
यस समालोचनात्मक लेखमा स्वामीजी भनेर अरुण स्वामीजीलाई र आचार्यजी भनेर भगवान रजनीश ओशोलाई भनेको छु । उहाँहरु दुबैलाई सादर नमन गर्दै सुरु गरौँ यी भावनाहरुबाट । स्वामीजी देख्दा आफुलाई अनुभूति भएका कुराहरुबाट ।
स्वामीजीका मुग्ध, मन्द, लालित्ययुक्त निःस्वार्थ मुस्कानमा धेरै गहन रहस्यहरु छन् । त्यसले मलाई लोभ्याइरहनेछ । लठ्ठ्याइरहनेछ । यति परम आनन्दरूपी उहाँको सामिप्यमताले मजस्तो व्यक्ति कायल नहुने त कुरै भएन । यस्ता मधुर अनि मर्मस्पर्शीता उहाँको तस्विरमा समेत झल्किन्छ । यति सम्म कि उहाँले बोलेका प्रवचनहरु एफ. एम.को रेडियोमा सुन्दा पनि, युट्युबमा हेरी अनुभूति गर्दा पनि यी माथि मैले आभास गरिएका कुराहरुको झल्को पाउँछु , अझ त्योभन्दा बढी उहाँका अभिव्यक्तिहरुले कुँदिएको “ओशोः अचम्म जो मैले देखेँ ” पुस्तक पढ्न पाउँदा खुसीले आँसु बगाइरहेको छु ।
जिन्दगीमा मैले पनि धेरै भूल गरेको छु । त्यसलाई मैले हिँड्न नजानेर लडेको रुपमा कतिपय ठाउँमा अभिव्यक्त गरेको छु । नलड्ने प्रण गरेको छु । उहाँले पनि धेरै भूल गर्नुभएको कुरा निश्छल भएर यस पुस्तकमा दर्शाउनुभयो । म आल्हादित भएँ । उहाँका तरङ्गहरु ममाथि बर्षिए । त्यसलाई उहाँले बुद्धको भाषामा मार र ओशोका दृष्टिमा धेरैबाधाहरु आउनेछन् , त्यस्तै कविरका दृष्टिमा म कहाँ आउने भए घर जलाएर आऊ , उहाँले यसरी नै पुस्तकका सिलसिलाहरु अघि बढाउँदै जानुभयो ।
मैले यो पढिरहेको समयमा सपनामा आफुले गरेका धेरै गलत कार्यहरु सिनेमाका फ्ल्यास व्याक झैँ देखेँ तर यो के हो ? भनी घोत्लिरहेँ । पछि यही स्वामीले लेख्नुभएको मार, घर जलाउने अनि वाधाहरुलाई परीक्षण गरिरहँदा यस्ता गलत कार्यहरु सपनातुल्य छन् हामी यथार्थमा आइरहेका छौँ भन्ने समाधान जानेँ । यसरी थाहा पाएपछि अब त्यो नराम्रो कामप्रति आशक्ति रहेन । उहाँहरुको यस प्रतापले ममा नकारात्मकता आउन दिएन । फेरि २०७२को भूकम्पको परकम्पहरु गयो । यसले पनि मलाई यो शिक्षा दियो कि यस्ता बाधा मारहरु आउँदा त्यसलाई सपनामात्र रहन दिनू र जिवन बदल्न विपनामा सुकर्ममा विष्फोटकसँग अनि भयङ्करसँग मनका उद्वेगहरु बोकी लाग्नू भन्ने निर्देशन पाएँ । मैले अरूलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन भयो कि त्यस्ता मार मजस्तै अरूले पनि त यसरी नै भोगेका होलान् भनी अनि किन हामीले अरूलाई दोष दिने ? यस्तैमा श्रीमतीजीसँग आफ्नो गल्ती नभए पनि ठूलो झगडा भयो उनले मेरो गल्ती भएको सावित गरी आनन्द लिइन् । म आँसुको भल बगाउँदै यी नादान कुराहरु छोडी झन् गुरुको सामिप्यमा पाएकामा त्योभन्दा हर्षको आँसु खसालेँ ।
त्योबेला जब मैले आँसु बगाएँ सुकरातलेसरि दार्शनिक हुने मौका पाएँ । के यो जिन्दगी यस्तै हो त ? सबका कुरा लत्याई अँगालेको अर्धाङ्गिनीको मेरा लागि पारितोषिक यही हो त ? के यो सपना हो त ? तर वास्तवमा यो यथार्थ भए पनि सपनासरि मैले मेरो दार्शनिकताको रापले पगालिदिएँ , जिन्दगी जिउने तरिका अरूले हेर्दा जति एक्लो भएँ त्यति स्वामीजीझैँ अस्तित्त्वसँग नजिकिँदै गएँ । विभिन्न रहस्यहरु पर्दाफास हुँदै गए । आफु भगवानका अगाडि कमिलासरि पाएँ । आजार्यजीले स्वामीजीलाई गराउनुभएको हर ठाउँको मेहनत अनि समय खेर फाल्न नदिनुभएको कुरा मजस्तो श्रमजीवीलाई अझ मननीय र सुपाच्य बनाइदियो ।
मान्छेले जबजब भूल थाहा पाउँदा पनि भूल गर्छन् । त्यो जसबाट पनि हुन खोजिरहन्छ । अवश्य नै यो मार नै हो । यसबाट समालिनुपर्छ भन्ने शिक्षा हामी सबैले लिनैपर्छ । जति बेला आफुले समाजहितका लागि गर्नुपर्ने कार्यहरु आउँछन् त्यसबाट बञ्चित गराउन बाधा अड्चनरुपी मारहरु आइरहन्छन् । त्यसबाट आफुलाई उम्काउन सकेमा अझ भनौँ त्यो कठिन परीक्षाबाट उत्तीर्ण हुन सकेमा सबैलाई लाभको शित्तल बर्षा गराउन सक्नेमा दुईमत छैन ।
स्वामीजीले पुस्तकमा एउटी प्रेमिका प्रेमी खोज्न आउँछिन् भनी स्टेशनमा प्रत्येक मानिसलाई हेरिरहन आउँने कुरो राख्नुभएको थियो । पछि त्यो प्रेमी धोकेवाज भएको उनले थाहा नपाएकाले सधैँ त्यसरी नै प्रतिक्षारत भईभई बहुलाइन् । स्वामीजी पनि त्यसरी नै आचार्यजीलाई नभेट्दा पागल हुनुभएको यो पुस्तकमा उल्लेख गर्नुभएको छ । पक्कै पनि उहाँको आशय आचार्यजी धोकवाज भन्नु कदापि थिएन । जब आचार्यजीलाई उहाँले भेट्नुभयो त्यहाँ आचार्यजीका ठुला अनुयायी आएका थिए । तिनी आँखा देख्दैनथे । उनले आजार्यजीको अनुमति पाइसकेपछि आचार्यजीलाई धेरैबेरसम्म छामछुम गर्न थाले र सन्तोषको सास फेरे । त्यसैबेला मेरो जीउभरि एउटा कमिला कुद्न थालेको आभास पाएँ । सबै जीउभरि दौडिसकेपछि कमिला आफ्नो गन्तव्यमा गयो । त्यहीबेला फेरि कोरोनाको महामारीमा आँखाले नदेख्ने भएर जाने भेरियन्ट पनि पत्ता लागेको टेलिभिजनमा समाचार आयो । मलाई आभास भयो व्रह्माण्डमा घटेका प्रत्येक घटनाहरु एकआपसमा सामञ्जस्य राख्दोरहेछ ।
“विशाल जगत्को आफ्नै प्रज्ञा छ । हामी आफै जबसम्म सबै चिजको आयोजना गरिरहन्छौँ तबसम्म अस्तित्त्वले सबै कुरा हाम्रै हात छोडिदिन्छ तर जब हामी चेतनालाई सबै बस्तुबाट मुक्त गरिदिन्छौँ, तब हाम्रो दायित्व अस्तित्त्वले आफ्नो हातमा लिनुहुन्छ ।” …पृ १०५
स्वामीजीले आफुसँग भएभरको पैसा सबै सकिँदा पनि सप्रमाण आफ्ना जिन्दगीका घटनाहरुमार्फत कतै न कतैबाट परिपुर्ति भएको कुरा उल्लेख गर्नुभएको छ । त्यस्तै जबजब आफुलाई तीव्र इच्छा हुन्छ त्यसको पनि परिपुर्ति अस्तित्त्वले कतै न कतैबाट गरिदिनुभएको हुन्छ भनी आफ्ना घटित अनुभूतिहरु पाठकहरु माझ सप्रमाण बाँड्नुभएको छ । यस्ता गूढ कुराहरु यस पुस्तकका मणिमाणिक्यहरु हुन् ।
“जब हाम्रो मन सचेतन विश्रान्तीमा जान्छ , अतेन्द्रिय क्षमता बोकेको उच्च मन सक्रिय हुन्छ । साधारणतः हाम्रो सङ्कीर्ण मनको अनुभवबाट बाहिरको कुरासँग हाम्रो जम्काभेट हुनासाथ चेतन मनले त्यो अस्वीकार गरिदिन्छ । त्यसैले गुरुहरुले हाम्रो चेतना सहजरूपमा स्वस्थित र अन्तर्दृष्टि क्षमता खुला भएको पुर्ण विश्राम र निद्राको क्षणमा आफ्ना उच्च सत्य र सन्देश सिधै प्रक्षेपण गर्ने माध्यमका रूपमा सपनाको प्रयोग गर्दछन् ।…………रूसी रसायनशास्त्री दिमित्री मेन्डलेभले रासायनिक तत्त्वको पेरियोडिक टेबुल तयार गर्न लाग्दा सपना देखे र उनले भनेका छन् ….मैले सपनामा सबै तत्त्वहरु क्रमानुसार मिलेर बसेको पुरै पेरियोडिक टेबुल आफ्नो दृष्टिपटलअघि देखेँ । आँखा खोल्नेवितिकै मैले सपनामा देखेको त्यो तालिका जस्ताको तस्तै कागजमा उतारेँ ……” ….पृ १२८
एउटा सच्चा साधकलाई सपनाले पनि धेरै सघाएको हुन्छ । त्यस्तै आचार्यजी एक ठाउँमा मौन बस्दा उहाँका त्यतिबेलाका अनुभूतीय प्रवचनहरुलाई अर्कैतर्फ अन्य साधकले अभिव्यक्त गरेका कुरा उल्लेख गर्नुभएको छ ।
“पुर्ण समर्पित स्थितिमा अस्तित्त्वले हाम्रो समग्र आवश्यकता पुर्ति गर्छ ।”.. पृ २१३
उहाँहरुबाट पाएका एकदमै मननीय शिक्षाहरुमा : जुनसुकै कुरा जस्तोसुकै अवस्थामा पनि होशमा गर्ने । अस्तित्त्वले जे दिएको छ त्यसलाई सहर्ष महाआनन्दित भई स्वीकार्ने आदि छन् । आचार्यजीले यस पृथ्वीमा मानिआएका थुप्रै धर्महरुलाई कुनै भेद गर्नुभएन । विज्ञान र अध्यात्मलाई पनि भेद गर्नुभएन । बरू यी सबैलाई एकाकार गर्नुभयो । वर्षौदेखि आफुले चाल पाएदेखि सदियौँदेखिको धार्मिक वैमनस्यता अनि विज्ञान र धर्मको युद्धदेखि म आजित थिएँ । समाधान पाएँ त मैले उहाँबाटै । उहाँको समयमा यस पृथ्वीमा यस्ता द्वन्द्व हुन पाएन । उहाँका विचारहरुले युद्धहरुलाई हराइदिनुभयो । यस पृथ्वीका लागि उहाँ मसिहा भएर आउनुभयो र सावित पनि गरेर जानुभयो । त्यसलाई झन् स्वामीजीले यस पुस्तकबाट प्रष्ट्याई छर्लङ्ग्याईदिनुभयो ।
यो कोरोनाको दोस्रो सुनामी लहर आएर लकडाउनमा कोठामै बसिरहनुपरेको अवस्था छ । यस समय अझ हामीजस्ता साधकका लागि साधना गर्न एक अहोभाग्य अवसर बनेर आएको छ । सबैले यसको सदुपयोग गरौँ । यस्ता पुस्तकहरु पढेर मैले ऊर्जा समाहित गरिरहेको छु । अबको अर्को पुस्तकमा अझ उहाँले हिमालजस्तो तपस्वीलाई लालायीत गर्ने ठाउँको काखमा रहेको नेपाल नगरीको शिवपुरीमा कसरी आश्रम बनाउन सफल हुनुभयो र विश्वलाई नै यस ठाउँबाट जागृत अनि कसरी झङ्कृत गराइरहनुभएको छ , त्यसबारे जान्ने मौका पाउनेछु भन्ने असीम आशा जगाएर लालायित भई बसेको छु । खुसीका आँसुहरु छचल्किरहेका छन् अझै पनि । सप्रेम आस्था अनि विश्वासका भावहरु स्वामीजी ! अनि आचार्यजी !! लाई मनका उद्वेगहरुबाट ! सम्वेगहरुबाट !!
२०७८ जेठ ९ रविवार
बिजु सुवेदी विजय
bijusubedi@gmail.com

