Skip to content

अन्तिम कोशेली गिरिजालाई

  • by


एउटा हस्ती अनि
राजनीतिक धरोहरको
समापन …….
आखिर पेवा न हो मृत्यु
कहाँ रोक्न र छेक्न
सक्थ्यो र? सम्बेदना र
मायाका पर्खालहरूले
त्यसैले उ निभेछ
राजनीतिक आकाशबाट  
तर निभ्ने छैनन्
उस्का समर्पण र उदेश्यहरू ।
हो मृत्यु अवश्यम्भावी छ
चाहे जो, जेसुकै होस्
कालले उसलाई
पर्खिरहेकै हुन्छ
त्यसैले ………
आफ्ना लक्ष, उदेश्यलाई 
थाती राखेर पनि
धर्तीलाई बिदा माग्नैपर्छ
संसारकै नियम सम्झी ।
हो….. मान्छे हो,
जीवनभर कोशिश र संघर्षमा
जीवनलाई उप्केरा दिँदै
फलाउन फुलाउन चाहन्छ
कत्ति कोशिश फल बनेर झाँगिन्छन
कत्ति प्रयास तुषारोले
कुहाइदिन्छन्,
त र पनि नहार्नुको
एउटा ईतिहास लेखेर
मृत्यु रोज्नु मान्छेको
महानता र शाहस हो
हो यही शाहसको एउटा
पर्याय हो  गिरिजा
जस्ले जस, अप्जसका
ढाकरहरू बोकेर पनि
आफुलाई थकित नमान्नुको
एउटा बहादुर भरिया
साबित गरेको थियो।
प्रौढताको सिमालाई पनि
तरुणपनको जलप लगाएर
नव जोश, जाँगरको
पहिचान दिएको थियो
सलाम छ त्यो
अडिग बिस्वाशलाई
अनि प्रणाम छ त्यो
शाहसिक कदमलाई ।
शरीर माटो बन्न सक्छ
बन्ने छैनन् उस्का
समर्पणका चेतनाहरू
सधैंभरी हर नेपालीका छातीमा
दुख्नेछन उसका
अभावका बेदनाहरू ।
सुत चीर निद्रामा तिमी
त र पनि ब्युँझनेछन
तिम्रा हर समर्पित भावनाहरू
दिन्छौं  यही बिदाइका शब्दहरू
श्रदान्जली ठानी अन्तिम
कोशेलीहरू ।

(रचना -३।१९।२०१० समय ४ बजे बिहान )

Leave a Reply

Your email address will not be published. Required fields are marked *