

मैले दुवै गिलासमा आधा आधा हृवीस्की लगाएँ। र छेवैको वोतलबाट पानी खन्याएँ। उसले आफ्नो बोतलमा पानी नभर्न भन्यो।

‘पानी नहाली पिउँदा बढी कडा हुन्छ नि।’

‘केही छैन मैले धेरै कडा चिज पचाइसकेको छु।’

मैले ओठ छुवाएर अलिकति पिएँ। स्न्याक्सको एक टुक्रा चपाएँ। उसले घुटु घुटु तीन चार मुख लिएर गिलास झण्डै रित्यायो। मैले खाली हुँदै गएको गिलास फेरि आधा भरिदिएँ।

विस्तारै राता बन्दै गएका आँखा झिमझिम गरेर उसले भन्यो—’यो कथा म क्याम्पस पढ्दादेखि शुरु भएको हो। क्याम्पस पुरानो पर्खाल र भित्ताहरु बेरिएको थियो। तर त्यहाँ प्रत्येक वर्ष नया विद्यार्थी थपिन्थे। त्यहाँका वेन्च मक्किसकेका थिए। टिनको छानो खिया लागेको थियो। दर्किएर पानी पर्दा साह्रै आनन्दमय संगीत घन्किन्थ्यो। बगैँचा जस्तो पोथ्राइला हरिया रुखहरु थिए। बगैँचाको पर्खाल नाघेपछि एकापट्टी उकालो गएको र एकापट्टी ओरालो झरेको विस्तारै पिच बिग्रिँदै गएको अलकत्रे बाटो लमतन्न सुतेको थियो। त्यहाँ हिँड्ने मान्छेहरु प्राय विद्यार्थीको आँखाको तीरबाट बच्दैन थिए।’

उसले फेरि गिलासमा दुई मुख लगायो। घाँटीबाट ओरालो लागेको तरल पदार्थले जिब्रोमा झड्का दियो होला मुख बिगार्‍यो। र केही टुक्रा स्न्याक्स चपायो।

‘क्याम्पस?’, आफैलाई एकोहोरो प्रश्न गर्‍यो—’त्यहाँ पुरानो बुद्धि भरिएका पुराना बुढा मास्टरहरु थिए। विद्यार्थीको आवरणमा देखिने राजनीतिका झोलेहरु थिए। खस्रक्क अनुहार खस्किएका र केही झरझराउँदा केटीहरु थिए। प्रत्येक पुराना कक्षाको खुट्टा भाँचिएको बेन्चीमा बसेका नया विद्यार्थीलाई मास्टरहरु शिक्षाका पुराना सिद्धान्त घोकाउँथे। क्याम्पस, त्यहाँका मास्टरहरु, पढाइ सबै समान थिए—उस्तै पुराना। प्रत्येक वर्ष आउने विद्यार्थी मात्र त्यहाँ नया हुन्थे।

मेरो ऊसँग त्यहीँ क्याम्पसमा भेट भएको थियो अत्यन्त सामान्य तरिकाले। हामी दुवै एकै वर्ष प्रवेश गरेका नया विद्यार्थी थियौँ। ऊ सामान्य थिई। गोरो र चाक्लो निधार, केश्रा परेका ओठ, नीला र गोला आँखा, छिनेको कम्मर र मिलेको नितम्ब, सुकसुकाउँदा खिरिला औँलाहरु उनको सामान्य प्रारम्भिक भौतिक बयान यस्तै हुन सक्थ्यो।

शुरुमा हामी औपचारिक मात्र थियौँ। बिस्तारै अनौपचारिक भयौँ। थाहै नपाइ सम्बोधनहरु बदलिए। एकान्त भेटहरु बाक्लियो। एक अर्कालाई बढी नै सम्झने भयौँ। थाहै नपाइ यति नजिक भयौँ कि हामी बीच कुनै खाले छेकबार रहेन। हामीले एक अर्कालाई चुम्यौँ। दरिलो आड भरोसामा हिँड्यौँ। कतिसम्म भने हामीलाई एकअर्काको तस्वीर बिनाको निद्रा असम्भव भयो। एक अर्काको याद बिनाको गाँस असम्भव भयो। प्रत्येक दिन साँझ अबेरसम्म कुनै मन्दिर, देवल, पार्क र सडक वा कतै एकान्तमा अँगालिएर बस्नु हाम्रा लागि सामान्य भयो।

यी दिनहरुमा जीवन कल्पनाको लामो लिस्ट बन्यो। सामान्यजस्ता लाग्ने असामान्य दिनहरु वा असामान्यजस्ता लाग्ने सामान्य दिनहरु यति छिटो बिते कि त्यो पत्तो नै भएन। वर्षा लाग्यो, हिउँद लाग्यो, जाडो लाग्यो, गर्मी बढ्यो। तर न वर्षामा झरीले हामीलाई रोक्यो न हिउँदको जाडोले हामीलाई छेक्यो।

ती एकान्त मिलनका दिनहरुमा एक अर्काको दरिलो पञ्जा मिलाएर दुवैले दुवैको प्रशंसामा शब्द खर्चियौँ—

‘मलाई तिम्रो आँखा मन पर्छ।’

‘मलाई तिम्रो ओठ मन पर्छ।’

‘म तिमीलाई हेरिरहन चाहन्छु।’

‘म सधैँ तिमीसँगै रहन चाहन्छु।’

आँखामा आँखा जुधाएर दुवैले दुवैलाई सोध्यौँ—

‘हामीले कसरी एक अर्कालाई मन परायौँ?’

‘हामी कसरी भेटियौँ ?’

‘शायद अब हामी छुटट्नि सम्भव छैन।’

‘हामी शायद यो जुनीमा भेट हुन कै लागि जन्मिएका थियौँ।’

‘हामीसँग बोराका बोरा दुखहरु छन् र पनि सुखी भएका छौँ।’

प्रत्येक भेटमा ऊ कहिले बिहेको प्रस्ताव आएको कुरा गर्थी, कहिले कसैले प्रेमपत्र पठाएको कुरा गर्थी, कहिले नुहाउन लाग्दा कसैले मलाई कोठामा आएर यसरी प्रेम प्रस्ताव राख्यो भन्थी। परिवारसँग ऊ असन्तुष्ट थिई। भाइ विद्यालय तहमै थियो। बहिनीहरु जुम्ल्याहा थिए र कतै गाउँमै थिए। बाबु चाहिँ रक्सीको लती थियो। आमा यी सबै कुरा अनुभव गरेर घरमै बस्थी। उसले विछोडिएको पुरानो प्रेमबारे पनि मलाई बताएकी थिइ।

तर यी रमाइला दिनहरु धेरै बितेनन्। हामीले सोचे जसरी समय जान सकेन। विस्तारै सम्बन्धमा छेकबार आयो। गाढा सम्बन्धको रङ विस्तारै फिकाजस्तो बन्दै गयो। यही निरबाट हामी विस्तारै टाढियौँ। यो घटना खासमा ठूलो घटना थिएन। सामान्य थियो तर हामीबीच त्यही सामान्य कुरा असामान्य भयो।

पुरानो क्रमभंगता र नयाक्रमको शुरुवात हुनु पर्ने घटनाको त्यस्तो ठोस कारण केही थिएन। उसको व्यक्तिगत दैनिकी मैले उसले थाहै नपाउने गरी पढी भ्याएको थिएँ। त्यहाँ उसको जीवनको धेरै कुरा प्रष्ट थिए। दैनिकी पढिसकेको केही दिनपछि मैले उसलाई केही पटक कुनै पुरुषको मोटरसाइकल पछि ढेपिएर बसेको देखेको थिएँ। केही पटक सिनेमा हलमा कुनै अर्कै पुरुषको हात समाएर छिरेको भेटेको थिएँ। र सोध्दा उसले मलाई त्यो कुरा ढाँटेकी थिई। मैले पनि केही पत्तो नपाएजस्तो गरिदिएको थिएँ। तर उसले मलाई त्यो कुरा कहिल्यै खुलस्त बताइन। मेरो मनमा उब्जेको शंकाको कुरो यत्ति थियो। यति कारणले हामी बीचको निरन्तर भेटघाटको क्रमभंग भएको थियो।

त्यसपछि विस्तारै भेटघाट पातलियो।

भेटघाट पातलिँदा म मन कुँड्याएर बसेँ। भित्र कतै देखेजस्तो अनुभव लिएर बसेँ। त्यसको झण्डै महिना दिन पछि माघको कुनै एउटा चीसो साँझ हामी उही पुरानो ठाउँमा भेटियौँ। शायद त्यो हाम्रो दोश्रो अन्तिम भेट थियो। छेउमा लेउ लागेको मैलो पोखरी थियो। नजिकैको देवलमा हामी बस्यौँ।

खुँडे जुन आकाशमा देखिएको थियो।

यो हाम्रो निकटताको तीन वर्षपछिको घटना हो।

नीला गोला आँखाबाट अश्रु वर्षा गरेर उसले मलाई हेरी।

‘म प्रत्येक साँझ तिम्रो सम्झनामा भिजेकी छु। के तिमीलाई त्यसको कुनै आभाष छ? सिमलको भुवा झैँ जीवनमा म कति डुल्नु? हेर्नका लागि प्रत्येक दिन उसैगरी घाम उदाउँछ। त्यसैगरी साँझ पर्छ। रात कालो हुँदै जान्छ र फेरि विहान हुन्छ। तिमीसँग भेट नभएका यी सबै दिन मेरा लागि काला भए। सबैलाई माया गर्न सकिएला। तर यी हजारौँ लाखौँ मान्छेहरु बीच तिमीजतिको मेरो मनको प्रेमी बन्न कोही सक्ने छैन। यो मेरो अन्तिम सत्य हो। किनकी तिमी मेरो अन्तिम सत्य हौ’, उसले भनी।

म बोलिन। ऊ निकै बेर मेरो कमजोर कुमको सहारा लिएर रोई। आँशुको भल बगाई र मेरो छातीको फाँट भिजाई। मैले उसका कुरा विश्वास पनि गरिनँ र अविश्वास पनि। मैले बिनाकारण मेरो मनलाई यति कठोर बनाएँ कि कसैले म त्यति कठोर पनि हुन सक्छु भन्ने अनुमान पनि गर्न सक्दैन थियो। मैले भनेँ—’मलाई माफ गर म दाइँ गरेको पराल जस्तो गुजुल्टिएको छु। अब म उड्न सक्छु बिना नियन्त्रण त्यान्द्रा त्यान्द्रा भएर। म तिमीलाई आफूजस्तो निरुद्देश्य त्यान्द्राहरुमा उडाउन चाहन्न।’

‘तिम्रो पाराले मलाई भित्र कतै डर लागिरहेको छ। शायद अब तिमी मेरो सिन्दुर कुनै हालतमा बन्न सक्दैनौ भन्ने सोचले मलाई किचिरहेको छ। म तिमीलाई कुनै हालतमा भुल्न सक्ने छैन त्यो पनि मलाई थाहा छ। तर तिमी मेरा लागि सधैँ सिन्दुरजस्तै रातो हुनेछौ। म तिम्रो रातोलाई मेरो सिउँदो ओठ र गालाहरुमा दलेर आनन्दित हुन चाहन्छु। म देख्छु तिमी त्यो रातोमा रगत बन्छौ र मुटुबाट शिरा र धमनीहरु हुदैँ मेरा अङ्ग अङ्गमा सल्बलाउँछौ। मेरा प्रत्येक चोटहरुमा तिमी त्यही रातो भएर बाहिर आउँछौ। मेरा खुशीहरुमा तिमी त्यही रातो भएर मेरा गालाहरुमा छाउँछौ। खासमा म प्रत्येक रातोमा तिमीलाई देख्छु’, मेरो अँगालोमा रोए पछि ऊ निकै हल्का भई। मैले उसको चौडा गोरो निधारमा चुमेँ। शायद उसको चाक्लो निधारमा यो मेरो अन्तिम चुम्बन थियो।

मेरा आँखाहरु पनि विस्तारै रसाए। मैले आँखाको आँशु नपोखियोस् भनेर परेलाको ढकनी लगाएँ। तर पनि केही थोपा ढकनीको भारले थिचिएर बाहिर बग्यो। शायद मलाई आँखाले रुन सिकायो, मुखले प्रत्येक पीडामा मौन रहन र कानले बहिरो हुन सिकायो। म यस्तै पीडाहरु सिकेर बाचेँ। मलाई लाग्छ— मान्छेले हाँस्न पनि आफै सिक्यो, दुखमा रुन पनि आफै सिक्यो। जन्मनु दुख थियो। र मान्छे जन्मिँदै रोयो। र म अहिले पनि जीवनका कति पीडाहरुमा आँशु बहाइरहेछु। प्रत्येक मान्छेलाई आमाको गर्भबाट पृथ्वीको गुरुत्वाकर्षणले धर्तीमा झारिदियो र ऊ रोयो। र मान्छे सके सम्म आफैमा आनन्दित हुन चाहिरहृयो। अरुको पीडा उसले सोचेन।

शायद त्यही भएर होला आफूलाई के के न ठान्दा पनि मान्छे दुखी हुन्छ केही होइन भन्ने ठान्दा पनि दुखी नै हुन्छ। प्रेमी वा प्रमिका वा शत्रु नै सम्झिँदा पनि मान्छे दुखी हुन्छ। दुख सम्झिँदा पनि दुखी हुन्छ र दुःख बिर्सिन खोज्दा पनि मान्छे दुःखी हुन्छ। किन त्यसो हुन्छ? किन सम्बन्धहरु विना कारण जोडिन्छन् र विना कारण टुक्रिन्छन्। सामान्यजस्ता लाग्ने कारणहरु किन भयानक भएर खडा हुन्छन्? जानै नपर्ने पहाडजस्तो सम्बन्धको भित्तो कसरी कमजोर बन्दै धसि्रँदै जान्छ? यस्ता प्रश्नहरु मसँग अनुत्तरित छन्।

त्यसपछि हाम्रो भेट पूर्ण रुपमा पातलियो। मैले बिहे गरेँ। सुनेँ ऊ निकै विक्षिप्त भई। उसलाई भेट्नेहरु सुनाउँथे रोएर थाकेकी छ। आँशुहरु बगाउँदिन तर ऊ हाँस्न सक्दिन। केही समय पछि थाहा पाएँ ऊ कुनै प्राइभेट कम्पनीको रिसेप्सनको जागिर छाडेर भिक्षुणी हुन गई । सम्बन्ध टुक्रिएको दश वर्ष पछि आज मेरो त्यही भिक्षुणीसँग भेट भयो। ठानेको थिएँ उसले बिर्सिसकी। उसलाई सम्झिने म मात्र एक्लो बाँकी छु। तर हिजोकै जस्तो सादा रुप रङ भएकी उज्यालो अनुहारकी गेरु वस्त्रमा भेटिएकी यौटी युवतीले मेरो हात समाइ। उसको हातको स्पर्श उस्तै नरम थियो। खिरिला औलाहरु उस्तै थिए। मुस्कान उस्तै थियो। मैले चुमेका निधार गाला र ओठहरु उस्तै थिए। तर मेरो ओठको डाम त्यहाँ थिएन। उसको मुडुलो टाउकोमा चीवरको घुम्टो पनि अब सुहाउँदिलो भइसकेको थियो।

गुम्बा छेउको हरियो जंगलबीचको बाटोमा निशंकोच मलाई छोएर उसले भनी—’मेरा लागि तिमी छौ भन्ने सम्झिँदा पनि म दुःखी हुन्थेँ। अब तिमी मेरा लागि रहँदैनौ भन्ने अनुमान लगाएको दिन पनि म दुःखी नै बनेँ। त्यसपछि म जीवनको तत्वबोध गर्न बिना कसैको अनुमति यहाँ आएर बसेँ। तर प्रेमले मलाई बाँधिरह्यो। हामीसँग प्रेम छ र त संसारमा लगाव, समर्पण र पागलपनहरु छन् भन्ने ठानिरहेँ। तिमी छौ र म पनि छु भन्ने अनुभव गरिरहेँ। प्रेम छ र त मान्छेहरु इर्ष्यामा बाँच्न चाहन्छन् भन्ने सोचिरहेँ। शायद इर्ष्यामा मजा हुन्छ। शायद मसँग पनि तिम्रो प्रेमको इर्ष्या छ। इर्ष्यामा आफ्नोपन भेटिन्छ, प्रेमहरु भेटिन्छ। त्यसैले जीवनका सबै मोहहरु त्यागेर मोहविहीन बस्न हिँडेकी मान्छे पनि मोह त्याग्ने मोहमा मात्रै छु।

मेरा लागि तिमी पीडा नायक हौ। तिमीले विछोडको पीडा नदिएको भए शायद मैले जीवन बुझ्ने थिइनँ। आँशुहरु बुझ्ने थिइनँ। दुखहरु बुझ्ने थिइनँ। संसार बुझ्ने थिइनँ। यो प्रेमको पागलपन बुझ्ने थिइनँ। शायद म निरश निरश जीवन बाँच्थेँ। अहिले हामीले खेपेका यी दुःखका रङहरु आनन्दका मीठा अनुभूतिहरु पनि हुन्। त्यसैले तिमी मेरो अन्तिम सत्य हौ। मेरो अन्तिम प्रेम हौ।’

मसँग उसले सुनाएका कुराको सम्बोधन गर्ने कुनै उत्तर बाँकी थिएन। यस पटक मैले उसका कुरा सुनेँ मात्र। उसलाई हेरेँ मात्र। केही सपनाजस्तो केही विपनाजस्तो अनुभूति गरेँ मात्र। मेरा परेलाका ढकनीहरुले मेरो गहको बाँध छेक्न सकेनन्। थहै नपाएर मैले गालाको भित्तो आँशुले चिसियो। मेरा केही कुरा नसुनेरै त्यसपछि चीवर लतारेर ऊ गुम्बा तिरै फर्कि। म अर्को पीडा अनुभूति लिएर घर फर्केँ।

यहाँ आउने लत त्यसपछि बस्यो। पिउने मात्रा त्यसपछि बढ्यो। मेरो कथा यति हो।’

उसले कुरा सिध्यायो। गिलास एकै मुखमा रित्यायो। भन्यो—’लेखक लेख, म पीडा नायक हुँ। उनको पीडा नायक र आफ्नै पनि पीडा नायक। यो तिम्रो कथाको बिकाउ शीर्षक हुन सक्छ। म तिम्रो कथाको राम्रो पात्र हुन सक्छु। मेरी भूतपूर्व प्रेमिका जसलाई म अहिले पनि माया गर्छु तिम्रो कथामा आउन सक्छे। म मेरो प्रेम र उसलाई एकसाथ तिम्रो कथामा पढेर फेरि एक पटक दुःखी हुन चाहन्छु।’

उसले बाँकी रहेको स्न्याक्सको टुक्रो चपायो। र, उठ्यो। आजको सबै बिल मैले भुक्तानी गरेँ।

हामी बाहिर निस्कँदा सडकमा साना गाडी र केही मोटर साइकल फाट्ट फुट्ट चलेका थिए।

अघि आकाशमा देखिएको खुँडे जून बादलमा छोपिँदै बिस्तारै मधुरो हुँदै गएको थियो।

2 thoughts on “पीडा नायक”

  1. malaita tapaiko lekh padhera
    malaita tapaiko lekh padhera sarainai chita bujyo. prem biyogko kuralai jodera auta bastabik jibenlai bujhaunu vayako raichha tapaiko sabdama gahanta chha.

Leave a Reply

Your email address will not be published. Required fields are marked *