यसपाली पनि दशैंमा मेरो खाली भो निधार
सम्झेर पनि सकिन आउन पारी छु समुद्र
टिकाको दिन थालीमा टिका बाटामा नजर
जमरा पनि जाने नै भयो सबै नै वैलेर
सम्झेर आमा आउँछ भनी पकाई ब्यंजन
पर्खेका होलान् बाबाले पनि जमरा लाइदिन
प्यारीले बाटो हेरेर आखा भिजाई आँसुले
छोरी ज्वाइँ आउँछन लगाउन टिका भन्दी हुन् सासूले
छोरा र छोरी रमाउँदा होलान चिचिर नानाले
लिएर आउँछन यसपाली पक्कै भनेर बाबाले
नआएको भए हुने थियो दशैं गरीब रुवाउन
खोजेर ऋण मनाउनु पर्ने समाजमा सुहाउन
धनीको चाल गरीबलाई जाल माछा झैं पार्नलाई
चाडको नाममा बिकृति भित्र्याई झन तल झार्नलाई
कजाई राख्न दलेर खान गरीब सारालाई
औकात आफ्नो नाभुलौं साथी मनाऊ चाडलाई
बिभेद ठुलो चाडको नाममा ठालुले चलाए
गरीबलाई उठ्नै नसक्ने गरी ऋणको बोझ बोकाए
मनाउनु पर्छ चाड र पर्व संस्कृति जोगाउन
खोजेर ऋण मनाउनु पर्छ भनेर भन्दिन
घरमा जे छ पकाई तुल्याई मानेर ब्यंजन
सन्तोष मान त्यो नै हो सुख अर्को यहाँ केही छैन
हेरेर घाटी निल्नू हाड पुर्खाको आहान
यसैलाई सम्झी अगाडि बढ्नू यही हो महान
संसारभरि छरिएर रहेका समस्त नेपालीहरुप्रति बिजया दशमी २०६६ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
तीर्थ पौडेल (यात्री )
लखनपुर ३ झापा, नेपाल
हाल बहराइन

धेरै राम्रो रचना!
पहिलो
धेरै राम्रो रचना!
पहिलो पङ्क्तिलाई यसो गर्दा गीती लयमा मिल्थ्यो कि ?
यसपाली पनि दशैंमा मेरो खाली भो निधार
सम्झेर पनि सकिन आउन पारी छु समुद्र
“यसपाली पनि दशैंमा मेरो खाली भो निधार
सम्झेर पनि सकिन आउन तरी समुद्र कीनार”