सडकको बायाँ किनारको पेटीमा, मोचीहरू लाइनै बसेर, विभिन्न व्यक्तिहरुका जुत्ता चम्काइरहेका थिए । मिठा मिठा गफहरुले, ग्राहकहरुलाई मख्ख पारिरहेका थिए ।
म पनि जुत्ता पालिस गर्ने विचारले त्यहाँ पुगे । मोचीहरुको लाइनको छेउ पट्टी एउटा ८/९ वर्षको फुच्चे भाइ मलाई नै हेरिरहेको थियो । मैले उसको आसय बुझें र सरासर उसैकोमा पुगेँ र सोधें, “जुत्ता पालिसको कति लाग्छ भाइ ?”
उसले “पचास रुपैया लाग्छ हजुर” भन्दै मतिर मुडा सारिदियो ।
“अलि महङ्गो भएन ? म चालिस दिन्छु ल,” भन्दै म मुडामा बसे ।
“के गर्नु हजुर, जमाना पनि महङ्गै छ । फेरि यहाँ सबैको रेट एउटै छ,” भन्दै ऊ मेरो जुत्ता मस्काउन थाल्यो । उसको उमेर, उसको कामको लगाब, उसको हाउ भाउ, देखेर मलाई पनि उसँग केही गफ गर्न मन लाग्यो र सोधे, “तिमी स्कुल जादैनौं ?”
उसले भन्यो “जान्न हजुर।”
“किन ? पढ्न पर्दैन ?”
उसले भन्यो “पर्छ नि हजुर, म घरमै दिदीसँग बेलुका बेलुका, पढ्छु । दिदी स्कुल जान्छे । मलाई बेलुका सिकाउँछे।”
मैले फेरि सोधे –“अनि दिदी चाहिं स्कुल जाने, तिमी चाहिं नजाने । किन?”
उसले मेरा मुखमा नहेरी भन्न थाल्यो, “के गर्नु हजुर स्कुल गएर । स्कुलमा काम सिकाउदैनन्, सीप सिकाउदैनन्, जीविकाको बाटो सिकाउदैनन् । बल्लतल्ल १२ पास गर्यो, हातमा प्रमाण पत्रदेखि अरु केही हुँदैन । दशतिर भौतारियो अनि अन्तमा खाडीका देशतिर हानियो । बरु अहिले देखिनै बाबुबाजेका पालादेखिको पेशामा लागे भने त !”
उसले मलाई जुत्ता जिम्मा दियो । म भावुक बने, मेरो बोल्ने शब्द सकियो । उठेर पर्सबाट सयको नोट निकालेर उतर्फ बढाएँ ।
“हजुर म श्रम र मेहनतको पैसा मात्र लिन्छु मलाई बक्सिस चाहिंदैन ।”
हजुर पहिलो बोहनी हो, खुद्रा छैन ।
“यो सबै दिएको हो, राख न,” मैले भनें । “तिमीलाई बक्सिस भयो ।”
उसले जुरुक्क उठेर भन्यो, “हजुर म श्रम र मेहनतको पैसा मात्र लिन्छु मलाई बक्सिस चाहिदैन ।”
त्यसपछि उसले साथीहरुसँग पैसा साटेर मलाई फिर्ता गर्यो र “फेरि फेरि आउनु होला है!” भन्दै आफ्ने ठाउँमा गएर बस्यो ।
–विष्णु उप्रेती
बिर्तामोड, झापा
