Skip to content

मेरी प्यारी आमा


मेरी प्यारी आमा

पीडाहरूसँग कति लड्यौ
दर्दहरू कति झेल्यौ
मेरी प्यारी आमा तिमी
केवल मेरै लागि बाँचिरह्यौ ।

भगवानसँग मेरै लागि
सूख सयल मागिरह्यौ
मेरै सून्दर भविष्यका लागि
कति कति बाचा भाक्यौ ।

मन्दिर धायौ मेरै लागि
भोक प्यास सह्यौ मेरै लागि
मायामा सँगालेर
निन्द्रादेवी बोलाईदिनथ्यौ
मीठा मीठा कथा सुनाई
आफ्ना रात त्यागिदिनथ्यौ
मेरी प्यारी आमा तिमी
मेरै लागि हाँसिरहनथ्यौ ।

कति बचन खप्यौ
व्यग्यंवाण कति सह्यौ
मेरै सूखका लागि
आफ्ना सूख कति त्याग्यौ
मेरी प्यारी आमा तिमी
केवल मेरै लागि बाँचिरह्यौ ।

बर्षाको झरी भनिनौ
माघको तुषारो भनिनौ
वैद्य डाक्टर धाउँदा
कहिल्यै तिमी थाकिनौ
मेरी प्यारी आमा तिमी
कहिल्यै पछि हटिनौ ।

आमा तिमी उस्तैरह्यौ
कहिल्यै फरक भईनौ
न त गरीव भयौ
न त धनी भयौ
ममताकी खानी बनी
केवल दिईरह्यौ
लिईनौ केही पनि
मेरी प्यारी आमा तिमी
केवल मेरै लागि बाँचिरह्यौ ।

आमा तिमी अविछिन्न सागर हौ
तिम्रै गर्भमा मैले
संसारका सून्दर संरचनाहरू देखेको छु
आमा तिमी अविरल नदी हौ
तिम्रो स्वच्छ बहाईमा
मैले श्रृजनाका लहरहरू भेटेको छु
मेरी प्यारी आमा तिमी
एकमा अनेक हौ
सून्दर भविष्यकी प्रतिक हौ ।

आमा
शव्द नै महान
आमा शव्दको महानताभित्र
वातस्यलताको मीठो न्यानो पाउँछु
जहाँ जाउँ जता पुगौं
आमा तिम्रै सम्झनाले
तिम्रै चाहनाको परिश्रमी बनी
ईमान्दारिताको कवच लाउँछु ।

आमा तिमी शान्तिप्रेमी
शान्तिकै कामना गरिरह्यौ
शान्तिकै कामना गर्दै
शान्तिकै गित गाईरह्यौ
मेरी प्यारी आमा तिमी
केवल शान्तिकै लागि बाँचिरह्यौ ।

तिम्रै मायाको महानतामा
मैले मेरो जीवन पाए
देश परदेश घुम्दै रम्दै
धन सम्पत्ति कमाए
तर आमा तिमीलाई
बदलामा मैले के दिए ?
सूख दिए या दूख दिए ?

सधै छातीमा टाँस्थ्यौ
अलग्गिनु पीडा थियो तिम्रो लागि
तर पाईला के चलेथें
म त दौडिन थालें
दौड्न के थालेथें
म त हराउन थालें
म हराउँथे जानी जानी
आमा तिमी मेरै बाटो हेर्थ्यौ
छोरो कता हरायो
खोजी पस्थ्यौ
सानो बिछोड पनि
अत्यास बनथ्यो तिम्रो लागि
तिम्रो ममताको सागरमा
डुबुल्की मार्दै
जीवनका कति वसन्त पाए
तर बदलामा मैले के दिए ?
केवल बिछोड त दिए |

आमा तिमी प्रेरणा बनी
आकाशभरि छाईरह्यौ
मलाई नै हेरी हेरी
आकाशभरि हाँसीरह्यौ
एउटै त हो यो आकाश
म जति टाढा भए पनि
मेरै वरिपरि नाँचीरह्यौ
मेरी प्यारी आमा तिमी
केवल मेरै लागि बाँचिरह्यौ ।

२७ जुलाई २००९, सोमवार
khadkabinod02@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *