Skip to content

महामण्डल सम्मान र दोसल्लाको सम्झनामा

साँच्चै नै भन्ने हो भने नुवाकोटको नाम उच्चारण गर्ने बित्तिकै मलाई जननी जन्म-भूमिश्च स्वर्ग-दपी गरियसी भन्ने वाक्यांशले मथिङ्गलमा केहीबेर संस्मरणात्मक खेलहरू खेल्ने गर्दछन् । यति हुँदाहुँदै पनि हामी मानवजाति सबैको आ-आफ्नै समस्या मान्यता रहनसहन अनि आफ्नै भेषभूषा र चालचलन एवम् औकातमा रम्न र रमाउन पर्ने बाध्यात्मक अवस्था हुन्छ । मलाई नुवाकोटको माटोले जन्माएको भए पनि जीवनयापनका निमित्त २०२६ सालमा चितवनको माटोमा धुलिमाटी खेल्न पुगेको थिएँ । तथापि नुवाकोटमा केही कार्यक्रम हुँदैछ भन्ने सुनेपछि निमन्त्रणाको जरुरी नपर्ने यो पङ्क्तिकार २०६६ वैशाख महिनाको पहिलो हप्ता त्रिशूली पुगेको थियो र बास बस्ने क्रममा नुवाकोटको बट्टारस्थित होटल सतनचुलीमा विश्राम गरेँ । त्यहाँ पुगिसकेपछि त्यस क्षेत्रका होनहार मित्र श्रीराम श्रेष्ठ जसले त्यहाँका स्थानीय ७ ओटा संस्थामा अध्यक्ष हुनुहुन्छ लाई फोन गरेँ मैले फोन गरेको केही समयपछि उहाँ म बसेको होटलमा आइपुग्नु भयो । त्यसपछि दुवैजनाले केही कुराकानी गरेपछि छुट्टियौँ र भोलिपल्ट म पनि चितवन आइपुगेँ ।

२०६६ जेठको दोस्रो हप्तातिर नुवाकोट साहित्य परिषद्का अध्यक्ष श्रीराम श्रेष्ठ मेरो घरैमा आइपुग्नु भयो । उहाँ भन्दै हुनुहुन्थ्यो – दाजु हामीले नुवाकोट साहित्य प्रतिष्ठान ले आफ्नो वार्षिक कार्यक्रमको उपलक्ष्यमा स्रष्टा सम्मान साहित्य गोष्ठी एवम् दही-चिउरा कार्यक्रमको आयोजना गर्दैछौँ । उक्त कार्यक्रममा तपाईंंलाई महामण्डल साहित्य सम्मान-२०६६ द्वारा सम्मान गर्ने भन्ने निर्णय गरेका छौँ यो शब्द सुनेपछि एकछिन म घोरिन पुगेछु । अनि मैले सोधेँ – अरु कोको सम्मानित हुँदैहुनुहुन्छ नि  उहाँले यसपटक चितवनबाट तपाईं कवि केदारनाथ खनाल कुश्मा पर्वतबाट कवयित्री एवम् गजलकार सरस्वती शर्मा जिज्ञासु’समेत तीन जनालाई महामण्डल साहित्यिक सम्मान’ र सुदूरपश्चिमाचलकी नारीस्रष्टा गजलकार श्रेष्ठ पिरया पत्थर’ र काठमाडौँका गजलकार वियोगी बुढाथोकीद्वयलाई युगान्तर पुरस्कार- २०६५ र ६६ ले पुरस्कृत गर्दैछौँ ।तपाईंले चितवनका स्रष्टाहरूलाई चिठी पुर्याइदिनु होला’ भन्दै केही चिठीहरू मलाई छोडेर जानुभयो । मैले पनि उहाँले भनेअनुसार चितवनका सबै स्रष्टाहरूलाई चिठी र फोनबाट खबर गरेँ । असारको १४ गते लायन्सचोक नारायणगढस्थित मेरो पसल लामिछाने इलेक्ट्रिक’मा भेला भएर नुवाकोट जाने भन्ने सल्लाह भयो ।

हामी कृषकहरूका लागि यो असारको महिना भनेको ँमानो रोपेर मुरी उब्जाउने समय हो । तर पनि के गर्नु र साहित्यको नशा अरु सबै नशाहरूभन्दा केही चर्को नै हुन्छ क्यारे ¤ त्यसैले होला २०६६ असार १४ गते बिहानको करिब ९ बजे वरिष्ठ गजलकार एवम् कुशल समीक्षक केशवराज आमोदी गजलकार धनराज गिरी मध्यक्षितिज वाङ्मय प्रतिष्ठान का अध्यक्ष एवम् गजलकार विमलप्रकाश देवकोटा मध्यक्षितिज वाङ्मय प्रतिष्ठानका का।स।सदस्य एवम् समाजसेवी हरिकृष्ण सुवेदीलगायतका मित्रहरू मेरो घरमै आइपुग्नुभयो । म अर्थात् गोर्खे साइँलो ऋषिप्रसाद लामिछाने र पल्लव साहित्य प्रतिष्ठान की कोषाध्यक्ष एवम् मेरी जीवनसङ्गिनी मीना लामिछाने तयार भइसकेका थियौँ । हामी सबैजना पसल अगाडि गाडी चढ्ने स्थानमा उभिन आइपुग्यौँ । हामी आएपछि हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष एवम् गजलकार पुष्प अधिकारी अजिल वरिष्ठ छन्दज्ञाता गोविन्दराज विनोदी वरिष्ठ समीक्षक एवम् ज्योतिर्विद् कपिल अज्ञात वरिष्ठ साहित्यकार एवम् कुशल समीक्षक पूर्णप्रसाद अधिकारी गजल गाउन अति नै उत्सुक मेरी चेली विष्णु तिवारी उषापनि त्यहाँ आइपुगिन् । डा. नारायणप्रसाद खनालले भने जान असमर्थ रहेको जनाइसक्नु भएको थियो । मसँगै सम्मानित हुनुहुने स्रष्टा केदारनाथ खनाल भने विवाहको कामले गर्दा दुईदिन अगाडि नै काठमाडौँ जाने र उतैबाट नुवाकोट जाने भन्ने कुरा पहिले नै सल्लाह भएको हुनाले लगभग निर्धारित समयमा नै हाम्रो नुवाकोटतर्फको यात्रा सुरु भयो ।

हामी सबैजना त्रिशूलीरुटमा चल्ने मिनीबसमा चढेका थियौँ । बस आफ्नै गतिमा दौडदै थियो भने बसभित्रका हामी प्राणीहरू गीत गजल र विविध साहित्यिक रमाइलोमा रम्दै थियौँ । बिहानको ११ बजे मुग्लिङ पुग्दा कुश्मादेखि सोही सम्मान कार्यक्रममा सम्मानित हुन जानका लागि आउनुभएकी माधुरी साहित्य प्रतिष्ठानकी अध्यक्ष श्रीमती सरस्वती शर्मा जिज्ञासु ले हाम्रो प्रतीक्षा गरिरहनु भएको थियो । त्यहाँबाट उहाँ पनि त्यही बसमा चढ्नुभयो । चुङ्लिनटारमा पुगेर खाना खानका निमित्त बस रोकियो । हामी सबैले आ-आफ्नो मनमाफिकको खानपिन गर् यौँ र पुनः बसमा बस्यौँ । गाडीले मलेखु गजुरी बैरेनी पार गरेर गल्छीबाट काठमाडौँ जाने बाटो छाडी तल्लोबाटो त्रिशूली जाने बाटो समातेपछि हामी सबैको ध्यान एकपटक कच्ची बाटोतिर पुग्यो । बाटो ग्य्रावेलिङ भएकोले कुनै असुविधा भएन । दिउँसो करिब साँढे तीनबजे हामी नुवाकोटको त्रिशूलीस्थित ढुङ्गे भन्ने स्थानमा उत्रियौँ र त्यहीँ रहेको थकाली होटल एन्ड लजमा विश्राम गर्ने कोठाको बन्दोबस्त मिलाएर झोलाहरू त्यहीँ छोडेर हामी त्रिशूलीका विभिन्न भागमा डुल्दै घुम्दै हेर्दै र मन परेका दृश्यहरूलाई क्यामरामा कैद गर्दै बेलुका बासबस्ने होटलमा नै आइपुग्यौँ । नुवाकोट साहित्य प्रतिष्ठानका अध्यक्ष एवम् स्रष्टा सम्मान सहित्य गोष्ठी र दही-चिउरा कार्यक्रमका संयोजक श्रीराम श्रेष्ठ र अरु त्यसै संस्थामा आबद्ध २-३ जना भाइहरू होटलमै आइपुग्नु भयो र कार्यक्रमको बारेमा कुराकानीहरू हुनुका साथै पाहुनाहरूसँगको परिचयात्मक कार्यक्रम भयो । साँझतिर साहित्य समाज परिवारका सचिव एवम् गजलकार बाबु त्रिपाठी पनि काठमाडौँबाट त्यहाँ आइपुग्नु भयो र सबैको भेटघाट भयो । त्यसपछि त्यहाँका स्थानीय साथीहरू आ-आफ्नो घरतर्फ लाग्नुभयो हामी पनि बेलुकी खाना खाएर सुत्नुभन्दा अगाडि करिब २ घन्टाजति पालोपालो गजल गायन र वाचन गरेर गजलको माहौल जमायौ धेरै रमाइलो भयो । त्यसपछि बल्ल रात्रि विश्राम गर् यौँ ।

भोलिपल्ट अर्थात् १५ गते बिहान उठेर बिहानको खाना खाइवरी हामी सबैजना नुवाकोट साहित्य प्रतिष्ठानले आयोजना गरेको स्रष्टा सम्मान साहित्य गोष्ठी एवम् दही-चिउरा कार्यक्रमको आयोजनास्थल अर्थात् नेपाल पत्रकार महासङ्घको प्रेक्षालयतर्फ प्रस्थान गर् यौँ । नुवाकोट साहित्य प्रतिष्ठानका संरक्षक बिम्बात्मक हाइकुकार पुष्कर लोहनी र वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराई, कुमारप्रसाद कोइराला, उज्ज्वल जि. सी., गोबद्र्धन पूजा आदि स्रष्टाहरू उक्त कार्यक्रममा भाग लिनका लागि काठमाडौँबाट त्यहाँ आइपुग्नु भएको थियो । यसरी सबै स्रष्टाहरू आगमनको केही बेरपछि त्यहाँ सम्मानित र पुरस्कृत हुन आउन बाँकी केदारनाथ खनाल र वियोगी बुढाथोकी अनि उहाँहरूकै साथमा मोहन बुढाथोकी पनि आइपुग्नु भयो ।

करिब १२.०० बजेतिर नुवाकोट साहित्य प्रतिष्ठानका अध्यक्ष श्रीराम श्रेष्ठको सभापतित्वमा स्रष्टा सम्मान साहित्य गोष्ठी एवम् दही-चिउरा कार्यक्रमको स्वागत भाषण संस्थाका सचिव विष्णुप्रसाद सापकोटाले गर्नु भएपछि कार्यक्रमस्थलको भित्तामा दोबारेर टाँगिएको ब्यानर खोलेर प्रमुख अतिथि प्रा. डा. गोविन्दराज भट्टराईले कार्यक्रमको विधिवत् उद्घाटन गर्नुभएको थियो । त्यसपछि स्रष्टाहरूको कविता वाचन सुरु भयो । यसरी सुरु भएको कार्यक्रमको अतिथिहरूमा चितवन कुश्मा र काठमाडौँबाट आउनु भएका माथि उल्लिखित अतिथिहरू सबैको उपस्थिति थियो ।

यसैगरी बाहिरका सबै आगन्तुक पाहुनाहरूको उपस्थिति सँगसँगै कार्यक्रम आयोजक जिल्ला वरपरका स्थानीय साहित्यकार स्रष्टा द्रष्टा अग्रज एवम् अनुज र विभिन्न शैक्षिक क्षेत्रका विद्यार्थी भाइ-बहिनीहरूको आगमन रहेकोले उक्त हल खचाखच भरिएको थियो । स्थानीय उपस्थितिमा कवयित्री जानुका दाहाल विष्णुप्रसाद सापकोटा लोकबहादुर पुडासैनी सुमित्रा पौडेल कुसुम अपुरुष खतेउडा लोचन भट्टराई देवकी बोगटी बिना बोगटी काशीनाथ अधिकारी बुद्धलक्ष्मी श्रेष्ठ गणेशप्रसाद पाण्डे सनम बोगटी निभेन बोगटी सविना पौडेल सम्झना पौडेल कृष्णकुमारी खड्का कृष्णशरण बोगटी रामहरि रिमाल नारायण खड्का श्रीहरि बोगटी रवीन्द्र मिश्र अस्मिता थापा सदीक्षा चित्रकार सविना रिमाल किरण गजुरेल समिता श्रेष्ठ राधाकृष्ण सिलुवाल नवराज अधिकारी मनोज न्यौपाने हरि गौतम दामोदर शर्मा भरत अधिकारी अरुणराज पाठक सायद भावना सायरी रामराज पन्त हरेराम गिरी नमराज पाण्डे सुरेश रोक्का वशिष्ट अधिकारी खगेन्द्र बसेरीलगायतका साहित्यिक स्रष्टा एवम् द्रष्टा महानुभावहरूको उपस्थिति रहेको थियो ।

केही कविहरूले कविता वाचन गरेपछि सम्मानित हुने स्रष्टाहरूको परिचय गराउने क्रममा गोर्खे साइँलोका बारेमा समीक्षक पूर्णप्रसाद अधिकारी केदारनाथ खनालका बारेमा कवि गोविन्दराज विनोदी सरस्वती शर्मा जिज्ञासु का बारेमा विमलप्रकाश देवकोटा र वियोगी बुढाथोकीका बारेमा मोहन बुढाथोकीले प्रकाश पार्नुभएको थियो । त्यसपछि स्रष्टा सम्मान गर्ने क्रममा क्रमशः वरिष्ठ साहित्यकार कवि एवम् गजलकार गोर्खे साइँलो ऋषिप्रसाद लामिछाने वरिष्ठ साहित्यकार कवि एवम् निबन्धकार केदारनाथ खनाल र वरिष्ठ साहित्यकार एवम् गजलकार सरस्वती शर्मा जिज्ञासु लाई प्रमुख अतिथि विशेष अतिथि र सभापति समेतले एकसाथ दोसल्ला ओढाई पुष्पगुच्छा गाथा-माला र महामण्डल साहित्य सम्मानपत्रद्वारा तीनैजनालाई सम्मान गरिएको थियो । मेरो सिर्जनशीलता कदर धेरैचोटि भयो तर मेरो शैशवकाल बितेको जन्म जिल्ला नुवाकोटबाट यो सम्मान थाप्न पाउँदा मलाई यस्तो अनुभूति भयो कि जसको शब्दगत व्याख्या गर्न असमर्थ छु जसको बयान गर्न मसँग शब्द नै छैन । मुस्किलले मैले आफूलाई सम्हालेँ । त्यसपछि वरिष्ठ साहित्यकार एवम् गजलकार श्रेष्ठ पृया पत्थर र वरिष्ठ साहित्यकार एवम् गजलकार वियोगी बुढाथोकीद्वयलाई युगान्तर पुरस्कार क्रमशः २०६४ र ६५ बाट पुरस्कृत गरिएको थियो । सुदूरपश्चिमाचलबाट आउनपर्ने देश काल परिस्थिति र आगमनको मार्ग अवरुद्ध भएको कारणले गर्दा श्रेष्ठ पृया पत्थर भने कार्यक्रममा उपस्थिति हुन सक्नु भएन । यसरी उक्त सम्मान कार्यक्रम सकिएपछि फेरि साहित्यिक कवि गोष्ठी र शुभकामना आदन-प्रदान एवम् दही-चिउरा खाजा खाने समयसमेतले लम्बिएको कार्यक्रम करिब दिनको ४.३० बजे मात्र नुवाकोट साहित्य प्रतिष्ठानका अध्यक्ष एवम् कार्यक्रमका सभापति श्रीराम श्रेष्ठले धन्यवाद ज्ञापनका साथै कार्यक्रमको समापन गर्नुभएको थियो ।

यसप्रकारले चलेको उक्त कार्यक्रमबाट बाहिरिएर हामी पुनः होटलतर्फ लाग्यौँ । एउटै होटलमा सबैलाई पुग्ने कोठाको अभावले गर्दा काठमाडौँबाट जानु भएका साथीहरू अन्यत्र होटलमा बस्न जानुभयो । हामी त्यहीँ बस्यौँ र भोलिपल्ट बिहान ५ बजे नै त्यहाँबाट देवीघाटको बस चढेर देवीघाट आयौँ । त्यहाँ जालपा देवी माताको दर्शन गरिसकेपछि चिया पिएर अर्को बस चढेर गल्छीसम्म आयौँ । त्यसपछि पुनः अर्को बस चढेर दिउँसोको करिब २ बजे हामी नारायणगढ चितवन आइपुग्यौँ र सबैजना आ-आफ्ना स्वगृहतर्फ लागियो । नुवाकोट यात्राको पट्टाक्षेप भयो । तर मलाई मेरा आफ्नै जन्म जिल्लाले ओढाएको महामण्डल सम्मान’को दोसल्ला म मरे पनि अमर रहने छ भन्ने मैले विश्वास गरेको छु ।

विशालमार्ग नारायणगढ चितवन ।
हरिशयनी एकादशी २०६६ असार १९ गते शुक्रबार ।

1 thought on “महामण्डल सम्मान र दोसल्लाको सम्झनामा”

  1. gorkheji,
    gorkheji, tapainka

    gorkheji,

    gorkheji, tapainka ystai – ystai vividh gyan bardhak khurakharu sadhai pdhna paune aasa gardachhu.

    – ramamnhi sarma, katmandu,
    niymit majheriko pathak

Leave a Reply

Your email address will not be published. Required fields are marked *