वर्षाका कारण तराईका अधिकाँश गाउँ डुबानमा परेका थिए । भवानीपुर पनि बाढीकै कारण पूरै जलमग्न भएको थियो । भवानीपुरका सबै घरपरिवार बाढीबाट प्रभावित भएका थिए । कसैको घरबारी बाढीले बगाएको थियो भने कसैका गाईवस्तु बगाएको थियो । गाउँ नै बाढीपीडित भएको थियो । घरमा खानका लागिसमेत केही बाँकी थिएन ।
बाढीपीडितको सहयोगका लागि केही सङ्घसंस्थाले हात अगाडि बढाए । रेडक्रसले पनि गाउँलेहरूलाई खाद्यान्न र लत्ताकपडा बाँड्यो । विस्तारै बर्षात रोकियो र पानी कम हुँदै गयो । घाम लाग्न थालेपछि त्यहाँका बासिन्दाहरूमा बाँच्ने आशा पलाउन थाल्यो ।
गाउँमा रहेको एकमात्र प्राथमिक विद्यालय लामो समयदेखि बन्द थियो । त्यहाँ दुई सय बालबालिका पढ्थे । विद्यालयका बेन्च, मेच सबै बाढीले बगाएको थियो । भवनबाहेक केही बाँकी थिएन । स्थिति सामान्य हुन थालेपछि बालबालिका स्कुल जान थाले । भवन र पढाउने गुरुहरू थिए पढ्ने किताब र कापीहरू थिएनन् । बाढीका कारण कापी, किताब काम नलाग्ने भएका थिए । नयाँ कापी किताब किन्ने पैसा कसैका आमाबाबुसँग थिएन । विद्यार्थीहरू विनाकापीकलम स्कुल जान थाले । किताब, कापी नै नभएपछि गुरुहरूले के पढाउने ? एक सातासम्म त जसोतसो काम चलाए तर पनि सबैजना निराश हुन थाले । उनीहरूको समस्याका विषयमा केही समयपछि राष्ट्रियस्तरको एक दैनिक पत्रिकामा समाचार प्रकाशित भयो । समाचारको शीर्षक थियो – कापी किताब बाढीले बगायो, कसरी पढ्ने ?
भवानीपुरका स-साना विद्यार्थीहरूले कापी र कलमको अभावमा पढाइ प्रभावित भइरहेको समाचार पढे र कुमारको मन चसक्क भयो । ऊ काठमाडौंको एउटा विद्यालयमा पढ्दथ्यो । आपत् परेको बेला एक नेपालीले अर्को नेपालीलाई सक्दो सहयोग गर्नु परम धर्म हो । त्यसैले भवानीपुरका विद्यार्थीलाई सबै मिलेर रहयोग गर्नुपर्छ । उसले मनमनै सोच्यो । कुमारको विद्यालयमा पाँच सयभन्दा बढी विद्यार्थी पढ्दथे ।
भोलिपल्टै साथीहरूसँग सबै मिलेर भवानीपुरका साथीहरूलाई सहयोग प्रस्ताव राख्यो । कुमारको सेवामुखी भावना देखेर सबैले सक्दो सहयोग गर्ने वचन दिए । उसको प्रस्ताव सुनेपछि प्रधानाध्यापकलगायत गुरुहरू पनि खुसी भए । ‘हामीले यस्तै आपत्मा परेका मानिसलाई सहयोग गर्नुपर्छ । तिम्रो योजनालाई सफल बनाउन हामी सबै लाग्नेछौँ ।’ प्रधानाध्यापकले भने ।
कुमार, शरद, मनीषा र सपनाको समूहले राहत सङ्कलन गर्न समिति बनाएर एक विद्यार्थी एक कापी र किताबका लागि सक्दो आर्थिक सहयोग दिन आहृवान गरे । सबैले दिल खोलेर सहयोग गरे । एकजनाले एक कापीको सट्टा दुई पनि दिए । किताब किन्न आफ्नो एक दिनको खाजा खर्च कटाएर १०/१५ रुपियाँ गर्दै पैसा जम्मा गरे । ‘एकले थुकी सुकी सयले थुकी नदी’ भने त्यहाँ एक हजारवटा कापी र सात हजार रुपियाँ सङ्कलन भयो । जम्मा भएको कापी र सात हजारको पुस्तक किनेर भवानीपुरका विद्यार्थीका लागि पठाइयो । किताब, कापी पाएपछि भवानीपुरका विद्यार्थी खुसी भएर आफ्नो पढाइलाई अगाडि बढाउन थाले ।
