वसन्तको आगमन सङ्केत, विद्याकी खानी, श्रम, सीप र उद्यमशीलताकी स्रोत सरस्वतीको जन्मजयन्तीको पावन अवसर एवं पर्व हो श्रीपञ्चमी अर्थात् वसन्तपञ्चमी ! माघ शुक्लपञ्चमी !!
संसारका सर्जक ब्रहृमाको मुखबाट उदय भएकी महासरस्वती सम्पूर्ण प्राणीहरूकी वाग्देवी अर्थात् वाणीकी देवी हुन् । राजहंसवाहन भएकी देवीका चार हातमध्ये एउटामा वीणा, एउटामा स्फटिकको माला, अर्कोमा पुस्तक र अभय मुद्रा रहेका छन् । सेतो वस्त्रले सजिएकी हरदम मुस्कुराइरहन्छिन् र सम्पूर्ण मानवजातिलाई मन्द मुस्कानका लागि प्रेरित गर्छिन् । भारती, सरस्वती, शारदा, जगत्माता, वागीश्वरी, कौमारी, वरदायिनी, कामधेनु आदि हजारौँ नाम भएकी देवीको ‘सरस्वती कवच्’ को मन्त्रबाट व्यास, वाल्मीकि, याज्ञावल्क्य, कणाद, पाणिनी आदिदेखि शङ्कराचार्य र सन्तुलसीदाससम्मले सिद्धि प्राप्त गरे । आवश्यकताअनुरूप संहारका बेला महाकाली रूप धारण गर्ने र जीवदेखि जगत्सम्मको सञ्चालनमा महालक्ष्मी रूप धारण गर्ने देवी सिर्जनाका बखत महासरस्वतीको रूपमा सर्वत्र विराजमान हुन्छिन् ।
स्वर, सङ्गीत, ताल, लयकी स्रोत सारेगम पधनिसादेखि नृत्यकला, कार्यकुशलता, ज्ञानको भण्डार, वास्तुकला, शिल्पी, प्रविधि, हातको सीप, वाणीको माधुर्य, गला र कलाको आकर्षणको केन्द्र र निरन्तर साधनाबाट साध्य प्राप्तिमा प्रेरित गर्ने सरस्वतीका विभिन्न साधना र पूजाका विधान छन् । बौद्धधर्मीहरूले उनैलाई मञ्जुश्रीका नामले चिन्दछन् भने उनका विभिन्न स्वरूपका चिन्तन गर्दै बालबालिका अक्षरम्भ गर्छन् भने बुद्धिजीवीहरू विशेषज्ञता प्राप्त गर्ने प्रयास गर्छन् । वाहन राजहंसले दूध र पानीलाई सहजै छुट्याउन सकेझैँ ठीक वा बेठिकको सही पहिचानको ज्ञान, बुद्धि, संयम र विवेक प्रदायिनी देवी सरस्वतीको कृपा प्रसादबाटै मानव मस्तिष्कको अथाह ज्ञान प्रयोग गर्दै आजको संसार विज्ञानमय बनेको छ र सर्वसुलभ सुविधा प्राप्त गरेको छ ।
संस्कार, सभ्यता र संस्कृतिकी स्रोत महादेवी सरस्वती जयन्तीका दिन नाक, कान, छेड्नेदेखि अन्य उद्यमशीलताका कार्यहरू आरम्भ गर्दा कुनै साइत जुराउनु पर्दैन । विद्यार्थीहरू घरै बसेर पनि सरस्वती साधना गर्छन् भने विद्यालय, महाविद्यालय वा आफ्ना पराक्रम स्थलहरूमा वा मन्दिर विशेषमा उनको उपासना गर्ने गर्छन् । धातु या मूर्तिमा वा प्रतिमा या उनका चित्र अङ्कति फोटोहरू सजाएर आफ्नो साधनालाई निरन्तरता दिने सन्दर्भमा साधकहरू देवीलाई मनपर्ने दही, दूध, घ्यू, मह, चिनी, नैवेद्यहरू, फलफूल, मिठाइ, कपुर, वस्त्र, भेटी, चन्दन, अगरु, शफ्, बेल, मूला, लड्डु नरिवल आदि अर्पण गर्ने गर्छन् ।
उत्साह, लगनशीलता र अथक प्रयासलाई नै सफलताको प्रेरक मान्ने देवी विद्याकी खानी नै हुन् । सबैभन्दा उत्तम धन भनेको विद्या नै हो जसका धेरै प्रकार छन् । जसमध्ये चार वेद, चार उपवेद, सयौँ वेदाङ्गहरू, शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द, ज्योतिष, मीमांसा, न्याय, धर्मशास्त्र, अठार पुराण, अठार उपपुराण, पञ्चमवेद, महाभारत, आयुर्वेद, धनुर्वेद, गान्धर्व वेद, स्थापत्यवेद -वास्तुशास्त्र) र अर्थशास्त्र प्रमुख छन् । विद्या प्रकाश हो, अविद्या अँध्यारो ! अज्ञानताको पर्दा नउघारी भक्तिको उदय सम्भव हुन्न, भक्तिमा ज्ञान र वैराग्यको क्षमता हुन्छ । भक्ति र शक्तिको सङ्गम भए विद्या विज्ञान बन्न पुग्छ र यसको सदुपयोग हुन्छ । विद्याहीन व्यक्ति भाग्यबाट पनि टाढा रहन्छ । नैतिकता, लज्जा, त्याग, सेवा र समर्पण भाव नै विद्याका गहनाहरू हुन् ।
सरस्वतीका प्रसिद्ध पीठहरूमध्ये काठमाडौँ उपत्यकामा जयवागीश्वरी, स्वयम्भूमा मञ्जुश्री, हाँडीगाउँ, बल्खु, गैह्रीधारा, भक्तपुरको चाँगु र हनुमानघाटको नीलसरस्वती, ललितपुरको लेलेस्थित सरस्वती मन्दिरहरूमा सरस्वती जयन्तीका दिन विशेष भीड लाग्ने गर्दछ । तराई क्षेत्रमा माटाका सरस्वती मूर्ति बनाई पूजा गर्ने चलन छ । मूर्तिमा प्राण प्रतिष्ठा गरी धूमधाम पूजा र बाजागाजा गरी जलाशयमा बिसर्जन गर्ने चलन देखिन्छ । सरस्वतीको सेवाले व्यक्ति सफल त हुन्छ नै, हामीले सफलताका साथ असल हुन पनि सिक्नुपर्ने हुन्छ ।
श्रीपञ्चमीका दिन कामदेव र रतिको पनि पूजा गरिन्छ । वसन्तका प्रतीक कामदेव र उनकी स्त्री रतिको विशेष स्मरण गर्ने दिन वसन्तको आगमन उत्सव वसन्तराग गाउने पनि चलन रहेको छ । जीवनलाई शृङ्गारिक बनाउन वसन्त रागले प्रेरणा दिन्छ । काव्यविनोदी, स्रष्टा, सर्जक, साहित्य, कलाका साधकहरूका लागि वसन्तराग साधनाको स्रोत नै हो । कला र गलाका पारखीहरूका लागि सरस्वती साधना गर्ने प्रमुख दिन श्रीपञ्चमी भनौँ वसन्त पञ्चमी नै हो ।
