Skip to content

हराएकी उनी र जूनकीरीहरू

  • by


उनी यता कुदिन् । उता कुदिन् । यता पो बाटो हो कि ? उता पो बाटो हो कि ? चारैतिर हेर्दै कुदिन् । अहँ, कतै पनि छैन बाटो । ‘घर जाने बाटो कता होला ?’ एकछिन सोचिन् । ‘ए ! यता पो हो कि ?’ झाडी पन्छाउँदै अगाडि बढिन् । अहँ, त्यहाँ पनि बाटो छैन । अब के गर्ने होला ? उनलाई डर लाग्न थाल्यो । मुटु ढुकढुक गर्न थाल्यो । आँखाबाट आँसु पनि र्झन लागे ।

‘आमा ! आमा हो !’ रूवाइ मिसिएको आवाजमा चिच्याइन् उनी । ‘ए आमा ! आमा …..!’ उनी अझै आमालाई बोलाउन लागिन् । अहँ, कतैबाट पनि आमाको आवाज आएन ।

आमा ! मलाई लिन आउनुस् । बाबा हो ! मलाई लिन आउनुस् । उनी रुँदै झाडी झाडी कुद्न लागिन् ।

झन् रात पर्दै गयो । जङ्गलमा झनै अँध्यारोले छोप्यो । बाँदरहरू ख्याक् …ख्याक्…. घ्वाँक्क……घ्वाँक्क कराउँदै-उफ्रदै सुत्ने रूखतिर जाँदै थिए । झ्याउँकीरीहरू झिं ….झिं … झिं …चीं…झिं..गरेर एकै स्वरमा कराउन लागेका थिए । उनलाई डरले झन् झन् सताउन थाल्यो ।

“ए बाँदरदाइ ! मलाई घर पुर्‍याइदेउ न ।” उनी बाँदरहरूसँग मद्दत माग्दै थिइन् । बाँदर उनको कुरा नसुनेरै हाँगा-हाँगामा उफ्रदै थिए ।

“ए रूख ! मलाई मेरी आमासँग भेटाइदेउन ।” उनी रूखहरूलाई भन्दै थिइन् । रूखहरू सिरसिर पात हल्लाउँदै उभिरहे । “आमा ! आमा हो !” अझै आमालाई बोलाउँदै, रूँदै उनी हिँड्न लागिन् ।

अँध्यारो गाढा भयो । अब त रूखहरू पनि देखिन छाडे झेँ भयो । बाँदरहरू पनि उफ्रन छाडे । झ्याउँकीरीहरू किरिरि ….. किरिरि गरेको मात्रै सुनिन्थ्यो । “आमा ! आमा !!” उनी त्यहीँ बसेर ग्वाँ ग्वाँ रुन लागिन् । उनी रोएकोबाहेक कुनै मान्छेको पनि आवाज आउँदैन थियो । उनको पछाडिपट्ट िएउटा पात छिसिक्क झर्‍यो । “ए आ…मा ! आबुई !!” उनी त्यहँाबाट जुरूक्क उठेर भागिन् । भाग्दा एउटा रूखमा ठोकिन पुगिन् । उनी त्यहीँ लडिन् । उनलाई त्यहाँबाट उठ्नै मन लागेन । उनी रोइरहिन् । डरले उनको मुटु काँपिरहेको थियो ।

उनी लडेको ठाउँनिरै एउटा जूनकीरी आइपुग्यो । जूनकीरीको पुच्छरमा पिलपिल बत्ती बलेको थियो । उनले पुलुक्क जूनकीरीतिर हेरिन् । जूनकीरीले पनि उनीतिर हेर्‍यो । “तिमी किन रोएकी ?” जूनकीरीले सोध्यो । कोही बोलेको सुनेर उनी झसङ्ग भइन् । कताबाट आउँदैछ यो आवाज ? कसको आवाज हो यो ? डर मान्दै मान्दै चारैतिर आँखा डुलाइन् ।

“उठ ! उठ ! त्यसरी भुइँमा सुत्नु हुँदैन ।” उनको अगाडि नै बसेर जूनकीरीले भन्यो । जूनकीरी बोलेको सुनेर उनलाई अचम्म लाग्यो । एकटकले जूनकीरीलाई हेरिरहिन् । “यति राति जङ्गलभित्र ? किन एक्लै सुतिरहेकी ?” जूनकीरीले जिज्ञासा जनायो । उनी बोलिनन् । रोइरहिन् मात्र ।

“तिमीलाई बोल्न आउँदैन कि क्या हो ?” जूनकीरीले उनको आँसु पुछिदिँदै सोध्यो ।

“होइन,” रुवाइ मिसिएको स्वरमा भनिन् उनले ।

“अनि भन न त । किन यति राति पनि एक्लै जङ्गलमा बसिरहेकी ?” जूनकीरीले सोध्यो ।

“मलाई घर जाने बाटो नै थाहा छैन । म कसरी घर जानु त ?” उनले भनिन् ।

“तिमी एक्लै जङ्गलमा आएकी ?” जूनकीरीले सोध्दासोध्दै ‘अँ’ भनेर टाउको हल्लाइन् उनले ।

“घर फर्किने बाटो नै थाहा नपाउने । बच्चा मान्छे पनि एक्लै जङ्गलमा आउने हो त ?” जूनकीरीले मायालु बोलीमा सोध्यो ।

“म आमालाई खोज्दै जङ्गल आएको हुँ ।” उनले भनिन् ।

“किन तिम्री आमा हराउनुभएको छ र ?” अचम्म मान्दै जूनकीरीले सोध्यो ।

“हैन ! मेरी आमा घाँस काट्न जङ्गल आउनुभएको थियो । उहाँलाई भेट्छु कि भनेर म पनि जङ्गलमा आएँ । मैले आमालाई धेरै बोलाएँ । धेरै खोजेँ तर अहँ भेट्न सकिनँ । हुँ ऽ…हुँ ऽ” त्यति भन्दा नभन्दै उनी फेरि रुन थालिन् ।

“त्यत्रो ठूलो जङ्गल छ । तिम्री आमा एकातिर जानुभयो होला । तिमी अर्कैतिर आयौ होला । अनि कसरी भेट्छौ त आमालाई ? तिमीले बुद्धि पुर्‍याइनछौ । धत्तेरिका ।” भन्दै हात पड्कायो जूनकीरीले ।

“मलाई त कस्तो डर लागिरहेको छ । म अब कसरी घर र्फकने होला ?” सुँक्क-सुँक्क गर्दै उनले भनिन् ।

“लौ लौ धन्दा नमान । म तिमीलाई तिम्रो घरसम्म पुर्‍याउने उपाय निकाल्छु । बरु भन त , तिम्रो घरको रङ कस्तो छ ?” जूनकीरीले सोध्यो ।

“रातोमाटोले पोतेको छ हाम्रो घरलाई ।” उनले भनिन् ।

“अँ छानाचाहिँ केले छाएको छ नि ?” जूनकीरीले सोध्दै गयो ।

“खबटाले ।” उनले उत्तर दिँदै गइन् ।

“घर अगाडितिर के छ नि ?”

“अँ ! एउटा आँपको बोट । एउटा टिकुलीको बोट ।”

“पछाडिपट्ट ि नि ?”

“ठूला-ठूला पाटा भएको खेत छ ।”

“तिम्रो घरमा कतिजना छन् ?”

“म, भाइ, आमा, बाबा अनि ठूल्दाजु ।”

जूनकीरीले उनको घरठाउँबारे धेरै कुरा सोध्यो । त्यसपछि कराउँदै आˆना साथीहरूलाई बोलायो । एकैछिनमा धेरै जूनकीरीहरू आइपुगे । धेरै जूनकीरी आएपछि धेरै उज्यालो पनि भयो । उनलाई अलि कम डर लाग्यो ।

ल अब हामी तिम्रो घर खोज्न जान्छौँ है ?- धेरै जूनकीरीले एकै आवाजमा भने । केही जूनकीरी उनी भएकै ठाउँमा बसे । उनलाई केही खुसी लाग्यो ।

जूनकीरीहरू त्यहाँबाट उडे । अन्य ठाउँका, अर्को-अर्को जूनकीरीहरूसँग सम्पर्क राख्दै, सोध्दै उनीहरूले घर खोज्न थाले । जूनकीरी- जूनकीरीबीचको सम्पर्कले गर्दा छिट्टै उनको घर पत्तो लाग्यो ।

त्यसपछि झन् धेरै जूनकीरीहरू उनी भएको ठाउँमा आए । सबै जूनकीरीहरूको बत्तीको प्रकाशले चारैतिर उज्यालो बनायो । जूनकीरीहरूले भने- लौ हिँड घरमा ।

“कताबाट जाने त ?” उनले सोधिन् ।

“हामी बाटो देखाउँदै उड्छाँै । तिमी त्यही बाटैबाटो आउ ल ?” जूनकीरीहरूमध्ये एउटाले भन्यो ।

“हुन्छ ।” टाउको हल्लाइन् उनले । त्यसपछि जूनकीरीले देखाएकै बाटो पछ्याउन थालिन् ।

केहीबेरको हिँडाइपछि उनी घर पुगिन् । आमा, बा, ठूल्दाजु उनलाई खोज्दै रहेछन् । आमा त पिलपिल आँसु बगाउँदै रोइरहनुभएकी रहेछ ।

“आमा …. !” भन्दै उनी गम्लङ आमालाई अँगालो हाल्न पुगिन् । एक्कासी छोरी घरमै आइपुगेको देखेर सबैजना दङ्ग-छक्क परे । कहाँ गएकी थियौ यति रातिसम्म ? धेरै प्रश्नको उत्तर दिनुपथ्र्यो उनले । आफू आमालाई खोज्दै जङ्गल गएको कुरा, जङ्गलमा भएका कुरा सुनाउँदै उनले भनिन्- “मलाई त बाबै, जूनकीरीहरूले घर ल्याई पुर्‍याइदिएका ।” उनको कुरा सुनेर सबै चकित भए ।

हुन पनि त्यतातिर धेरै जूनकीरीहरू उडिरहेका थिए । कति जूनकीरीहरू ‘वाई…. । वाई ….. !’ गर्दै फर्किरहेका थिए । कतिपय जूनकीरीहरू रूखको वरिपरि घुम्दै नाचिरहे झैँ गर्दै थिए ।

“कति जाति बाबै जूनकीरीहरू त !” उनी पनि हात हल्लाउँदै थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *