Skip to content


देवकोटाका बारेमा के लेख्ने ?
महान् साहित्यकारका विषयमा जति लेखे पनि कमै हुन्छ । त्यसैले ईसापूर्वदेखि अहिलेसम्मका त्यस्ता साहित्यकारका बारेमा बेलाबेलामा लेख रचनाहरू, किताबहरू प्रकाशित भइरहेका पाइन्छन्, तापनि तिनीहरूका बारेमा लेख्नु सजिलो कुरा चाहिँ होइन किनभने तिनीहरूका कृतिको अध्ययन र मूल्याङ्कन लाखौँ अध्येताले अनेक कोणबाट गरिसकेका हुन्छन् । उनीहरूले ती साहित्यकार र तिनका कृतिका बारेमा एउटा स्थिर चित्र, स्थिर ज्ञान, एउटा पाठकीय छवि वा बिम्ब, एउटा प्रभाव चित्र निर्माण गरिदिएका हुन्छन् । त्यसैका आधारमा हामी ती महान् साहित्यकारलाई बुझरिहेका हुन्छौँ । हाम्रा महाकवि देवकोटाका सम्बन्धमा सम्भवतः अरू नेपाली साहित्यकारभन्दा धेरै लेखिएको छ र हामीले देवकोटा यस्ता साहित्यकार हुन् भनेर एउटा प्रभावग्रहण गरिसकेका छौँ । हामीले लेख्दा उनको त्यही प्रभावचित्र दोहोरिन्छ ।

मैले सजिलो मार्ग छानेको छु त्यो हो नेपाली साहित्येतिहासका गम्भीर अध्येता र अनुसन्धाता शिव रेग्मीद्वारा सम्पादित महाकविका भूमिका नामक कृतिको अध्ययन गर्नु । मलाई लाग्यो महाकविका भूमिकाको अध्ययन नयाँ त नभनूँ पुनरावृत्ति दोषबाट मुक्त हुनसक्छ किनभने नेपाली साहित्यमा भूमिकाको अध्ययन परम्परा सुरु त भएको छ तर अत्यन्त कम । वास्तवमा साहित्यिक कृतिको भूमिका साहित्य नै हो । यसलाई छुट्टै साहित्यिक विधा मान्नुपर्छ वा यसलाई समालोचनाको एउटा प्रकार मान्नुपर्छ जस्तो मलाई लाग्छ । मैले यस लेखमा ‘महाकविका भूमिका’ नामक कृतिमा सङ्कलित भूमिकाको अध्ययन गरेर उनको भूमिकाकारिताका सम्बन्धमा प्रकाश पार्ने प्रयास गरेको छु ।

देवकोटाका भूमिका
यस कृतिमा देवकोटाका जम्मा पैँतीसवटा भूमिका सङ्कलित छन् । वि.सं. १९९७ सालदेखि २०१६ सालसम्ममा लेखिएका भूमिका यसमा समाविष्ट छन् । देवकोटाले आफ्नै कृतिबारे लेखेका भूमिका एघारवटा छन् । यिनलाई स्वकीय भूमिका भन्न सकिन्छ । त्यस्तै उनले अरूका कृतिबारे लेखेका भूमिका चौबीसवटा छन्, तिनलाई परकीय भूमिका भन्न सकिन्छ । यी भूमिकालाई विधागत आधारमा छुट्याउन सकिन्छ ।
(क) कविता काव्यपरक भूमिका ः मुनामदन, सुलोचना, सीता, नेपाली शाकुन्तल महाकाव्य, क्रान्ति, पहाडी सङ्गीत, रातको आँसु, राधाकृष्णमिलन, हुस्सु पथिक, प्रथम पुष्प, थानसिङे कान्छी, तरुण तपसी गोविन्द भट्टका हिन्दी कविता झङ्कार, शशिकला, प्रेम, नेपाली जनक्रान्ति, मेरो वसन्त, भैचम्पा, मनोरञ्जन, म्हेन्दु, रावण जटायु युद्ध, मेरा केही चोइटा, छहरा, मैना आदिमा लेखिएका भूमिका कविता काव्यपरक हुन् । (ख) समालोचनापरक भूमिका केही नेपाली नाटक र ललितकला र साहित्य नामक कृतिमा लेखिएका भूमिका समालोचनापरक हुन् । (ग) निबन्धपरक भूमिका ः यस किसिमको भूमिका एउटा छ त्यो हो लक्ष्मी निबन्ध सङ्ग्रहको भूमिका (घ) उपन्यासपरक भूमिका, यस्ता भूमिका दुइटा छन्, जागिर र विद्रोहका भूमिका । (ङ) नाट्यपरक भूमिका ः अमरमाया र सावित्री सत्यवान्का भूमिका यस वर्गमा पर्दछन् । यी माथिका भूमिकाहरूलाई साहित्यपरक र साहित्येतरपरक भूमिका भनेर पनि छुट्याउन सकिन्छ । विधागत आधारमा वर्गीकरण गरिएका भूमिका साहित्यपरक हुन् भने ‘आशौच विज्ञान’ र नेपालको राजनीतिक दर्पणमा लेखिएका भूमिका साहित्येतरपरक भूमिका हुन् । यी सम्पूर्ण भूमिकामध्ये मुनामदनको भूमिका झ्याउने पद्यमा र बाँकी अरू गद्यमा लेखिएका छन् । त्यस्तै देवकोटाले नेपाली, हिन्दी र अङ्ग्रेजीमा भूमिका लेखेको देखिन्छ । आशौच विज्ञानको भूमिका अङ्ग्रेजीमा छ । त्यस्तै नेपाली जनक्रान्ति हिन्दी कविता भएकाले हिन्दीमै भूमिका लेखिएको पाइन्छ । बाँकी अरू सबै नेपालीमा लेखिएका भूमिका छन् । बाहृय रूपकारका आधारमा सानामा चार पाँच हरफका र ठूलामा चौध-पन्ध्र पृष्ठसम्मका छन् । भूमिकाको स्वभाव वा प्रकृतिका आधारमा देवकोटाका भूमिकाहरू प्रेरणाप्रद वा प्रशंसात्मक, परिचयात्मक र समालोचनात्मक गरी तीन प्रकारका देखिन्छन् । देवकोटाले भूमिकाका लागि समर्पण, परिचय, वक्तव्य, एक झलक, एक दृष्टिकोण, विचार सहमति, श्री आदि शब्द, पद वा पदावलीको प्रयोग गरेको पनि देखिन्छ । यहाँ साहित्यिक दृष्टिले महìवपूर्ण केही भूमिकाको मात्र विश्लेषण गरिएको छ ।

भूमिकामा व्यक्त देवकोटाको समालोचकीय दृष्टि ः
देवकोटाले आफ्नै र अरूका साहित्यिक कृतिका बारेमा लेखेका भूमिकाहरूको सैद्धान्तिक आधार खोज्न सकिन्छ । उनले कुन कोणबाट कृतिको अध्ययन गरेका छन्, त्यो हेर्न सकिन्छ । हुन त देवकोटा मूलतः स्रष्टा हुन र यसैबाट उनको महानता देखिन्छ तापनि भूमिकामा उनी द्रष्टा पनि भएका छन् । एउटा अब्बल स्रष्टा हुन् द्रष्टा हुनु त्यत्तिकै आवश्यक छ । भूमिकामा उनी के कस्ता द्रष्टा वा आलोचक देखिन्छन् त्यसको विश्लेषण उनका भूमिकाका आधारमा गर्न सकिन्छ । उनको ‘लक्ष्मी निबन्धसङ्ग्रह’ मा सङ्कलित कतिपय निबन्ध यस्ता छन् जसमा साहित्य सिद्धान्तको अत्यन्त गम्भीर विश्लेषण गरिएको छ र साथै कतिपय यस्ता निबन्ध पनि छन् जसलाई त्यसबेला प्रचलित व्यावहारिक समालोचनाका ढाँचामा लेखिएका अत्यन्त उच्च समालोचना भन्न सकिन्छ तर यहाँ भूमिकाका आधारमा मात्र उनको समालोचकीय दृष्टिले पहिचान गर्ने प्रयास गरिएको छ ।

(क) परिभाषितता
देवकोटाका भूमिकामा साहित्य के हो ? साहित्यिक विधाका अभिलक्षण र सीमा के के हुन् ? समालोचना के हो ? आदि कुराको निरुपण सन्दर्भ र प्रसङ्गअनुसार स्पष्टरूपमा गरिएको देखिन्छ । यस्ता प्रश्नहरू साहित्य सौन्दर्यशास्त्र वा साहित्य सिद्धान्त वा समालोचना सिद्धान्तसँग सम्बन्धित देखिन्छन् । यसकारणले देवकोटालाई एक साहित्य परिभाषकका रूपमा हेर्न सकिन्छ । उनका सङ्कलित भूमिकाको अध्ययन गर्दा के देखिन्छ भने उनले साहित्यकार, साहित्य र यसका विधाको परिभाषा ठाउँठाउँमा दिएका छन् ।
उनले देवीप्रसाद पौडेलद्वारा लिखित ‘सीता’ काव्यको भूमिकामा कविको परिभाषा यसरी गरेका छन् ः “कवि आदर्श खोज्ने चरो हो ।” त्यस्तै अनङ्गनाथको ‘राधाकृष्ण मिलन’ काव्यको भूमिकामा कविताका प्रकार यसरी छुट्याएका छन् ः

(१) आभ्यान्तरिक या स्वविषयी या व्यक्तिगत प्रकाशनजस्तो सङ्गीति कविता जसमा कविले आफ्नो हृदयको निजी भावनालाई त्यही भावनाका लयमा उचालेर हाँसो सुस्केराझैँ बाहिर निकाल्छ ।

(२) बाहृय विषयी जो कवि बाहिरको जगत्को चीज र मनुष्य, घटना र भावलाई व्यक्त गर्छ जस्तो नाटक, महाकाव्य, वर्णनात्मक कविता जसमा कवि आफू घुसेको हुँदैन । दोस्रो प्रकारको कवितामा पनि कविता व्यक्तिगत जीवनका अनेक घटना र प्रभावहरू सूस्मतया अगोचर काम गरिरहेका हुन्छन् ।
लीलाध्वज थापाद्वारा लिखित ‘अमरमाया’ नाटकको भूमिकामा देवकोटा नाटकको परिचय यसरी गराउँछन् ः ‘यसले सत्यको भ्रान्ति गराउँदछ । त्यसो गराउनु नै नाटकको पहिलो कसौटी हो । लक्ष्मीनिबन्ध सङग्रहको भूमिकाले निबन्धको पूरा परिभाषा प्रस्तुत गरेको छ भन्न सकिन्छ । ‘तरुण तपसीको प्रदक्षिणा’ नामक भूमिकामा देवकोटाले समले लेखेको भूमिकामा चित्त नबुझेका कुराको खण्डन गर्ने क्रममा साहित्यिक समीक्षा अस्पष्ट हुनुहुँदैन । यसले प्रवृत्ति बिगार्छ भनेर समालोचनाको विशेषता अघि सारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *