कार्यालयका सबै कर्मचारीहरूलाई एउटा सूचना आयो । ‘अन्तर्राष्ट्रिय युवा वर्षको उपलक्ष्यमा एक दिनको तलब युवा वर्ष कार्यक्रमलाई चन्दास्वरूप प्रदान गर्नुपर्ने हुनाले सबै कर्मचारीहरूलाई जानकारीको लागि सूचित गरिन्छ ।’ यस्ता खाले कार्यक्रम र दिवसहरू हप्तामा एउटा आइरहन्थे र महिनामा दुईपटक चन्दा दिनुपर्ने सर्कुलर पनि जारी हुन्थ्यो । यो प्रचलनको न विरोध हुन्थ्यो, न समथर्न । कर्मचारीहरू भित्रभित्रै मुरमुरिन्थे तर बाहिर प्रकट गर्न सक्दैनथे ।
यसपटक पनि त्यस्तै भो । कर्मचारीहरू क्यान्टिनमा बसेर त्यो सर्कुलरको आपसमा विरोध गर्न थाले । सबै चर्को स्वरमा कुरा गर्दै थिए ।
-किन दिने अ.यु.व. लाई चन्दा ?
-उसलाई त अन्तर्राष्ट्रिय बजेट नै छ नि ।
-के एक दिन पूरै परिवार भोकै बस्ने ?
-के हाम्रा छोराछोरी छैनन् ?
-हाम्रा पेट मुख छैनन् ?
-चन्दा त इच्छाको कुरा हो, किन अफिसबाट सिधै काटिन्छ ? हामीले चाहे दिने, नचाहे नदिने ।
-के गर्ने त, के गर्ने ?
-जिएम साप्सँग कुरा गर्ने ।
-ठीक एकदम ठीक ।
यति निर्णय पनि भयो । सबै कर्मचारीहरू छरिए । जिएमसाप्कहाँ भन्न त जाने तर को को जाने भन्ने निर्णय भएन । स्थायी जागिर खानेहरूले सोचे-किन रेकर्ड खराब पार्ने ? एक दिनको तलब त दिइएको नियमित र अनियमित सुविधाका अगाडि केही पनि होइन । छोटे हाकिमहरूले सोचे हामीले विरोध जनायौँ भने यति राम्रो पदको निश्चितता छैन । कुरा सही भए पनि जिएमको कुरा कसरी बेठिक भन्ने ?
अस्थायी कर्मचारीहरूले सोचे- स्थायी हुने सम्भावना किन फितलो पार्ने, मलाई मात्र मर्का पर्ने होइन, स्थायी जागिर पाउने सम्भावनाभन्दा एक दिनको तलब ठूलो होइन ।
ज्यालादारी कर्मचारीले सोचे- नाजायज कुरामा निवेदन नगर्नु नै वेश होला ।
