Skip to content


म जेब्राक्रसमा उभिएको थिएँ । ऊ पारपट्टि थिई । लमतन्न सडकले हामीलाई छुट्याएको थियो ।
ऊसँगको मेरो यो दोस्रो भेट थियो । म उभिएको पछिल्तिर पुस्तक पसल थियो । दुई पाउ जमिन ओगटेर म जहाँ उभिएको थिएँ, त्यसको ठीक अघिल्तिर लमतन्न पिच सडक सुतेको थियो । मेरो टाउकोमाथि नसुहाउँदो गरी जेलिएका बिजुलीका तार थिए तर त्यसभन्दा माथि खुला आकाश घोप्टिएको थियो । हल्का हरियो रङ पोतिएका बिजुलीका खम्बाहरू मेरै लहरमा उभिएका थिए । आकाशमा कतै पनि बादलका राँटा देखिएका थिएनन् । म नीलो आकाशले छोपिएको थिएँ ।
बाँचेको प्रमाण दिन मान्छेहरू सडकमा ठमठम हिँडिरहेका थिए ।
बत्तासिएर कुद्ने गाडीको बेगले उडाउन खोजेको साडीको सप्को, कुर्ताको सल र स्कर्टका फेरहरू समातेर केही युवतीहरू पारपिट्ट िअर्को सडक छिचोल्दै सम्हालिएर किनारै किनार हिँडेका थिए । त्यो भीडमा चिनेको अनुहार कोही पनि थिएन । त्यत्रा मान्छेबीच कसैको अनुहार कसैसँग मिल्ने खालको थिएन । सोच र बुद्धि मिल्ने कुरै भएन !
जेब्राक्रसमा नीलो बत्ती बलेको थिएन ।
तेस्रोपटक भेट हुँदा थाहा भयो, ऊ केही वर्षअघि यही विश्वविद्यालयकी विद्यार्थी थिई । परचिय भयो । नाम बताई, सिन्थिया । बालुवाझैँ कहिल्यै नबाटिने र फुस्किरहने जिन्दगी बोकेर हिँडिरहेकी छु भन्थी । साँझको घाम छेकिएर कतै खुला चौरमा देखिएको हिमालको छायाजस्तो सधैँ उदास देखिन्थी । कम हाँस्थी ।
ऊ विस्तारै मसँग नजिकिई ।
एकदिन कफी गफ चल्दै गर्दा क्यान्टिनमा सुस्केरा छाडेर भनी, “मैले खोज्नु छ सर ! धेरै खोज्नु छ । मैले यहाँ जिन्दगी हराएकी छु । आफैँलाई हराएकी छु ।” मेरालागि ऊ रहस्यमयी बन्दै गएकी थिई ।
त्यसपछि ऊ निकै दिन हराई ।
“कहाँ गएकी थियौ ?” भेटपछि क्याम्पस गेटमै मैले सोेधेको थिएँ, “निकै दिन हरायौ नि !”
“त्यत्तिकै सर, आफ्नै काममा हिँडेकी थिएँ तर यसपटक काम हुन सकेन,” उसले यत्ति भनी ।
“मैले गर्न सक्ने सहयोग केही छ ?”
“होइन सर केही छैन । म एक्लै गर्न सक्छु ।”
त्यसको केही दिनपछि ऊ फेर िहराई ।
ललल

विदेशी नियोगको मेरो म्यादी जागिर भर्खरै सकिएको थियो । केही जिल्लामा १२ वर्षे द्वन्द्वको असर हेरेर म भर्खरै फर्किएको थिएँ ।
यो घुमाइमा मैले डढेका घरहरू हेरेँ । भत्किएका र गोलीले छियाछिया बनाएका पुराना ऐतिहासिक दरबारहरू हेरेँ । काटिएको झोलुंगे पुल र छिनाएको तुइन हेरेँ । गारो भत्किएको स्कुल हेरेँ । बम पड्किएको र गोली चलेको आवाजले स्वर हराएका, श्रवण गुमाएका मान्छेको विक्षिप्त मानसिकतालाई पढेँ । जो अझै पनि नयाँ मान्छेसँग बोल्न डराइरहेका थिए ।
त्यो अध्ययन भ्रमण सकेर म केही दिनअघि मात्रै फर्किएको हुँ ।
म फेर िमनोविज्ञान केन्द्रीय विभागमै हाजिर भएको थिएँ । यहीँबाट जिन्दगीको करअिर सुरु भयो । सायद अन्त्य पनि यहीँबाट होला । मास्टर भएँ । चक-डस्टरसँग खेल्दै दिन बिताएँ । थरीथरीका विद्यार्थी भेटेँ । छाँटछाँटका मास्टरहरू देखेँ । पुरानो मोटरसाइकलमा हुइँकिएर विश्वविद्यालय छिर्थें । थेसिसका चाङहरूमा आफूलाई हराइरहेँ । अनुसन्धानका रिपोर्ट केलाउँदै त्यसको परिणाममा घोत्लिएँ ।
विद्यार्थी आउँथे, नमस्कार गर्थे । मनोविज्ञानका नयाँनयाँ कुरा सुनाउँथे । म लोभिन्थेँ ।
मोटरसाइकल बिग्रिएको केही दिन भएको थियो । म हिँड्दै विश्वविद्यालय जान्थेँ ।
र, म यो जेब्राक्रसमा सधैँ उभिनुपर्थ्यो ।
ललल

हामी पहेँलो रङ पोतिएको एउटा घरभित्र छिर्‍यौँ । ठूलो चौर थियो । बीचमा मसलाका सुरलिा रूखहरू थिए । केही पोथ्राइला रूखमुनि बस्ने बेन्चहरू राखिएको थियो । केही मान्छेहरू त्यहाँ सुस्ताएको देखिन्थे । एप्रोन भिरेर घाँटीमा स्टेथेस्कोप झुन्ड्याएका डाक्टरहरू यताउता गररिहेका थिए । भित्र छिर्नेबित्तिकै सिन्थिया झटारएिर मेरो छेउमा आई ।
“तिमी यहाँ कसरी ?” मैले अचम्म मानेर एक सासमा सोधेँ ।
उसले एकटक हेररिही । वरपिर िहेरेँ, त्यहाँका सबै मान्छेहरू आफैँमा व्यस्त थिए । सबैको उस्तै पहिरन थियो । अरूले जस्तै पहिरन उसले पनि लगाएकी थिई । मलाई एक मनले त यो सिन्थिया हो भन्ने विश्वास भएन । तर, त्यो उही सिन्थिया थिई । यो केटी बिरामीका रूपमा कसरी मानसिक अस्पताल आइपुगी भन्ने अनेक तर्कना मनमा आइरह्यो ।
“भन सिन्थिया, तिमीलाई के भयो भन ? तिमी कसरी यहाँ आइपुग्यौ ?”
ऊ भक्कानिएर रोई । तर, एकैछिनमा ऊ दृढ देखिई ।
“मुक्ति सर ! अब मैले केही बोल्नु छैन । केही भन्नु छैन । सबै कुरा झोलुंगे पुल काटेपछि त्यहाँका मान्छेहरूले बोले । तुइन काटेपछि त्यहाँका मान्छेहरूले केही नभनेर पनि बिनाआवाज धेरैथोक बोले । हामीले तिनलाई बन्दुकका कुन्दाले मुखैमुखमा हान्यौँ । सबै कुरा स्कुलमा पढाउँदै गरेको मास्टरलाई चौरमा पाता कसेर सेरेपछि त्यहाँका विद्यार्थीले कोकोहोलो गर्दै बोले तर हामीले तिनलाई पनि छाडेनौँ । बहादुरीपूर्वक तिनका मुख रगतपच्छे हुने गरी कुट्यौँ । सबै कुरा ती निर्दोष महिलाहरूले बोले, जसलाई हामीले जगल्ट्याएर बन्दुक भिरायौँ ।”
केहीबेर ऊ रोकिई । छड्के नजरले मलाई हेरी । म अचम्ममा परेँ । हिजो ऊ के थिई ? छापामार ? कि सेना ? ऊ किन समातिई र यहाँ आइपुगी ! मैले भेट्दा ऊ सद्दे थिई । धेरै खोज्नु छ भन्थी । उसले के खोजी र के भेटी ?
“अब मलाई पागल बनाइसकियो सर ! म पागलखानाकी बिरामी भइसकेँ । भन्छु म पागल होइन । तर, यहाँ प्रत्येक पागल यसै भन्छन् भनेर मलाई उडाउँछन् सर !”
ऊ निकै कठोर देखिई ।
“म मुक्तियुद्ध लडेर आएकी मान्छे हुँ । तर, मुक्ति सर ! त्यो युद्ध सभ्य र मर्यादित कहिल्यै भएन । धेरैपटक सोच्दै नसोचेका घटनाहरू भए । यिनै घटनाहरूबाट म अहिले विक्षिप्त बाँचिरहेछु । तर, म पागल होइन । मलाई हिजोको विगतले आङ सिरंिग हुन्छ । विगतप्रति पश्चात्ताप गर्नु पागल हुनु होइन ।”
अब मलाई प्रस्ट भयो, ऊ छापामार थिई ।
त्यही चौरमा उभिएर उसले आफ्नो विगत पनि कोट्याई, “म निकै तगडा थिएँ । सधैँ युद्धको अग्रिम मोर्चामा हुन्थेँ । काँधमा बन्दुक बोकेर आवाजविहीनहरूको आवाज ल्याउने मुक्ति अभियानमा हामी लागेका थियौँ ।”
ऊ बोल्दै गई, “पार्टीमा मेरो कामको राम्रै मूल्यांकन भएको थियो । हो, त्यहीबेला मेरो भेट भयो कमरेड किरणसँग । हामी एउटै उद्देश्यका लागि युद्धमा थियौँ । दुस्मनलाई परास्त गर्न हामी सधैँ एउटै मोर्चामा हुन्थ्यौँ ।”
“पार्टीमा प्रेम वर्जित थियो । मलाई प्रेममा त्यस्तो लगाव पनि थिएन । देश, जनता र निमुखाहरूको मुक्तिका लागि हिँड्नुपर्छ भन्ने मात्रै मनमा थियो । दिनभर सबै उस्तै लाग्थे । तर, जब दिन ढल्दै जान्थ्यो मलाई कमरेड किरणको व्यवहारमा शंका लाग्थ्यो । उनी मलाई थाहा नपाएजसरी छुन खोज्थे । हात मिलाउँथे र सुम्सुम्याउँथे । मेरा ओठ, गाला र कम्मरको प्रशंसा गररिहन्थे ।
“एक साँझ सेन्ट्री रहँदा उनी मेरो नजिक आए ।
“हल्ट ।”
“कमरेड के-१२”
“उनले आफ्नो कोड भनेपछि म चुप रहेँ ।
“त्यस अँध्यारोमा उनी मेरो नजिक आए । जीवनका कुरा गरे । मेरो प्रशंसा गरे । मैले कुनै प्रतिक्रिया जनाउन नपाउँदै उनले मलाई जबरजस्ती गरे । मैले घटना कसैलाई भन्नै सकिनँ । सारा घटना नभएजसरी भयो । त्यसपछि मैले त्यो अँध्यारो रातमा आकाश मैमाथि खसेजस्तो अनुभव गरेँ । यी सारा मुक्तिका भाषण देखावटी रहेछन् भन्ने लाग्यो ।
“त्यसपछि मेरो उत्साह, उमंग सबै विस्तारै सेलाउँदै गयो । युद्ध र मुक्तिका कुराप्रति वितृष्णा र घृणा लाग्दै गयो । तर, म त्यहाँबाट निस्केर हिँडिहाल्ने अवस्था थिएन । त्यसको केही समयमै शान्ति सम्झौता भयो र हामी क्यान्टोनमेन्टमा छिर्‍यौँ । क्यान्टोनमेन्ट पनि मलाई सुरक्षित लागेन ।”
“आँट गरेर एक साँझ त्यहाँबाट भागेँ । जतिखेर मेरो तपाईंसँग भेट भयो । मलाई ती सबै विद्यार्थीलाई जस्तै विस्तारै कलम मन पर्न थाल्यो । कपी, किताब मन पर्न थाल्यो । तपाईंलाई देख्थेँ, मलाई शिक्षक मुक्ति अधिकारीको याद आउँथ्यो । तपाईंको नाम पनि मुक्ति रहेछ । मलाई उही मुक्ति अधिकारीको पुनःजन्म भयो कि जस्तो लाग्थ्यो ।
“क्यान्टोनमेन्टबाट पनि तिनै कमरेड किरणले फेर ित्यहीँ लगे । ममथि बढी निगरानी हुन थाल्यो ।”
“मुक्ति सर ! म अहिले पनि पागल छैन ।”
उसले समस्याको पोको फुकाउँदै फेर िभनी, “मलाई दिनभर केही हुँदैन । जब सूर्य पहेँलिँदै र रात कालो बन्दै जान्छ, त्यसपछिको एकान्त र चकमन्नताले मेरो शरीरलाई सुम्सुम्याउन थाल्छ । हररात म यो मझेरीमा बाटो भुलेर अलमलिएको बटुवाजस्तो चारैतिर हेरेर बस्छु । बन्दुक पड्किएको, बम फुटेको, मान्छे चिच्याएको आवाजले मलाई झस्काइरहन्छ । मेरो मनमा मात्रै घाउहरू छन् भन्ने अनुभव गर्छु । र, ती घाउहरूमा अन्धकार बढ्दै गएपछि विस्तारै पीडा थपिएझैँ लाग्छ ।”
“मसँग पाप्रा उप्किँदै फेर िबल्ल्झिंदै र दुख्दै गर्ने घाउहरू छन् । म सधैँ कहिल्यै निको नहुने यिनै घाउहरू लिएर बाँचिरहेकी छु । अहिले म त्यस विगतको क्रान्तिले हृदयभर िबनाइदिएका चोटहरूले म दुखिरहेकी छु ।
“सर मैले विद्रोह गरेर जिन्दगीलाई जित्न सकिनँ । मजस्तै विद्रोह गर्ने कसैले पनि केही जित्न सकेनन् । बरु आफैसँग हारे । म आफ्नै जिन्दगीसँग हारेँ । समयसँग हारेँ । मैले सँगै लिएर हिँडेका सिद्धान्त, विचार र बोकेको बन्दुकसँग हारेँ । म विस्तारै त्यो बन्दुकको नालजस्तै खिइँदै छु मुक्ति सर । बन्दुकले कहिल्यै कसैलाई जित्न नसकिने रहेछ । मान्छे तर्सिएर आफ्नो पक्षमा लाग्नु र साँच्चिकै आफ्नो विवेकले आफ्नो हुनु फरक कुरा रहेछ ।”
उसले आफ्नो उकुस-मुकुस पोखेपछि चुप लागेर एकटक हामीलाई हेरी । उसका आँखामा विगतप्रतिको ग्लानि प्रस्ट देखिन्थ्यो । मैले कहिल्यै निको नहुने द्वन्द्वका घाउहरू बोकेर बसेका ऊजस्तै धेरैको भविष्य सोचेँ । कतिलाई हिजोको पीडाले यसैगरी छुँदो हो सम्झेँ ।
‘सर मलाई बाहिर निकाल्न सहयोग गर्नूस् । म बाहिर बस्न चाहन्छु । मैले बनाएका घाउहरू म आफैँ मेट्न चाहन्छु । छिनाएको झोलुंगे पुल र चुँडाएको तुइन बनाउन चाहन्छु । सर ! म तपाईंलाई बाहिर भेट्छु सर, अब बाहिर भेट्छु ।”
यति भनेर ऊ मेरो उत्तरको प्रतीक्षा नगरी त्यहाँबाट पहेँलो घरको कुनै कोठातिर गई ।
ललल

अलि दिनपछिको कुरा हो । केही त्रस्त र हतास मुडमा सिन्थियालाई मैले पार िसडकमा उभिएको देखेँ । यो भीडभाड सडक काटेर भेट्नुपर्ला सोच्दै थिएँ । जेब्राक्रसमा हरियो बत्ती बल्यो ।
सडक काटेर पारि पुग्दा सिन्थिया त्यहाँ थिइन । दायाँबायाँ हेरेँ, कतै देखिइन । जेब्राक्रसमा रातो बत्ती बलिसकेको थियो । सडकमा अघि रोकिएका गाडीहरू फेर िचल्न थालेका थिए ।
क्याम्पस पुगेर पत्रिका उठाएँ । पहिलो पृष्ठमा प्राथमिकतासाथ तस्बिरसहित छापिएको समाचारको शीर्षक थियो, “क्यानटोमेन्टबाट भागेकी सिन्थिया उपचार गर्दागर्दै मानसिक अस्पतालबाट बेपत्ता ।”

नेपाल साप्ताहिक २५३

1 thought on “जेब्राक्रसमा उभिएर”

Leave a Reply

Your email address will not be published. Required fields are marked *