बलि चाहिए धर्तीमाता चढ्छु तिम्रो साटो
आफू भन्दा प्यारो रहेछ जन्मिएको माटो
जति टाढा उति गाढा तिम्रो मेरो नाता
सक्तिन म हेर्न तिम्रो आशु मेरी माता
सन्तानको काटमार हेर्छ्यौ कसो गरी
देखेको छु आमा तिम्रो आशु गहभरि
सक्दिन म पार्टी बिचको मारामारी रोक्न
न त सक्छु आफु एक्लै संबिधान लेख्न
कहाँ लान्छन सारथीले हाँकी तिमीलाई
भडखालामा हाल्ने हुनकी हामी नेपालीलाई
निको छैन गति मति डम्फु आफ्नै बज्दा
ठाने प्यारो पार्टी लाई जन्म भूमिभन्दा
देश भन्दा ठुलो ठाने आफूलाई किन
आउदैछ नजिक यिनको छाती पिट्ने दिन
देखी देखी यो दुर्दशा सकिन है छेक्न
भीरबाट हाम्फाल्दै छन् कसले सक्छ रोक्न
