सीमा र परिसीमनले अथाह यथार्थलाई अल्पीकृत गर्ने भएकाले सम्भावनाको सकारात्मक विस्तारणमा शाश्वत जीवनको सुख अन्तर्निहित छ । सुधिजन र यायावरहरूको नवदिशीय परिभ्रमण र नियात्राले यस्तै परिसूचकको जानकारी दिने गर्दछ । थल, जल र आकाशपरक यातायात र सञ्चार प्रविधिले व्यावहारिक जीवन साँगुरिएकोले सङ्क्षेप तया सबै जना धेरथोर विश्वग्रामका वासिन्दा बनेको देखिन्छ । विदेशी र स्वदेशी नेपालीजनको भ्रमणात्मक तथ्यमा के फरक छ भने तिनीहरू थुप्रै कुरामा सुविधासम्पन्न छन् । ती कुरा आकाशको फलसरि भए पनि नेपाली नागरिक वा युवापुस्ताले यात्रा गर्दा अरूले भन्दा बढी इमानदारी र उत्साह प्रकट गरेको पाइन्छ । यान्त्रिक किसिमले प्रस्तुत हुने अनुभवसारभन्दा नवानुभूतिको रूपमा दर्शिने भ्रमणवृत्तमा साँचो मिठास प्राप्त हुन्छ ।
नेपाली नियात्रा साहित्यको गौरवशाली इतिहास सुरक्षित छ । संवत् २००७ को पूर्वावधिर तदुपरान्तको कालखण्डलाई विश्लेषण गर्दा विगत छ दशकको समयमा सम्बद्ध विषयमा अनगिन्ती रचना र कृति लेखिएको देखिन्छ । आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, प्राविधिक र वैज्ञानिक दृष्टिले सिर्जित कतिपय आलेखनको स्तर एकै किसिमको नहोला वा निरूपण गर्न नसकिएला तर परिदृश्यगत र यथार्थगत दृष्टिले यीबाट नेपाली नागरिक जीवनमा लाभान्वित रहिआएको प्रस्ट छ । कुनै समयमा भारत, बङ्गलादेश, पाकिस्तान, वर्मा, श्रीलङ्का, तिब्बत, चीन र जापानसम्मको फन्कोले विश्वजीवनको स्थान एवं परिवेश समेटेको मानिन्थ्यो ।
आधुनिक नेपाली नियात्राकारिताको कालावधि र सातौँ दशकलाई उद्बुद्ध तुल्याउने कतिपय सर्जकबीच विजय चालिसे (संवत् २००८) सुनाम हुन् । यिनका रचना र कृतिले च्याप्टो रूपमा रहेको यथार्थलाई बाटुलो स्वरूप दिन चाहेको र तिनमा अनुभूत्यात्मक युगदर्शन रहेको स्पष्ट देखिन्छ । विजयको मनका तूलिकामा स्मृतिका बिम्ब (२०६३) संस्मरणात्मक कृतिले विश्व यातायातपरक कतिपय वस्तुगत यथार्थ संवहन गरेकोले तिनमा आत्मबोध र युगबोधको इमानदार सुगन्ध पाइन्छ । एक जना सजग नागरिकले आफ्नो गृह परिसर र राष्ट्रिय चौघेरा र विदेशी धर्तीमा के कस्तो जीवनशैली भोग्छ र भेट्टाउँछ, त्यसको जीवन्त झाँकी नियात्राकारको सिर्जनमा उपलब्ध छ । कलमकर्मीको मौलिक छविलाई हामी उल्लिखित रचनामा पाउन सक्छौँ । प्रत्येक यात्रुले देश र विदेश यौटै भेटे पनि विविधताको पुञ्जलाई प्रबुद्धले फरकफरक दृष्टिले नियाल्ने गर्छन् ।
स्थानीय रङ, राष्ट्रिय रङ र अन्तर्राष्ट्रिय रङको समायोजन हुँदा त्यहाँ मुख्यतया मातृभूमि नेपालको समीचिनात्मक दिग्दर्शन भेटिन्छ र तिनको समाधान सह्राहनीय छ ।
विजयले कृतिगत रूपमा अप्रिलको बेलायत (२०४५) नियात्रा सङ्गालोमा पाँचाँै दशकको अवधिको दृष्टिलाई प्रारम्भमा पोखेको पाइन्छ । पेसागत दृष्टिले कुशल पत्रकार हुनाले मानवीय सर्वाङ्गीण विकासशास्त्रलाई यी गम्भीरताले ध्यान दिने सर्जक हुन् । मनका तूलिकामा स्मृतिका बिम्बमा मूलरूपमा मुलुकभित्र र विदेशको दुई खण्डका १२-१२ वटा गरी २४ वटा निजात्मक यात्रानुभूति छन् । जिज्ञासु प्रवृत्तिका हुनाले प्रत्येक कुरा र प्रसङ्गमा सर्जक आफ्नो किसिमले जिज्ञासा गम्ने र थप्ने गर्छन् । नवीनताको खोजीको चाहना भएकोले चिनको यात्रा विवरणमा अनउपघाटित शृङ्खला र संकथनहरूको बाहुल्य पाइन्छ । विषयको बैविध्यले आयामलाई स्पर्श गर्न चाहने इच्छा थुप्रै लेखकमा रहने गर्दछ । त्यसमा सफलता र थोरैलाई मिल्दछ ।
लेखकीय चेतनासँगै पाठक, भावक र सम्बद्ध परिवेशको मानवीय भावना एवं संवेदनालाई दक्ष छविकार (फोटोग्राफर)ले चित्र उतारेझैँ उतार्ने भएकाले सर्जकको नियात्रात्मक निबन्ध सम्प्रेषणीय बनेका हुन् । कतिपय साहित्यकार एकपक्षीय दृष्टिले जनजीवन तौली त्यसमा एकपाखे फूलबुट्टे रङ भर्छन् । आफ्नोभन्दा अरूको मुद्दा र व्यवधानमा जीवन यथार्थलाई राम्ररी खोज्ने भएकाले तूलिकाकारको सफलता यसैमा अन्तर्भूत देखिन्छ । जनजीवन र भूगोल, जनजीवन र इतिहास, जनजीवन र विज्ञान, जनजीवन र राजनीति वा जनजीवन र समाजशास्त्रलाई मानवीय र मानवेतर सन्दर्भमा निरूपण गरेकाले विजयको सिर्जनामा अधिसङ्ख्यकले आ-आफूले इच्छित वस्तुतथ्य भेट्टाउने गर्छन् ।
विवेच्य सङ्गालोको सिंहावलोकन गर्दा मेरो चित्र फलकमा बौद्ध नियात्रामा उहिले र अहिलेको बौद्धको वातावरणलाई सर्जकले जाँचेका छन् । मान्छे र समय परिवर्तनशील भएकोले समयान्तरमा धेरै कुरा बदलिन्छ । यौटा शिशुले सानो छँदा आफूले देखेको र भेट्टाएको असल कुरा हुर्किसकेपछि पनि शेषांशमा खोज्दोरहेछ । अल्पविकसित देशका सचेत बालक समयक्रमका संस्मरणकार हुन् र यिनी स्थल विशेषको सन्दर्भले राष्ट्रिय विकासको उच्चतम नमुनालाई छुन चाहन्छन् ।
कङ्क्रिटको जङ्गलको महानगरीय आधुनिकतामा कुनै ठाउँको मौलिकता र सुन्दरता गुमेको यिनलाई अप्रिय छ । विकासोन्मुख राष्ट्रले आफ्नो सामाजिक, सांस्कृतिक, पुरातात्विक र ऐतिहासिक मात्र नभई पर्यावरणीय धरोहरसमेत जोगाउनुपर्ने सल्लाह दृष्टिदुर्बल सत्तालाई यिनले दिएका छन् । सर्जकको विचारमा प्रत्येक ठाउँको आफ्नो विशेषता अरूसित नमिल्ने भएकोले यसको महत्त्वलाई संरक्षित गर्नुपर्छ । सधैँ उपेक्षित मेरै नजिकको तीर्थमा गोकर्णेश्वर क्षेत्रको स्थानपरक वर्णन छ । संवत् २०२६ मा प्यारा सहोदर भाइ शेखर चालिसे र २०३२ मा नेपाली विनोदशास्त्रको शीर्षस्थ प्रणेता भैरव अर्यालको बागमती नदीमा भएको अप्रत्याशित अवसानलाई विजयले अश्रुविद्ध आँखाले सम्झेका छन् । तीनबीसको वरिपरिको वय सन्धिमा पुग्दा जीवन र मृत्यु दर्शन पहिल्याउँदै सर्जक जीवन एवं जगत्को कतिपय कुरा प्रकृतिको इच्छामा अनुबन्धित ठान्छन् ।
‘लालीगुराँसको मुस्कानसँगै डोर्याउने गर्छ दोलखामा संवत् २०५५ फागुन ३० गते नेपाल बालसाहित्य समाजको वाषिर्क सम्मेलनमा सहभागी हुन काठमाडौँबाट १३३ किमी टाढाको दोलखा जिल्लाको सदरमुकाम चरिकोट आऊजाऊको परिघटना छ । यसमा उक्त स्थानको प्राकृतिक, भौगोलिक सौन्दर्य एवं नयनाभिराम दृश्यावलोकनको विचारोत्तेजक प्रस्तुति छ । आफ्ना सम्पूज्य बाबा बिरामी हुँदा नेपाल प्रज्ञाप्रतिष्ठानका तत्कालीन उपकुलपति दीक्षित महोदयबाट अपेक्षित व्यवहार नपाएको यथार्थ यसमा समुल्लिखित छ ।
कलाकर्मी कुलमान भण्डारीका भद्रताको प्रशंसा र अन्यायको कठोरताको दृश्यचित्रमा रचना उद्देश्य केन्दि्रत लाग्दछ । ‘चितवनको चिसो रात ः नबिर्सिने न्यानो अनुभूति’मा सन् २००३ को जनवरी १२ मा विद्यार्थी पत्रकार सविता रिजालको अनुरोधमा इन्टरनेसनल मिडिया इस्टिच्युटको कार्यक्रममा प्रमुख अतिथिको रूपमा भरतपुर पुग्दाको सर्जकीय अनुभूति रहेको छ । विजय, अध्यक्ष दीपक कोइरालाको शिष्ट आतिथ्यले जाडोमा चितवन न्यानो र रमाइलो बनेको अनुभव गर्छन् ।
यस रचनामा अन्य नक्कलप्रेमी पत्रकार एबीसीको ढोंगीपनको सूचना पनि छ । प्राध्यापक देवीदत्त ढकालको सान्निध्यमा व्यतीत सुखद रात्रिचर्याको उष्णता यसमा पाउन सकिन्छ । पुरानो स्पर्शको खोजीमा भौँतारिने आँखाहरूमा संवत् २०५८ को माघको पश्चिमाञ्चलको प्रेस चौतारी भेलाको गोष्ठीमा उच्च स्तरीय मिडिया आयोग विषयक अवधारणापत्र प्रस्तुत गर्न काठमाडौँबाट २८० माइल टाढा पोखरा टेक्दाको स्मरण छन् । अब्बल लेखक तथा सुरानिन्दक राजनीतिज्ञ प्रदीप नेपालको मन्त्रित्वको निकटको वृत्तमा पिउनु वर्जित भए पनि पियक्कडहरू कडापेयद्वारा स्वयं पिइन्छन् भन्ने तीव्र व्यङ्ग्यालाप यसमा छ । साहित्यकारभित्र नारायण ढकालको गालामा कपाल रङ्ग्याउने एसिडले घाउ बनाएको देखि सन् १९८५ को बेलायत यात्राको जाडोमा भकभकी उम्लेको पानीको वाफमा नुहाउँदा कालक्रममा आफ्नो कालो कपाल अनाहक सेताम्मे भएको महाभूललाई लेखकले सम्झाएका छन् । यस लेखोटमा सङ्कटकाल र सशस्त्र द्वन्द्वको समयमा राजमार्गहरूमा दृष्टिगत असुरक्षाको दुश्चिन्तालाई जीवन्त किसिमले अथ्र्याइएको छ ।
मुराइन, तौलिहवा र उन्मुक्तिको खोजीमा संवत् २०३४ को पुस १७ गते हरि प्र. अर्याल र देवीबहादुर थापा (हरि र जनकदाइ) सित वणिर्त ठाउँमा सहयात्री रहँदाको कटुमधु अध्याय छन् । तेल मालिसकर्मी महिला मुराइनको यौनपरक स्वच्छन्द वाचालता, तौलिहवा निकटका आदिवासी थारूहरूको सोझोपन, हाइवे क्षेत्रका कर्मशील होटेल व्यवसायीहरूको व्यवहार र तौलिश्वर महादेवस्थानको पूर्वसमयको खुँखार डाकु रहेका पुजारीको वैयक्तिक बिम्ब प्रतिबिम्ब यस रचनामा कुशलताले खिचिएको छ ।
यसैप्रकार आफैबाट उपेक्षित पाल्पामा संवत् २०६० को वैशाख २४ गते पाल्पाको प्रेस चौतारी नेपालको तेस्रो अधिवेशनका घटनाक्रम छन् । यसमा संवत् २०१५ मा नगरपालिका निर्धारित समुद्र सतहदेखि १३५० मिटर उचाइको मुलुककै पुरानो नगर तानसेनको चित्रात्मकता छ । श्रीनगरको डाँडो, तानसेनको श्रमिक निर्मित कृत्रिम चौर र तानसेन दरबारको प्रवेशद्वार बग्गीढोकाजस्ताको ऐतिहासिक पक्षको उल्लेखले यो सिर्जना अत्यधिक पठनीय छ । मुकुन्दसेन, उजिरसिंह थापा र खड्गशमशेर जबराजस्ताले प्रदर्शित वीरत्व र कीर्तित्वको चर्चालगायत श्रवणशक्ति अल्प भएकी तालकी देवी सत्यवतीमाई भगवतीप्रतिको भक्तिभाव पनि छ यसमा, कालीगण्डकीको सुसेली धूलोको चादर र यात्राका कोलाजहरूमा विजय-लक्ष्मी र तेज-रश्मी दम्पतीले मुक्तिनाथको यात्राक्रममा झारकोटको प्रकाश लजमा परिकल्पित भ्रमणात्मक अनुभव छन् । यस संस्मरणमा आध्यात्मिक र धार्मिक प्रसिद्धि एवं कतिपय मिथकहरूको प्रभावोत्पादक विश्लेषण पाइन्छ । मुक्तिनाथको काख र साङ्गि्रलाको खोजीमा देउताको दर्शनसँगै जेम्स हिल्टनको लष्टहरिजनको आधारमा साङ्गि्रलारूपी भू-स्वर्गको बारेमा केही कुरा अभिसूचित छन् । तिब्बत यमुना र सेचुवा प्रान्तको त्रिवेणीमा रहेको सुन्दर डिक्विंग उपप्रान्त (प्रिफेक्चर)लाई चिनियाँ सरकारले सन् २८०१ देखि चिर सर्वजिज्ञासु साङ्गि्रला उद्घोषित गरेको रहस्यको विश्वपरक यथार्थ फेला पर्दछ । कालप्रवाहमा सेनाद्वारा निर्मित ७६ कि.मी. लामो बेनी-जोमसोम (म्याग्दी र मुस्ताङ) लोकमार्गले लेखकको दुर्गम क्षेत्रको सडक निर्माणको इच्छालाई धेरथोर भए पनि पूरा गरेको पाइन्छ तर यिनी सशक्त भौतिक पूर्वाधारको यथाशीघ्र जोहो होस् भन्ने व्यग्र कोमल भावना पोख्छन् । कासाङ, शालिग्राम र कालीगण्डकीको सुसेलीमा हावाको नृत्यमा मुस्ताङे ठकुरी बाबु र तामाङ आमाकी छोरी हिमबाला कासाङ तथा हिमपुत्रहरूको आर्थिक आत्मसङ्घर्षको विवेच्य कथा छ । क्रमिक अन्तर्विकास हुँदै गएको पर्वतीय क्षेत्रमा बाटाघाटाको सञ्जाल फैलाउनुपर्ने राज्यको ‘मूल दायित्व’ रचनामा औँल्याइएको छ । अशोकस्तम्भ, पुष्करिणी ताल र मायादेवीको आँसुमा महात्मा गौतमको जन्मतथ्य, लुम्बिनीको परिवेश र लोकमार्गपरक चुनौती अभिव्यञ्जित छ । शान्ति क्षेत्रको अशान्त नागरिकको औडाहा र पीडा यस नियात्रामा महसुस गर्न सकिन्छ । १ करोड १० लाख वर्षअघिको रामापिकेथससम्बन्धी नेपाली आदि पुर्खाको समयको गतिविधिको सम्झना छ यसमा । सीमान्तका घाउहरूमा राज्य र नेतृत्वको नपुङ्सकताले दक्षिणी छिमेकी राष्ट्रबाट नेपाली सीमा दिन-प्रतिदिन कसरी मिचिँदैछ त्यसको मार्मिक गाथा छ, महाकाली र मेची नदी छेउछाउको दृष्टान्त र कृत्रिम सीमा स्तम्भहरूको प्रकरणले राष्ट्रवादी नेपालीको हृदयमा भयानक द्विविधा र आघात पुग्ने गर्दछ । यसमा टनकपुर बाँधसम्बन्धी मिचाहा नीतिसहित मित्र निर्मोही व्यासको राष्ट्रचेत भावुकताको पुनरावलोकन भेटिन्छ ।
नियात्राकारको प्रमुख विशेषता हो सबै ठाउँमा आफूभन्दा अगाडि देश सम्झिनु र देशको वस्तुवादसहित चुस्त ढङ्गमा समुपस्थित रहनु । देश प्यारो भए पनि सङ्कल्प र इमानले नेपाल बनाऔँ भनी व्याकुल हुने सच्चा प्रतिबद्ध नेपाली अल्पछन् र प्रायः गरी ती साधारण जनता हुन् । विजय तिनै थोरैबीचका उदाहरण लाग्छन् । सानो भए पनि नेपाल श्रीलङ्काभन्दा दोब्बर र स्वीट्जरल्याण्डभन्दा तेब्बर विशाल रहेकोले जहाँ गए पनि सर्जकले तुलनात्मक दृष्टि अपनाइ आफूभन्दा आफ्नो पुर्खाको माटो र मातृभूमिलाई अपूर्व माया दिएका छन् । एक्काइसौं शताब्दी र युगीन सङ्क्रमणको नेपाल आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, वैज्ञानिक र प्राविधिक दृष्टिले सीमातीत परिवर्तनको सङ्घारमा छ । थुप्रै कुरा र विषयले नेपालमा नवीनता एवं रूपान्तरणको माग गरेकोले समावेशी बहुल संस्कृतिवादलाई समायोजनका दृष्टिले स्वीकार्यमञ्च दिनुपर्ने परिस्थिति छ । यस परिपे्रक्ष्यको संवेदना र गम्भीरता सानो नभएकोले सबैले यसलाई ठम्याउनु जरुरी छ ।
सिर्जनात्मक व्यग्रताको मौलिकताले मूर्त र सजीव चिन्तन गर्न यिनी समर्थ छन् । नियात्रा सङ्गालोको रचनाले आधा स्वदेश र आधा विदेशको अनुभूतिलाई व्यक्त गर्दछ ।
मुलुकबाहिर खण्डको ‘प्रधानमन्त्रीसँग भारतको फन्को’मा संवत् २०५१ को चैत (सन् १९८५ को अप्रिल) मा प्रधानमन्त्री मनमोहन अधिकारीको भारत भ्रमणको टोलीमा कुन्दन अर्याल र युवनाथ लम्सालजस्ता सञ्चार क्षेत्रका प्रतिनिधि मित्रहरूसित नयाँदिल्लीको अवलोकनको वृत्तान्त पाइन्छ । यसै उच्चस्तरीय भ्रमणको क्रममा प्रथमपटक प्रजातन्त्रोत्तर इतिहासमा नेपालको सन् १९५० को द्विदेशीय सन्धिबारे पुनरावलोकनको स्थिति उत्पन्न भएको हो । ईसापूर्वको पहिलो शताब्दीदेखि राजा ढिल्लोबाट नामाङ्कित दिल्लीको इतिहास, मुस्लिम शासक कुतुबुद्धिन ऐबकबाट निर्मित प्रसिद्ध कुतुब मिनार, फिरोज शाहको विस्तारित कार्य, शाहजहाँको सातौँ नगर र कालक्रमिक उक्त राजधानीको फैलावटको विकाससूचक अतीत छ यसमा ।
डेढ करोडको वासिन्दाबीच ३० लाख झोपडपट्टीमा रहने यस ठाउँको निरीहताले अत्यधिक पिरेको छ । अवलोकनकर्तालाई दिल्ली र मुम्बईको तडकभडकभन्दा हुग्ली नदीको किनारामा अवस्थित कलकत्ताको सांस्कृतिक समृद्धि र अहमदावादको गान्धीसित सरोकार राख्ने सेवाग्रामको मानवीय पक्षले नियात्राकारलाई दरो ढङ्गले पुलकित तुल्याएको पाइन्छ । मेरो मानसको उपनिवेश र रेलको लामो सफरमा गोरखनाथ बाबाको धाम रहेको गोरखपुरको स्टेसनभित्र बद्रीले चुरोट सल्काउँदा रेलकर्मचारीसितको विवाद, नासिकसम्मको रेल यात्रामा ज्ञात भारतीय रेलको क्रमिक प्रगतिसम्बन्धी प्रासाङ्गिक पक्ष छन् । सन् १८४४ को रेलवे बोर्डको स्थापना र १८५३ मा प्रथमपटक भारतको मुम्बईमा रेलयान गुडेको अन्तर्तथ्यको विकासपरक इतिहास यसमा भेटिन्छ । ६३ हजार किलोमिटर रुट, नौवटा जोनक्षेत्र, कलकत्ताको मेट्रो तथा सात हजारभन्दा बढी स्टेसनको सुविधाले सुसज्जित भारतीय रेलसेवालाई प्रतिदिन १ करोड ३० लाखभन्दा अधिकतम यात्रुले उपभोग गरेको मानिन्छ ।
आखिर जहाँ पनि देखिँदोरहेछ विडम्बनामा साढुभाइ अशोक कणिर्क र साली जानुकाकी छोरी प्रियाको बिहेमा चालिसे दम्पतीसहितको सात जनाको टोली नासिकको यौटा क्रियाकलापमा आत्तिएको स्थिति छ । एकातिर आत्मीय र स्नेहपूर्ण व्यवहारको सरल किसिमको पाणिग्रहण तथा अर्कोतिर एक जना आर्थिक अनियमिततामा नाउ चलेका राजस्व आयुक्तको छोरोको विवाह कार्यक्रमको उत्ताउलो आतिशबाजीसम्बन्धी अनावश्यक खर्चको तुलनीय पक्षलाई सङ्केत गरिएको छ । यसमा श्रीमन्त पूजनमा संलग्न सादा नासिक र कालो धनको अपव्ययमा लिप्त सोही नगरको वर्गीय विषमता सचेत जमातले भेट्ने गर्छन् । संस्कृति चेत एवं धर्मभिरु गृहिणीको उत्सुकताले साइबाबाको थलोसमेत पुगेका छन् विजय । समयान्तरमा ठगैतीका पाखण्डीगुरु भनी भारतीय सञ्चार माध्यम आजतकले यस्तै अन्य कथित भगवान्को भण्डाफोर गरेको पाइन्छ । पाच्य र नव औद्योगिक सभ्यताको केन्द्रको रूपमा नासिकको अन्तर्विकासलाई सर्जकले मन पराएको स्थिति छ । साथै मुम्बइछेउको साङ्गि्रला र पूराकथाका बिम्बहरूमा पश्चिमा काशीको रूपमा मान्यताप्राप्त नासिक समीपस्थ विभिन्न धार्मिक स्थल र मिथकको प्रस्तुति छ । यसबाहेक संवत्् २०६० मा सम्पन्न गोदावरी नदी किनाराको कुशाब्रत तीर्थ त्रयम्बकेश्वरको कुम्भमेलाको जानकारी रचनामा छ । त्रयम्बकेश्वर (त्रि-सन्ध्याक्षेत्र) को प्रवेशद्वार अंजनेरी छैँटौँ शताब्दीमा चालुक्य राजवंशको आधिपत्यमा रहेको कथ्य र नेपालको माण्डव्यगोत्री ठकुरी मल्लहरूको तीसित वंशवादी सम्बन्ध यस प्रसङ्गले अनुभूत गराउन खोज्दछ । शिव र पार्वती (साम्ब)को बिहेमा पुरोहित बनेका कामाशक्त ब्रहृमाजी सप्तपदीविधिको क्रममा कन्याको सुन्दरताले स्खलित भएकाले शिवजीले जलदिँदा त्यसबाट पृथ्वीमा गङ्गाजी अवतरण भएको किंवदन्ती यसमा छ । पूरा कथाहरूको माध्यमले आर्य सभ्यताको आत्मनिरीक्षण र पुनः स्मरणको राम्रो बान्की यस लोखांशमा विद्यमान छ । सागरछेउको उर्लंदो छाल र विडम्बना पचाउँदो मु्म्बईमा सगरमाथा पर्यावरणमा नेपाली समूहले मनोभूत सामुदि्रक निकटताको यथार्थ छ ।
बोम्बाइम (समयान्तरालको मुम्बई)को अर्थ असल खाडी हो । सन् १५३४ तिर पुर्तगालको अधीनमा रहेको मुम्बईसम्बन्धी कतिपय श्रुतियोग्य कुरा यसमा छन् । सप्तटापु मिलेर मुम्बईको एक चौथाइ जति भू-भाग समुद्र सतहभन्दा तल रहेको छ । नरिमन प्वाइन्ट क्षेत्रको बस्ती सागरमा माटो भरेर खोसिएको हो । एक करोडभन्दा ठूलो आवादी भएको यो महानगर कहिल्यै निदाउँदैन भन्ने भनाइ छ । बिम्बवृत्तमा यहाँको रात्रि जीवन मनोरञ्जक र रोमाञ्चक मानिन्छ । प्रस्तरकलाको एउटा अनुपम सङ्ग्रहालय ऐलिफेन्टा केभमा नवौँ शताब्दीतिर निर्मित सातवटा गुफा र त्यसभित्रको विशाल शिलामूर्तिहरूको अद्वितीय सङ्ग्रहको प्रस्तुतिकरण छ । सन् १५३४ मा गुफाको प्रवेशद्वारमा गजमूर्ति देखेपछि पुर्तगालीहरूले यसको नाउँ ऐलिफेन्टा केभ राखेका हुन् । यहाँ दुईवटा साना पर्वतयुक्त करिब ८ किमीको जमिन र दुई हजार जति मान्छे बस्छन् । सर्जकले मनोरम र ज्ञानबर्द्धक किसिमले विदेशीभूमि निकटस्थ सुपरिचित ठाउँहरूको संप्रेषणीय महत्त्व दर्शाएका छन् ।
यसै क्रमको ‘जातीय संस्कृतिको निर्माणमा जुटेको छ सिक्किम’मा संवत् २०६० को असोज ४ गतेको अविस्मरणीय साहित्यिक समारोहको झलक छ । सन् १६१४ मा तिब्बती छोग्याल पञ्चेन नामग्यालले गान्तोकलाई राजधानीको रूपमा स्थापित गरेका हुन् । वाङ्मयप्रेमी पवन चाम्लिङको नेतृत्वमा सिक्किमले उल्लेखनीय उपलब्धिको जग कोरेको भेटिन्छ । निर्माण प्रकाशन र यसको सेवामुखी प्रतिबद्धता बौद्धिक क्षेत्रमा चर्चित छ । जेम्स हिल्टनको लष्ट होरिजन साङ्गि्रलाको स्वर्गिक सौन्दर्य भेटिने सिक्किमलाई सन् २०१५ सम्ममा भारतको अतिविकसित राज्य बनाउने लक्ष्य राखिएको यथार्थ सर्जकले व्यक्त गरेका छन् । परम्परा र आधुनिकताबीच सङ्घर्ष गर्दैछ । जापानमा जापानीधर्तीमा गरिएको यात्राको वर्णन छ । यसमा नारा र क्योटो हुँदै टोकियोको इडोदरबार जापानी सत्ताको केन्द्रमा स्थानान्तरित भएको विवरण पाइन्छ । विश्वमा सर्वाधिक रेडियो र टेलिभिजनको प्रयोग हुने देशको-जापान ।
जापानको प्रेस, विश्वकै ठूलो पुस्तक प्रकाशन उद्योग मानिन्छ । प्रतिदिन डेढ करोडको योमुरी सिम्बुन र दिनहुँ दुवै संस्करण (प्रातः र सायँ)मा सवा करोडप्रति छापिने ओसाही सिम्बुन अखबारसम्बन्धी ध्यानदिन योग्य यथार्थ संस्मरणमा छन् । टोकियो बाहिरको जापान र हिरोसिमामा मृत्युदर्शनमा शान्तिस्मृति सङ्ग्रहालय (पिस मेमोरियल म्युजियम)प्रति प्रमुखरूपमा सम्मान प्रकट गरिएको छ । यसमा सन् १८९७ मा शासक हिरोहितोका बाजे मेइजी (१२४औँ सम्राट्)मा शोगुनवंशबाट राज्यशासन हस्तान्तरणको सन्दर्भ रोचकताले प्रकटित छ । टोकियो मोटर करपोरेसन, नाराको हरिणपार्क, विश्वलाई अँध्यारोबाट मुक्त गर्न लालायित लालटिन जस्तो लाग्ने अगण्य बत्तीदानी, तोइजी मन्दिरको विशालकाय बुद्धमूर्ति र बौद्धधर्मपरक शीतल सांस्कृतिकपक्ष यस रचनामा समुचित ढङ्गले प्रकाश पारिएको छ । दोस्रो खण्डको नियात्राकारितामा इतिहाससम्मत तथ्य र तिनको प्रभावलाई मुख्यरूपमा स्थान दिइएको छ ।
क्रमान्तरको विस्तारणअन्तर्गत साकुरा, गिसा र आत्मसम्मानको देश जापानमा समुन्नत र प्रेरक मुलुकका कतिपय प्रतीकबिम्ब मुखरित छन् । नियमित तँाती लाग्ने विश्वप्रसिद्ध व्यापारिक केन्द्र गिन्जा नगर घुमिफिरी त्यहाँको खुबी बयान गरिएको छ । बहुपक्षीय सपिङ सेन्टर र बहु तले बजारको चर्चाले पाठकलाई यस नगरले आकषिर्त गर्दछ । यसैगरी सर्जक जापानको अग्लो संरचना योकोहोमाको सत्तरी तले टोकियो टावरले दक्षिण एसियाली काठमाडौँको आफ्नै धरहरा र दिल्लीको कुतुबमिनारको सम्झना गराउन सफल छन् । त्यहाँस्थित सङ्ग्रहालयको व्यवस्थापनलाई विजयले राज्यपक्ष झक्झक्याउने किसिमले प्रस्तुत गरेका छन् । विपन्न वा समृद्ध जुनसुकै परिवेशमा पुगे पनि नारीको दैहिक शोषणको परिस्थितिले विजय खिन्न छन् । परम्परागत गिसा पेसाको प्रारम्भिक इतिहासले त्यसलाई सम्झाउने गर्दछ । यसपक्षमा कतिपयले नेपालको वादीप्रथाको निष्ठुरतालाई हेक्का राख्न सक्छन् । विज्ञान, प्रविधि र संस्कृतिसम्बन्धी जापानको समुत्थानलाई नियात्राकारले उदाहरणीय भाषाशैलीमा पस्केका छन् । बेइजिङ, मनमोहन र नमेटिएका डोबहरूमा । प्रधानमन्त्री मनमोहन अधिकारीसित सरकारी सञ्चारटोलीमा संवत् २०५२ वैशाख (सन् १९८५ अप्रिल)मा चीन लाग्दाका सर्वोपयोगी बोधानुभूति छन् । ग्रेट हल अफ द पिपुलमा दस हजार सिटको बैठक कक्ष र पाँच हजार मान्छेले एकसाथ खान सक्ने ठाउँको उल्लेख छ । विश्वको विस्तृत खुल्लाचोकबीच एक मानिने ४०.५ हेक्टर भूमि ओगटेको स्वर्गसूचकद्वारको रूपमा परिचित सन् १६५१ मा निर्मित तियानमेन परिसरको रोचक वस्तुतथ्य उत्कीर्ण छ । माओभूमिको माओकक्षमा पनि विजय पुगेका छन् । रुसको दुर्गतिले गम्भीर भएर पाश्चात्य पुँजीवादी लोकतन्त्रको कतिपय राम्रा कुरा चीनले सतर्कतापूर्वक अवलम्बन गरेको पक्षलाई सर्जकले प्रशंसा गरेको भेटिन्छ ।
साङ्घाइको तीनरातमा कारैकारको सहरको रूपमा उपमित महानगरको चित्रण छ । यसमा त्रिचालीस तले पाँचतारे होटलको तीसौँ तलाको ३०२२ नम्बरको भव्य कोठामा आफूले बिताएको क्षणहरू टिपिएका छन् । चीनको पूर्वीय तटको साङ्घाइमा समुद्रको स्पर्शले यी औधि प्रसन्न छन् । महान् साहित्यकार लुसुनको स्मारक अवलोकन गर्दा विख्यात स्रष्टा रमेश विकलका पुत्र एवं स्वयं लेखक भएकोले विजय अत्यधिक रमाएको पाइन्छ । युआन निकुञ्जको मोहक तस्बिरसहित पार्क, बगैँचा र उपवनको सम्बन्धमा सौन्दर्य एवं सभ्यतासँग रहेको सङ्केत यिनले गरेको भेटिनु सुखद छ । पानी, खानी र ज्ञानीले परिपूर्ण प्रकृति र संस्कृतिले अत्यन्त समृद्ध नेपालले त्यसबाट अभिप्रेरणा लिनसक्ने यिनको सन्देश छ । सरकारप्रमुख र नेपाली प्रतिनिधिमण्डल मङ्गोलियाको राजधानी उलान बटोरका लागि उडेपछि पत्रकारको टोलीले चिनियाँ तटवर्ती सहरको त्रिदिवसीय यात्रा पूरा गरेको देखिन्छ ।
राजा गगनीराजको यात्रा (संवत् १५५०) र जङ्गबहादुरको बेलायत यात्रा (संवत्् १९१०) ले नेपाली नियात्रा लेखनको प्रारम्भिक कोसेढुङ्गा देखाएका हुन् । निबन्धांग रहेको नियात्राले नेपाली साहित्यमा तारानाथ शर्मा, केदार दीक्षित, जनकलाल शर्मा, भवानी भिक्षु, लैनसिंह बाङ्देल, रमेश विकल, देवीचन्द्र श्रेष्ठ, धनुष गोतामे, घनश्याम राजकणिर्कार, तेजप्रकाश श्रेष्ठ, श्रीकृष्ण गौतम, गङ्गाप्रसाद उप्रेती, मञ्जुल, यादव खरेल, ध्रुवचन्द्र गौतम तथा श्रीओम श्रेष्ठ, युवराज नयाँघरे, पोष चापागाईं, जय छाङ्छा, भीष्म उप्रेती र ईशान गौतम प्रभृति कतिपय तीक्ष्ण बौद्धिकता भएका समयसापेक्ष प्रतिभा प्रधान गरेको भेटिन्छ । परम्परागत संरचना भत्काउँदै दृष्टिगत संवत्् २०६२ को वसन्तकालीन जनविद्रोह एवं समयान्तरको साङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशी बहुदलीय पद्धतिप्रति अगण्य जनता आशान्वित रहेको यथार्थ आफ्नो कृतिकारितामा विजयले खुलाएका छन् ।
विश्वजीवनमा भू-मण्डलीकरणको सहकार्यले गर्दा यातायात र सञ्चार प्रविधिको विविधखाले समुन्नति भएकाले सबै ठाउँका मान्छेको साझा ओहोरदोहोरमा अभूतपूर्व वृद्धि भएको छ । बहुपक्षीय आप्रवजनिक साहित्यले समाज शास्त्रीय संचेतनाको नवसूत्र र नवक्षितिज उघारेकोमा दुईमत छैन । प्रशस्त क्रान्तिचेतनाको विपुलताले विजयको नियात्रामा दुस्साहस र निर्भीकताको आˆनो निजत्व छ । जो प्रायःगरी थुप्रैको लेखनमा हुँदैन ।
जातीय दृष्टिले ठूलो वर्ण र तहमा जन्मे पनि थकाली वा अन्य कतिपय आदिवासी तथा जनजातिसरह आफूमा सरलता, निष्कपटता र व्यवसाय कुशलता किन प्रादुर्भूत भएन भनी आफूसहित सामूहिक प्रवृत्तिको साँगोपाङ्ग आत्ममन्थन गर्न यिनी रुचाउँछन् । वर्गीय आक्रोशको एकपक्षीयता कहीँ कतै अल्पीकृत गर्नसके यिनको सिर्जना थप प्रखर हुने निश्चित छ । विकास इतिहास र राष्ट्रियतासम्बन्धी यिनका केही नियात्रा अभिलेखतुल्य छन् । जसबाट नेपाली युवापुस्ता उत्प्रेरित हुने स्थिति छ । दुस्कर्मीले हास्यास्पद ठाने पनि मूल्य, मान्यता र प्रवृत्तिको सापेक्षित नित्यान्वेषणमा विजयको सिर्जना सक्रिय लाग्दछ ।
समष्टिचेत नियात्राको वस्तु, शैली, उद्देश्य र साङ्गठनिक पक्षमा यिनी सुस्थिर छन्, कहीँ धर्मराएका छैनन् । प्राबन्धिक लेखगत पक्षले कतिपय नियात्राको गतिमा प्रभाव पारे पनि विविध उपयोगी अभिकथनले ती आवेष्ठित रहेको पाइन्छ । मनका तूलिकामा स्मृतिका बिम्ब (२०६३) कृतिगत सङ्गालोले विजय चालिसेको सिर्जनात्मक कदलाई बढाएको देखिन्छ र आधुनिक नेपाली नियात्रा साहित्यमा यिनले उपलब्धि थपेको स्पष्ट छ ।
वीरगञ्ज
हालः पाटनसंयुक्त क्याम्पस, ललितपुर
