रुवान्डा बसाइमा त्यहाँको जातीय युद्ध र रुवान्डीयनहरूको मृत्युको समाचारले मलाई पनि छोएको थियो । म निकै दुःखी भएको थिएँ । तर, म दुःखी हुनु र नहुनुको खासै अर्थ थिएन । रुवान्डाको राजधानी उत्रेपछि मलाई रुवान्डीयनहरूको दुःखमा केही गर्न नसके पनि सहानुभूति दर्शाउने इच्छा थियो । रुवान्डाको अवस्था आफ्नै आँखाले हेर्ने मन थियो ।
कस्तो होला जातीय हिंसाले थिलथिलिएको यो देश ? कस्तो होला त्यति विधि मान्छेहरू मारिएको देशको सामाजिक सद्भाव ? सायद चिहानै चिहान होलान् कतिपय जमिनहरू । अझै पुतपुताइरहेको होला हिंसाको नमीठो धूवाँ । यिनै अनुमानहरू खेलिरहेका थिए मनमा ।
मनभरि जिज्ञासाको भारी बोकी बिहानै निस्क्यौँ किगाली सहर घुम्न प्रेम मल्ल दाजु र म । अघिल्लो दिन अँध्यारोमा आइपुगेको हुनाले किगालीलाई राम्रोसँग हेर्ने मौका मिलेको थिएन । बिहानीको कलिलो घाममा किगाली सहर नयाँ बेहुलीजस्तै सफा र सुन्दर देखिन्थ्यो । चारैतिर रहेको डाँडाको खोँच र पाखामा समेत विस्तार भएको किगाली सहरको सुन्दरताले सिक्किम र दार्जीलिङको सम्झना गराइरहेको थियो । गर्मीको कुनै प्रभाव थिएन ।
बिहान ८ देखि दिउँसोको ४ बजेसम्म किगाली सहर भ्रमण गर्न किगाली ट्राभल्समा २०/२० डलर तिरेर आफ्नो सिट सुरक्षित गर्यौँ । ठीक ८ बजे सहर भ्रमणका लागि भ्यानमा चढ्यौँ । हामीसँगै भ्यानमा चार जना फ्रेन्च र तीन जना अफ्रिकी मूलका नागरकिहरू पनि थिए । नचिनेको हुनाले खासै संवाद पनि भएन । केही बेरमा नै किगालीको सेन्टरबाट भ्यान यात्रामा निस्क्यो । ड्राइभरको सिटपछाडि हामीतर्फ फर्किएर सहरका बारेमा भट्याउन थाल्यो गाइड ।
म आँखाले किगालीको सुन्दरता नाप्न व्यस्त रहेँ । सडकमा एउटा सानो ढुंगाको टुक्रासमेत थिएन । कुनै प्लास्टिकका टुक्रा र कागजको खोस्टोसमेत थिएन । म अचम्म परेको थिएँ । अफ्रिकाको सहर पनि यति सफा ? कसरी भए यहाँका मानिसहरू यतिबिघ्न चेतनशील र वातावरणप्रेमी ? बाटोका दायाँबायाँ रहेका फुटपाथ पनि कति सफा । सडकका बीच भागमा लहरै रोपिएका विभिन्न जातका सानासाना रुखहरू । सडकको छेउछाउमा रहेका लहरै हरयिा रूखहरू, दोबाटो चौबाटोमा रहेका ठूलाठूला आइल्यान्डहरूमा हरयिा बिरुवा र विभिन्न जातका फूलहरूले ढपक्कै ढाकेको । सवारी साधन र यात्रु दुवैमा कति उच्च ट्राफिक अनुशासन । एकैछिन त म रन्थनिएँ । मलाई युरोपको कुनै सहर डुलेभन्दा फरक लागेन । खालि मान्छेको रङ फरक थियो । उता गोराहरू थिए, यता कालाहरू छन् । तर, कालाहरूको परश्रिम, त्याग र अनुशासनले बनेको यो सहरले विश्वका सबै सहरलाई चुनौती दिइरहेको थियो, एउटा स्वच्छ र सफा वातावरणका लागि । एउटा सभ्य र सुरक्षित गन्तव्यका रूपमा । म काठमाडौँबासीका रूपमा आफैँले आफैँलाई लोप्पा खुवाइरहेको थिएँ ।
रुवान्डाको स्थिति देखेर म आश्चर्यचकित भइरहेको थिएँ । १२ वर्षअगाडि हरेक दिन मृत्यु र भोकमरीको समाचार भएर आउने रुवान्डामा यति तीव्र विकास कसरी सम्भव भयो ? यसभन्दा ठूलो चमत्कार अरू के हुनसक्छ ? ९० लाख जनसंख्या रहेको रुवान्डामा १३ लाखभन्दा बढी मानिस गृहयुद्धमा मरेका थिए । युद्धबाट प्रभावित नभएको त्यस्तो कुनै गाउँ थिएन । मान्छे नमरेको कुनै परविार थिएन । हरेक मानिसको अनुहारमा मृत्युको छायाँ त्रास बनेर बसेको हुन्थ्यो तर यतिखेर ती काला अनुहारमा खुसीको रङ भरिएको छ । शान्तिको किरण झुल्किएको छ । कहिल्यै नबल्झिने गरी निको भएजस्तो छ युद्धको त्यो घाउ । मलाई रुवान्डाको स्थितिदेखि बिघ्न खुसी लाग्यो । मैले मनमनै भगवान्लाई पुकारेँ । अब कहिल्यै नबल्झियोस् त्यो घाउ !
भ्यान गएर किगाली मेमोरयिलको अगाडि रोकियो । गाइड झरेर अघिअघि लाग्यो । मेमोरयिल भवनदेखि सय मिटर वरै रहेछ मुख्य प्रवेशद्वार । सुरक्षा जाँचपछि हामी लाग्यौँ मेमोरयिल भवनतर्फ ।
रुवान्डाका बारेमा हरेक कुरा जान्ने जिज्ञासाको गोलो थियो मनभित्र । के के सोध्ने भनेर आतुर थिएँ म । तिनै जिज्ञासाको उत्तर पाउने आशाले म गाइडसँगसँगै अगाडि बढेँ ।
“तपाईं हुतु कि तुत्सी ?” मेरो मुखबाट फुत्त निस्किहाल्यो पहिलो प्रश्न । मेरो प्रश्नले गाइड असमञ्जसमा परे । मलाई पनि किन प्रश्न गरेछु जस्तो लाग्यो ।
“सर ! हाम्रो रुवान्डामा अहिले कोही हुतु र तुत्सीहरू छैनन् । केवल रुवान्डीयन मात्र छन् । आफ्नै दाजुभाइमा फाटो ल्याई रक्तपातमा उत्रेर देशलाई नै तहसनहस पार्ने जातका परचियहरू छैनन्, हामीसँग । यहाँ कसैले पनि आफूलाई हुतु वा तुत्सी भनेर चिनाउन पाउँदैनन् । यो सरकार र नागरकि समाजका तर्फबाट जारी गरिएको नैतिक आदेश हो,” उसले मुस्कुराउँदै मेरो उत्तर दियो ।
उसको कुराले मैले भित्रभित्रै उसको देशको सरकार र सम्पूर्ण नागरकिहरूप्रति आभार व्यक्त गरेँ । गृहयुद्धको चपेटामा परेर चेत खुलेको रुवान्डाले यो १० वर्षमा सबै एक जाति र सबैको जात रुवान्डीयन हो भन्ने भावनाले गर्दा विकासको खुड्किलो उक्लिन सफल भएको रहेछ भन्ने लाग्यो ।
किगालीका लागि सबैभन्दा ठूलो आकर्षणको केन्द्र रहेछ किगाली मेमोरयिल । भिरालो भिरालो जग्ग्ाामा अत्यन्त सुन्दर ढंगले बनाइएको यो किगाली ममोरयिल रुवान्डाको गृहयुद्धको एउटा दस्तावेजजस्तै रहेछ । युद्धसँग सम्बद्ध सबै पक्षहरूलाई संग्रह गरेर राखिएको रहेछ ।
जब मेमोरयिलभित्र प्रवेश गर्ने क्रममा फोटो खिँच्न नपाइने सूचना दिइयो, म झनै उत्सुक बनेँ । मैले जे हेर्नु थियो, अघाउञ्जेल हेर्नुपर्ने भयो । पछिसम्म सम्झने गरी हेर्नुपर्ने भयो । किनभने, निस्केपछि त्यहाँभित्रका केही पनि हुने छैनन् हेर्न र देखाउनका लागि । मात्र मेरो सम्झनामा रहनेछ किगाली मेमोरयिल ।
भित्र पस्नासाथै सुरु भयो युद्धको बीभत्स स्वरूपको सिलसिला । युद्धका क्रममा भएका क्रूरतम घटनाहरूको सदृश्य बथानहरू संग्रहित गरिएको रहेछ । कतिपय फोटो हेर्दा आङ जिरङि्ग भएर आउँथ्यो । युद्धका समयमा खिचिएका श्रव्यदृश्यहरू पनि ठाउँठाउँमा स्क्रिनबाट प्रसारण भइरहेको थियो । मानिसका खप्पर र हड्डीहरू पनि संग्रह गरिएको रहेछ । युद्धका विविध पक्षहरूलाई छुट्टाछुट्टै ब्लकमा व्यवस्थित ढंगले राखिएको रहेछ । जताततै भित्तामा ठूलठूला युद्धसम्बन्धी फोटाहरू टाँसिएका थिए । हरेक फोटोमा युद्धको विध्वंस र मानवीय क्रूरताको पराकाष्ठा देखिएको थियो । गृहयुद्ध कति भयानक र अकल्पनीय हुँदो रहेछ । फोटा र संग्रहित सामग्रीहरू आफैं बोलिरहेका थिए युद्धका पीडाहरू ।
जातीय युद्धको चपेटमा परी छियाछिया भएका ती अनुहारहरूमा म मेरो देशको भविष्य पढिरहेको थिएँ । सायद जातीय राज्य खोज्नेहरूको अन्त्य यहाँभन्दा दर्दनाक अरू कस्तो होला र ! जातीय हिंसाको परिणामको त्यो पराकाष्ठालाई मेरो देशका सबै नेताहरूलाई एकपटक देखाउन मन लागिरहेको थियो । जातीयता, क्षेत्रीयता र धर्मान्धताले विश्वमा बनाएका ठूलठूला खाडलहरूलाई पुरेर अगाडि बढ्नुपर्ने वर्तमान विश्वको अनिवार्य आवश्यकतालाई लत्याउँदै स्वतन्त्रता र स्वायत्तताको नाममा जातीय राज्यहरूको ढोल पिट्दै हिँड्ने मेरो देशका अगुवाहरूलाई एकपटक रुवान्डा घुमाउन मन लागेको थियो । मानवीय संवेदना गुमाउँदै गएको मेरो देशको वर्तमानदेखि म अत्यन्तै चिन्तित भइरहेको थिएँ । मेरो मस्तिष्कमा रगतमा डुबेको मेरो देश र आँसुको बाढीमा बगेका मेरा देशका मान्छेहरूको चित्र नाचिरहेको थियो । फगत मेरो चिन्ताको कुनै अर्थ थिएन त्यहाँ । मेरो संवेदनाको कुनै मूल्य थिएन त्यहाँ ।
कोठाकोठा बाँडेर प्रत्येक कोठामा युद्धका छुट्टाछुट्टै अवशेषहरू संरक्षण गरेर राखिएको यो किगाली मेमोरयिल अवलोकन गर्ने क्रममा धेरैपटक रसाए मेरा आँखाहरू । मान्छेका खप्पर र नली हाडहरू खातमाथि खात लगाएर राखिएको थियो । हरेक खप्परहरूमा मजस्तै मान्छे देखिरहेको थिएँ । वास्तवमा कुनै दिन मजस्तै मान्छे थिए ती खप्परहरू । तर, यतिखेर ती खप्परहरूको कुनै परचिय थिएन । कुन आफन्तको हो र कुन पराइको हो, पत्ता लगाउन असम्भव थियो । म खप्परहरूको माझ हराइरहेको थिएँ । हरेक खप्परहरूले मसँग कुरा गर्न खोजेजस्तो लागिरहेको थियो । मलाई ती प्रत्येक निर्जीव खप्परहरूले सचेत गराइरहेको महसुस भइरहेको थियो । अनायासै मेरो कानमा अचानक खप्परहरूको सामूहिक स्वर गुञ्जिन थाल्यो । सबैको एकै स्वर थियो, “ए नेपाली ! सक्छौ भने तिम्रो देशलाई बचाएर राख, हाम्रो जस्तै नियति भोग्नबाट बचाऊ, आखिर हाम्रो यो खप्पर र हड्डीहरूमा कुन जात देखेका छौ तिमीले, मरेपछि कुनै जात हुँदो रहेनछ, यी खप्परहरूमा हामी हुतुहरू पनि छौँ, तुत्सीहरू पनि छौँ । निर्जीव भएर बसेपछि कुनै झगडा हुँदो रहेनछ । अफसोच ! हामीलाई जिउँदो हुँदा यस्तो चेतना कहिल्यै भएन ।”
म झस्किएँ । तुरुन्तै म तन्द्राबाट ब्यूँझिएँ । अगाडि प्रेम दाजु अवलोकनमा व्यस्त हुनुहुन्थ्यो, निर्जीव खप्परहरू खचाखच थिए र्याकहरूमा । म हरेक खप्परलाई नजिकैबाट नियालिरहेको थिएँ । आँखिर कुनै पनि खप्परहरू एकअर्कादेखि भिन्न थिएनन् । आकारमा सानाठूला भए पनि एकै बनोटका थिए सबै ।
कतिपय खप्परहरूमा गोली लागेका प्वालहरू प्रस्टै देखिन्थे । ती खप्परहरूसँगै मेरो मानसपटलमा हजारौँ मृत्युहरू नाचिरहेका थिए । म मृत्युको बीभत्स कल्पनाले त्रस्त भइरहेको थिएँ । मृत्युको त्रासैत्रासले भरिएको त्यो मेमोरयिलको अझै अवलोकन गर्ने इच्छाशक्ति हराउँदै गएकाले म निस्कने बाटो खोज्दै बाहिरतर्फ बढेँ ।
बाहिर निस्कने क्रममा ढोकानजिकै रहेको कोठाका फोटाहरूमा गएर मेरा आँखा टक्क अडिए । जुन कोठामा मृतक बालबच्चाहरूको स्मृतिका लागि उनीहरूका नातेदारहरूबाट प्राप्त फोटाहरू र मृतकसम्बन्धी विविध जानकारी संग्रहित गरिएको रहेछ ।
सानासाना नानीहरूका ती अबोध फोटाहरू देखेपछि मभित्रको संवेदनाको बाँध भत्कियो र अहिलेसम्म बल्लतल्ल रोकेर राखेको आँसुको बाढी आँखाबाट ह्वालह्वाल्ती बग्न थाल्यो । ती निर्दोष अनुहारहरूमा मैले मेरो देशका नानीहरूको छायाँ देखिरहेको थिएँ । बाँच्न सफल भएकाहरूले आफ्ना बच्चाहरूका बारेमा लेखिएका उद्गारहरूले मन झनै विक्षिप्त बनायो । म अब अरू हेर्न र पढ्न सक्ने अवस्थामा थिइनँ । म त्यहाँबाट निस्केर बाहिरपट्टकिो बेन्चीमा गएर थ्याच्च बसेँ । मेरो मस्तिष्कमा ती अवोध बालकहरूको अनुहार घुमिरहेको थियो । मैले जतिसुकै बिर्सने प्रयास गर्दा पनि त्यो युद्धको आगोले धेरैबेर लपेटिरह्यो मलाई । मलाई पूर्वावस्थामा आउन हम्मेहम्मे पर्यो धेरै बेरसम्म ।
सबै साथीहरू निस्कन केही बेर लाग्यो । म बाहिर बेन्चीमा नै बसिरहेँ । सबै आइसकेपछि फेरि सुरु भयो हाम्रो यात्रा । दाजु प्रेम मल्ल पनि अत्यन्त गम्भीर मुद्रामा बाहिर निस्कनुभयो । त्यहाँ हामी हाँस्न सकिरहेका थिएनौँ । मान्छे जहाँको मरे पनि पीडा उत्तिकै हुँदो रहेछ क्यार ! नत्र ती कालाहरूको मृत्युमा हामी त्यति विधि दुःखी हुनुपर्ने पक्कै थिएन । आफ्नाको मृत्युमा झन् कति पीडा हुन्छ होला मान्छेलाई ? आफ्नै आँखाअगाडि आफन्तहरूको मृत्युको क्षण कस्तो भयानक हुन्छ होला ? कल्पनाले मात्र पनि थरथर काप्न थाल्छ मेरो मुटु ।
दिनभरको यात्रामा अधिकांश समय जेनोसाइड सेन्टर र मान्छेका हाडखोर संकलन गरेर राखिएका स्थानहरूको अवलोकन नै प्रथम प्राथमिकताका विषय बने । किगालीको हरयिाली र सुन्दरताभित्र लुकेर बसेको नरसंहारको कुरूप इतिहास किगालीको सौन्दर्यमा ठूलो कलंक बनेर रहेको थियो । किगालीको वर्तमान स्वरूप र बढ्दो सद्भावलाई देख्दा पत्याउनै गाह्रो हुन्थ्यो कुनै दिन यिनै रुवान्डीयनहरू एकअर्काको रगतको खोलो बगाउन आतुर थिए । एकअर्काको विनाशमा आफ्नो समुदायको उत्थान देख्नेहरू अहिले आएर विगतका गल्तीहरू महसुस गरी हातेमालो गर्दै हिँड्ने तरखरमा छन् । अहिले किगालीमा देखिएको सामाजिक सद्भाव र राष्ट्रिय भावना साँच्चै नै हृदयबाट नै निस्केको हो भने रुवान्डीयन गृहयुद्धलाई त्यतिविधि नकारात्मक रूपले नहेर्दा पनि हुन्छ । तर, यो अवस्था केवल प्राविधिक र शक्तिको भरमा मात्र अडेको हो भने फेरि पनि रुवान्डामा जातीय हिंसाको डढेलो नसल्केला भन्न सकिन्न । तैपनि, म रुवान्डाको शान्तिका लागि प्रार्थना गर्छु । अब यो खुसी नहराओस्, ती काला र प्यारा अनुहारहरूबाट । तर, विगतमा जति नै हिंसाको अग्निपथबाट गुज्रे पनि, जतिसुकै विध्वंसको आगोमा डढे पनि, जस्तोसुकै रगतको जँघार तर्नु परे पनि यतिखेरको किगाली सहरमा विगतको झीनो अवशेष पनि भेट्न सकिन्न ।
काला अनुहारहरूमा खुसीको घाम उदाएको प्रस्ट देख्न सकिन्छ । सहरजस्तै किगाालीबासीहरूको मन पनि सफा रहेको कुरा उनीहरूको आतिथ्यबाट झल्किरहन्छ । मनमा जतिसुकै गह्रुँगो पूर्वकथा बोकेर रुवान्डा गए पनि, रुवान्डाको भूमिमा टेकेपछि, किगालीलाई एकफन्को मारेपछि, जो कसैले पनि भन्नैपर्छ, वाह ! क्या बात किगाली ।
मलाई किगालीको त्यो हरयिो डाँडा र भरलिा पाखाहरूमा मादल घन्काउन मन लागेको थियो । रातभरि रोदी गाउन मन लागेको थियो ।
नेपाल साप्ताहिक ३८५
