Skip to content

राजविराज बसाइका थरीथरीका अनुभव

  • by

(क) सप्तरीमा पनि आफ्नो साहित्यिक–सांस्कृतिक परम्परा थियो । त्यस परम्परालाई स्थानीय स्कुल तथा कलेजका शिक्षक–प्राध्यापक तथा विद्यार्थीहरूले अघि बढाउँदै आएका थिए । पञ्चायती शासन आरम्भ भएपछि त्यसमा गतिशीलता आएको र त्यहाँ खासखास अवसरमा साहित्यिक–सांस्कृतिक कार्यक्रम हुँदै आएको कुरा मैले त्यहाँ गएर बस्न थालेपछि थाहा पाएको थिएँ ।

प्राथमिक कालमा दक्षिणतिर नर्घोमा कवि यदुनाथ पोखरेल र रघुनाथको र उत्तरपूर्व वैरवामा उदयानन्दजस्ता कविहरूको कर्मभूमिरहेको सप्तरी वर्तमानमा साहित्यका निम्ति मरुभूमिजस्तै थियो । तर म राजविराज पुग्दा नेपालीमा लेख्ने डा लाल, शिशु देवकोटाजस्ता केही थिए । शिशु देवकोटाको घरमा जगतरञ्जन भन्ने काडमाडौंका व्यक्ति मास्टरी गरेर बस्थे । उनको लेखन निकै माझिएको र स्तरीय थियो । त्यहाँ अरु पनि पुराना पुस्ताका दुई गद्यकार थिए । ती लेख्थे । प्रकाशनको सुविधा नहुनाले ती स्थानीय कवि र लेखकका रचना छापिँदैन थियो, तर साहित्यिक कार्यक्रम हुँदा पछिल्लो पुस्ताका रचनाकारहरूका साथै अघिल्लो पुस्ताका प्रौढ रचनाकारहरूका रचना भने सुन्न पाइन्थ्यो ।

त्यहाँ साहित्यिक कार्यक्रम होस् कि सांस्कृतिक कार्यक्रम होस्, त्यो डा. लालको संयोजन वा शिशु देवकोटाको संयोजनमा हुुन्थ्यो । म गएपछि साहित्यिक कार्यक्रमको संयोजन र सञ्चालनको जिम्मा मलाई दिइयो र सांस्कृतिक कार्यक्रमको संयोजन र सञ्चालनको जिम्मा पहिले डा. लाललाई र पछि देवकोटालाई दिइयो । केहीपछि त शंकर शर्मा ‘दीपक’ले त्यो काम गर्न थाले ।

(ख) साहित्यिक कार्यक्रमको सञ्चालन गर्दा मलाई थरीथरीका अनुभव भए । खुडकिलो र पछि निस्केका साप्ताहिक, पाक्षिक र मासिक पत्रिकाका कारणले र फेरि स्कुल र कलेजमा हुने मोती जयन्ती, भानु जयन्ती, देवकोटा जयन्तीजस्ता साहित्यिक कार्यक्रमहरूले गर्दा नगरमा साहित्यिक वातावरण बन्दै गएको थियो । राष्ट्रिय पर्वहरूमा स्कुल–कलेज बाहिरका सार्वजनिक मञ्चमा हुने गोष्ठीहरूमा विद्यार्थीहरू र शिक्षकहरू मात्र नभएर कर्मचारी, कानून व्यवसायी तथा विभिन्न पेसामा संलग्न विभिन्न उमेरका रचनाकार आ–आफ्ना रचना सुनाउन जम्मा हुन्थे । केही रचना प्रतियोगी हुन्थे र केही अप्रतियोगी । म संयोजकको भूमिकामा हुन्थेँ ।

जियाउल हक अञ्चलाधीश भएर बसेको बेला एकपटक मुख्य अतिथिको आसनमा उनलाई बसाइएको थियो । राजाको जन्मोत्सवको उपलक्ष्यमा आयोजित साहित्यिक कार्यक्रम थियो । पुरस्कार वितरणपछि प्रमुख अतिथिले भने “साहित्यिक कार्यक्रम हुँदा उपाध्याय सरले जहिले पनि अरुलाई पुरस्कार दिलाएको देख्छु । उहाँले चाहिँ कहिल्यै पुरस्कार पाएको देख्दिँन । आज उहाँले सुनाएको ‘कुराको कुरा’ मलाई उच्च कोटिको रचना लाग्यो । म त्यसका लागि आफ्नो तर्फबाट उहाँलाई नगद पुरस्कार दिन्छु ।” यति भनेर उनले आफ्नो कोटको गोजीवाट दुई सयको नोट झिकेर मेरो हातमा राखिदिए । सबैले अचम्म माने र रमाइलो पनि माने । मलाई अचम्म लाग्यो भने असजिलो पनि अनुभव भयो । म नोट थाप्न अनकनाएँ । त्यहाँ अञ्चलाधीशको नजिक जिल्ला पञ्चायत सभापति थिए र उनले हँसिलो अनुहार गरेर भने “ले लिजिए सर दे रहे है तो ।” त्यहाँ उपस्थित सहकर्मी मित्रहरूले पनि ‘ले लिजिए ‘ भन्न थाले र मैले संकोच मानीमानी हात थापेँ र ती नोट गोजीमा हालेँ । मैले सुनाएको हाँस्य व्यङ्ग्यको शीर्षक ‘कुराको कुरा’ थियो र त्यो केही समयपछि मधुपर्कमा प्रकाशित पनि भयो ।

हुन त मैले राजविराज बस्दा अञ्चलाधीशका रूपमा तेजबहादुर प्रसाई, भक्तिशमशेर, महेशकुमार उपाध्याय आदि अरुलाई पनि देखेँ । तर हामी प्राध्यापक र लेखक एव म बुद्धिजीवीहरूको निकटता जियाउल हक र उनीपछि महेशकुमार उपाध्यायसँग मात्र रह्यो । हक र उपाध्याय दुवै प्राध्यापक वर्गबाट प्रशासनिक क्षेत्रमा आएका हुनाले उनीहरूको हामीसँग निकटता हुनु र उनीहरूले हामीबाट बौद्धिक सहयोगको अपेक्षा गर्नु स्वभाविकै थियो । यी दुईमा स्थानीय सामाजिक, सांस्कृतिक, साहित्यिक, शैक्षिक र निर्माण एव म विकासका क्षेत्रमा जियाउल हकले बढी काम गरे र बढी यश बटुले ।

(ग) साहित्य सन्ध्या – पत्रपत्रिकाहरूको प्रकाशनले र बेलाबेलामा हुने साहित्यिक कार्यक्रमले गर्दा राजविराजमा पनि राम्रै साहित्यिक वातावरण बन्दै गएको थियो । यसको फलस्वरूप नयाँ पुस्ताका कवि लेखकका रूपमा शंकर शर्मा ‘दीपक’ विश्वगोपाल लम्साल, अनिल अनल, शिवहरि भट्टराई, नारायण कोपिला आदि देखा पर्दै गएका थिए । कानून व्यवसायी मैथिलीभाषी मुन्सीजी र प्राचीन संस्कृत साहित्यको अध्ययनमा संलग्न नेपालीभाषी विष्णु विडारी पनि प्रकाशमा आएका थिए । ती प्रौढ र परिपक्व अग्रज लेखकहरूको घरमै गएर मैले गोष्ठीमा आफ्ना रचना सुनाउन र प्रकाशनका लागि पत्रिकामा दिन पनि आग्रह गरेको थिएँ । उनीहरू छाप्नका लागि रचना दिन्थे र गोष्ठीमा आएर आफ्ना रचना सुनाउँथे ।

लेख्ने र सुनाउनेको सङ्ख्या बढेपछि एक ठाउँमा जम्मा भएर रचना सुन्ने–सुनाउने सल्लाह भयो । आरम्भमा नेता चोकमा सिरहा रोडको दक्षिण मुखको घरमा रहेको शिशु देवकोटाको हलेसी छापाखानामा ‘साहित्य सन्ध्या’ नामले शुक्रबार–शुक्रबार तीन बजेदेखि हाम्रो साहित्यिक कार्यक्रम हुन थालेको थियो । त्यहाँ ठाउँ नपुग्ने भएपछि हाम्रो साहित्य सन्ध्या छापाखाना अगाडिको सडकदेखि पारिपट्टिको खालिरहने गरेको एउटा खुला छाप्रोमा हुन थाल्यो । यो वि.सं. २०३३ सालको कुरा थियो ।

त्यसमा मेरा सहकर्मी पोषराज निरौलाको सहभागिता रहन्थ्यो । उहाँ हाँस्यव्यङ्ग्य लेख्नुहुन्थ्यो र त्यही सुनाउनुहुन्थ्यो । उहाँ धरानमा पिण्डेश्वरीमा घरबारी किनेर सरुवा भएपछि उहाँको स्थान गङ्गा उप्रेतीले लिनुभयो । उहाँ अहिले नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति हुनुहुन्छ । त्यतिखेर कानून सङ्कायको स्थापना हुँदा राजविराज पुग्नुभएको थियो । उहाँ कानून र नेपाली दुवै पढाउनुहुन्थ्यो । उप्रेतीजीसँग रचनात्मक प्रतिभा थियो र म उहाँलाई साहित्य सन्ध्यालगायत अन्य कार्यक्रममा लिएर जान्थेँ । त्यसले उहाँ स्थानीय साहित्यिक जीवनमा भिज्दै जान थाल्नुभयो । अब हाम्रो मानविकी सङ्कायका विद्यार्थी पनि साहित्य सन्ध्यामा रचना सुन्न–सुनाउन सामेल हुन थाले ।

आरम्भमा आठ–दश जना हुन्थ्यौँ र प्रेसका तर्फबाट चिया खुवाइन्थ्यो । यस्र्तैमा एक जना न्यायाधीश चूडामणि अधिकारी आफ्नै कार्यालयमा काम गर्ने मदन कार्कीका साथ साहित्य सन्ध्या कार्यक्रममा आउनुभयो र आफ्नो सुन्दर र सशक्त व्यङ्ग्यात्मक गद्य रचना सुनाउनुभयो । सबै प्रभावित भए । अबदेखि यस कार्यक्रममा कवि–लेखकहरूलाई चिया म खुवाउँछु भनेर उहाँले त्यो जिम्मेवारी स्वतः सहर्ष ग्रहण गर्नुभयो । म रहुञ्जेल यही स्थितिरह्यो । रचना पाठ गर्ने बढदै गए । सुन्नेहरूको सङ्ख्या पनि बढदै गयो । भित्र ठाउँ नपुग्ने भएर मान्छेहरू सडकको छेउमै उभिएर सुन्थे । यो देख्दा मलाई हुनसम्म आनन्दको अनुभव हुन्थ्यो ।

त्यतिखेर सम्ममा शिशु देवकोटाको साप्ताहिक अतिरिक्त अन्य पत्रिका पनि निस्कन थालेका थिए र पत्रकारहरूको सङ्ख्या बढ्दै थियो । खुड्किलोजस्तो दर्तावाल पत्रिका सुते पनि अन्य पत्रिका निस्कन थालेका थिए । त्रियुगाको चर्चा भइसकेको छ । पछि एक दुइटा सामयिक सङ्कलन निस्केको पनि मैले थाहा पाएको थिएँ । अनिल र शिवहरि यी दुई विद्यार्थी त राम्रै पत्रकार हुन पुगेका थिए ।

त्यतिखेर अनिरुद्ध तिमल्सिना नाम भएका व्यक्ति कृषि विकास बैङ्कमा हाकिम भएर आएका थिए । उनी झापा कि मोरङका थिए र साहित्यकार थिए । उनी गङ्गाजीका परिचित थिए र उनी पनि हाम्रो साहित्य सन्ध्या परिवारमा सामेल भएका थिए ।

राजविराजको साहित्य सन्ध्यालाई त्यसमा भाग लिने कानून पढ्ने अखिल सम्बद्ध विद्यार्थीहरूले बी. एल. पढ्न आउँदा काठमाडौँको प्रदर्शनी मार्गस्थित ‘ल क्याम्पस’मा ल्याइ पुर्याएर भव्य रूपमा मनाउन थालेका रहेछन् । त्यतिखेर गङ्गाजी मविव क्याम्स राजविराजबाट सरुवा भएर काठमाडौँ आइसक्नुभएको थियो । म पनि त्यहाँबाट सरुवा भएर ठाकुरराम क्याम्पस, वीरगञ्ज र पछि काठमाँडौ आइसकेको थिएँ । तर यहाँ आउनु पूर्वदेखि नै म आनन्ददेव भट्ट, गङ्गाजी तथा परिचित हुन पुगेका अन्य केही लेखक तथा प्राध्यापक मित्रहरूका साथ कविता सुन्न ‘ल क्याम्पस’ जान्थेँ । हल सुन्ने र सुनाउनेहरूबाट खचाखच भरिएको हुन्थ्यो । कति जना त उभिएका हुन्थे ।

व्यवहारिक कठिनाइले मैले साहित्य सन्ध्या परिवारको कार्यक्रममा जान छाडेको वर्षौपछि वि.सं. २०६८ सालमा अकस्मात् मलाई संस्थापकका रूपमा सम्मानित गर्ने भनी त्यस संस्थाले निमन्त्रणपत्र पठायो । मसँग सम्मानित हुने अनिरुद्ध तिमल्सिना र गङ्गाजी पनि हुनुहुन्थ्यो । मलाई सम्झेर सम्मानित गराउने गङ्गाजी नै हुनुहुँदो रहेछ भन्ने मैले थाहा पाएँ । उहाँको मप्रतिको श्रद्धा र सद्भाव देखेर म निकै प्रसन्न भएँ । मप्रति उहाँको सद्भाव अद्यापि कायमै छ ।

(घ) राजविराजमा त्यतिखेरको नियन्त्रित परिस्थितिमा आफूहरूबाट भएको त्यो एक सामान्य प्रयास थियो, तर त्यसले लेखनकर्ममा लागेका र लाग्न खोज्नेहरूका लागि एक खुला सार्वजनिक मञ्च प्रदान गरेको थियो । रचनाकार र श्रोता दुवै प्रसन्न भएका थिए र त्यस दिनको प्रतिक्षा गर्थे । मलाई त्यो कुनै ठुलो काम गरेजस्तो लागेको थिएन । राजविराजले त्यस इतिहासलाई महत्व दिएको जस्तो पनि लागेको थिएन । आफूले पढाएका विद्यार्थीहरूले स्वर्गबाट प्रमिथसले आगो ल्याएर पृथ्वीमा फैलाएजस्तै गरी राजविराजबाट साहित्य सन्ध्याको झिल्को ल्याएर यहाँ राजधानीमा फैलाएको देखेर चरम तृप्ति अनुभव गरिरहेकामा सम्मानित समेत हुन पाएको मैले आफूलाई सौभाग्यशाली ठानेँ । असल बीउ छरिएको रहेछ भने त्यो खेर जाँदो रहेनछ भन्नुपर्यो ।

– प्रा. डा. केशवप्रसाद उपाध्याय

(प्राध्यापक डा केशवप्रसाद उपाध्याय नेपाली समालोचनाको क्षेत्रमा उहाँ अग्रस्थानमा आसीन हुनुहुन्छ । प्रा. डा. उपाध्यायले राजविराजको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा झण्डै डेढ दशक अध्यापन गर्नुभयो । राजविराज बसाइकै क्रममा उहाँका पाँच कृति प्रकाशन भएको थियो । उहाँको सक्रियताले राजविराजको साहित्यिक वातावरण सुपुष्ट आकार ग्रहण गर्दै गएको सबैले अनुभव गरेकै कुरा हो । उहाँले आफ्नो संस्मरण ‘मेरो जीवन कथा’मा राजविराजको साहित्यिक कृयाकलापलाई पृष्ठ ४६३ –४६५सम्म यसरी सम्झनु भएको छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *