तपस्यारत सबै गणराज्यमा मनिषीहरू बहस गरिरहेका थिए । भोलेनाथले अङ्कनाएर विष्णुलाई सोधे, “जेनको अर्थ के होला, प्रभु ?“
“परमात्मा !“
भोलेनाथलाई पटक्कै चित्त बुझेन । ध्यान घुमाएर सम्झे, “म आफै परमात्माको केन्द्र !“
उनले संयोगवस महावीर वर्धमानलाई सम्झेर सोधे, “जेनको अर्थ थाहा छ ?“
“हाम्रो जैन धर्ममा तीङ्कर भनिन्छ, हजुर !“
भोलेनाथलाई जेन र जैन शब्दले अल्मल्यायो । उनले महावीर वर्धमानलाई सम्यक अनुशरण गरेकोमा हल्का आशीर्वाद दिए । त्यसपछि कुरो खुट्याउन उनले मोहम्मदलाई सोधे , “मित्र ! जेनबारे के बुझ्नुहुन्छ ?“
“साधकका सामुन्ने मात्रै देखापर्ने र साधकको सेवक झैं भई उपकार गर्ने अपार्थिव आत्मालाई इस्लाममा त जेन भनिन्छ, विधाता प्रभु !“
भोलेनाथ छटपटीन थाले । उनको सोच त्यसै झन बदलियो ।अन्य गणहरूमा पनि आत्माको तन्मयता बारेको एउटै धारणा देखेपछि उनलाई बुद्धलाई पनि जिस्क्याउन मन लाग्यो। उनले बुद्धलाई जिस्क्याए सोधे, “शान्तिका रक्षक ! जेनबारे के सोच्नुहुन्छ ?“
“समाधिस्त योग !“
शिव आफ्नो ध्यानबाट बर्बराउन थाले । उनको मस्तिष्कबाट निस्केको जेन शब्द एक अस्त्रको रूपमा पृथ्वीमा बजारियो । उनको ताण्डव नृत्यमा कविताको एक लय सुरू हुनथाल्यो, “तन्मय गद्य-कविता !“
अलय कविताको व्यञ्जित कोमलध्वनि बुद्धका अगाडि उफ्रन थाल्यो । उनलाई भोलेनाथको वाणीले कम्पन दिन थाल्यो । बुद्ध प्रणाम गरेर विन्ति गर्न लागे, “ज्यान भनौ भगवान ! ज्यान भनौ ! म शान्तिप्रय हुँ !“
बुद्धका महायानी प्रचलनका अनुयायीहरू चान परम्परासँग संलयितहुँदै थिए । उनले एकदिन एक अनुभूतिमा ध्यानमग्न समाधिका सिमलका भुवा झैं शब्दहरूलाई स्व–शैलीय लयमा भावुकताको एकएक भलका साथ जेनका आभाहरू दिएर गाउन लागे, “कविताको मद !“
म उड्दै थिएँ । मैले पनि जेन कविताको मदले मात्तिएर एक निश्वासमा केही पङ्तीय गद्य-कविता कोरेँ–
अरूजस्तै
आफ्ना लागि बाँच्न
आकाशले मलाई
खुसुक्क सुनायो ।
