Skip to content


जुन दिन म बुद्ध एअरको विमान चढेर आकाशमा केही हजार फीटमाथि मात्र उडेको थिएँ, त्यो क्षण मलाई परम सूक्ष्मताको बोध भयो । मान्छे बिशाल, महान र शक्तिशाली प्राणी हो भन्ने अहम् बिस्तारै धुलिसात हुँदैगयो । जब आकासबाट धर्तितिर हेरेँ, मान्छे घ्यू कमिलाजत्रो देखेँ, खेतमा जोतिरहेका गोरुहरूलाई ढ्याङ्ग्रे कमिला जत्रो देखेँ, सडकमा गुडिरहेका मोटरगाडीलाई बन साङ्ला जत्रो देखेँ । त्यो क्षण मैले माथिबाटै हात्ती देखेको भए ठुलो मुसो अथवा बिरालो भन्दा ठूलो देख्ने थिइनँ होला; त्यस घडीबाट म पृथ्वीको कति सानो प्राणी रहेछु, आफ्नो आकार को सूक्ष्मता बोध भयो । यो चराचर बिश्वब्रह्माण्डमा पृथ्वी स्वंय फुच्चे एउटा कमिलो जत्रो छ । यो कमिले पृथ्वीको कमिलो जस्तो सूक्ष्म प्राणी म, अनि म भन्दा सूक्ष्म भनुँ न चरा मुसा अझ त्यो भन्दा साना उडुस, उपियाँ, जुम्रा, त्यसभन्दा पनि साना एक कोशीय जीवहरू प्यारामेसियम, ब्याक्टेरिया, अमिवाहरूको जाति, संख्या र प्रकार नै लाखांै करोडौं पुग्छ होला । यति विविधतापूर्ण र रहस्यमयी जीवसंसारमा म कुन हिसाबले कहाँ नेर उच्चतम प्राणी हुँ ? त्यसलाई पुष्टि गर्न धक लागेको छ ।

भर्खरै खगोल शास्त्री बैज्ञानिकहरूले अन्तरिक्षमा बिद्यमान ब्ल्याक होलको बारेमा नयाँ सूचना र जानकारीहरू प्रकाशमा ल्याएका छन् । अन्तरिक्षमा ब्ल्याक होल पिँध नभएको ठाडो अनन्त असीम कालो सन्दुली जहाँ ग्रह, तारा र अन्य कुनै पनि भीमकाय भन्दा भिमकाय खगोलीय पिण्डहरू लगायत त्यस ठाउँमा प्रकाश समेत हराउछ वा बिलीन हुन्छ । थुप्रै संख्याको रुपमा रहेको ब्ल्याकहोलमध्य एउटा ब्ल्याक होलले मात्र ३० करोड सुर्यहरू निलिसकेको छ रे । यो कुरा पढ्दामात्र मेरो आङ्ग सिरिङ्ग बन्यो । तर बैज्ञानिकहरूले तीस करोड सुर्यहरू निलेको कुरा करिब दशकरोड बर्ष अगाडिको घट्ना हो भनेर ठोकुवा गरेका छन् । भयंकर त्रासदिको कुरा के छ भने हालसालै मात्र बैज्ञानिकहरूले तीनसय सुर्य निलेको कुरा त प्रत्यक्ष रुपले अवलोकन र दृश्यपान गरे । म आफ्नो आँगन बारेर आगँनमाथिको सीमित आकाश, एउटा सूर्य, एउटा चन्द्र र केही ताराहरूलाई संसार ठानेर बाँचेको मानिस सूर्य नै करौडौंको संख्यामा ब्रह्माण्डभरि बिन्यस्त भएको कुराले थप आश्चर्य र कुतुहलतामा हेलिएको छु । सुर्य नै यति ठूलो संख्यामा छन् भने म बसे जस्ता पृथ्वीहरू, मैले कबिताको बिम्ब बनाउने चन्द्रमाहरू कति होलान् अनुमान गर्न गारो छ । यस कुराले त म दिनप्रतिदिन झन् सानो झन् सानो हुँदै गएको छु ।

ब्रह्माण्डीय गतिबिधि र हलचलको बारेमा त मलाई पित्को थाहा छैन । पृथ्वी आफ्नो अक्ष र कक्षमा दुई तरिकाले घुमिरहेको छ भनेर उहिले नै भूगोलमा पढेको हुँ । तर पृथ्वी घुमेको कुरा, पृथ्वीको टाउकोमा छु र पनि थाहा पाउदिन । मेरो चैतन्यको सूक्ष्म संबेदनाले त्यसलाई अनुभूत गर्न सक्दैन । मेरा नानीहरू मलाई सोध्छन्, पृथ्वी घुम्छ भन्छन् हामी थाहा पाउदैनौं त ? म उनिहरूलाई जुम्राको कथा भनेर थुम्थुम्याउछु । नानी हो हाम्रो कपालरुपि पृथ्वीमा जुम्रो नामको बासिन्दा बस्छ । हामी कहिलै बिराटनगर जान्छौं, कहिले काठमाडौं, कहिले थलिएर पन्द्रदिन ओछ्यानमा लम्पसार हुन्छौंं । तर कपालको जुम्रोलाई रत्तिभर हामी कहाँ गैरहेका छौं; के गरिरहेकाछांै थाहा हुन्न ऊ त आफ्नै संसारमा मस्त हुन्छ । आफ्नो धुनमा जीवन बाँचिरहेको हुन्छ । त्यस्तै हामी पनि पृथ्वीको जुम्रा जस्तै छौं, पृथ्वी कसरी कहाँ घुमेको छ त्यसलाई बोध गर्न सक्तैनौ । कहिलेकाँही भूकम्पका झट्काहरू, सुनामी लहरका प्रकम्पनहरूलाई मात्र हामी अनुभूति गर्न सक्दछौं । जसरी कहिले चीसो पानीले झ्वाम्म टाउको भिजाइदिँदा जुम्राले मुशलधारे बर्षातको अनुभव गर्दो हो । यसरी सम्झाई रहँदा नानीहरूको चित्त बुझ्छ कि बुझ्दैन ? त्यो मलाई थाहा छैन तर प्रश्नशील आँखाहरू तत्कालको लागि चाहिँ सन्तुष्ट बन्छन् ।

एउटा घाममा घमण्ड गर्नु एउटा जूनमा घमण्ड गर्नु ब्रह्माण्डमा कति ठूलो पटमुर्खपूर्ण कृत्य रहेछ । एउटा आँगन बारेर आँगन भरिको आकाश नै विश्व ठहर्याउनु कति लाजमर्दो बुद्धि बोकेर बाँचेका रहेछौं । यी सारा छुद्रतापूर्ण अहमका कृत्यदेखि मलाई मुरी मुरी लाज लाग्न थालेको छ । ज्ञान बिज्ञानका सूचना र तथ्यहरूले मलाई दिनप्रतिदिन लिलिपुटबाट अमिवातिर ओराल्दै छन् । प्रकृति र ब्रह्माण्डका गुढतम रहस्यहरू अबिदित, अदृश्य र अन्यौलका ज्वालामुखीहरू फुट्न बाँकी छन् । शास्त्र, ज्ञान र बिज्ञानको रुपमा लिपिबद्ध हुन बाँकी नै छन् ।

दार्शनिक सुकरातले उहिले नै युनानको एउटा जमिन्दारलाई पृथ्वीको नक्सा पढाएर अहम् तोडेको सन्दर्भमा सबै मित्था ज्ञानको भ्रम बोक्नेहरूको निम्ती गतिलो शिक्षा बन्न सक्छ । आफ्नो जिम्दारीको ठुलो शेखी गर्ने जमिन्दारलाई सुकरातले पृथ्वीको नक्सा देखाएर त्यसमा टिको जत्रो युनान अनि युनान भित्रको पनि ऊ बसेको नगर, अनि नगरभित्र पनि उसको महल र खेतबारी देखाउन लाए अरे । टीको जत्रो युनानको मानचित्रमा उसको जिम्दारी बिर्ताको कुनै नामनिशाना पत्ता लाउन नसकेपछि ऊभित्रको घमण्डग्रन्थी फुटेर रातो अनुहार पारेर फर्किएको थियो अरे । आज हामी भित्रको युनानी जमिन्दार जल्दो बल्दो होइन, मुर्झाउदो हालतमा छ । तर पनि ज्ञान, आयु र पदको मिथ्या अहम् बोक्ने युनानी जमिन्दारहरू मेरो वरिपरि बग्रल्ती संख्यामा भेट्छु ।

मेरो नजिकै आफ्नो दिमागलाई बिश्वकोष ठान्ने एक बुज्रुक छन् । उनी आफूलाई ज्ञान र सूचनाको संग्रहालय ठान्दछन्, आफूले नदेखे पनि सुनेको छु ; अफिस जाँदा अाँउदा बाटामा पनि कहिले काहिँ ईन्साईल्कोपेडिया ब्रिटानिका र अक्सफोर्ड डिस्नरीका पोथाहरू फरफरी पल्टाई हिन्छन् अरे । उनको अगाडि अरु तमाम् मान्छेहरू अन्त्यन्त अल्पज्ञानी अपठित र अबोध प्रणीको रुपमा चित्रण हुन्छन् । यिनको ढाँचाढर्रा र स्वभाब हेर्दा उनलाई म युनानीकै जमिन्दारको अर्को रुप ठान्दछु । युनानी जमिन्दारले आफ्नो जमिनको शेखी गथ्र्याे, उनी ज्ञानको सेखी गर्छनु । सूचनाको घमण्ड गर्छन् । यतिखेर सुकरात बाजे जन्मेका भए कुन बीधि अप्नाएर उनको शेखी तोड्थे होला ? कहिलेकाँही म यसरी कल्पनामा रुमलिने गर्दछु ।

करोडौं सूर्य, करोडौ पृथ्वी, करोडौ चन्द्र अरबौं ताराहरूको असीम संसारमा एककोशीय जीव जस्तो सूक्ष्म प्राणी पचास के.जि.को मान्छे जसको टाउकोमा सिर्फ डेढ के.जि. तौलको गिदी छ । डेढ के.जि. तौलको गिदीका तन्तुभित्र कति ज्ञानबिज्ञानका सूचना र शास्त्रहरू अँट्न सक्छन् र ? गिदीको क्षमताले नधानेर अहिले मान्छे शक्तिशाली कम्प्युटर बनाउँदै छ । म दिमागलाई; मैले पढाउने कलेजको कालोपाटीसँग दाँज्ने गर्छु । कालोपाटीमा केहीक्षण् रामनारायण सरले हिसाबका सुत्र र समाधान हरूलाई कोर्नु हुन्छ केहिक्षण् कुमार सरले अर्थशास्त्रको डायग्रामहरू कोर्नु हुन्छ म गएर अर्को घण्टी साहित्यशास्त्रका नियमहरू कोरी कोरी बुझाउने कोशिस गर्छु । अहिलेसम्म त्यस कालो पाटीको अभिशप्त छातीमा कति हिसाब कोरिए, कति शब्द कोरिए; ऊ निरपेक्ष साक्षीभवले निर्बन्ध कोर्न दिइरहेको छ, मेट्न दिइरहेको छ । अक्षरहरू क्षणमा कोरेर क्षणमा डस्टर दलिन्छ । दिमाग पनि ठिक कालोपाटी जस्तो लाग्छ । क्षण्क्षण् मिलेर बनेको सिंगो जीवनका सयकडौं क्षणहरू दिमागमा कोरिन्छन्, पुछिन्छन्, कोरिन्छन्, पुछिन्छन् । अमिट र स्थाई रुपमा रहने चिज चंै आठ दस प्रतिशत पनि नहोलान् । अनुभव, अनुभूति र सूचना संकलनका करोडौं पलहरू केहिछिनको लागि कोरिनु, केही क्षणमै मेटिनु यसको सनातन धर्म हो । पढेको कुरा सबै नै गिदीमा संचित रहयो भने मान्छेले तुरुन्तै मानसिक सन्तुलन गुमाउँछ भनेर मनोबैज्ञाानिकहरू ठोकुवा गर्छन् ।

ज्ञान बिज्ञानको विशाल महासागरको तटमा म आफूलाई प्यासा त ठान्छु । तर म समुन्द्र पिउने अगस्त्य ऋषि हुँ भनेर घमण्ड गर्न सक्तिन । म के ठान्छु भने ज्ञानको महासागरको तिरमा बसेर डाडुले होइन चम्चाले पानी उगाइरहेका छौं हामी । जीवनभरि उगाउँदा पनि मुस्किलले एक चम्चा भन्दा बढी उघाउन सक्दैनौं । महासागरको एकचम्चा पानी पिएर सागरै पिएको घमण्ड गर्नु भ्यागुतोले कुवामा बसेर विशाल समुन्द्रमा छु भने जस्तै भएन । मलाई लाग्छ, एक आयु जीवनलाई सम्पूर्णरुपमा पढ्ने काममा खर्च गर्दा पनि केहि हजार थान मात्र पुस्तक छिचोल्न सकिएला मुस्किलले एकआध दर्जन बिषयको गहिराई छामिएला । म बुज्रुग मित्रको अाँखामा हर्दम चम्चा पिएर सागर निलेको अभिमान देखिरहेछु । त्यो सर्बथा मिथ्याभ्रम हो या कडा किसिमको मानसिक रोग हो, जुन उच्चता बोधको ग्रन्थी गानिएर त्यसले स्वभाब, सोच, हृदय र मस्तिष्कलाई दुषित र रोगी बनाउने गर्छ । एकचोटि फिस्टोले ढुंग्रेबाँसको नुहेको टुप्पोमा बसेर नजिकैको कागलाई भन्यो रे ! कागदाइ ! हेर्नुस् न मेरो जीउले बाँसको टुप्पो लतक्कै नुह्यो । कागले कटुमस्कान साथ सर्मथन जनायो रे – खुट्टी हेर्दैै पत्याएँ । म आजभोलि अस्वभाबिक, अप्राकृतिक ढंगले अभिमान गर्नेहरू उपर ठाढो रुपमा प्रतिबाद गर्न हच्किन्छु । बरु मौन भाषामा स्मित मुस्कान फालेर भन्ने गर्छु – हो महाशय ! तिम्रो खुट्टी हेर्दै पत्याए । अनि बेवकुफ दुनियाँपनि तिम्रो खुट्टी हेर्दै पत्याउने छ ।

अर्को एकजना अधबैँसे गुरुजी हुनुहुन्छ । उहाँले जीवनका बीसबाईस बटा बसन्त गाउँका बिभिन्न बिद्यालयमा अध्यापन गरेर बिताउनु भएको छ । त्यस कुरामा उहाँलाई ठूलो गर्व छ । गर्व त आफूले गरेको काम र हिंडेको बाटोप्रति राख्नै पर्दछ । तर आबस्यकता भन्दा बढी गर्व राख्दा गर्वको भाव घमण्डमा रुपाण्तरण हुन्छ । गलत ठाउँमा स्वाभिमानलाई प्रयोग गर्दा त्यो अभिमानका रुपमा प्रकट हुन्छ । गुरुको जहाँ जोसित कुरा हुदाँ पनि एउटै गुनासो र आक्रोश छताछुल्ल पोखिन्छ मैले यत्रा बर्ष गाउँमा शिक्षा दिने काम गरें, मेरो कुनै कदर भएन । दुई दुई तीन तीन दशकको जीवन गाउँमा बिताएँ, कुनै मूल्याङ्गनको मापदण्ड छैन । उहाँको कुराबाट यस्तो लाग्छ, उहाँले अध्ँयारा बस्तीहरूमा उज्यालौ उज्यालो छर्नु भएको छ । उहाँले बाईस बर्ष गाउँमा गरेको सेवा मानौ उहाँको गणितमा बाईससय बर्ष बराबर हो । उहाँको धेरै बर्ष देखिको त्यो रटना सुनेर एकदिन उहाँलाई मुलायम स्वरमा सोधें – गुरुजी सुर्यको उमेर कतिभो थाहा छ ? उनले टक्टकिएर जवाफ दिए – अहँ थाहा छैन । थाहा छैन । हामी सानो कक्षाका सिगाँने बिद्यार्थीका मास्टरहरूलाई के थाहा ?

मैले भनिदिएँ – हेर्नुस खगोलबिदहरूले भनेका छन् आज भन्दा पाँच अरब बर्ष अगाडिबाट हाम्रो सुर्य अस्तित्वमा छ । सोच्नुस्त, पाँच अरब बर्ष अगाडि देखि हामीलाई निरन्तर प्रकाश र न्यानो बाँड्दै आएको छ । पाँच अरब बर्षहरूमा यसको कति उज्यालो खपत भयो होला ? यसको हिसाब पनि हामी निकाल्न सक्तैनौ । यत्रो सूर्यले कहिले पनि आफूले राप, ताप, प्रकाश बाँडेको कुरा गुनासो र घमण्ड गरेको कुरा थाहा छैन । हामीले बाईसबर्र्ष शिक्षाको ज्योति फिजाँएको कुरा कुन ठूलो कुरा भयो र ? फेरि सूर्यले निःशुल्क उज्यालो दान गरे जस्तो हामीले एक दिन पनि बिना तलब खटेका छैनौ । आफ्नो रोजिरोटी र तलबका निम्ति काम गरेका छौं । त पैशाको लागि सेवा गरिरहेका छौं भने हामीले मैले हामीले यति गरे उति गरे भन्नु नै बेकार छ । तपाई बिना तलब खट्नु पनि भएको छैन । निःशुल्क पढाउनु भएको पनि छैन । तलब लिएर खट्नु भएको छ, यसमा किन ठूलो गुनासो गर्ने ? तपाई बाईस बर्ष खटेको कुरा कुन ठुलो कुरो भयो । केशबदेब गुरु अहिले ९२ बर्षमा पनि पढाईरहनु भएको छ । जीवनको ६५ बर्ष पढाई सक्नु भएको छ । मेरो रामचन्द्र गुरु, राजदेब गुरुको तुलनामा तपाईको २२ बर्ष त बाघको अगाडि बिराले हुन्न र ?

मैले यति भनेपछि आँखा मिरमिर पार्दै बाटो तताए । आजभोलि मसँग गुनासो बक्न छोड्नु भएको छन् । अरुसँग त्यो क्रम जारी छ या ओखति लाग्यो त्यो मलाई थाहा छैन । सेवाको आयुमा गर्व गर्नुको अर्थ देख्तिन म । पाँच अरब बर्ष सूर्यले उज्यालो फालिसक्यो, अझै पाँच अरब बर्ष उज्यालो फ्याँक्ने आयु छ भन्छन् बैज्ञानिकहरू । अनि मान्छेको बित्ते आयुमा बित्ते सेवा गरेको कुरामा फूलजडी उपमा कथुर्छन । यो पनि उच्चताभासको अभिब्याक्तिहो वा हिनताभासको अभिब्यक्ति हो ठम्याउन सक्तिनँ ।

एकखाले सूक्ष्म जीवको जम्मा जम्मी आयु सात घण्टाको हुन्छ रे । सायद त्यो ब्याक्टोरिया भाईरस जातितिरको हुँदो हो । ऊ सात घण्टाभित्र जन्मिने, बिकसित हुने र मर्ने प्रकृया पूरा गर्छ । सातघण्टाभित्रको छोटो समयमा शिशुअबस्था, वाल्यवस्था, किशोराबस्थाा, युवाबस्था, प्रौढाबस्था, बृद्धाबस्था पूरा गरेर ईहलोकलाई त्याग्नु कति रहस्य र रोमान्चकारी कुरा छ । अर्कोतिर तीन चार सयबर्षको आयु हुने प्राणी पनि छन् । प्राणीको जीवन सापेक्षतामा मलाई लाग्छ सात घण्टाको आयु र तीनसय बर्षको आयु बराबरी नै हो जस्तो लाग्छ । समुन्द्रमा उडने मेफ्लाई चराको बारेमा पढेको थिए । त्यो चराको जम्मा आयु तीनमहिना हो । ऊ आफ्नो आसन्न मृत्युको पर्बाह नगरी समुन्द्रमाथिको आकाशमा धेरै उचाईमा काबा खान्छ अरे । अन्तिम स्वास रहुन्जेल उत्साहका साथ उडेर उड्दा उडदै पानीमा खसेर जीवन बिसर्जन गर्छ अरे । मलाई त्यही मेल्फाई चरा हुन मनलाग्छ । सबै गुनासा र अस्वीकार भावबाट मुक्त भएर जीवनको आखिरी क्षण सम्म उडिरहनु आकाशलोकमा नयाँ नयाँ उन्मेष प्राप्त गरिरहनु र आखिरमा अनन्तमा लीन हुनु सबै मानब जातिको साझा उदेश्य र गन्तब्य भएदेखि यो पृथ्वी कति मनमोहक हुने थियो ।

समुन्द्रमाथि जोखिम पूर्ण उडान भर्ने मेफ्लाई हुन नसके पनि आँधीहुरीमा बेग हान्ने पत्रेल चरो हुन मन लाग्छ । मेरो यो आकांक्षा अवीदित आकाशमा महासूर्य हुन नसकेपनि जुनकिरी हुनुसित लालायित छ । हप्ते आयुको जुनकिरी बन्नु, निस्वार्थ, निसर्ग र निर्लिप्त भावले आफ्नो कुरुप र फोहोरी पिधँबाट पनि उज्यालो प्रकाश छर्नु, माथि माथिको असीम आकाशलाई गन्तब्य बनाउनु कति पवित्र कामना । पृथ्वी र सूर्यको करोडौं बर्षको आयुसापेक्षतामा मान्छेको एक जीवन आयु बिजुलीको एक चम्काई, परेलाको एक झिम्काई भन्दापनि सानो हुँदो हो भन्ने ठान्छु । तर सानो चिजमा असीम शक्ति र असीम संभाबनाका छिद्रहरू पर्याप्त हुने रहेछन् । बिज्ञानले नै पर्दाफास गरिदियो अणु उर्जाको शक्ति उत्सर्जन सुत्र अनुसार पृथ्वीलाई नै केही घण्टामा खाक तुल्याउने शक्ति पदार्थको सूक्ष्म अंश अणुमा निहित हुँदो रहेछ ।

एउटा हात्तीको खुट्टाको बल भन्दा करोड गुणा बेसी शक्ति एकलाख परमाणु खप्टयाएर बनेको केशको मोटाइको अणु डोरीमा संचित हुदो रहेछ । तर पनि म निरीह र शक्तिहीन छु कोठाभरि मच्छडको साम्राज्यमा गुिन्जएको गीत चुपचाप सुनिरहेछु । अरुले शक्तिको भाषा बोलिरहँदा; बलको तुजुक देखाइरहँदा मलाई चाहिँ शक्तिशाली छु भन्न लाज लाग्छ । मैले मेरै ओछ्यानका मच्छड र उडुस देखि हार खाएको छु । पृथ्वीलाई पचासौं खेप ध्बस्त पार्न पुग्ने आणविक बमहरू थुपारेको कुराले के गर्नु मान्छेको जुम्रा र चायाका किटाणुहरूबाट हार खाएको छ । लुत्तोको ब्याक्टोरियालाई जित्न नसकेर आफ्नो जिउ कन्याएर बुङ्बुङती छारो उडाइरहेको छ ।

अरुको के कुरा गर्नु मेरो टायलको छानोमा मुसाको साम्राज्य छ । छानाको मुसालाई भुईमा पछार्न नसक्ने निरीह ब्याक्ति बनेको छु । जीवहरूलाई प्रकृतिले दिएको बाँच्ने बिशिष्टताको सामु म मुसा र मच्छडको चर्तिकला दिनै हेर्ने गर्छु । लेखनाथ बूढाले गौथँली बोल्यो चिरबीरी च्यार्र त्यसै लेखेको होइन रहेछन्; यस घरको बास्तबिक मालिक त मुसा र बिराला पो त मान्छे होइन भन्ने कुरा ।

बिष्णुबाट प्रदत्त नारदमुनिको बाँदरे अनुहार कुवाको पानीऐनामा प्रकट भएपछि आफ्नो वास्तबिक स्वरुपको पहिचान भएको थियो अनि श्राप दिएर राम अबतार हुँदा बाँदर गुर्हानु परोस् भनेका थिए अरे । त्यस्तै हरेक बिहानी अकाश हेर्ने बित्तिकै मेरो अन्तरजगतभित्र गजधम्म फुलेर फैलेर बसेको घमण्डको आकाश खुम्चिएर हत्केला जत्रो हुन्छ । बिशालता बोधको उच्च गाछी लिलिपुट बन्छ । उच्चताभासका तरलतरंग घरमुनिको बाँसका टुप्पा देख्ने बित्तिकै पानी पानी बनेर नुहुन्छन् । यसरी म आकाशको केही हजार फीटको दूरीमा चढेर पृथ्वी हेरेपछि आफू सानो सानो बन्न थालेको छु । आफू दिन प्रतिदिन खुिम्चन थालेको छु ।

पुन्य कार्की

Leave a Reply

Your email address will not be published. Required fields are marked *