Skip to content

मेरो कथा, मेरो व्यथा: म कताको रैथाने, कताको सुकुम्बासी?

 

म जन्मेँ, भार्वाचो, भक्तपुरको माटोमा,
जहाँ मेरो पहिलो रोदन गुन्जियो।
मेरो कुल र पुर्खाको इतिहास जोडिएको छ तेखाचो, तल हिटिगाः, भक्तपुरसँग,जहाँ मेरा जिजुबाजेका पाइलाहरू कोरिए।

समयको चक्रसँगै म हुर्केँ, बढेँ, यटखा ढोकाटोल, काठमाडौँमा,
जहाँ मेरो बालापन र जवानीका अनेकौँ सम्झनाहरू साँचिए।
कागजी रूपमा मेरो स्थायी ठेगाना हुन गयो, ढोकाटोल, १९ कामपा।
तर नियतिले आज मलाई ल्याइपुर्‍यायो, न्हेपंखा, कलंकी, १४ कामपाको यो डेरा कोठामा।

आज अतीतलाई फर्केर हेर्दा मन अमिलो भएर आउँछ।
न मेरो छ अहिले कुनै कुल घर,
जहाँ पुगेर पुर्खाको सुगन्ध पाऊँ,
न मेरो बाँकी छ अहिले त्यो जन्म घर,
जहाँ मैले पहिलो पटक धर्ती टेकेँ,
न त छ कतै यो देश नेपालमा मेरो भन्नु आफ्नै एउटा सियो घुसार्ने घर!

म अलमलमा परेको छु, अब म आफ्नो स्थायी ठेगाना कतापो लेखूँ? खै, कता लेखूँ?
कागजमा एउटा ठेगाना छ, यादहरूमा अर्कै ठेगाना छ,
र वर्तमानमा अर्कै ओत छ।

आफैलाई प्रश्न गर्छु, म सुकुम्बासी हुँ कि हुकुम्बासी? मलाई नै थाहा छैन।
जसको आफ्नै थातथलो र पुर्खाको पहिचान थियो,
आज ऊ आफ्नै देशमा डेरावाल बनेको छ।
पुर्खाको इतिहास बोकेर पनि घरविहीन हुनुको यो पीडा म कोसँग बिसाऊँ?

अब म आफ्नो वास्तविक ठेगाना कतापो लेखूँ?
खै, कता?
शायद मेरो ठेगाना अब कुनै भूगोलमा होइन, केवल मेरा यादहरूमा मात्र सीमित छ!

Leave a Reply

Your email address will not be published. Required fields are marked *