सत्यसाइबाबाको नाम र उहाँको दैवी विशेषताको बखान सुन्दै आएको धेरै नै भए पनि दर्शन गर्न जाने अवसर मिलिरहेको थिएन । यसो योजना बनायो कुनै न कुनै अड्चन आई लागिहाल्थ्यो । श्रीमतीले कर गर्न थालेको पनि झण्डै पाँच-सात वर्ष नाघिसक्यो होला । तैपनि के नमिल्ने, के नमिल्ने हुँदै आएको थियो । यदाकदा बाबा आफैँले नबोलाई कसैलाई पनि जाने अवसर मिल्दैन भन्ने पनि सुन्नमा आएकाले चित्त बुझाउँदै आएको थिएँ । सायद यसपाली बाबाले आफैँले बोलाउनुभएछ कि यही गएको नवरात्रमा दर्शन गर्न जाने चाँजोपाँजो मिल्यो । चाँजोपाँजो मिलाउने काम भने छोरी शारदाले गरेकी हुन् । तीन महिनाअघि नै टिकटको व्यवस्था गर्नुपर्ने रहेछ, त्योसमेत उनैले नै गरिन् । भ्रमणदलमा तीन जना (श्रीमती सरस्वती र छोरी शारदासहित) थियौँ । र्फकंदा सिर्डी साइबाबाको धामको दर्शन गरी कासी विश्वनाथ हुँदै र्फकने गरी टिकट मिलाएका थियौँ ।
जाने निर्णय गरेपछि नयाँ ठाउँ, कसरी जाने, बाटामा कुनै आपत्विपत् आइलाग्ने पो हो कि भन्नेजस्ता चिन्ता पनि नलागेको होइन तर समर्पित भएपछि बाबाले आˆना भक्तहरूलाई कहाँ असहाय छोड्नुहुँदोरहेछ र । कुनै न कुनै पात्रमार्फत उपस्थिति जनाएर सहयोग गरिहाल्नुहुँदोरहेछ । हामी जान लागेको कुरो छोरी शारदाकी साथी कादम्बिनीमार्फत साईभक्त प्राध्यापक कोशराज न्यौपानेजीले थाहा पाउनु भएछ र आफैँले नै विशेष चासो राखी बोलाएर कहाँकहाँ जाने, कसरी जाने, कहाँ बस्ने समग्र कुराको जानकारी गराइदिनुभयो । उहाँमार्फत नै यहाँका साई केन्द्रहरूबाट सिफारिस लिएर गएमा बस्ने कोठा पाउन सजिलो पर्छ भन्ने जानकारी पाएकोले यसका लागि मित्र सागर अधिकारी (सामाखुसी केन्द्रका अध्यक्ष)लाई अनुरोध गरेँ । उहाँले अमर कार्की -अध्यक्ष सत्य साई केन्द्रीय परिषद् नक्साल)को नाम र फोन टिपाइदिनुभो । अमर साइरामले पनि कुरो सुन्नासाथ सहर्ष यति राम्रो सिफारिसपत्र बनाइदिनु भो कि जसलाई जिन्दगीभर नै बिर्सिन सक्ने छैन ।
गोरखपुरबाट हप्ताको दईं दिन सोमबार, शनिबार पुट्टपर्तिका लागि रेलसेवा रहेछ । सोमबार बिहान छुट्ने ट्रेन प्रशान्ति निलयमभन्दा केही पर’धर्मवरम’सम्म मात्र जाँदोरहेछ । शुक्रबार साँझ छुट्ने ट्रेनचाहिँ बाबाकै आश्रम नजिक बाबाले नै बनाउन लगाउनु भएको प्रशान्ति निलयम स्टेसनमै पुग्दोरहेछ । हाम्रो ट्रेन बिहानको भएकोले अघिल्लो दिन बेलुकै गोरखपुर पुग्यौँ र भोलिपल्ट असोज ६ गते बिहान बाबाको दर्शनका लागि प्रस्थान गर्यौँ ।
गोरखपुरबाट हिँडेको पर्सिपल्ट बिहान करिब आठ बजे बाबाको आश्रम पुगियो । ढोकाबाट भित्र छिर्नासाथ दसौँ हजार दर्शनार्थी एकैसाथ बस्न सक्ने भव्य साइकुलवन्तहलको दर्शन पाइयो । वास्तुशास्त्र र सज्जाको अनुपम नमुना नै रहेछ । मानौं, इन्द्रको दरबार नै यही हो कि जस्तो लाग्यो । प्रत्येक दिन बिहान र बेलुका गुञ्जिने वेदमन्त्र र भजनकीर्तनको दिव्यधुनले आकाश नै गुञ्जायमान हुँदोरहेछ । बाबाले भक्तहरूलाई यहीँ आएर दर्शन दिनुहुँदोरहेछ । पहिलेपहिले प्रवचन गर्ने, लिङ्गोद्भव गर्ने आदि दैवीलीला गर्ने गर्नुहुन्थ्यो रे । अहिले शारीरिक अशक्तताले विशेष अवस्थामाबाहेक त्यस्तो लीला गर्न छोड्नु भएछ तर हृविलचेयरमा भए पनि प्रायः दैनिक एकपटक आउन भने छोड्नु भएको रहेनछ । बाबाको आगमनपछि त्यहीँका विशिष्ट प्रोफेसर तथा विद्यार्थीहरूबाट प्रवचन हुँदोरहेछ । मन्दिर प्रवेश गर्ने लाइनमा बसेका भक्तहरूलाई देख्दा हामीलाई पनि लाइनमा बस्न मन नलागेको होइन तर तत्काल हामीलाई बस्ने स्थानको व्यवस्था गरी स्नानशौचबाट निवृत्त हुन बढी आवश्यक थियो । त्यसैले अकोमोडेसन अफिस खोज्नतिर लाग्यौँ । अफिस पत्ता लगाउनै झण्डै एकघण्टा लाग्यो । स्टाफहरूबाट राम्रो सेवा पाइयो । चार दिन बसाइको लागि पाँच सय रुपियाँमा तीनवटा बेड तथा अटेचबाथरुम भएको भव्य कोठा मिल्यो । त्यसपछि हामी नित्यकर्मबाट निवृत्त भई खानाको कुपन लिने लाइनतिर लाग्यौँ । कुपन लिनेदेखि खाने तथा दर्शन गर्ने सबै काममा महिला-पुरुषको छुट्टाछुट्टै लाइन हुँदोरहेछ । चियानास्ता रू. चार र खाना रू. छ मा प्राप्त हुँदोरहेछ । सत्ययुगै फर्केको जस्तो लाग्यो साईधाममा ।
नवरात्रको समय भएकाले संसारभरिका भक्तहरूको जमघट थियो । जनसागरले महाकुम्भकैरूप लिएको भान पर्दथ्यो । बाबाको धाम विश्वभरिकै हिन्दूहरूका निम्ति पवित्रस्थल त थियो नै बुद्धिष्ट, मुस्लिम र क्रिश्चियनहरूका निम्ति पनि त्यत्तिकै आस्थाका केन्द्र बनेको देखियो । सारी चोलोमा सजिएका गौराङ्गनाहरू पनि घण्टौँ लाइनमा बसेर वेदध्वनिमा मुग्ध हुने गर्दथे । पचासौँ हजार मानिस जम्मा भएका थिए तैपनि सबै अटेका छन्, सबैले खाएकै छन् । आश्चर्य छ- जतिसुकै शान्तिको रट लगाए पनि शान्त हुन नसक्ने त्यही मानवसमाज, त्यहाँ आफसेआफ शान्त हुन पुगेका छन् । कसैले केही भन्नै पर्दैन, आफूआफूमै अनुशासित छन् । न कतै फोहोर छ, न कतै हो हल्ला छ । न गाली गलौज, न घृणा र तिरस्कार । सेवा दलका हजारौँ सदस्य रातदिन खटेका छन् । प्रेमले बोलेका छन्, प्रेमपूर्ण व्यवहार गरेका छन् । कलियुगमा कतै सत्ययुग आएको छ भने यहीँ आएको छ र संसारमा कतै स्वर्ग छ भने यहीँ नै छ जस्तो लाग्यो ।
बोलीवचन र व्यवहार जति मीठा छन्, खाने चीजबीज त्यतिकै मीठा छन् । आश्रमको आˆनै गौशाला छ । आश्रमभित्रै अस्पताल र सुपथ मूल्यका सपिङ्ग सेण्टर छ । एयरपोर्ट र साई सुपर अस्पतालचाहिँ अलि पर पर्दोरहेछ, जहाँ संसारभरि असाध्य मानिएको रोगको समेत निःशुल्क उपचार हुने गर्दछ रे । बाबा हरेक दिन दिउँसो पाँच बजे मन्दिरमा आउनुहुन्थ्यो र साँझ सात बजे आरती लिई भक्तहरूलाई आशीर्वाद दिएर र्फकने गर्नुहुन्थ्यो ।
दईं डाँडोको कापमा रहेको पुट्टपर्ति पहिले मरुभूमि र विषालु सर्प तथा बिच्छीको वासस्थान थियो रे । तेलगु भाषामा पुट्टपर्तिको अर्थ सर्पको दुलैदुलो भएको स्थान भन्ने हुने रहेछ तर बाबाको उपस्थितिले त्यही स्थान अहिले स्वर्ग हुन पुगेको छ । संसारभरि नभएका चीज त्यहीँ छन् । अन्यत्र गाउँबाट आश्रममा सामान जाने गर्दछ तर त्यहाँ आश्रमबाट सत्यसाई ग्रामीण सेवाको नाममा गाउँमा सामान जाने रहेछ ! कहाँबाट जुटेका छन् ती साधन र स्रोत यो आश्चर्यकै कुरो हो । विशेष गरी बाबाले त्यहाँ पानी, शिक्षा र स्वास्थ्यको क्षेत्रमा बढी जोड दिनु भएको रहेछ । शिक्षाका निम्ति एउटा सिङ्गो विश्वविद्यालय नै खोलिएको छ जहाँ सुरुदेखि नै अनुशासन र नैतिक शिक्षाको पाठ पढाउने गरिन्छ भने पानीका निम्ति चित्रावती नदीको पानी सङ्कलन गरी विशिष्ट योजनामार्फत आपूर्ति गर्ने गरिएको छ । भारत सरकारबाट समेत सम्पन्न हुन नसकेको यो योजना बाबाको एक्लो प्रयासबाट सम्पन्न भएको रहेछ । समय कति चाँडो बित्यो पत्तै भएन । नचाहँदैनचाहँदै पनि पूर्वघोषित कार्यक्रमअनुसार चारौँ दिनको साँझ आठ बजे हामी प्रशान्ति निलयम रेलवे स्टेसनबाट महाराष्ट्रका लागि प्रस्थान गर्न बाध्य भयौँ ।
भोलिपल्ट दिउँसो दुईं बजे हामी कोपर गाउँ पुग्यौँ । कोपर गाउँबाट जनही रू. २५ मा अटोले हामीलाई सिर्डी पुर्याइदियो । महानवमी र विजयादशमीको दिन सिर्डी साईबाबाको क्रमशः जन्मदिन र समाधिको दिन भएकाले बढी भीड हुँदोरहेछ । सिर्डीमा समाधि मन्दिरबाहेक खासै दर्शनीयस्थल रहेनछ तर समाधि मन्दिर नै यति बढी आकर्षक छ कि छोडेर आउनै मन लाग्दैन । समाधि मन्दिरमा प्रवेश गर्ने चार ढोका छन् । आवश्यकतानुसार सबै खुल्ने गर्दछन् । समाधिस्थलको दर्शन पाउन तलमाथि गर्दै निकै द्वार कटेर जानुपर्दछ । नयाँ मानिस एक्लैदुक्लै पर्ने हो भने त छिचोलेर आउनै मुस्किल पर्दछ । साईप्रसादालय पनि त्यत्तिकै भव्य छ । एकैपटकमा झण्डै चार हजार मानिसले खान-बस्न सक्छन् । १२ वर्ष मुनिकाले रू. तीन र अन्यले रू. छ को कुपनमा भरपेट खान पाउँछन् । कुनै दिन त निःशुल्कै खुवाउने पनि गरिँदोरहेछ । एक रुपियाँ कप चियाको तारिफ जति गरे पनि कमै हुन्छ । सिर्डी गएपछि शनिसिंघनापुर पनि जाने गर्दारहेछन् । जुन ७५ किलोमिटरको दूरीमा पर्दछ । सिर्डीमा तीन दिन बसेपछि हामी बनारसतिर लाग्यौँ । ओहो ! बनारसको रूपै फेरिएको रहेछ पहिलेको जस्तो रहेनछ । जतासुकै फोहोर, नाली र दुर्गन्ध मात्रै । गङ्गा नदी हेर्यो, त्यत्तिकै विजोग । जे होस् टाढैबाट भए पनि गङ्गामातालाई श्रद्धा गर्यौँ र बाबा विश्वनाथको दर्शन गरी बसबाट गोरखपुर हुँदै स्वदेशको लागि प्रस्थान गर्यौँ ।
