Skip to content

प्रोमिस

  • by

राजेश अफिस जान तयार हुँदै थियो । उसको लुगाफाटोको ठेगान थिएन । ऊ झोक्किदै श्रीमतीलाई एक एक कुरा सोधिरहन्छ। श्रीमती रमा पनि दिक्क मान्दै,”सबै थोक खोजी दिनु पर्ने लाएर फुकालेपछि ठेगानले राख्नु पर्छ नि! अनि पो भेटिन्छ,” भन्दै कपडा खोजेर दिन्छे।

सानो सानो कुरामा बाक्लै उनीहरुको ठाकठुक पर्थ्यो। झगडा गर्न राजेशलाई कुनै खास कारण चाहिदैन थियो । छोरालाई गृहकार्य गराउन;खाना खुवाउन ; विद्यालयको लागि तयारी गराउने आदि यस्तै यस्तैमा प्रायः श्रीमतीसँग झगडिरहन्थ्यो। उनीहरूको त्यो झगडाले उनीहरुको छोरो रमेशमा के बित्छ? त्यतातिर उनीहरू अनभिज्ञ थिए ।

सदा झैँ आज पनि राजेश कराउँछ,”ए! रमा खै छोरालाई खाना खुवाएकी?”

रमा पनि के कम कड्की,”खुवाउनू नि हजुरको पनि हात छ त। छोरो तपाईं को नि हो क्यारे! “

रमाको कुरोले तातिदै राजेश,”होइन मुख बढी हैन है अहिले लाउँला नि झापट,” भन्दै दारा किटेर आँखा तर्छ।

रमा रङ्किदै,”ए हाम्रा पनि हातमा दही जमेको छैन लु त!” भन्दै उसै गरी आँखा तरेर कस्सिन्छे।

दुवैको महाभारत अघिदेखि निहालिरहेको रमेश रुन रुन खोज्दै आमा बाबा दुवैलाई हेर्छ। अन्ततः अति भएपछि चिच्याउँदै,” पाईंहरू नै खानूस, म खान्न” भन्दै दूधको गिलास र भातको थाल घोप्ट्याएर झोला टिपेर विद्यालय जान बाटोमा निस्किन्छ ।

त्यति बेलै विद्यालयको गाडी आइपुग्छ र रमेश गाडी चढेर विद्यालयतिर जान्छ। राजेश र रमा दुवै छक्क परेर हेर्या हेरै हुन्छन् । छोराको त्यो रौद्र रुप अनि आफ्नो गल्ती सम्झेर दुवै गम्भीर हुन्छन् । अँध्यारो मुहार लगाएर राजेश अफिस जान्छ । रमा पनि दिनभर शान्त रहन सकिनन्।

राजेश सबेरै अफिसबाट घर आयो । दुवैले छोरासँग माफ माग्ने निधो गरे । आफ्नो गल्तीको महसुस गरेर छोराको प्रतीक्षा गर्न लागे। रमेश पनि विद्यालयबाट फर्केर आमा बाबा दुवैलाई नहेरी आफ्नो कोठामा जान्छ । टेबलमा झोला मिल्काएर घोप्टिएर रोहेको स्वाङ गर्छ।

रमा र राजेश एकै स्वरमा,”सरी बेटु अब हामी कहिल्यै झगडा गर्दैनौं । तिम्रो चित्त पनि दुखाउँदैनौँ,” दुवै रमेशलाई सुम्सुम्याउँदै बोल्छन्।

रमेश रुञ्चे स्वरमा,” प्रोमिस?” भन्छ।

राजेश र रमा खुसी हुँदै एकै स्वरमा,”प्रोमिस बाबू”भन्छन्। रमेश खित्का छोड्दै भान्सातिर दौडिन्छ। आमा बाबाको झगडाले सन्तानको मनोदशा कस्तो हुँदो रहेछ प्रष्ट हुन्छ।


राजकुमार कार्की
कटारी-१, उदयपुर
स्थायी ठेगाना – दुधौली, ६, सिन्धुली
२०७८/८/२७/

Leave a Reply

Your email address will not be published. Required fields are marked *