धेरै वर्षअघि ओशो तपोवनमा ध्यानमा बसेका बखत साक्षीभाव, द्रष्टाभावका कुरा निकै सुनेकी थिएँ । त्यतिखेरै मलाई संवेगहरूलाई द्रष्टाभावले निरीक्षण गर्ने विधि विस्तारमा सिक्न मन लागेको थियो, यसैलाई भगवान् बुद्धले पुनः जागृत गराएको भनिने ध्यानको अत्यन्त सूक्ष्म, प्राचीन विधि विपश्यना ध्यान भनिन्थ्यो ।
कुनै राम्रो, शुभ कामबाट २०६६ को सुरुवात गर्ने इच्छाकै कारण विपश्यना ध्यान सिक्ने प्रयोजनले बूढानीलकण्ठको विपश्यना ध्यानकेन्द्र, धर्मश्रृंग मेरो गन्तव्य बनेको थियो यसपल्ट । बुबाका साथी विश्वबन्धु थापा यसनिम्ति मेरा प्रेरक बन्नुभयो ।
यसपल्ट सिकेको विधि भने मैले सधैँ अध्यास गरेको भन्दा भिन्न थियो, अनित्यको ध्यान रहेछ विपश्यना भनेको । सधैँ नित्यको ध्यान, आराधना गर्ने बानी परेकी मैले अनित्यको ध्यान थाल्दा, घर फर्केपछि निकै दिन आफ्नो दैनन्दिनीमा द्विविधाजस्तो पनि अनुभव गरेँ । तर, जे सिकेकी थिएँ, निकै महत्त्वपूर्ण लाग्यो, आफ्नो गच्छे अनुसार अभ्यास गररिहेकै छु ।
दसदिनको पूरा ध्यान-प्रविधि गुरु सत्यनारायण गोयन्काको रेकर्डेड टेपद्वारा निर्देशित थियो । कुशल ध्यान प्रशिक्षक हुनुहुँदो रहेछ उहाँ । निकै अघि उहाँको आर्ट अफ लिभिङ् नामको पुस्तक तपोवन जाँदा प्रदीप गिरीले दिनुभएको थियो मलाई, पढेपछि यो विधिप्रति थप उत्सुकता जागेको थियो । मैले धर्मश्रृंगमा सुनेका उहाँका प्रवचन पनि निकै प्रभावकारी थिए, कर्मकाण्डतर्फ नलागी धर्मको मर्म बुझ्न र त्यसलाई जीवनमा प्रयोग गर्न प्रेरति गर्नुहुन्थ्यो । तर, सत्रौँ-अठारौँपल्ट ध्यान गर्न आएका भन्ने कतिपय साधकमा भने पटकौँ उहाँका यस्ता प्रखर धर्म देशना सुनेर पनि कर्मकाण्डीय मोह र धार्मिक अन्धविश्वास जस्ताको तस्तै रहेको अनुभव गर्दा हामी कति संगतिशून्य जीवन बाँच्छौँ भनेर आश्चर्य पनि लाग्यो । धर्म र अध्यात्म सम्बन्धमा गोयन्काजीले प्रवचनमा भन्नुभएका धेरै कुरा मैले यसअघि तपोवनमा पनि पढेसुनेकै कुरा थिए । तर, पटकौँ यस्ता सूक्ष्म ध्यान शिविरमा बसेर पनि जहाँको तहीँ रहेका साधक भने मेरानिम्ति झन् ठूला गुरु बनेका छन् । मैले सानैमा सुनेकी थिएँ, दत्तात्रयका २४ गुरु थिए रे ! पृथ्वी, आकाश, वायु, जल, अग्नि, चन्द्रमा, सूर्य, परेवा, अजिंगर, समुद्र, पुतली, गिद्ध, बालक, कन्या, वाण बनाउने, माकुरो, हात्ती, मह काड्ने, हरण्िा, माछो, पिंगला, वेश्या, सर्प आदि, आदि । केही न केही शिक्षा लिएका रहेछन् उनले तिनबाट र आफ्नो जीवनलाई उन्नत र सार्थक बनाउन त्यसको प्रयोग गरे हुनन् । दत्तात्रयको सिक्ने जिज्ञासा, गुरुका प्रति उत्पन्न धन्यभाव र विनम्रताले यी जीव निर्जीव पात्रमाथि गुरुत्व आरोपित भयो ।
हामीलाई प्रायः लाग्छ, मैले सबैथोक जानेबुझेकै छु, काम चलेकै छ, किन सधैँभर सिक्नु आवश्यक पर्छ ? किन त्यो टन्टा बेसाइरहनु ? तर, सिक्न तत्पर रहने जिज्ञासु बानी भनेको आग्रहबाट आफूलाई मुक्त र खुला राख्नु हो भन्ने प्रायः बिर्सिन्छौँ हामी । आफूलाई निखार्ने प्रक्रिया हो सिक्नु भनेको ! आफूलाई खुला राख्दा अहंकार, अज्ञान र अन्धविश्वासबाट मुक्त हुँदै जाने सम्भावना पनि खुलै हुन्छ । म अनुभव गर्छु, के सिक्ने भन्ने कुरा त्यति महत्त्वपूर्ण होइन जीवनमा, सिक्ने उत्सुकता महत्त्वपूर्ण हो । जीवनमा सिक्नु र सिकिरहनुको महत्त्व यस कारणले छ- यसले मान्छेलाई कृतज्ञ रहन, बढ्न र विकसित हुन मद्दत गर्छ ।
दत्तात्रयले जीवनमा गुरु मानेका पात्र यतिखेर पनि यहीँ हाम्रै वरपिर िछन्, सबैका निम्ति उपलब्धै छन् । हामीमध्ये कतिले तिनलाई दृश्यका रूपमा, कौतुकका रूपमा, घटनाका रूपमा मात्रै हेर्यौँ होला पनि, कतिले आ-आफ्ना गच्छे अनुसार सिक्यौँ पनि होला केही केही । यी हाम्रानिम्ति कति गुरु बन्न सके कि सकेनन्, त्यो हाम्रो सिक्ने तत्परतामा भरपर्ने कुरा हो । सिक्ने हो भने जीवन आफैँ महागुरु हो प्राणीको । हामी भने जीवनमा प्रायः अरूले आफूलाई लगाएका अवगुण मात्रै सम्झने गर्छौं, तिनका कारणले पाएका दुःख र असुविधाले मात्रै हामीलाई तिनको सम्झना गराउँछन् । तर, सिक्ने प्रवृत्ति भएको मान्छेले जीवनका हर स्थितिबाट सिक्छ, सबैभन्दा बढी आफूले पाएका दुःखबाट सिक्छ । दुःख दिनेहरूका प्रति पनि गुरुत्व आरोपण गर्न सकिन्छ र कृतज्ञ रहन सकिन्छ भन्ने कुरा पहिला होइन कि जस्तो लाग्थ्यो सुन्दा, अचेल हो कि जस्तो लाग्न थालेको छ ।
शिक्षकलाई गुरु भन्ने चलन छ हामीकहाँ । स्कुल-कलेज-युनिभर्सिटीमा मैले पनि थुप्रैसँग पढेँ, अधिकांश ती जीवनका कार्यव्यापार निम्ति उपयोगी सूचना दिने र सीप सिकाउने प्रशिक्षक थिए । धेरै मिहिनेत गरी सिकेका यी सूचना र सीप पनि जीवनमा अधिकांश काम लागेनन्, जीवनका काम लाग्ने सीप के हुन् र के होइनन् भनेर छुट्याउनै पनि मलाई करबि आधा शताब्दी उमेर पर्याप्त भएको छैन । तर, जुन बखत मैले यसको बोध गरेँ, त्यहीँदेखि फेर िसिक्ने प्रयत्न गर्दैछु ।
गुरु र प्रशिक्षकको भिन्नता पनि समयक्रमले बुझाउँदै लग्यो मलाई । संसारमा बस्न, दिन बिताउन, काम गर्न अनेक कुशलता चाहिन्छ । टपरी गाँस्नदेखि लिएर टेम्पो चलाउनसम्म पनि तत् विषयको जानकारी र सीप चाहिन्छ हामीलाई, अध्यास चाहिन्छ । निश्चित व्यावहारकि योग्यता भएका प्रशिक्षकले सिकाउने कुरा हो यो । प्रशिक्षण मूलतः प्राविधिक कुरा हो ।
तर, संसारका कार्यव्यापारमा निपुण भएर र भनेको जति पुगेर, आर्जन गरेर पनि मान्छे तृप्त, सन्तुष्ट, आनन्दित भएको भेटिँदैन । जीवनको यो अपूर्णताबोधलाई परपिक्व बनाउने काम भने गुरुले गर्छन्, जीवनको अपूर्णताका कारण र तिनको निवारणतर्फ गुरुले डोध्याउँछन् । गुरुले नै जीवनमा सही मार्गनिर्देशन गर्छन् हामीलाई, आत्मबोधतर्फ प्रवृत्त गर्छन् । ज्ञानमध्येको सबैभन्दा ठूलो ज्ञान आत्मज्ञान हो भन्ने कुरामा यतिखेर मलाई कुनै संशय छैन ।
शिष्यले कुन सन्दर्भमा कसलाई गुरु आरोपण गर्यो वा प्रशिक्षक, तिनले शिष्यमाथि कसरी प्रभाव पारेका छन् तथा शिष्य कति संवेदनशील छ र उसले के विषय कसरी ग्रहण गर्यो, त्यसैमा निर्धारति हुन्छ । यतिखेर बुझ्दैछु, ‘गुरु-पात्र’ मान्छे नै हुनु पनि आवश्यक रहेनछ । ती जे पनि, जो पनि हुन सक्छन्- समय, परििस्थति, दृश्य, प्रभाव, जीव, निर्जीव, स्थावर, जंगम सबै । गुरुले शिष्यभित्रको सिक्ने संवेदनालाई सक्रिय बनाउँछ मात्रै, हात समातेर सिकाउँदैन- शिष्यमा तिर्खा, जिज्ञासा पैदा गर्छ आफूमाथि उत्सुकता र आस्था पैदा गर्छ, तत्पश्चात् केही गर्नु आवश्यक पर्दैन, जीवनलाई निर्भय र कल्याणमय बनाउने सीप तथा मृत्युलाई शान्त, सहज रूपमा सामना गर्ने क्षमता आफैँ खोज्छ र सिक्छ शिष्यले ।
हामी प्रायः एउटै गुरुमा पूर्णता खोज्ने गर्छौं र पटकपटक निराश हुने गर्छौं । तर, एउटै गुरुले सबैथोक सिकाउन सक्तैनन्, तिनका सबै कुरा सिक्न योग्य पनि हुँदैनन् । मान्छे गुरुका त झन् धेरै कमजोरीहरू हुन्छन् । एउटैबाट सबै कुरा सिकिने भए दत्तात्रयका २४ गुरु हुने थिएनन् । गुरुत्व भनेको गुरुले दाबी गर्नेभन्दा पनि शिष्यले उसबाट के ग्रहण गर्न योग्य ठान्छ, उसको त्यही विकसित दृष्टि र चेतनाको कुरा हो । गुरु, शिष्यले बनाउने कुरा हो ।
यही सन्दर्भमा म यतिखेर जगदीश घिमिरेलाई सम्झिरहेकी छु । उनीसँग जब भेट भएको थियो वर्षौंअघि, मलाई उनको स्वभाव त्यति रुचिकर लागेको होइन । कुरा त प्रस्ट, सत्य नै बोल्थे उनी तर अलि बढी आक्रामक, अरूलाई हेप्न मन पराउने हुन् कि जस्ता लाग्थे, सकेसम्म उनको नजिक पर्न खोज्दिनथेँ । नरहरिजीले भने पहिलोपल्ट नै एउटा कार्यक्रममा जगदीशजीका खरा कुरा सुनेपछि उनलाई गजबले मन पराएको देखेर मलाई अनौठो लागेको थियो । यतिखेर भने मलाई युनिकोडमा नेपाली टाइप गर्ने प्रेरणा र सीप दिने उनै भएका छन् ! लेखेको कुरा हजारचोटि काट्न, मिलाउन पर्ने मलाई जीवनभर काम लाग्ने यो व्यावहारकि सीपले धेरै सजिलो बनाएको छ । यस अर्थमा जगदीश प्रशिक्षक बनेका छन् मेरा, कृतज्ञ भएकी छु म उनका प्रति । तर, मृत्युसँग छोइएको थाहा पाइपाई जुन ऊर्जा, फूर्ति र विनम्रताका साथ जगदीश गतिशील छन् यतिखेर, त्यसको साक्षी हुँदाको अनुभवले मभित्र बारम्बार तरंग उत्पन्न हुन्छन् । स-साना कुरामा छिट्टै निराश, उदास भइहाल्ने मलाई उनको धैर्य र सिर्जनशील सक्रियताले विचलित नहुन, नआत्तिन, धैर्य गर्न प्रेरणा र बल मिल्ने गर्छ अचेल, यस अर्थमा अहिले उनी मेरा गुरु पनि बनेका छन् । यस्तो बोध ५० पल्ट किताब पढेर, पढाएर, सम्झाएर पनि पलाउने कुरा होइन ।
गुरु, शिक्षक, प्रशिक्षक जे भए पनि, जसबाट केही सिकिएको छ, ग्रहण गरएिको छ, जीवनलाई अलिकति सजिलो बनाउन, माथि उठाउन र अगाडि बढाउन सहयोग पुगेको छ, तिनका प्रति कृतज्ञ बन्ने मन र विचार पलाउनै पनि एउटा ठूलै रूपान्तरण आवश्यक हुने रहेछ मान्छेका लागि । तिनलाई नसम्झीकनै तीबाट सिकेका गुणको प्रयोग गरेर हामी प्रशंसित त हुन्छौँ तर सही अवसरमा मैले गरेको फलानो राम्रो काम वा विचार फलानो मान्छेबाट वा परििस्थतिबाट सिकेको, जानेको हुँ भनेर सम्झँदा आफ्नो महत्त्व घट्छ कि भन्ने पनि लाग्छ घरीघरी । सबै अर्कैबाट सिकेको भए, तेरो आफ्नैचाहिँ के हो त भनेर सोध्ने मान्छेलाई के जवाफ दिने भन्ने पनि हुँदो हो । हरेकपल्ट दोहोर्याउनु आवश्यक नहोला तर त्यो कृतज्ञताबोधले हामीलाई विनम्र बनाउने भने पक्कै हो । सबै मेरो हो, मैले गरेको, मैले जानेको, मैले भनेको भन्दै सबै कुराको कपी राइट आफैँमा राख्न खोज्नेहरूलाई बडो सकस हुँदो हो, पोल्दो हो त्यो अहंकारले । अन्यथा यो संसारमा हामीले सिर्जना गरेको आफ्नो भन्ने कुरा नै के छ र ? ज्ञानले, शिक्षाले, चेतनाले पहिल्यैदेखि यहीँ भएका कुराहरूलाई पहिचान गर्न आँखा दिनेसम्म न हो हामीलाई, हामी द्रष्टासम्म मात्रै न हौँ ।
मैले सानैमा संस्कृतको नीति श्लोक ‘विद्या ददाति विनयं’ पढेकी थिएँ । तर, त्यो श्लोकको अर्थ सिक्न भने धेरै पछिसम्म पनि गाह्रै परेको अनुभव गर्छु । पढेर सिक्नेभन्दा पनि नामका अगाडि डाक्टर लेखेर पढन्ते कहलिने लोभकै कारण मैले पनि पीएचडी सुरु गरेकी थिएँ कुनैबेला, पछि त्यो लोभले निरन्तरता पाउन नसक्दा मेरो पीएचडी बीचैमा दुर्घटित हुन पुग्यो । सिक्ने जिज्ञासाभन्दा अहंकार बटुल्ने ध्येय बढी हावी भएकैले होला, विनय थपिएको कतैकहीँ अनुभव गरिन ।
दत्तात्रय धेरै ज्ञानी थिए होलान्, २४ वटा मात्रै गुरु थापे पुग्यो उनलाई । मेरा जीवनमा भने दत्तात्रयका भन्दा धेरै गुणा बढी गुरुहरू आए, आइरहेकै छन् । आफ्नै मूढताका कारण सबैबाट चाहिनेजति सिक्न सकिनँ हुँला मैले । तर, जति सिक्न सकेँ, जीवन त्यसैका कारण यहाँसम्म आइपुगेको छ । ती सबै गुरुहरूका प्रति कृतज्ञ छुः
अज्ञान तिमिरान्धस्य, ज्ञानाञ्जन सलाकया
चक्षुरुन्मीलितमं येन, तस्मै श्रीगुरवे नमः ।
