आज शनिबार, कसैलाई पर्खेर म चौतारामा बसिरहेको थिएँ, निकै मोजमस्ती गर्ने दिमागी तानाबाना बुन्दै।
केही छिनमा उँभोबाट एकजना निक्कै भलाद्मी देखिने, उमेर सत्तरी हाराहारीका, गोरो अनुहार, चलाख आँखा भएका व्यक्ति, हातमा डोरी बोकेर लुरुलुरु आएर चौतारीको अर्को छेउमा, लामो सुस्केरा तान्दै बसे।
आँखा जुध्यो । मलाई कता कता देखेको चिनेको अनुहार लाग्यो। केही बोल्ने विचारले छेउमा गएर भने,”तपाईलाई कता देखे जस्तो लाग्छ, तर ठ्याक्कै ठम्याउन सकिन।”
“देख्यौ होला नि टि भी हुँदो, म बारबार टिभीमा आइरहने मानिस हुँ।”
“ए, हजुरको शुभ नाम?”
“मेरा धेरै नाम छन्, अलि बढी चल्तीको नाम उखाने बा हो।”
ए, अब मलाई प्रष्टै भयो । मैले हात जोडेर नमस्कार हजुर भने ।
ऊ त रिसाउदै भन्न थाले,”के को नमस्कार भन्छौ? गाउँमा आयो भने चोर भन्छौ अरे ! अहिले भेट हुदा स्वाङ पर्छौ ।”
“कस्ले भन्यो तपाईलाई यो कुरा ?”
“कस्ले भन्नु नि, भरखर हिड्न सिक्दै गरेको बाछाले भनेको, सुनेनौ हिजो समाचारमा ?”
कुरा सुनेर मलाई मज्जाले हाँस उठ्यो र हाँस्दै भने,”किन पीर लिन्छौ महोदय ? भोलि त्यो बाछो पनि तपाईं जस्तै त हुन्छ नि, बाटो एउटै हिंडेका छौ, पानी एउटै खान्छौ । बिगत सबैको उस्तै त हो नि । तपाईं पनि जेलबाट छुटेर घर आउदा खालीखुट्टै त आएका हैनौ त ?”
“अनि हातमा डोरी चै किन नि ?” मैले डोरीतिर संकेत गर्दै भने।
“देश र जनताको लागि सारा जीवन समर्पण गर्दा पनि, आज चोर भन्छ मुखिञ्जेली भने, सारै पीर भएर आत्मा हत्या गर्न हिडेको।”
मैले उनको हातबाट डोरी खोस्दै भनें,”आत्माहत्या समस्याको समाधान होइन। क्रान्ति गरेका मान्छे कायर नबन । बरु जनताका माँझमा गएर, गल्ती महसुस गर्दै, प्रायश्चित गरेर सबैको अभिभावक भएर बस।”
