सडकपेटीमा व्यापार-व्यवसाय सञ्चालन गर्ने बनियाकी कनियाले नाभिस्थलको मसल प्रदर्शित गर्दै पसल थापेर बसेकी रहिछिन् । बटुवाका आँखा न ठहरिए, त्यतैतिर भतुवा लाग्न गई हाल्यो । हेर्दाहेर्दै कलियुगी केलीको भयभीत मृगिणीका जस्ता आँखामा मेरा पापी आँखा जुधेर अनपेक्षित दुर्घटना निम्त्यायो । दुर्घटनामा उनाउ कोही परेनन्, मै अभागी परेँ ।
आँखाले आँखैमा हेरेको हुनाले फुटपाथमा थुपारी राखेको निर्माण सामग्री हेर्न भ्याइएन । फलस्वरूप रोडाको थुप्रोमा गोडा ठोक्कियो । संयमित हुँदाहुँदै हिँडाइको सन्तुलन मिलेन । खुट्टाले टेक्न नभ्याएर हातले टेकेँ । त्यतिले मात्रै पुगेन । टाउकाले पनि टेकेँ । सौन्दर्यपान र दृष्टिदानको उच्च मूल्याङ्कन गर्नुको साटो आपत्तिजनक गिल्लाको तुच्छ बिल्ला भिराइदिए । सारै दुःख लाग्यो ।
घाँटीघाँटीसम्म आउने गरी भुँडी भरेका खाँटीखाँटी नेताहरू चुनावी मैदानमा पाहा पछारिएझैँ पछारिँदा आहाऽऽ भनेर रमाए । म लड्दा चाहिँ फतफतेहरूले मनोरञ्जनको चना चटपटे चपाएर मनग्गे फाइदा उठाए । ‘खानु न पिउनु बिष्टिनी राँडको थोत्रो पेटीकोट सिउनु’ भनेझैँ त्यसको घाटा मैले बेहोर्नु पर्यो ।
जसको कारणले म लडेँ उही मृगनयनीले भनिन्-”आँखा हेरेर हिँड्नुपर्छ नि ।” लड्नुको खास कारण मेरो हिँडाइको लापरवाही हो भन्ने पुष्टि गर्न खोजिन् । म जस्तो भूतपूर्व बेहुलालाई नयाँ उरन्ठेउला भन्ठानिछिन् कि कुन्नि आक्षेपको प्रक्षेपण गर्न पनि बाँकी राखिनन् । उनको दृष्टिमा म आँखा नहेरी हिँड्ने उत्ताउलो ठेेउके सावित भएँ । फुटपाथमा पसल त थापिन्थापिन् हुँदै नभएको फत्तुर पनि थापेर मेरो कोमल भावनामा कठोर चोट पुर्याइन् । यस्तो फत्तुर त विदेशी टाङमुनि टाउको लुकाएर सुस्ता रुँदा हाँस्ने सत्तुरलाई पनि नलागोस् बाऽऽ । बेमौसमी खाँडो त अभिशापको घाँडो नै हुँदोरहेछ ।
धत्तेरी, मेरो कस्तो अभागी खप्पर रहेछ छ्या! धनजनको खति नभए पनि तनावको गति बढाउने खालको अवगाल मात्र आइलाग्यो । तनावको गति जस्तै मनोबलको गति बढिदिएको भए कति जाती हुन्थ्यो । यो भाँडी मसित हीनताबोधको अनुभव गर्नुपर्ने थिएन । खै क्याहो क्याहो, मेरो मनोबल त ओइलिएको मुलोभन्दा पनि लुलो भएछ क्यारे । जति फकाइफुल्याइ गर्दा पनि दरो भएर खरो उत्रन सकेन । पोहोर-परारको भन्दा यसपाली झन् पिलन्धरे भएछ । आँखै नहेरी हिँडियो भन्ने दोष लाग्दैमा होस् गुमाएर आत्तिनुको कारण पनि यही हुनुपर्छ ।
सत्ताको दुरुपयोग गरी करोडौँ कमाएका भ्रष्टहरू लाखौँ खर्च गरेर अदालती सुनपानीले चोखिएका बग्रेल्ती उदाहरणहरू छन् । यसैगरी कानुनी उपचारबाट लोकाचार पार्न नसकिने हैन, सकिन्छ तर पनि म अदालत जान्न । स्वच्छ, निष्पक्ष र भावनात्मक सफाइको लागि अदालत नै धाउनुपर्छ भन्ने छैन । भावनात्मक सफाइविनाको अदालती सफाइले मात्र चोखो होइदोरहेनछ भन्ने कुरा पूर्वानुभावले देखाइसकेका छन् । समाजले च्यूत ठहर्याएका व्यक्ति अदालतबाट अच्यूत घोषित हुनुको औचित्य साबित हुन सकेन । टुकुचा स्नान गरेर चोखिएको सुकुचाले चुनाव लड्ने टिकट पाएजस्तै भयो । गाईजात्रे चोख्याइले न त जनताको आँखामा बिक्न सके, न त चुनावी मैदानमा टिक्न सके । लज्जास्पद पराजयको पीडा मात्र सहनु परेन, अदालतबाट सफाइ पाएर निर्दोष घोषित हुँदा पहिरिएको मालाले समेत कुकुर तिहारको चाला जनायो । त्यसैले म अदालत जान्न ।
चुनावी मैदानको जनअदालतमा हारेर राजनीतिक परिदृश्यबाट ओझेल परेका हस्तीहरूले सत्ताको मस्ती मार्न नपाएको पीडा समन गर्न देश असफल भएको मिथ्या बमन गरे । फटाहाको छटाहा बठ्याइँको कतैबाट पनि सुनुवाई भएन । केही सीप नलागेपछि हारगुहारको लागि रुन्चे मुहार लिएर दिल्ली भौँतारिन पुगेका सिल्लीहरू झरीमा रुझेको बिल्लीझैँ पुनः सिंहदरबारको खाँबो कोपर्न आई पुगे । ‘सत्ता पाउं’ भनेर विदेशीको खुट्टा ढोग्न पुगेकाले त भत्ता पाउँ भनेर स्वदेश र्फकन्छन् भने म मात्र आˆनो गुनासो पोख्न अन्यत्र कहाँ जाउँ । आˆनै नेपाली माटोमा फिरादपत्रको सद्बीज छर्ने तजबीज गर्दैछु । आशा छ, इन्साफको ब्याडमा विवेकी अङ्कुरहरू अङ्कुरित हुनेछन् । त्यसैले म अदालत जान्न ।
जहाँसम्म आँखै नहेरी हिँड्यो भन्ने झुट्टा आरोप छ, त्यो त छतौरी मैयाको बतौरी कुरा मात्र हो । म इमानदारीका साथ भन्छु मैले सुन्दरीको आँखैमा हेरेर हिँडेको हुँ । प्राकृतिक नियम नै यस्तै छ कि कुनै पनि सौन्दर्यानुरागीले ठिटीतिर नहेरिकन गिटीतर हेर्दैनन् । त्यो पनि अन्यत्र हैन, आँखैमा हेरेको हो । मैले आँखामा हेर्दा उनले चाहिँ अन्यत्रै हेरिछिन् । त्यो मेरो दोष हैन । आँखाको दोष हो । च्वाँकच्वाँक देखेपछि डाइबरले त ट्याक्सी प्वाँकप्वाँक पार्छ । चञ्चले आँखा झन् किन पछि पथ्र्यो, झ्याम्मिन पुगिहाले । यसलाई भवितव्य मानेर औचित्यको दृष्टिले क्षम्य हुनुपर्छ भन्ने मेरो धारणा हो ।
हे न्यायप्रेमी सज्जनवृन्दः
मेरो दोष यति हो कि मैले रोडाको थुप्रोतिर हेरिनँ । नगर सफा राख्ने नगरपालिकाले हेरेको रोडा मैले हेर्नु जरुरी थिएन र हेरिनँ पनि । सौन्दर्यको सम्मान गर्न विशुद्ध भावले आँखा हेरेको चाहिँ सत्य हो । यो पुष्टि भइसकेको छ । फेरि यहाँ दोहोर्याइरहन परोइन । त्यो पनि गलत मनसायले कदापि हेरेको हैन । गलत मनसायले हेरेको भए आँखैमा हेर्नुपर्छ भन्ने थिएन । खोर्सानी राख्ने खट्प्वाल समान चाबीविनाको नाभीस्थल हेर्न सक्थेँ । सबैका लागि सञ्चित त्यो दृश्य मेरा लागि मात्र वञ्चित थिएन । जता पनि पुलुक्क हेलिहाल्ने स्वतन्त्र नयनले दृष्टिपानको चयन गर्यो होला तर मैले चाहिँ आँखाबाहेक अन्यत्र हेरिनँ । त्यसो हुनाले बेवारिसे खालमा बल्भिmएको साझा अवगालबाट निस्किएको खोट मेट्न नोट खर्च गरेर अदालत जान्न । मेरो लागि चोखोमनले दिएको भावनात्मक सफाइ नै पर्याप्त हुनेछन् ।
मैया मोरी बजिनीलाई काजिनी जस्तै लागेर हेर्दा फन्दामा फसियो । ममाथि दया राखेर निष्पक्ष ढङ्गले मेरो कुरा सुनिदिने आधिकारिक निकाय भएन । अमुक पार्टीमा आस्था राखेर जागिर खाएका जागिरेले जनताद्वारा निर्वाचित सरकारभन्दा एक कदम अगाडि बढेर शासन चलाइरहेको अवस्थामा मेरो अपिल सुन्ने फुर्सत नहुन सक्छ । त्यसैले म अदालत जान्न । सोल्टिनीको आँखामा गएर जोल्ठिनी मेरो आँखाको चोखो दृष्टिबाट बिटुलो चोखे लागेको भए क्षमा चाहन्छु । म अदालत जान्न । मानहानीको अर्को मुद्दा नलागोस् मलाई ।
