गजल
– प्रकाश सापकोटा
बृद्धदेखि बालक्सम्म भई भेला पनौतीमा
धुमधाम चल्दै होला मकरमेला पनौतीमा
लिलावती, पुण्यवती, रुद्रावती मिसिएको
त्रिवेणीमा पक्कै होला ठेलम्ठेला पनौतीमा
बेहुली–घर जन्ती पुगी रमझम भए जस्तो
उल्लासको ताँती होला यतिबेला पनौतीमा
बाह्र बर्षसम्म भेट नभएको बिलौना त्यो
साटासाट गर्दै होलान् गुरुचेला पनौतीमा
आफू मात्र अडिएको रहेछु यो मुग्लानमा
हराएको मन कस्ले खोजीदेला पनौतीमा
– बनेपा, काभ्रे (हालः दोहा, कतार)
