Skip to content

मिथिलामा भ्रातृद्वितीया

जमुना नेओतैत छथि यम के ,
हम नेओतैत छी भाइके ,
हमर भाइ कुम्हरक फूल ,
बजरि खाय बज्र भके जीवे,
जेना गंगा जमुनाक धार बढय,
तहिना हमर भाइके औरदा बढय ।

अर्थात् जसरी जमुनाले आफ्नो भाइ यमराजलाई पुज्दछे, त्यसरी नै म आफ्नो भाइलाई पुज्दछु । मेरो भाइ कुभिण्डोको फूल जस्तै होस् (जो छिटो ओइलिंदैन) बजरी (एक प्रकारको कडा दाना) खाओस् र बज्र भएर बाँचोस्, जसरी गङ्गा जमुनाको धार निरन्तर बगिरहन्छ, त्यसरी नै मेरो दाजु भाइको आयु निरन्तर बढिरहोस् । हो , यस्तै कोटि कोटि आशीष र दीर्घायुको कामना गर्दै मिथिलाका दिदीबहिनीले आफना दाजुभाइको पूजा गरी मनाउने चाड हो भ्रातृ द्वितीया । जसलाई आम भाषामा मिथिलामा भर द्वितीया पनि भन्ने गरिन्छ । धर्म संस्कृति, चाडबाडका दृष्टिले समृद्ध मिथिलामा मनाइने अनेक पर्वहरूमा भाइबहिनीको पवित्र, स्नेहिल, अकृत्रिम सम्बन्धलाई अक्षुण्ण र अमर बनाउन मनाइने रक्षाबन्धन, भाइद्वितीया र सामाचकेवा हुन्, जसमध्ये भाइद्वितीयाको आफ्नो छुट्टै महत्त्व छ । तिहारको दुई दिनपछि कार्तिक शुक्ल पक्ष द्वितीयाका दिन मनाइने हुनाले यसलाई भाइ द्वितीया भनिएको हो । यस दिन मिथिलाको घरघरमा दिदीबहिनीले बडो हर्षोल्लासका साथ आफ्ना दाजु, भाइका निम्ति मीठा मीठा व्यञ्जनका परिकार बनाउने चलन छ । बिहान नुहाइ धुवाइ गरी आँगनमा चामलको पीठो (पिठारको ) अर्पणा बनाई त्यसमाथि सिन्दूर, अबीरले सजाएर पीर्कामाथि दाजु, भाइलाई बसाएर सिन्दुर, पिठारको टीका निधारमा लगाएर दिदी बहिनीले दाजुभाइलाई पूजा गर्ने गर्दछन् । पूजाको क्रममा दाजु भाइले दुवै हातको अञ्जलि बनाएर बस्दछन् र दिदी बहिनीले पाँचवटा पानको पात, सुपारी, द्रव्य र कुभिण्डोको फूल राखेर जल हाल्दै माथि उल्लेखित मन्त्र पढेर तीनचोटि पूजा गर्दछन् । पूजा सकेपछि दाजुभाइले आफनो गच्छे अनुसार दिदी बहिनीलाइ उपहार, गरगहना, लत्ताकपडा अथवा रुपियाँ पैसा दिने चलन रही आएको छ । त्यसपछि दाजुभाइले दिदी बहिनीले पकाएको विविध परिकारको व्यञ्जन ग्रहण गरी आशीष दिन्छन् । यस दिन टाढा टाढा बसेका दिदीबहिनी आफ्ना दाजुभाइ आउलान् भनेर आश लगाएका हुन्छन् र दाजुभाइको पूजा नगरुञ्जेल घण्टौं निराहार व्रत बस्ने गर्दछन् । दाजुभाइलाई भरपेट ख्वाएर प्रसन्न गरी मात्र दिदीबहिनीले पनि भोजन गर्ने गर्दछन् ।

भर द्वितीया मनाउने चलन कहिलेदेखि सुरु भएको हो, यस सम्बन्धमा एउटा पौराणिक कथा पनि प्रचलित छ । कथानुसार एकपटक यमराज आफ्नी बहिनी जमुनाको घर पुगे । जमुनाले यमराजको खूब सम्मान, सत्कार गरिन्, विविध प्रकारका मीठा मीठा व्यञ्जन खुवाइन् । प्रसन्न भएर यमराजले बहिनी यमुनालाई वरदान माग्न भने । वरदान माग्दै जमुनाले भनिन् ‘दाजु मलाई यो वरदान दिनुस् कि जो व्यक्ति मेरो जलमा स्नान गर्दछ, त्यो कहिले यमलोक प्राप्त गर्दैन । हतप्रभ भएर यमराजले भने बहिनी यमुना तिमी त हजारौं मिलसम्म बग्दछौ, यदि तिम्रो जलमा स्नान गर्ने कोही यमलोक आउँदैन भने मेरो यमलोक नै समाप्त हुनेछ । के यो सम्भव छ ? यमुनाले आफूले मागेको वरदानमा सुधार गर्दै पुनः भनिन् ठीकै छ, दाजु हजुरले मलाइ यस्तो वरदान दिनुस् कि जो दाइ भाइ कार्तिक शुक्ल द्वितीयाका दिन मथुराको विश्रान्त घाटमा स्नान गरी बहिनीको हातले पकाएको भोजन ग्रहण गर्दछ र यस कथालाई सुन्दछ त्यो यमलोक कहिले जाँदैन । दीर्घायु भएर बाँच्दछ र अन्ततः स्वर्गलोक प्राप्त गर्दछ । यमराज प्रसन्न भएर यमुनालाई वरदान दिँदै भने तथास्तु । यसरी दिदीबहिनीले दाजुभाइका दीर्घायुका निम्ति यो पर्व मनाउन सुरु गरेका हुन् । यमुनाजीले दाजु यमराजलाई भोजन गराएर यसै द्वितीयाका दिन वरदान प्राप्त गरेकीले, यस दिनलाई यमद्वितीया पनि भनिन्छ । यस दिन भारतवर्षको मथुरा राज्यको जमुना नदीको विश्रान्त घाटमा स्नान गर्ने दाजुभाइहरूको घुइँचो लाग्नुका साथै ठूलो मेला लाग्दछ ।

हाम्रो देशमा पनि क्षेत्र विशेष र जातीय आधारमा यो पर्व मनाइने परम्परा भिन्न रही आएको छ । तर दाजुभाइलाई पूजन गर्ने विधि विभन्न जातजातिमा फरक देखिए पनि हिन्दूहरूको यो विशेष पर्वको मुख्य उद्देश्य नै दाजुभाइको उत्तरोत्तर प्रगति र दीर्घायुको कामना गर्नु हो । त्यसैले आउँ सबै मिली भ्रातृ द्वितीयाको यो पर्व हर्षोल्लासपूर्वक मनाउँदै दाजुभाइलाई आशीष दिउँ ।

1 thought on “मिथिलामा भ्रातृद्वितीया”

Leave a Reply

Your email address will not be published. Required fields are marked *