Skip to content

समाज र सपना

  • by

म सपनाको बिउ छर्ने मान्छे हुँ । बिनाबिउ बिरुवा हुन्न । विनासपना मान्छे जिउँदो रहन्न । म मेरा मान्यता रामटोलका भुलर राम समक्ष व्यक्त गर्थेँ । म संकटकालमा १०–१५ दिन रामटोलमा लुकेको थिएँ । प्रहरी र सेनाले भेटे तारो बनाउँथे । हाम्रा नेताका टाउका निकै महंगा भएका थिए ।

तिनै टाउकाहरूले प्रत्येक्ष–परोक्ष दिएको शिक्षा मैले पनि भुलर रामहरूलाई बाँडेको थिएँ ।

भनेको थिएँ, ‘हाम्रो शासन आए सबैलाई गाँस वास कपास शिक्षा स्वास्थ्य रोजगारको ग्यारेन्टी हुन्छ । आठ घण्टा काम गरेर आठ घण्टा आराम/मनोरंजन गर्न पाइने समाजवाद लागू हुन्छ । सबैखाले वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गीय विभेदबाट मुक्ति मिल्छ । अन्ततः हामी समाजवाद हुँदै साम्यवादसम्म पुग्ने छौँ । जहाँ विभेदको नामोनिसान रहन्न । समुद्रझैँ समाज एक समान समतुल्य रहन्छ ।’

गुलिया सपना बाँड्दै जाँदा चुनाव जितियो । सत्ता मिल्यो । वनका सपना वनमै रहे । महंगा टाउके घरभित्र छिरेपछि आफ्नै आलिशान दरबार बनाउन व्यस्त रहे । हामी निरीह सपना बोकेर टुलुटुलु हेर्न वाध्य भयौँ ।

अरुणकुमार साह अनिल
रुपनी गाउँपालिका २, सप्तरी
२०७८–७–१६

Leave a Reply

Your email address will not be published. Required fields are marked *