Skip to content


राजधानीको पाँचतारे होटलमा चल्दै थियो भव्य सेमिनार
ऊ र म दुवै सहभागी
ऊ धुरीको पदमा विराजमान/म धूलोबाट उठेको अञ्जान
उसले सुरु गर्यो/शान्तिको श्वास फेर्दैछ गाउँ
मैले सुरु गरें/अझै अशान्त छ गाउँ
उसले थप्यो/सभ्यतातर्फ दौडियो गाउँ
मेरो प्रतिवाद/उपभोक्ता संस्कृतिले आक्रान्त हुँदैछ गाउँ ।
ऊ बोल्दै थियो लगातार
मैले खण्डन गरेँ निरन्तर
फरक यति थियो-
ऊ सेमिनार अनुकूल शौखिन सत्य बोल्दै थियो
म सेमिनार प्रतिकूल रुखो सत्य खोल्दै थिएँ ।
हठात् यसरी उठे सेमिनारका सम्पूर्ण साक्षीहरू
मानौँ त्यहाँ डँडेलो लाग्नेवाला छ तत्कालै ।
जाइलागे ममाथि दर्जनौं सशङ्कीत आँखाहरू
यसो निहाले आफैँलाई
र हेरें चारैतिरको राजशी ठाँटबाँट
“निम्नकोटि”को पहिरन अनि आत्मस्वाभिमानमा उभिएको म बागी
महँगा टाइसुटहरूको हाँस बथानभित्र ‘बकुल्ला’ कराइरहेछु
घोर अल्पमतबोधले थच्चिएर
अकारण गलहत्याइएँ सेमिनार हलबाट
थकित भएँ सत्यको सिसिफस आरोहणबाट
सम्झनुस् त्यसलाई कुनै अभिजात्य पार्टीको सेमिनार
अथवा सम्झन स्वतन्त्र हुनुहुन्छ
कुनै उत्ताउलो गैरसरकारी संस्थाको सेमिनार
के सेमिनारहरू क्यानभासमा पोतिएका सम्पन्न व्यापारीका पोट्रेटहरू हुन् ?
बहिगर्मनपछि मनभित्र चले दुई अनुत्तरित प्रश्नका हुरीहरू
के हाम्रो घरेलु लोकतन्त्रमा
साँचो बोल्नु अशिष्टता हो ?
अर्थात् झूटो बोल्नु विशिष्टता हो ?

-निजगढ-२, बारा

1 thought on “अनुत्तरित प्रश्न”

Leave a Reply

Your email address will not be published. Required fields are marked *