निर्जीव बन्दै गएका मठ–मन्दिरहरू : हाम्रो धर्म–संस्कृतिप्रतिको चुनौती
नेपालमण्डलको स्थापना पश्चात् गोपाल वंशदेखि शाह र राणा शासनकालसम्मका शासक तथा सर्वसाधारण जनताले अथाह श्रद्धा, भक्ति र समर्पणका साथ असंख्य मठ, मन्दिर, चैत्य, विहार तथा धार्मिक सम्पदाहरू निर्माण गरी भावी पुस्ताका लागि अमूल्य सांस्कृतिक धरोहरका रूपमा छोडेर गए। आज ती सम्पदाहरू हाम्रो इतिहास, धर्म, कला र सभ्यताका जीवित साक्षी हुन्।
तर दुःखको कुरा, यिनै धार्मिक सम्पदामध्ये धेरै मठ–मन्दिरहरू आज सुनसान, उपेक्षित र लगभग निर्जीव अवस्थामा पुगेका छन्। कतिपय स्थानमा दैनिक पूजा–आराधना बन्द भइसकेको छ भने कतिपय मन्दिरहरू केवल पुरातात्त्विक सम्पदाका रूपमा मात्र उभिएका छन्। एक समय नियमित रूपमा दीप, धूप, आरती र भक्तजनको उपस्थितिले जीवन्त बनेका ती देवालयहरू आज मौन प्रतीक्षामा छन्।
हिन्दु धर्मशास्त्रअनुसार विधिपूर्वक प्राणप्रतिष्ठा गरिएका देवमूर्तिहरूको नियमित पूजा, सेवा र संरक्षण आवश्यक मानिन्छ। तर राजनीतिक, सामाजिक तथा आर्थिक परिवर्तनका क्रममा धेरै मन्दिरहरूमा पूजा सञ्चालनका लागि स्थापना गरिएका गुठी, आयस्रोत तथा व्यवस्थापन प्रणाली कमजोर बन्दै गएपछि ती सम्पदाहरू ओझेलमा परेका देखिन्छन्।
यसका अतिरिक्त, कतिपय ऐतिहासिक तथा धार्मिक महत्व बोकेका मन्दिरहरूको विशेषता र महत्त्वबारे पर्याप्त प्रचार–प्रसार हुन नसक्दा पनि तिनले अपेक्षित श्रद्धालु र संरक्षण पाउन सकेका छैनन्। भक्तपुरको टौमढीस्थित भैरवनाथ मन्दिरलाई स्थानीय परम्पराले विशेष महत्व दिए पनि त्यससँग सम्बन्धित ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पक्षहरू व्यापक रूपमा अध्ययन र प्रचार हुन सकेका छैनन्। यस्ता विषयहरूमा गहन अनुसन्धान र तथ्यमा आधारित चर्चा आवश्यक देखिन्छ।
सबैभन्दा दुःखको कुरा के भने :
भक्तपुर टौमढीको भैरवनाथ।
काशी विश्वनाथको “शिर” भनेर शास्त्र र प्रमाणले नै भन्छ।
बनारसमा शिर नभएको देवताको मन्दिर छ भने हामीकहाँ शिर मात्र भएको भैरवनाथ छन्।
केदारनाथको “शिर” डोलेश्वर महादेव भनेर प्रचार भयो, विश्वभरि पूजा आयो।
तर काशीको शिर भक्तपुरको भैरवनाथलाई किन प्रचार गर्न सकेनौँ हामी?
बिस्का जात्रा विश्वप्रसिद्ध छ, तर “काशी विश्वनाथको विश्व” सामु पुर्याउन सकेनौँ।
काठमाडौँ उपत्यका मन्दिरहरूको शहर भनेर विश्वभर परिचित छ। तर यदि ती मन्दिरहरूमा नियमित पूजा, सरसफाइ, संरक्षण र सांस्कृतिक गतिविधि नै हुन सकेन भने तिनको जीवन्तता क्रमशः कमजोर हुँदै जानेछ। मन्दिर केवल ढुङ्गा, इँटा र काठको संरचना मात्र होइनन्; तिनले समुदायको आस्था, संस्कृति र सामाजिक एकतालाई पनि प्रतिनिधित्व गर्छन्। के दैनिक पूजा नहुने मन्दिरका देवीदेवताले देश-कल्याणको कामना राख्न सक्लान् त?
त्यसैले आजको आवश्यकता भनेको धार्मिक सम्पदाहरूको संरक्षण मात्र होइन, तिनलाई पुनः जीवन्त बनाउने अभियान पनि हो। दैनिक पूजा–आराधनाको व्यवस्था, गुठी तथा स्थानीय समुदायको सक्रिय सहभागिता, युवा पुस्तामा धार्मिक–सांस्कृतिक चेतना अभिवृद्धि तथा ऐतिहासिक सम्पदाको अध्ययन–अनुसन्धानलाई प्राथमिकता दिन आवश्यक छ।
धर्म र संस्कृति पुस्तान्तरण हुने विषय हुन्। हामीले आफ्ना मठ–मन्दिर, जात्रा, पर्व र परम्परालाई जीवन्त राख्न सके मात्र भावी पुस्ताले आफ्नो मौलिक पहिचान सुरक्षित राख्न सक्नेछन्। त्यसैले सम्पदा संरक्षणसँगै तिनको नियमित उपयोग, सम्मान र संवर्द्धनमा सबैको ध्यान पुग्नु आजको आवश्यकता हो।
अनि अर्को कुरा :
प्रकृतिले देखाएको चन्द्र-सूर्यको गतिको पर्व मिति छाडेर, हजारौँ वर्ष पुरानो पञ्चाङ्ग नीतिका भरमा मात्र पर्व मनाउँदा फल मिल्दैन।
त्यसैले देशमा अशान्ति, राजनीतिक उथलपुथल आइरहन्छन् कि?
उपाय के त?
१. निर्जीव भएका हरेक मठ-मन्दिरमा दैनिक पूजाको व्यवस्था गरौँ। देवी-देवतालाई “जागृत” गरौँ।
२. पर्व-पूजा प्रकृतिले देखाएको तिथि-मितिमा मनाऔँ।
३. आफ्नो क्षेत्रको मन्दिरको विशेषता र महिमा जन-जनसम्म पुर्याऔँ। प्रचार गरौँ।
मन्दिर बच्यो भने धर्म बच्छ।
धर्म बच्यो भने संस्कार बच्छ।
संस्कार बच्यो भने राष्ट्र बच्छ।
धर्म, संस्कृति र सम्पदाको संरक्षण केवल सरकारको दायित्व मात्र होइन, हामी सबैको साझा जिम्मेवारी हो।
— प्रकाशमान शिल्पकार
सांस्कृतिक अध्येता
