
वकिल साहेब
फिराद, प्रतिउत्तर वा
मिलापत्र मध्ये
के हो त कविता ?
इन्सपेक्टर साहेब
अभियुक्त
तहकिकात
र अभियोग मध्ये
के हो त कविता ?
मास्टर साहेब
जिज्ञासा
आदेश र
अबोधपन मध्ये
वास्तवमा के हो त कविता ?
हाकिम साहेब
बडापत्र
निवेदन
कार्य सम्पादन या
मोरमोलाहिजा मध्ये के हो त कविता ?
कविज्यू तपाईं आफैँ भन्दिनुस्
कथ्य नवीनता
विन्यस्त पदावली
वा तादाम्य भाव मध्ये
के हो त कविता ?
पेशल आचार्य
