विद्यार्थी जीवन बिताइरहेका खड्गमान मल्लको जीवनले एकदिन अचानक मोड लियो । यो कुरा थियो वि.सं. १९९० साल असोजको । आफ्ना विद्यार्थीमध्येका विद्यार्थी खड्गमान मल्लको प्रभाव नाट्यसम्राट बालकृष्ण सम र सरदार रुद्रराज पाण्डेमा परेको थियो । यसै प्रभावले ती दुवै विद्वान विद्यार्थी खड्गमान मल्लको घर वटुगुच्चा टोल पुगे ।
आफ्ना आदरणीय गुरुहरू भेट्न आउनु भएको खबर पाएर उनी हर्षले गद्गद् भए । दुवैलाई आदरपूर्वक अभिवादन गर्दै उनले आउनको कारण सोधे । उनी भन्छन् – उहाँहरूले मलाई ने.भा. प्रकाशिनी समितिमा ‘हाकिम मास्टर’ पदमा जागिर खाई सहयोग गर्नुपर्यो भन्न आउनुभएको रहेछ । उहाँहरूको आग्रह सुनेर सपना जस्तो लाग्यो । उहाँहरूको आग्रहको उत्तर दिन वा निर्णय दिन केही समय सोच्न अलमलायो । म अवाक भई उभिरहें र आफूलाई समालेर मैले भने म अहिले पढ्दै छु, अर्को कुरा ममा जागिरको अनुभव पनि छैन कसरी ‘हाकिम मास्टर’ पद सम्हाल्न सकुँला । बालकृष्ण समले भन्नुभयो – तिमी अवश्य सक्छौ, हामीलाई तिमी माथि विश्वास भएर तिमी कहाँ आयौं । तिमी जेहनदार छौ, तिम्रो पढाइ बिग्रँदैन, प्राइभेट विद्यार्थीको रूपमा सहजै जाँच दिन सक्छौ, उत्तीर्ण हुन सक्छौ । ज्यादै आग्रह भएपछि मैले हुन्न भन्न सकिन । उहाँहरूले भोलि नेभा.प्र.स.मा आउनुभयो । भोलिपल्ट समिति पुगें । डाइरेक्टर जनरल मृगेन्द्र शमशेरबाट पनि जागिर खान आग्रह भयो र उहाँहरूले मलाई चिफसाहेब पद्म शमशेर तथा प्रधानमन्त्री जुद्ध शमशेरसित परिचय हुनु त्यतिबेलाका लागि ठूलो कुरा थियो र उनीहरूकै आग्रहमा जागिर खानपाउनु पनि उनका लागि ठूलो कुरा थियो ।
अब उनी आफ्नो कार्यमा व्यस्त भए । नाट्य सम्राट बालकृष्ण समका साथ अरू विद्वानहरूसँग कार्य गर्दा उनले नेपाली साहित्यमा निकै कुरा सिक्ने मौका पाए र लेखन कार्यमा विशेष अग्रसर भए ।
नेपालको भूगोलबारे वि.सं. १९९३ सालसम्म प्रायः नेपालीमा ज्ञानको अभाव थियो । यस्तो अवस्थामा उनले ‘नेपालको भूगोल’ लेखेर ठूलो गुण लगाए । यो पुस्तक भूगोलसम्बन्धी पहिलो पुस्तक थियो ।
बहु आयामिक व्यक्तित्व खड्गमान मल्लले वि.स. १९९१ सालको श्रीपञ्चमीदेखि प्रकाशित हुन थालेको ‘शारदा’ पत्रिकाको दोस्रो अङ्कमा ‘उद्देश्य’ शीर्षक निबन्ध प्रकाशित गरे । । यसपछि उनी लेख्दै गए । वि.सं. २०४५ सालसम्मको अवधिमा उनले उपन्यास, निबन्ध, नाटक, कथा तथा मौलिक रचना संस्मरण एवं अनुवाद गरिएका प्रशस्त कृतिहरू नेपाली वाङ्मय जगत्मा आएका छन् ।
नेपाली, अङ्ग्रेजी, हिन्दी, बङ्गाली, मैथिली, भोजपुरी, अवधि, संस्कृति, उर्दू एवं चिनियाँ आदि भाषाका उनी ज्ञाता थिए । उनले संस्कृत, बङ्गाली तथा अङ्ग्रेजी भाषामा लेखिएका कृतिको अनुवाद गरी हामीलाई ती स्रष्ठाहरूको परिचय गराउनुका साथै नेपाली भाषाको भण्डार भर्न केही सहयोग पनि गरे ।
विद्वान खड्गमान मल्लका भतिजा प्रा. फणिन्द्र मल्ल भन्छन् – वि.सं. १९९० सालदेखि सायद वि.सं. २०१० सालसम्मको दुई दशक लामो समय खण्डमा नेपाली भाषा प्रकाशिनी समितिले पास गरी मुद्रण भएका यावत् पुस्तकको भित्री आवरण पृष्ठमा छापिएको हुन्थ्यो ‘हाकिम मास्टर’ खड्गमान मल्लको प्रबन्धबाट । त्यसबेला एउटै शब्द मात्रै पनि द्वयर्थका भएमा र त्यसको उजुरी परेमा घरखेत, ज्यानसमेत जाने सम्भावना रहेको थियो । यसर्थ यो कार्य धारिलो तरवार माथि हिँड्नुभन्दा कम थिएन । ने.भा.प्र. समितिले ‘शारदा’ पत्रिकाम नेपालमा वि.सं. १९९१ सालदेखि प्रकाशनमा ल्याएको एक मात्र मासिक पत्रिकाको पनि निगरानी गर्नुपदथ्यो । यो कार्य सजिलो थिएन ।
त्यसबेला ‘गोरखापत्र’ हप्ताको एक पटकमात्र छापिन्थ्यो र छाप्ने सामग्री नपुगेमा ‘टाइम्स अफ इन्डिया’ जस्ता अङ्ग्रेजी पत्रिकाका केही अंश नेपालीमा उल्था गर्न काका कहाँ आउँथे । यसरी आउने पत्रिकाको अनुवाद म ८ कक्षामा पढ्नेलाई अखबारमा चिनो लगाएर उल्था गरिराख भनि अह्राउनु हुन्थ्यो । आफूले जानेको गरिदिएपछि काकाले गहिरिएर हेरेर संशोधन गरी पठाइदिनुहुन्थ्यो ।
उपर्युक्त किसिमले काकाले दुई दशकसम्म ने.भा.प्र. समिति मार्फत् नेपाली भाषा साहित्यको सेवा गर्दै समितिको कामबाट फुर्सद भएको बेला उहाँले मौलिक र अनुवाद साहित्य रच्नु भयो । तत्कालीन नेपालमा नेपाली भाषामा लिखित पुस्तकहरूको नितान्त अभाव थियो । ने.भा.प्र. समिति, भाषानुवाद परिषद्बाट भौतिक अनुवाद साहित्य निस्कन थालेपछि काकाले महाकवि कालिदासको नाटक ‘अभिज्ञान शाकुन्तलम्’ को नेपालीभाषा गद्यमा अनुवाद गरी प्रकाशन गर्नुभयो र नेपाली भाषामा रसास्वादन गराउनुभयो । गद्यमा अनुवाद गरिएको यो नाटक पहिलो थियो । यसैगरी भारतका ख्यातनामा बङ्गाली कथा शिली शरतचन्द्रको केही कथाको अनुवाद गर्नुभयो । यो पनि नेपाली पाठकहरू निमित्त बङ्गला साहित्यको पहिलो कोसेली थियो । ग्रीस र रोमको दन्त्य कथाको अङ्ग्रेजी नजान्ने राणाकालीन नेपाली जनताको प्रथम पदार्पण पश्चिमी साहित्य, संस्कृति र सभ्यतामा गराउनुभयो भन्नु अत्युक्ति हुनेछैन ।
उहाँको ‘नेपालको भूगोल’ निजामती सेवामा जानेहरूको निमित्त से्रस्ता पाठशालामा अनिवार्य गराइयो । उहाँले नेपाली भाषामा सर्वप्रथम ‘हिसावको किताब’ लेखी प्रकाशमा ल्याउनुभयो ।
यसरी उहाँले साहित्यक, प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक फाँटमा साढे पाँच दशकसम्म अथक परिश्रम गरी नेपाली भाषाको तथा नेपालको लामो समयसम्म सेवा गर्नुभयो ।
शनिबार, गोरखापत्र
मंसीर २०, २०६६
