Skip to content

पर्वसमय सुधार राष्ट्रिय कार्यदल : एक संक्षिप्त परिचय


हामीले मनाउँदै आएका पर्वहरू शास्त्रनिर्दिष्ट शुद्ध समयमा नै मनाउनुपर्छ भन्ने मान्यता शास्त्रप्रवर्तक ऋषिमुनिहरूले स्पष्ट रूपमा प्रतिपादन गरेका छन्। तर वर्तमानमा प्रचलित पञ्चाङ्गका आधारमा मनाइने कतिपय चाडपर्व शास्त्रीय दृष्टिले शुद्ध समयमा नपरेको दाबी हुँदै आएको छ। समयको अशुद्धताका कारण गरिने धार्मिक कर्मबाट प्राप्त हुनुपर्ने फल वा उद्देश्य पूर्ण रूपमा प्राप्त हुन नसक्ने तर्क यस विषयका विद्वानहरूले प्रस्तुत गर्दै आएका छन्।

अयनचालन (Precession of the Equinoxes) का कारण पर्व मनाइने समय करिब २४ दिनले सरेको विषय पनि लामो समयदेखि उठाइँदै आएको छ। शास्त्रीय तथा खगोलीय आधारअनुसार सबैभन्दा छोटो दिनमा पर्ने माघे सङ्क्रान्ति (घ्यःचाकु सन्हु) र सबैभन्दा लामो दिनमा पर्ने साउने सङ्क्रान्ति हुनुपर्ने मान्यता छ। तर वर्तमान खगोलीय अवस्थाअनुसार सबैभन्दा छोटो दिन प्रायः पुस ७ तिर तथा सबैभन्दा लामो दिन असार ७ तिर पर्छ। यही दिनहरूमा क्रमशः सूर्य उत्तरायण र दक्षिणायन प्रारम्भ हुने कुरा खगोल विज्ञानले देखाउँछ। त्यसैले हाल प्रचलित पात्रोमा उल्लेख गरिएका माघे तथा साउने सङ्क्रान्ति वास्तविक उत्तरायण र दक्षिणायनसँग मेल नखाने विषय उठाइएको छ। यस कारण शास्त्रानुसार गर्नुपर्ने स्नान, दान, पूजा, पाठ तथा लुतो फाल्नेजस्ता कर्महरू अशुद्ध समयमा भइरहेको दाबी गरिएको छ।

त्यसैगरी वैशाख सङ्क्रान्ति (मेष सङ्क्रान्ति/खायूसन्हु) र कार्तिक सङ्क्रान्ति (तुला सङ्क्रान्ति) लाई विषुवत् सङ्क्रान्तिका रूपमा मनाइँदै आए पनि दिन–रात बराबर हुने वास्तविक समय क्रमशः चैत ७ र असोज ७ तिर पर्ने तथ्य खगोलीय गणनाले देखाउने तर्क प्रस्तुत गरिएको छ। यसरी प्रचलित पात्रो र वास्तविक खगोलीय अवस्थाबीचको अन्तरका कारण सनातनी समाज शास्त्रसम्मत समयभन्दा फरक समयमा धार्मिक कर्म गर्न बाध्य भएको धारणा व्यक्त गरिएको छ।

यही विषयलाई दृष्टिगत गर्दै पञ्चाङ्गमा आवश्यक सुधार गरी पर्वहरू शास्त्रसम्मत समयमा मनाउनुपर्ने विषयमा झण्डै छ दशकदेखि विद्वान्हरूबीच छलफल, बहस र गोष्ठीहरू हुँदै आएका छन्। तत्कालीन नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. मंगलराज जोशीको परामर्शमा वि.सं. २०६१ पुस महिनामा स्थायी अयन, वर्षारम्भ तथा पर्व सुधार अभियान प्रारम्भ गरिएको थियो। त्यसअन्तर्गत वि.सं. २०६२ असार १६ गते महेन्द्र संस्कृत विश्वविद्यालयको सहयोगमा प्रज्ञा–प्रतिष्ठान, काठमाडौंमा राष्ट्रिय गोष्ठी सम्पन्न भयो। त्यसपछि वि.सं. २०६२ पुस ४ गते जुद्धोदय माध्यमिक विद्यालय परिसरमा ४० जना ज्योतिषीको सहभागितामा आयोजित गोष्ठीले पर्व सुधारसम्बन्धी निर्णयहरू गरेको थियो।

ती गोष्ठीहरूबाट पारित निर्णयहरू कार्यान्वयनका लागि नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राष्ट्रिय आयोग गठनको माग गरियो। सोहीअनुसार मन्त्रिस्तरीय निर्णय (मिति २०६३ मंसिर २६) बाट पूर्व उपकुलपति प्रा. श्रीकृष्ण आचार्यको अध्यक्षतामा तथा ई. हरिनारायण मल्ल सदस्य–सचिव रहने गरी पर्वसमय सुधार राष्ट्रिय कार्यदल गठन गरियो। साथै धार्मिक, ज्योतिष, वैज्ञानिक र वैदेशिक गरी चार उपसमिति पनि गठन गरियो।

कार्यदललाई पहिलो बैठक बसेको मितिले ३५ दिनभित्र विस्तृत अध्ययन गरी प्रतिवेदन बुझाउने कार्यादेश दिइएको थियो। कार्यदलले जिम्मेवारीअनुसार अध्ययन तथा अनुसन्धान सम्पन्न गरी समयमै “पर्वसुधार राष्ट्रिय कार्यदलको प्रतिवेदन, २०६४” नेपाल सरकारसमक्ष पेश गरेको थियो। उक्त प्रतिवेदनमा पञ्चाङ्गमा पर्वसमय सुधार गर्न तथा पर्वसमय सुधार राष्ट्रिय कार्यान्वयन समिति गठन गर्न समेत सिफारिस गरिएको थियो।

उल्लेखनीय कुरा के हो भने, उक्त कार्यदलमा सहभागी प्रा. डा. रामचन्द्र गौतम हाल नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष रहिसक्नुभएको छ भने श्री सूर्यप्रसाद ढुङ्गेल हाल समितिका सदस्य–सचिव हुनुहुन्छ। यद्यपि, कार्यदलको प्रतिवेदन पेश भएको दुई दशक नजिक पुग्न लाग्दा पनि नेपाली सनातनी समाजले उक्त प्रतिवेदनअनुसार शास्त्रसम्मत शुद्ध समयमा पर्व मनाउने अवसर प्राप्त गर्न सकेको छैन।

कार्यदललाई अध्ययनका लागि तोकिएका मुख्य विषय

१. वर्षारम्भ तथा पर्व सुधार आवश्यक छ वा छैन भन्ने विषयको अध्ययन।
२. प्रस्तावित समन्वयात्मक बालमुकुन्दीय पर्व सुधार पद्धति प्रचलित धार्मिक तथा ज्योतिषीय मान्यतासँग मेल खान्छ वा खाँदैन भन्ने परीक्षण तथा आवश्यक सुधारका सुझाव।
३. वि.सं. २०६४ देखि नेपाल विक्रम संवत् कार्यान्वयन गर्दा तत्काल लागू गर्न सकिने तथा क्रमशः लागू गर्नुपर्ने धार्मिक एवं ज्योतिषीय पक्षहरूको अध्ययन।

पर्वसमय सुधार राष्ट्रिय कार्यदल

– प्रा. श्रीकृष्ण आचार्य — अध्यक्ष
– ई. हरिनारायण मल्ल — सदस्य–सचिव
– प्रा. डा. रामचन्द्र गौतम — सदस्य
– प्रा. डा. शाम्बराज आचार्य — सदस्य
– डा. केशवराम जोशी — सदस्य
– डा. खिलनाथ वस्ताकोटी — सदस्य
– श्री जलकृष्ण श्रेष्ठ — संयोजक

उपसमितिहरू

– धार्मिक उपसमिति
– ज्योतिष उपसमिति
– वैज्ञानिक उपसमिति
– वैदेशिक उपसमिति

सन्दर्भ सामग्री

– पर्वसुधार राष्ट्रिय कार्यदलको प्रतिवेदन, २०६४
– प्रा. डा. रामचन्द्र गौतम, “पर्वसुधार : शास्त्रीय चिन्तन”, पर्वसुधारका आधारहरू (पर्वसुधार राष्ट्रिय कार्यान्वयन समितिबाट प्रकाशित)
– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको च.नं. ३४६, मिति २०६३ पुस १३ को पर्वसमय सुधार राष्ट्रिय कार्यदल गठनसम्बन्धी पत्र।

— #प्रकाशमानशिलपकार

Leave a Reply

Your email address will not be published. Required fields are marked *