Skip to content


जमात छ बेग्लै
फगत ‘ऊ’ एक्लै
अपमान पिउँदै
अभाव सिउँदै
हिँडिरहेछ कलेटी ओठमा
हस्यौली पोत्दै
वियोग उस्तै, विछोड उस्तै… ।
जमात छ बेग्लै
फगत ‘ऊ’ एक्लै
न्यायलाई आफ्नो
आफैँले लुछ्दै
इमानलाई आफ्नो
आफैँले थुक्दै
किनबेचको उल्टो बजारबीचमा
हिँडिरहेछ रत्यौली बन्दै
वियोग उस्तै, विछोड उस्तै… ।
ढुङ्गा र माटो
बनी बस्न गाह्रो
विश्वासको छानो
पनि खस्न थाल्यो
आधार आफ्नो
पनि ढल्न लाग्यो
आशा गरेकै बन्दा हरामी
सपना सबै भए खरानी
सम्झेर आफ्ना बिताहा समय
हिँडिरहेछ विच्युत बन्दै
वियोग उस्तै, विछोड उस्तै.. ।
नटुवाहरूको लामो भीडमा
विचार आफ्नो न टोकी खानु
न खुटी लाउनु…
गुलाफबीचको काँडा सरी भई
आँधी बीचको चरा सरी भई
हिँडिरहेछ ठट्यौली बन्दै
वियोग उस्तै, विछोड उस्तै.. ।
अनन्त मनको बनी उज्यालो
वसन्त उसको कता हरायो ?
हेर्दा उघारी दुई नेत्र ज्वाला
सबै रमेका उही मधुशाला
थरीथरीका पकवान भारी
उदर भर्न भई तम्तयारी
दगुरिरहेका युगान्तकारी
रमिरमेका, सढिगलेका सिद्धान्तकारी
देखेर उस्तै फेरि कौतुकखेल
भई आफैँमा आफैँ उदेक
हिँडिरहेछ फूलझडी बन्दै
वियोग उस्तै, विछोड उस्तै… ।
हातमा लिई उही कुटो कोदाली
नीति नियमको सीमा चुँडाली
बन्दै गरेको दुश्यन्तलाई
देख्दा उठेको पीडा पगाली
हिँडिरहेछ आँसु खसाली
जमात छ बेग्लै
फगत ‘ऊ’ एक्लै
अपमान पिउँदै
अभाव सिउँदै
हिँडिरहेछ कलेटी ओठमा
हस्यौली पोत्दै
वियोग उस्तै, विछोड उस्तै… ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *