Skip to content


राजासँग मुठभेड गर्ने र विद्रोह गर्ने सोच नेपाली कांग्रेसको सुरुदेखि नै थिएन । बरु सधैँ नै राजाको पहुँच र प्रभावलाई सदुपयोग गर्ने थियो । कांग्रेसले पहिलो संसदीय निर्वाचनमा दुईतिहाइ बहुमत ल्याउँदा आममानिसमा अब स्थिर सरकार बन्छ भन्ने आशा थियो । साथसाथै, बीपी कोइरालाबाट धेरै नै अपेक्षा पनि थियो । २०१६ जेठ १३ गते शपथ लिएपछि १४ गते दिउँसो सिंहदरबारमा बसेको मन्त्रिमण्डलको बैठकले आठ मन्त्री र ११ उपमन्त्रीको कार्यविभाजन गरी काम सुरु गरेको थियो । बीपीले त्यतिबेलै भन्नुभएको थियो, “मेरो नेतृत्वमा गठित मन्त्रिमण्डल राजा र प्रजा दुवैको विश्वासको पात्र तथा नयाँ व्यवस्थाको प्रतीक हुन गएको छ ।”

त्यसबीचमा बरोबर मेरो बीपीसँग भेट भइरहन्थ्यो । म त्यसबेला काठमाडौँ नगरपालिकाको मेयर थिएँ र कांग्रेस जिल्ला समितिको सभापति । कतिपटक त उहाँ मेरो घरमा पनि आउनुभएको छ । सुवर्णशमशेर राणाबाहेक अधिकांश कांग्रेस नेताहरू मेरो घरमा आउनुभएको छ । बाहिर चलेका हल्लाबारे बीपीलाई अवगत गराउँदा उहाँ सधैँजसो आफूसँग कुनै विकल्प नभएको बताउनुहुन्थ्यो । भन्नुहुन्थ्यो, “हामीसँग अब कुनै छुट्टै सेना छैन । हतियार उठाइहाल्ने अवस्था पनि छैन । आशंकाका भरमा त्यत्तिकै सरकार छाडेर भाग्ने कुरा पनि भएन ।”

हामी गणेशमान सिंहको घरमा बसेर कहिलेकाहीँ राजनीतिक गफगाफ गर्थ्यौं । उहाँ हाम्रानिम्ति आदरणीय र श्रद्धेय नेता हुनुहुन्थ्यो । कात्तिक महिनाको घटना हुनुपर्छ । बसेर मासु-चिउरा खाइरहेका थियौँ, गणेशमान सिंह फुर्किन थालिहाल्नुभयो । भन्नुभयो, “अब हाम्रो सरकार कुनै हालतमा पनि गिर्दैन । राजा महेन्द्र र बीपीका बीचमा मात्र होइन, रानी रत्नका साथ पनि हाम्रो राम्रो सम्बन्ध स्थापित भएको छ ।”

त्यसबेला गणेशमान निर्माण, सञ्चार तथा नहर र मालपोत (भूमिसुधार) मन्त्री हुनुहुन्थ्यो । त्यहाँ मंगलादेवी सिंहका साथ हामी केही साथीहरू जम्मा भएका थियौँ । मैले गणेशमानलाई प्रश्न गरेँ, “कसरी त्यो सम्बन्ध स्थापित भयो ?” उहाँले भन्नुभयो, “महेन्द्रले नागार्जुन दरबारमा हामीलाई डिनरका लागि बोलाएका थिए । बडो रमाइलो भयो । बीपीले रत्नलाई तरकारी केलाउन र मसला पिस्न सघाउनुभयो । महेन्द्रले हारमोनियममा राग गाउने, म तबला बजाउने । खूब रसिक पारामा रात बित्यो । रामनारायण मिश्र (उद्योग तथा वाणिज्यमन्त्री)ले फागु गाना गाएर खूब रमाइलो गर्नुभयो ।” यति भनिसकेपछि हामी खानपानमै मस्त रह्यौँ । तर, मेरो मनमा भने अनेक खुल्दुली मच्चिरह्यो ।

०१७ पुस १ गते बिहान हामी बीपी बस्नुभएको त्रिपुरेश्वरस्थित गेस्टहाउसमा पुगेका थियौँ । तारिणीप्रसाद कोइराला टुप्लुक्क आइपुग्नुभयो । तत्कालीन प्रधानसेनापति जनरल नीरशमशेरको निमन्त्रणामा भारतीय सेनाका चिफ अफ स्टाफ केएस थिमैया चारकोसे झाडीमा सिकार खेल्नका निम्ति काठमाडौँ आएका थिए । तर, अचानक उनी रुघाखोकीका कारण त्यहाँ जान नसक्ने जनाउ तारिणीप्रसादकोमा आइपुगेकाले त्यो सुनाउन उहाँ त्यहाँ आउनुभएको रहेछ । त्यसबेला तारिणीप्रसाद बीपीका स्वकीय सचिव हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, “थिमैया बाहिर जान नसक्ने भए रे ! उनको उपहार पठाइदिऊँ?” बीपीले सहज ढंगले भन्नुभयो, “हुन्छ, पठाइदेऊ ।” थिमैयाको काठमाडौँ आगमनलाई लिएर पनि अनेक टीकाटिप्पणी चले । नभन्दै त्यसैदिन ‘कू’ पनि भयो ।

त्रिपुरेश्वरबाट हामी तरुण दलको सभामा थापाथली जाने भनेर बिदावारी भई छुट्टयिौँ । घर पुगेर खाना खाँदा पनि लगाएको दौरा-सुरुवाल बिग्रेला भनेर खुट्टा पसारेरै भात खाई हतारहतार सभामा जाने तयारी गर्न थालेँ । ११ बज्दा नबज्दै थापाथली पुगेँ । तरुण दलको प्रथम महाधिवेशनको उद्घाटन समारोहमा भाग लिइरहेका बखत बीपीलाई पक्राउ गरियो । साथसाथै, सूर्यप्रसाद उपाध्याय, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई पनि पक्राउ पर्नुभयो । हामीहरू केही भने पर्खालबाट हाम फालेर भाग्न सफल भयौँ । उहाँहरू पक्राउ परेपछि शाही घोषणा नहुन्जेलसम्म एक किसिमको भयावह र अनिश्चितता छायो । तर, जब शाही घोषणा आयो, ‘कू’ भएको सबैले चाल पाए ।

दुर्भाग्य नै भन्नुपर्छ, नेपाली कांग्रेसको सरकार र राजा महेन्द्रका बीचमा सुरुदेखि चलेको मनमुटावले ०१७ पुस १ गते अन्तिम रूप लियो । वास्तवमा राजा महेन्द्र प्रजातन्त्र स्थिर भएको हेर्न चाहन्नथे । किनभने, त्यसले आफूलाई मात्र होइन, सिंगो राजसंस्थालाई नै जोखिममा पार्ने उनको अड्कल थियो । त्यही भएर हुनुपर्छ, महेन्द्र १९ महिना पुग्दा नपुग्दै बीपीको सरकार गिराउन पुगे ।

त्यसपछि चर्को धरपकड चल्यो । कांग्रेसका कार्यकर्ता छानीछानी पक्राउ पर्न थाले । माथिदेखि तलसम्मको ठूलो पंक्ति पक्राउ पर्‍यो । हामी पनि अचम्ममा पर्‍यौँ, यो सब नामावली कहाँबाट फेला पर्‍यो ? किन कांग्रेसका मानिसहरू नै छानीछानी पक्राउ पर्न थाले ? ०१० सालतिर दरबारबाट विभिन्न पार्टीलाई आफ्ना कार्यकर्ताको नामावली उपलब्ध गराउन पत्र पठाइएको थियो, त्यही आधारमा होला भन्ने मलाई लाग्यो ।

त्यतिबेला आफ्नो पंक्ति ठूलो देखाउन पार्टीहरूबीच होडबाजी नै चल्यो, दरबारमा नामावली पठाउने । कांग्रेसका तर्फबाट पनि त्यो नामावली पठाउन के गर्ने भनेर अञ्चल सभापति सुन्दरराज चालिसे र काठमाडौँ जिल्ला सचिव वीरनाथ कर्माचार्य जेलमा मलाई भेट्न आउनुभयो । सभापतिका हैसियतले सचिव कर्माचार्यले मेरो स्वीकृति खोज्नुभएको रहेछ । मैले ठाडै अस्वीकार गरििदएँ । त्यसबेला म नगरपालिकाको अधिकारका सवालमा भएको संघर्षका क्रममा पक्राउ परी भद्रगोल जेलमा थिएँ । तर, पार्टीको केन्द्रले त्यो नामावली दरबारसम्म पुर्‍याएको रहेछ । त्यही आधारमा ०१७ सालको घटनापछि दिवंगत मात्र होइन, पार्टी छोडेका र सम्पर्कमै नरहेका कतिपय मानिसका नाममा वारेन्ट जारी भयो । र, त्यसै आधारमा धेरैलाई पक्राउ गरियो र जेल हालियो । धेरै यातना र पीडा दिइयो ।

नेपाल साप्ताहिक ३४५

Leave a Reply

Your email address will not be published. Required fields are marked *